साहित्य / विविध / फिचर

ठाउँठाउँमा ‘अरुण’ पुर्याउने पिरलो - लीला श्रेष्ठ

145 पटक पढिएको

- लीला श्रेष्ठ

27th Oct 2018, Saturday | २०७५ कार्तिक १०, शनिबार ०६:००
कालिम्पोङलाई अलबिदा गर्नु अगाडि हामीले हाम्रो साहित्यिक पत्रिका ‘अरुण’का केही प्रतिहरू कालिम्पोङ पत्रिका पसललाई बिक्रीको लागि छोड्नु थियो । त्यसैले हामी एउटा पत्रिका पसलमा गयौँ । “अरुण” पाख्रीबास कृषि केन्द्र कर्मचारी संघ साहित्यिक समितिद्वारा प्रकाशित साहित्यिक पत्रिका हो । कणेल दाइले बोक्नु भएको पाँच प्रति ‘अरुण’ त्यस पत्रिका—पसलमा छोड्यौँ । कालिम्पोङमा नेपाली साहित्यिक पत्रिका प्रशस्त बिक्दोरहेछ । 
 
यसरी छोटो समयमा अनुभूतिहरू सँगालेर हामी सम्पूर्ण कालम्पोङलाई नै अलबिदा गर्न बसबिसौनीतिर हाम् फाल्छौँ । दूरवीन—डाँडाबाट गहभरि आँसु लिंदै हामी कालिम्पोङलाई “बाई” गर्छौं । 
कालिम्पोङलाई ‘बाई’ भन्नासाथ अब हामीलाई गान्तोक पुग्ने उत्साहले तान्न थाल्यो । दिउँसो साढे एक बजे बस चढी गान्तोकको लागि प्रस्थान गर्यौँ । कालिम्पोङले हामीलाई “फेरि पनि आउनुहोस् है !” भन्दै सलाम ठोक्दै थियो । टिष्टाको छचल्कोले मलाई बोल्न नदिए पनि स्नेहिला आँखाले मैले सकारात्मक संकेत दिएँ । कालिम्पोङको रमणीयतालाई भीर–पाखा, वन–प्रान्त खोपेर–चिरेर सडक फेरि उही टिष्टाकिनारै-किनार बुर्कुसी मार्न थाल्यो । मेरो मुटुको ढुक्ढुकी बढ्यो “कतै दुर्घटनाको शिकार त हुँईंकिदैन ?!” वारिपारिका कुनै पनि डाँडा पाखाहरु खाली थिएनन् । सबैतिर टिकका रुखहरु, वनकेरा, अम्रिसो तथा अन्य जङ्गली बिरुवाहरुले छपक्कै ढाकेको थियो । 
 
नेपालको नाङ्गो डाँडा–पाखाको कल्पना गर्दा त मलाई यो ठाउँ उपवन नै लाग्थ्यो । यो उपवनको मनोरमता सलल चिरेर बसले हामीलाई दौडाइरहेको थियो । म यी दृश्यहरुको चुम्बनले मन्त्रमुग्ध भएको थिएँ । टिष्टाको छाल बेला–बेलामा मेरो मुटु छुन आएता पनि क्षण–क्षणमा फेरिरहने वरिपरिका नौलो दृश्यले मलाई उमङ्ग दिइरहन्थ्यो । 
 
“...लिलाजी ! वारि पनि बाटो पारी पनि बाटो,  जताततै देख्छु म त अम्रिसोको पाटो, हगि !!” कणेल दाइले मलाई कोट्याउँदै कवितात्मक शैलीमा भन्नुभयो । उहाँ पनि यस दृश्यबाट मुग्ध हुनुभएछ । “कवि मान्छे कविता बनाइहाल्नु भयो हगि !” मैले मुसुक्क हाँस्दै भनें । हामी दुवै हाँस्यौँ । 
 
