मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कटुता त्यागेर देश विकासमा लाग्नुपर्छ : डा कोइराला

कटुता त्यागेर देश विकासमा लाग्नुपर्छ : डा कोइराला


विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका समयमा मात्र हुने बताउँदै कटुता त्यागेर देश विकास नै मुख्य प्राथमिकता हुनु पर्छ भने । 
 
उनले सङ्घीयता कार्यान्वयन नगर्ने र यसलाई असफल बनाउने खेल विभिन्न शक्तिकेन्द्रबाट शुरु भएको धारणा राख्दै सुशासनका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए । 
 
नेपाली काङ्ग्रेस मोरङद्वारा आयोजित दशैँतिहार छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकले आर्थिक समृद्धि हासिल गरेमा मात्र नेपाली जनता सुखी हुने बताए । 
 
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा डिला सङ्ग्रौलाले मुलुकमा राजनीतिक स्थिरता भएको अहिलेको अवस्थामा आर्थिक समृद्धि कायम गर्नु पर्ने विचार व्यक्त गरे । 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको अध्याय समाप्त भएको बताउँदै अब मुलुकको आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोड दिए । 
 
रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले सबै पर्वले नेपालीबीच भाइचाराको सम्बन्ध बढाएको बताए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का गणेश उप्रेतीले देश अब दिगो विकासतर्फ अग्रसर हुनुपर्ने बताए । 
 
नेपाली काङ्ग्रेस मोरङका सभापति डिगबहादुर लिम्वुको सभापतित्वमा भएको उक्त शुभकामना कार्यक्रममा प्रदेशसभा सदस्य शिवनारायण गन्गाईले काङ्ग्रेसले विगतदेखिकै आपसी सद्भाव कायम राख्ने परम्परालाई निरन्तरता दिन कार्यक्रमको आयोजना गरिएको बताए ।