मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

अबका कुनै पीडाले मलाई त्यति हर्ट गर्दैन -कृष्ण धरावासी

अबका कुनै पीडाले मलाई त्यति हर्ट गर्दैन -कृष्ण धरावासी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लगभग पाँच महिना भइसकेको छ साहित्यकार कृष्ण धरावासी सपत्नी नेपाल फर्कनु भएको । पाँच वर्षको अमेरिका बसाईलाई फूलस्टप लगाउनुभयो उहाँहरूले । अमेरिकाको हरियो पत्ता उसैलाई मुवारक गर्दै धरावासी कुनै हल्लाखल्ला नगरी शान्तपूर्वक नेपाल फर्कनु भएको हो ।
 
एक महिना अघि संयोगवश यो पंक्तिकार पनि नेपाल पुगेकी थिएँ । काठमाण्डौंको विशालनगर चण्डोल स्थित उहाँकै घरमा साहित्य, पत्रकारिता, स्वास्थ्य र जीवन दर्शनका विविध कुराकानी भए । मञ्जुजीसँग भने यो मेरो पहिलो भेट थियो ।
 
बिक्रम संवत २०५४ सालतिर नेपाल प्रेस यूनियनको एउटा कार्यक्रममा झापामा यो पंक्तिकारको उहाँसँग भेट भएको थियो । साहित्य जगतमा उहाँको नाम फैलदै थियो । आधाबाटो पढीसक्दा उहाँको लेखन शैलीको म पनि फ्यान हुन पुगेँ ।
 
उहाँको जन्म २०१७  साल साउन २  गते पॉंचथर जिल्लाको अमरपुर गाउँमा भएको थियो | २०२४ मा धरावासीको परिवार झापामा बसाईं सर्नु भएको हो | अनेक संघर्षको वावजुद लगभग पाँचथर फर्किनु पर्ने अवस्था आइसकेको थियो उहाँहरुलाई | तर एउटा बाख्रा बेचेको चालीस रुपैयाँ दाम झापा बसाईको निर्णायक अंक बनेको बडो रोचक प्रसंग उल्लेख छ आधाबाटोमा |
साहित्यकार धरावासी 
 
बिक्रम संवत २०४०  मा झापाबाट निस्कने तात्कालीन “साप्ताहिक विचार ” बाट कृष्ण धरावासीले रिपोर्टरको रुपमा आफ्नो पत्रकारिता शुरू गर्नुभएको थियो । त्यतिबेला साप्ताहिक विचारको प्रधान सम्पादक तारा बराल हुनुहुन्थ्यो । बैंकमा जागीरे भएपछि पंचायत कालमा आफ्नो नाम गोप्य राखी १० वर्षसम्म “अव्यय” को नाममा स्तम्भ लेख्नुभयो । २०५०  मा रेडियो नेपालको “घटना र विचार” मा रिपोर्टर हुनुभयो । “कञ्चनजँघा” एफएम झापामा ५  वर्ष र काठमाण्डौंमा तीन वर्ष एफएममा काम गर्नुभयो । 
 
अमेरिकाबाट फर्केपछि अहिले पनि अन्नपूर्ण एफएममा लीलाबोध कार्यक्रम संचालन गरिरहनु भएको छ । 
 
हरेक शनिवार ७ बजेदेखि एकघण्टासम्म आफ्नो फेसबुक मार्फत लीला लाइभ लिएर उहाँ उपस्थित हुनुहुन्छ ।
 
पाँचथर, झापा, काठमाण्डौँ हुँदै जीवनको आरोह अवरोहमा उहाँ अमेरिकासम्म बसाईं सर्नुभयो । सन २०१२ मा उहाँसँग मेरो नेपालमा भेट हुँदा हामी दुवै बुढाबुढीलाई नेपाल फर्कने सुझाव दिनु भएको थियो । छ महिना पछि डीभी भीसा लागेर अमेरिका आउँदैछु भन्ने धारावासीको म्यासेज पढ्दा हामी दुवै घोर आश्चर्यमा परेका थियौं ।
 
