मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

प्रायश्चित

प्रायश्चित


उसले आफ्नो बिगतमा गरेको पापकर्मको सजायँ भोगि सकेको थियो।  त्यसैले अबको बाँकी जीवन नयाँ तरिकाले जिउने विचारका साथ अघि उ बढिरहेको थियो । यही क्रममा उ यदाकदा सार्वजनिक कार्यक्रममा पनि जान थालेको थियो ।
 
आज पनि उसलाई एउटा प्रतिष्ठित कार्यक्रममा पुग्नु थियो । त्यो कार्यक्रममा देशका नाम चलेका गण्यमान्य बहुप्रतिष्ठित व्यक्तिहरु पनि सहभागी हुने निम्तो थियो । यसपल्ट उसले आफ्नी पत्नीलाई पनि लिएर जाने विचार गर्यो । उसकी पत्नी पनि आफ्नो पतिले धेरै दिनपछि यति ठुलो कार्यक्रममा लैजान लागेको देखेर फुरुङ्ग भई र कपडा लगाउन गई ।
 
दुवै जना कार्यक्रममा जानको लागि तयार भए । पत्नी सम्पूर्ण पहिरहन अनि श्रृङ्गार साथ पतिको नजिक आई । उसले आफ्नी पत्नीलाई निकैबेरसम्म हेरिरह्यो । आफ्नो पतिले यस अघि यसरी कहिल्यै नहेरेको पत्नीले महशुस गरी र लजाउदै भुईंतिर निहुरिएर मुस्कुराई ।
 
’हेर,तिमीलाई यो लुगा अनि गरगहना लगाएको पटक्कै सुहाएन । जाऊ, यो सबै फुकाल !’-अचानक पतिको यो आदेशले पत्नीको मृदुल मुस्कान एकाएक हरायो । उसले शशंकित हुदै सोधी –’’किन र हजुर ? हजुरले नै यो सबै किनेर ल्याइदिनु भएको होइन र ?”
 
’त्यो त हो । तर पनि किनकिन आज तिमीले यो लुगा,  गहना लगाएको पट्टक्कै सुहाएको देखेको छैन,’पतिको बचन स्वीकार्दै पत्नी सबै गरगहन लुगा फुकालेर सामान्य पहिरनमा सजिएर आई र परै बसी । पति उनको नजिक गएर मलिन अनुहारमा बसेकी पत्नीलाई सुम्सुमाउदै भने – “आज म तिमीलाई साँच्चै नै सुन्दर देखिरहेछु । केहि वर्ष अगाडी तिमीलाई यतिको सुन्दर देखेको भए सायद म किन देशको सम्पति दुरुपयोग गरेर तिमीलाई यो गहना, महंगा कपडाले सिंगार्ने चेष्टा किन गर्थे होला र ? महँगो लुगा, गरगहना नलगाउदा पनि सुन्दर देखिदो रहेछ तर निधारमा लागेको दाग चाँही कहिल्यै नमेटिने रहेछ !