मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नोभेम्बर ६ को मध्यावधि निर्वाचन र नेपाली समुदायको चासो

नोभेम्बर ६ को मध्यावधि निर्वाचन र नेपाली समुदायको चासो


आउने मंगलवार अर्थात नोभेम्बर ६ मा अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत चुनावी मैदानमा छन् । यो चुनावलाई प्रभावित पार्ने गरी ट्रम्पले एक पछि अर्को अभिव्यक्ति दिईरहेका छन् । तर, यो राष्ट्रपति चुन्ने निर्वाचन भने होइन । राष्ट्रपतिको कार्यकाल अझ दुई बर्ष बाँकी छ । 
 
मंगलवारको निर्वाचन नतिजाले अमेरिकी राजनीति र राष्ट्रपति ट्रम्पको आगामी कार्यकाललाई समेत प्रभावित गर्ने छ । यही भएर राष्ट्रपति सकृय भएका छन् । र्यालीहरु समेत गरिरहेका छन् ।
 
अमेरिकाको संसद जसलाई कांग्रेस भनिन्छ मंगलवार अमेरिकी मतदाताले यसका लागि भोट गर्ने छन । ४३५ कांग्रेस सिटका लागि मंगलवार चुनाव हुने छ । १०० मध्ये ३५ जना सिनेट सिटका लागि पनि चुनाव हुँदैछ ।  ३६ राज्यमा राज्य संचालन गर्ने गभर्नर पदका लागि पनि चुनाव हुँदैछ ।
 
यो निर्वाचनमा अर्थतन्त्र, स्वास्थ्य बीमा र इमिग्रेशन मुख्य मुद्दा भएका छन् । यो निर्वाचनवाट अमेरिकी मतदाताले राष्ट्रपति ट्रम्पको नीतिलाई निरन्तरता दिने वा नदिने वारेमा पनि फैसला गर्ने छन् । यसैले मंगलवारको निर्वाचन परिणाम निकै महत्वपुर्ण मानिएको हो ।
 
मंगलवार रातीसम्म यसको प्रारम्भिक नतिजा आईसक्ने छ । यो नतिजाले अमेरिकाको राजनीतिलाई प्रभाव पार्ने भएकाले निकै चासोका रुपमा हेरिएको छ । कांग्रेस सदस्यका लागि  जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरिन्छ । यही आधारमा आफ्नो क्षेत्रका लागि मतदाताले कांग्रेसमा प्रतिनिधित्व गर्ने सदस्य चुन्ने छन् ।
 
अमेरिकाको संविधान अनुसार राष्ट्रपतिलाई राज्य संचालनको सबै कार्यकारी अधिकार छ । तर, सन्तुलन गर्न अर्थात चेक एण्ड ब्यालेन्सका लागि शक्तिशाली संसद र न्यायपालिका छन् । यसलाई अमेरिकी संविधानको सवैभन्दा महत्वपुर्ण विशेषता मानिन्छ । तीनै निकायलाई एक आपसमा निर्भर बनाईएको छ । एउटा निकायले आफ्नो सनकका भरमा मात्र अगाडी वढ्न सक्दैन ।
 
कांग्रेस र सिनेटमा प्रतिनिधित्व गर्ने विद्यायकले कानुन पास गर्ने, राष्ट्रपतिद्धारा प्रस्तावित खर्च स्विकृत गर्ने, नगर्ने लगायतका अधिकार छन् ।
 
यो निर्वाचनमा स्वास्थ्य बीमा, अर्थतन्त्र  र इमिग्रेशन मुख्य मुद्दा भएका छन् । यी मुद्दामा मुख्य प्रतिद्धन्दी पार्टी रिपब्लिकन र डेमोक्रेट चुनावी मैदानमा छन् । हात्ती र गधा चुनावी चिन्ह् भएका यी दुई पार्टीवाहेक अन्य साना पार्टी र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।
 
अहिले कांग्रेस र सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ । राष्ट्रपति ट्रम्पपनि रिपब्लिकन पार्टीलाई नै प्रतिनिधित्व गर्छन ।
 
कांग्रेसमा अहिले २३५ सदस्य रिपब्लिकन छन् । डेमोक्र्याटको सदस्य संख्या जम्मा १९३ छ । ७ पद खाली छन् । बहुमतका लागि २१८ सदस्य हुनु पर्छ ।  कांग्रेस सदस्य प्रत्येक २ बर्षका लागि चुनिन्छन् ।
 
सिनेटमा प्रत्येक राज्यवाट २ जनाका दरले ५० राज्यवाट १०० जना छानिन्छन् । माथिल्लो सदन मानिने सिनेटमा अहिले रिपव्लिकन पार्टीकै बहुमत छ । त्यहाँ अहिले ५१ जना सिनेटर रिपब्लिकन पार्टीका छन् । ४७ डेमोक्रेट सिनेटर छन् । दुइ जना स्वतन्त्र सिनेटर रहेका छन् । सिनेटरको पदावधी ६ बर्षको हुन्छ ।
 
स्वास्थ्य बीमा, इमिग्रेशन जस्ता क्षेत्रमा डेमोक्रेट केही उदार मानिन्छ । यी मुद्दामा रिपव्लिकन र डेमोक्र्याट पार्टी बीच धु्रव्रिकरण  छ । त्यसले अहिलेको निर्वाचनमा डेमोक्रेट पार्टीले जित्यो भने राष्ट्रपतिलाई आफ्नो अनुदार नीतिहरु कार्यान्वयन गर्न कठिन हुने छ । यही कारण अहिलेको निर्वाचन राष्ट्रपतिका लागि प्रतिष्ठाको विषय भएको हो ।
 