अमेरिका छोड्नुका कारणः
 
पॉंच वर्षको अमेरिका बसाईपछि कृष्ण धरावासी र उहाँकी पत्नी मञ्जु विमली सधैँको लागि नेपाल फर्कनु भएको छ । बस्ने रहर हुँदाहुँदै पनि धरावासीले अमेरिका छोड्नुका मुख्य तीन कारणहरु रहेछन ।
  • आफु पूर्णकालीन लेखक हुँदा अरु केहि काम नगरेको र पैसा नकमाएको । (काम नगरी खान नपाइने रहेछ अमेरिकामा )
  • पत्नी मञ्जु मात्र कमाउने । तर उहॉंको स्वास्थ्य कहिल्यै राम्रो भएन । 
  • छोराछोरी हुर्किए । कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही सुडान र कोही नेपाल हुँदा सबै एकैचोटी भेट नहुने भयो । आफु नेपाल बस्यो भने चाडवाडमा सबै सँगै भइन्छ भनेर ।
नेपालको जीवनलाई अर्गानिक भन्नुहुन्छ धरावासी ।
“हावापानी र जीवनशैली राम्रो छ नेपालको । स्लो लाइफ छ । मानिसहरु अति बिघ्न महत्वाकांछी छैनन । काम गरेर खान पुग्छ यहाँ । “
अमेरिकाको व्यस्त जीवनलाई भेल बाढीमा खोला तर्ने संघर्षसँग तुलना गर्नुभयो उहाँले । “उभिएर काम गर्नु पर्छ, रेस्ट हुँदैन, पिशाव रोक्दारोक्दै किड्नीमा समस्या आईलाग्छ । धेरै कमाउनेलाई राम्रै भएपनि व्यस्तताबाट मुक्ति कसैलाई छैन ” उहाँको अनुभव छ । 
 
२०६२ मा “राधा” बाट मदन पुरस्कार प्राप्त गर्नुभएका धरावासीको आधाबाटो, शरणार्थी, टुंडाल, झोला, पाण्डुलिपी, गेस्टापो बहुचर्चित कृतिहरु हुन । ग्रेट फल्स र तल्लो बाटो नेपालीका मेक्सिको र अमेरिकाका जीवन भोगाइका सेरोफेरोमा आधारित छन । 
 
कृष्ण धरावासीका प्राय उपन्यासहरु यात्राको सेरोफेरोमा लेखिएका छन | यथार्थपरक कथावस्तु धरावासीको मौलिक पहिचान हो । 
लेखनीमै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका धरावासीले यसबाट जति खुशी र सम्मान प्राप्त गर्नुभयो उतिनै नमीठो पीडा पनि भोग्नुभयो । एउटा लेखकको नाताले भोगेको यो दुःख पीडा भोग्नेलाई मात्र थाहा हुन्छ हामी पाठकहरु केवल अन्दाज मात्रै गर्न सक्छौँ । 
धरावासीसँग कुराकानी गर्दै पङ्क्तीकार 
 
हिमालय खबरको “यो कथा होइन” स्तम्भ मार्फत चर्चित साहित्यकार कृष्ण धरावासीको जीवनको एउटा दुखद घटना उहाँकै शब्दमा जस्ताको त्यस्तै –
 
“सीताजी ( पहिलो पत्नी ) बितेपछी म माथि घोर निराशा छायो । म फ्रस्टेड भएँ र पुनः मञ्जु विमलीजीसँग विबाह गरें | हामी दुबैले आआफ्नै कारणले बिहे गर्यौं । तर समाजबाट नराम्रो वेभ उठेर आयो । मेरो समग्र स्टाटसलाई भत्काउने खालको प्रतिक्रयाहरु आए । महिलाहरुको अझ बढी आक्रमण भयो । मञ्जु विमलीको पनि दोस्रो विबाह थियो, त्यो तर महिलावादीहरु म माथि नै खनिनुको कारण बुझि नसक्नुको थियो । 
 
