मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समुदायका अग्रजको एउटै आवाज

नेपाली समुदायका अग्रजको एउटै आवाज


हिमालयखवर संवाददाता- 
ड्यालस (अमेरिका) ।  नेपाली समुदायका अगुवा व्यक्तित्वहरुले अमेरिकाको राजनीति र चुनावमा नेपाली समुदाय पछि परेको तथ्यलाई स्विकार गर्दै अबका दिनहरुमा सकृयताका साथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । 
 
ड्यालसमा आइतबार सम्प्रेषणले आयोजना गरेको अन्तरकृया कार्यक्रममा नेपाली समुदायको अस्तित्वका लागि र बालबालिकाको भविष्यका निम्ति ‘अमेरिकन पोलिटिक्स’ मा चासो र सकृयता बढाउनै पर्नेमा सबैको जोड थियो । कार्यक्रममा मुख्य वक्ताका रुपमा वासिङ्गटन राज्य, एसिया प्यासिफिक अफेयर्सका कमिशनर मोहन गुरुङले नेपाली समुदायले आफु रहेको स्थानबाट अमेरिकी राजनीतिमा सकृय हुन जरुरी रहेकोमा जोड दिए ।
 
‘भोट जुन दललाई हाल्न मन लाग्छ हाल्नुस्, तर चुनावमा सहभागी हुनुहोस्,’ गुरुङले आग्रह गरे । अमेरिकामा शिक्षा, स्वास्थ, सुरक्षा, कर लगायतका धेरै कुराहरु चुनावकै माध्यमबाट तय हुन्छ । यिनै मुद्धाहरुलाई लिएर उम्मेदवारहरु चुनामा खडा भएका हुन्छन् । 
 
गुरुङले नेपाली समुदाय विदेशिएको नभै संसारभरि लम्किएको उल्लेख गर्दै नेपाली समुदायले सबै क्षेत्रमा चासो दिनुपर्नेमा जोड दिए । 
 
न्यूयोर्कबाट प्रशारण हुँदै आएको सम्प्रेषणले पहिलो पटक अमेरिकाको मुलधारको राजनीति, चुनावका विषयलाई लिएर ड्यालसमा कार्यक्रम आयोजना गरेको हो । स्थानीय फिस्टेल रेष्टुराँमा आयोजना गरिएको अन्तरकृयामा एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीले व्यक्तिगत रुपमा धेरै नेपालीहरु अमेरिकाको राजनीतिमा सकृय भएको उल्लेख गरे । 
 
‘दर्शन रौनियारदेखि लिएर ह्यारी भण्डारीसम्मलाई राजनीतिमा सफल बनाउन ड्यालसले धेरै ठूलो सहयोग गरेको छ,’ उनले भने । 
 
कार्यक्रममा जनसम्पर्क समिति डिएफडब्लु च्याप्टरका सभापति ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको राजनीति, मतदान जस्ता क्षेत्रमा नेपालीहरु पछि परेको तथ्यलाई स्विकार गर्दै आगामी दिनहरुमा सकृय भएर लाग्ने बताए । ‘यहाँ नेपालको राजनीति त्यतिधेरै आवश्यक छैन, अब हामी सबै मिलेर यहाँको राजनीतिमा लाग्ने साथीहरुलाई साथ सहयोग गर्न र चुनावमा मतदान गर्न जरुरी छ,’ उनले भने । 
 
नेपाली समुदायका बालबच्चाहरुलाई पनि यहाँको समुदायसँग एकाकार बनाएर लैजान पनि अमेरिकाको राजनीतिमा सहभागिता जरुरी रहेको कार्कीको भनाई थियो । 
 
त्यस्तै प्रवासी मञ्चका नेता जनक रानाले पनि अमेरिकाको राजनीतिमा लाग्न नेपाली समुदायलाई ढिला भैसकेको उल्लेख गर्दै उता (नेपाल) को राजनीति यता धेरैनै भएको टिप्पणी गरे । ‘यहाँ आइसकेका हामीहरु फलानो पार्टी र ढिस्कानो पाटीको भनेर नभनौँ, यहीको राजनीतिमा लागौँ, दुईवटा दलहरु मध्य जुनमा भएपनि लागेर नेपाली समुदायको हितमा अघि बढौं,’ उनले भने ।
 
कार्यक्रममा एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बञ्जाडेले अमेरिकामा बसेपछि यहाँको सामाजीक दायित्व पनि पुरा गर्नुपर्ने उल्लेख गर्दै राजनीति लगायत सबै क्षेत्रमा सकृयता र सहभागिता जरुरी रहेको बताए । 
 
कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका नेता तथा एनआरएनका सल्लाहकार हरिबोल भण्डारीले अमेरिकी मेनस्ट्रिमको राजनीतिमा प्रवेश गर्ने कुरा एउटा प्रकृया भएकोले विस्तारै त्यतातिर पनि चासो र सकृयता बढिरहेको महसुस आफुले गरेको उल्लेख गरे । ‘यहाँ बसेर नेपालको राजनीति गनैै हुन्न भन्ने पक्षमा आफु नरहेको र जसरी जहाँ रहेर राजनीति गरेपनि मातृभूमिका लागि पनि सहयोग पुगिरहेको छ,’ भण्डारीले भने । 
 
नेपाली समाजकी महिला संयोजक आयसा ओझाले सुरुवातमै आफ्नो कर, शिक्षा, स्वास्थ लगायतका कुराहरुको चासो र चिन्ता भएकोले मताधिकार प्रयोग गर्ने बताइन् । उनले अमेरिकामो जो–कोहीको आफ्नो चासो र चिन्ता संबोधन हुने माध्यम भनेको चुनावनै भएकोले सबैले सकृयताका साथ लाग्नुपर्ने विचार राखेकी थिइन् । 
 
ड्यालसको नेपाली समुदायमा अमेरिकी राजनीतिमा चासो राख्दै सकृयता साथ लाग्दै आएका प्रभात दीक्षितले नेपालीको अस्तित्व राख्ने हो भने स्थानीय चुनावमा लाग्नैपर्ने र समुदायको हितका लागि भोट खसाल्नैपर्नेमा जोड दिए । ‘नेपालको राजनीति यहाँ हु–बहुँ नगरौँ, जे जति गर्नुपर्छ यतैको राजनीतिमा सहभागी होउँ,’ उनले भने । 
 
त्यस्तै नेपालमा राजनीति र पत्रकारिता क्षेत्रमा लामो समयसम्म सकृय हेम पाठकले आफ्ना सन्तानको चासो र चिन्तालाई समाधान गर्ने हो भने नेपालको राजनीति नभै अमेरिकाकै राजनीतिमा सकृय हुनुपर्ने अनुभव सुनाएका थिए । ‘मैले पनि नेपालको राजनीति गरेँ केही समय, तर छोरीहरुले चिन्ता व्यक्त गर्न थालेपछि उताको छाडेर यतैको राजनीतिमा अलि बढी चासो दिन थालेको छु,’ पाठकले भने । 
 
त्यस अवसरमा लायन्स क्लबका थलराज पन्त, अनकनका प्रकाश गौतम, चेम्बर अफ कमर्सका मनोज सिग्देल, सिटी अफ कोपेलका सन्देश रेग्मी, समाजसेवी डा. मुरली अधिकारी, सञ्चारकर्मी शैलेश आचार्य, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह, ग्रेटर अस्टिन नेप्लिज सोसाइटी (ग्यान्स) का देवराज न्यौपाने लगायतले अमेरिकी राजनीतिमा नेपालीको सहभागिता ज्यादै कमजोर भएको उल्लेख गर्दै भोट हालेर भएपनि सहभागिता जनाउनुपर्नेमा जोड दिएका थिए । 
 
कार्यक्रममा सम्प्रेषणका शैलेश श्रेष्ठले अमेरिकी मुलधारको राजनीति, चुनावमा नेपालीहरुको चासो र सकृयता बढाउन निरन्तर अघि बढिरहेको प्रतिवद्धता जनाएका थिए । 
 
लालटीन उपहारः
नेपाली समुदायका अमेरिकी राजनीतिको चेतना जगाउनका लागि अस्टिनका न्यौपानले त्यस अवसरमा प्रभात दीक्षित र शैलेश श्रेष्ठलाई लालटीन उपहार दिएका थिए । दीक्षितले अमेरिकी राजनीतिमा नेपाली समुदायलाई निरन्तर जागरुक बनाउन गरेको प्रयास र श्रेष्ठलाई सञ्चारको माध्यमबाट चासो जगाउन सफलता मिलोस् भन्दै लालटीन उपहार दिइएको न्यौपानले बताए । 
 
दीक्षितलाई प्रदान गरिएको लालटीन उनको अनुपस्थितीमा शैलेश आचार्यलाई हस्तान्तरण गरिएको थियो । तस्बिर: अशोक पन्त