हेर्दाहेर्दै गुड्दा—गुड्दै ‘मल्लिबजार’ टुप्लुक्क आइपुग्यो । टिष्टाको किनारमा रहेको यो मल्लिबजार कालिम्पोङदेखि १७ किलोमिटरको दूरीमा छ । हेर्दा खिच्रिमिच्री पसलको रुपमा रहेको यो बजार निकै सुन्दर छ । यस बजारको थाप्लोबाट टिष्टा नदी तरेर जोरथाङ्ग जाने सडकको पुल लमतन्न परेको छ । एकैछिन थकाई मारेर बस फेरि तन्कियो । मल्लीबजारले गान्तोक पुग्न अझै ५६ किलोमिटर देखाइरहेको थियो ।
 
देबेन्द्रजी गान्तोककी एउटी युवतीसँग गफमा व्यस्त देखिनुहुन्थ्यो । हेर्दा निकै फरासिली देखिने ती युवती बेला–बेलामा आफ्नो केश कोर्न र लिपिस्टिक दल्न पनि बिर्सिन्न थिइन् । आफ्नो यौवनको राप देखाउन तल्लीन देखिन्थिन् उनी । हामीलाई भने सिक्किमको दृश्य च्याउनु पर्ने पनि थियो । 
 
“के तपाईँको एकजना साथी बङ्गाली हुनुहुन्छ ?” एउटी युवतीले देवेन्द्रजीसँग सोधिन् । “हैन नेपाली नै हुनुहुन्छ ।” देवेन्द्रजीले भन्नुभयो । यसपछि ती युवती मरीमरी हाँस्न थालिन् । ती युवतीले कणेल दाइलाई “बङ्गाली” पो ठानेकी रहिछन् । 
 
गान्तोक सहरको रमझम र हामीले भोगेको रमाइलै रमाइलो दिउँसोको साढे चार बजेतिर बसले गान्तोक सहर प्रवेश गर् यो । बस बिसौनीमा पुगेपछि अर्को जीवनकै लामो सास फेरेँ – टिष्टाको छालमा तैरिएर । भन्न मन लाग्यो, आहा ! गान्तोक नगरी कति सुन्दरी !! फरासिली !
 
यो नगरी पहिला सिक्किमको राजधानी थियो रे ! उच्च आर्थिक जीवनस्तर बोकेर हँसमुखमा अवस्थित यो नगरी आफ्नै जाति, भाषा, संस्कृति र स्थान लिएर उभिएको छ । यस नगरीका नजिकै देखिने बस्तीहरु पनि ससाना उपनगरीजस्तै देखिन्छन् । बजारमा राखिएका विभिन्न नाराका प्लेटहरु “नरबहादुर भण्डारी जिन्दाबाद !” “दिल कुमारी भण्डारी जिन्दाबाद !” सिक्किम सङ्ग्राम परीषद्को राजनैतिक लक्ष्य सिक्किमको सुरक्षाजस्ता कुराहरु पढ्न पाइन्थ्यो ।
 
पर्यटकको घुईंचो हुनाले लजिङ्ग अत्यन्तै महंगो थियो सिक्किममा । ‘सिक्किम लज एण्ड होटल’ को तेस्रो तल्लामा एकसय बीस रुपियाँ भा.रु.तिरेर बल्ल–बल्ल एउटा कोठा लियौँ – चारवटा खाट भएको । निम्नस्तरको लजमा यत्तिका पैसा तिरेर पनि एउटा अर्को सिरक फेर्न सकिएन । यस लजमा काम गर्ने एउटा सानो केटालाई सिरक फेर्ने अनुरोध गरेको त ‘सर्भिस चार्ज’ पो माग्यो !
 
कोठाको बन्दोबस्त मिलिसकेपछि खाना खान त्यसै लजको दोस्रो तलातिर ओर्लियौँ । ओहो ! कस्तो रमाइलो भयो ! देबेन्द्रजी ट्वाइलेट जान्छु भनेर हिँड्नुभएको मान्छे सुत्ने कोठातिर पो पस्नुभयो । खाना खान एउटा कोठामा जानुपर्ने अर्को कोठामा जानुभएछ । हामी त पेट मिचिमिची हाँस्न थाल्यौँ । यस कुराले हामीलाई खानापश्चात् सुत्ने कोठामा फर्कने बेलासम्म पनि हँसाउन छोडेन । 
 