अमेरिकी मतदाताले राष्ट्रपतिको दुई बर्षको कार्यकाललाई रुचाएको वा नरुचाएको यो निर्वाचनले देखाउने छ । राष्ट्रपतिमा ट्रम्प आएपछि अमेरिकी राजनीतिमा ध्रुविकरण भईरहेको छ । राष्ट्रपतिलाई मन  पराउने वा घृणा गर्नेहरु कयौं छन् ।
 
यदी डेमोक्रेट पार्टीले कांग्रेस र सिनेटमा जितेभने इमिग्रेशन लगायतका मुद्दाहरु राष्ट्रपतिले चाहे जसरी कार्यान्वयन हुने छैनन् । राष्ट्रपति आफ्नो लहडमा अगाडी वढ्न पाउने छैनन् ।
 
त्यसैले राष्ट्रपतिले यो मध्यावधि निर्वाचनमा चीनले प्रभाव पार्न खोजेको जस्ता आरोप लगाईरहेका छन् ।
 
चीन र अमेरिका विच अहिले राम्रो सम्बन्ध छैन । अमेरिकाले चिनिया समानमा भन्सार थपिरहेको छ । चीन र अमेरिका व्यापार सम्वन्ध अहिले खराब अवस्थामा छन् । यसले अमेरिकालाई भन्दा चीनको अर्थतन्त्रलाई नराम्रो प्रभाव पारिरहेको छ ।
 
पुरानै स्वास्थ्य बीमा, अर्थतन्त्र र इमिग्रेशन चुनावी मुद्दाः
 
यो निर्वाचनमा पनि मुख्य मुद्दा स्वास्थ्य बीमा, अर्थतन्त्र र इमिग्रेशननै भएका छन् । यी मुद्दा अमेरिकामा प्राय सबै चुनाव उठ्ने  गर्छ ।
 
स्वास्थ्य बीमा अमेरिकी मतदाताको सवैभन्दा चासोको विषय हो । यसले न्यून र मध्यम आय हुने सवै अमेरिकीलाई छुन्छ । अर्थतन्त्र भने रोजगारसँग जोडिएको छ । अहिले अमेरिकाको अर्थतन्त्र मजबुत छ । वेरोजगारी दर न्यून स्थानमा झरेको छ । आर्थिक बृद्धिदर पनि पहिलेभन्दा उच्च छ । चीनसंगको उतार चढाव व्यापारीक सम्वन्धले अमेरिकाको अर्थतन्त्रलाई खासै समस्या परेको छैन । फाइदै पुगेको देखिन्छ ।
 
इमिग्रेशन मुद्दा अहिले सर्वाधिक चर्चामा छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई जगाईरहेका छन् । उनी इमिग्रेशन मुद्दामा अनुदार छन् । अाप्रावासी कम गर्नु पर्छ भन्ने उनको नीति छ । केही दिन अघि अमेरिकामा विदेशीवाट जन्मिने सन्तानले स्वत अमेरिकी नागरिकता पाउने अधिकार अन्त्य गरिने राष्ट्रपतिले अभिव्यक्ति दिए । यसले पनि अर्को नयां तरंग ल्याएको छ । राष्ट्रपतिले संवैधानिक यस अधिकारलाई कार्यकारी निर्देशन जारी गरेर हटाउने बताएका छन् ।
 
चुनाबमा नेपाली समुदायः
 
यो निर्वाचनमा नेपाली समुदायको चासोपनि बढेको छ । कयौं उम्मेदवारले नेपालीलाई भेटेर समेत भोट मागेका छन् । मेरिल्याण्ड, टेक्सस, कोलोराडो जस्ता नेपाली धेरै भएका राज्यमा नेपालीहरु चुनाव अभियानमा पनि देखिएका छन् । राज्य विधायकमा नेपाली ह्यारी भण्डारी प्रतिस्पर्धामा छन् । उनको भाग्यको फैसला पनि नोभेम्बर ६ मा नै हुने छ । उनी डेमोक्रेट पार्टीवाट मेरिल्याण्ड राज्यको विद्यायकमा मैदानमा छन् ।
 
कोलोराडोमा गभर्नर पदका प्रत्यासी जेरार्ड पोलिस नेपाल वुझेका व्यक्ति हुन् । उनी नेपाललाई सहयोग गर्न गठन भएको नेपाल ककस समुहका सह संयोजक समेत हुन् । उनले नेपालसँग व्यापार विस्तार गर्न कोलोराडोमा एउटा कार्यालय खोल्ने सम्म बताएका छन् ।
 
अमेरिकी नागरिकता लिएका करिब एक लाख नेपालीले यो मध्यावधि निर्वाचनमा मत हाल्ने अनुमान गरिएको छ ।
 
स्वास्थ्य बीमा, इमिग्रेशन जस्ता विषय नेपाल समुदायका लागि पनि चासोका विषय हुन् । अधिकांश नेपाली न्यून र मध्यमबर्गको आय हुने बर्गमा पर्ने हुँदा स्वास्थ्य बीमा सजिलो र सर्वसुलभ होस भन्ने चाहन्छन् ।
 
धेरै नेपालीको झुकाब डेमोक्रेट पार्टी प्रति देखिन्छ । तर, सार्वजनिक रुपमा रिपब्लिकन हौं भन्ने नेपालीहरु पनि छन् ।