खुबै रमाइलो भयो– त्यो गान्तोकको रात ! खाना खाइसकेर कोठातिर के लागेका थियौँ हूलका हूल भैलोका जमातहरु नाच्दै– गाउँदै आए । घरि–घरि झ्याल खोलेर भएपनि हामीले ती दृश्य हेर्न छुटाएनौँ । घरको छतमा पट्का पड्कीरहन्थे । यहाँ वैधानिकरुपले पटका पड्काउन बन्द रहेछ । केटाकेटी तथा रउसे युवक–युवतीहरु पुलिसले नदेख्ने गरी घरको छतमा चढेर पड्काउँदा रहेछन् ।
यसरी पड्कने पटकाहरुले घर नै चिराचिरा बनाउँछ कि जस्तो भान पथ्र्यो । रातभरि नै पटका पड्काउनेहरुले पड्काई रहे । मस्त निद्रामा हुँदा पनि बेला–बेलामा झस्किन्थ्यौं । 
 
भोलिपल्ट गान्तोक डुल्न निस्कियौँ । आर्थिक जीवनस्तरले भरिपूर्ण, सु–सम्पन्न गान्तोक नगरी साँच्चै सुन्दर लाग्यो । यहाँ भिरालो पाखामा पनि झुपडीलाई माथ गर्ने विशाल भवनहरु निर्माण भएका छन् । यस नगरीको माथि डाँडामा निर्माणाधीन टावर र पहिलेका राजाको दरबार हेर्न गयौँ । दुर्भाग्यवश ! यिनीहरुको बाहिरी आवरण हेरेर धित् मार्नुपर् यो । 
 
राजाको दरबार हेर्ने अनुमति पाइएन । त्यसपछि हामी नरबहादुर भण्डारी (सिक्किमका मुख्यमन्त्री) ज्यूलाई भेट्न गयौँ । उहाँलाई गतरातको भैले टोलीले रातभर नै सुत्न दिएनछन् । हामीले एकपटक अनुरोध त गर्यौँ तर उहाँलाई उठाउन उहाँका चौकीदारले सहमति जनाएनन् । त्यसपछि दाँत कुँड्याएर ‘अरुण’ पत्रिकाको एकप्रतिमा हामी सबैको नाम लेखेर ‘मुख्यमन्त्रीज्यूलाई दिनुहोला’ भन्दै गेटमा उभिएको चौकीदारलाई छोड्यौँ ।
 
बजार घुम्दै गर्दा एकठाउँमा देख्यौँ— ‘सिक्किम साहित्य परिषद्’ लेखिएको बोर्ड । त्यसको छेवैमा सिक्किम साहित्य परिषद्ले एउटा विशाल तुलमा लेखेको रहेछ- “नेपाली भाषाले मान्यता पाउन आँट्यो भनेर भानुभक्तको मूर्ति तोड्दैमा भाषाको संवैधानिक मान्यता रोकिने छैन ।”
 
यहाँका प्राय: जनताहरु नेपाली भाषा साहित्यका प्रेमी रहेछन् । खुशी लाग्यो । गान्तोक नगरीको असीम रमणीयताको घुट्को पिएर फेरि एउटा पत्रिका पसलतिर लाग्यौँ । यस पसलमा पनि पाँच प्रति “अरुण” पत्रिका छोड्यौँ । 
 
गान्तोक नगरी हामीलाई “बाई” गर्न अगाडि सरिसकेको थियो । केटाकेटीहरु “रातो माटो– द्यौसिरे !” “चिप्लो बाटो– द्यौसिरे !” भनेर उफ्रँदै थिए । नेपालमा र गान्तोकमा देउसी खेल्ने पारा ठ्याक्कै उस्तै रहेछ । 
 
दिउँसोको खाना खान गौरीशंकर भोजनालयमा पस्यौँ । बेराले उसिना चामलको ह्वास्स गन्हाउने ठेउले सिता भएको भात अगाडि ल्याएर राखिदियो । यसको गन्ध नै मन परेन । नाक थुनेर खान खोज्दा पनि घाँटीबाट छिरेन । भात खान बसेर पनि भोको पेटमै चुठ्न करै लाग्यो हामीलाई । 
 
(क्रमश: ....)
(सन् १९९२, संस्मरण डायरीबाट)