यो समाजमा ठुलो ठुलो कुरा गर्नेले नै नबुझेको देख्दा छक्क परें । यदी कुनै व्यक्तिले अरू कसैको व्यवहारलाई असर नपर्ने गरी सजिलो निर्णय गर्यो भने समाज आत्तिनु पर्ने किन ? जो मेरो दुःख पीडामा कुनै पनि तवरले जोडिएका छैनन उनीहरुले झन बढी आक्रमण गरे । तल्लो स्तरमा पुगेर मलाई गाली गरे । हाम्रो समाजको तल्लो स्तरको सोच देखेर हैरान भएँ म । समाजको मनोविज्ञान के हो त भन्ने लाग्यो । म झन फ्रस्टेड हुन पुगेँ । यो अवस्थामा एक वर्षसम्म मेरा कितावहरू बिक्री हुन नै छोड़यो । एउटा लेखकलाई यति बिघ्न हर्ट गर्ने अधिकार के समाजलाई छ ? ” 
 
“वर्णन गर्नै नसक्ने यस्तो पीडा मैले भोगें अबका कुनै पीडाले मलाई त्यति हर्ट गर्दैन ।”
फूल वर्षाउने त्यो समाजले एकाएक काँडा वर्षाउँदाको पीडा कस्तो भयो होला ! त्यो भोगाई धरावासीलाई मात्र थाहा छ ।
उहाँको पीडा मनको अंतरकुनोमा थाँती छन, कुनैदिन यसलाई सबिस्तार लेख्ने बताए पनि त्यो समाजप्रति पूर्वाग्रही नभएको जानकार गराउनुभयो उहाँले । 
उहाँ भन्नुहुन्छ – “किनकी यो समाजले नै मलाई कृष्ण धरावासी बनाएको छ । “
दोस्रो विबाहपछि पनि उहाँको सातवटा पुस्तक प्रकाशित भइसकेका छन ।
पत्नी मञ्जु विमली र पँक्तिकारसँग धरावासी 
 
पुर्णकालीन लेखक भएर बाँच्न सकिन्छ नेपालमा भन्ने जिज्ञासामा उहाँको जवाफ –
“एउटा भीड छ लेख्नेको तर थोरै छानिएर माथि आउँछन | छानिएर आएकाहरुको लेखेर जीवन उपार्जन गर्ने अवस्था छ । जस्तो – सुविन भट्टराई, अमर न्यौपाने | १०/१५ पूर्णकालीन लेखक छन | लेखकहरु व्यवसायी हुँदैछन । गाडी चलाएर हिड्न सक्ने सामर्थ्य राख्दछन । यूरोप, अमेरिका गएर कविता कन्सर्ट गरेर पैसा कमाउँछन ।”
लेखककोरुपमा आएको आम्दानीबाट कृष्ण धरावासी आफै पनि सन्तुष्ट हुनुहुँदो रहेछ । एक वर्षमा एउटा शाखा अधिकृत स्तरको तलब जति आम्दानी हुने उहाँले बताउनु भयो । धरावासीको २८ वटा किताब बजारमा छन । २७ वटा निबन्ध समेटिएको एउटा पुस्तक प्रेसमा छ | 
 
स्वतन्त्र लेखनी बाहेक लीला लेखनलाई सशक्त ढंगले स्थापित गर्ने अभियानमा हुनुन्छ यतिखेर उहाँ । इन्द्र बहादुर राई पछि लीला लेखनमा धरावासी अगाडि देखिनु भएको छ । 
 
अहिले इन्द्रबहादुर राइको नाममा स्मृति ग्रन्थ र गीता माथि आख्यानात्मक कृति (गीताकै पुन व्याख्या) लेख्दै हुनुहुन्छ उहाँ । २/३  वर्ष पनि लाग्न सक्ला तर गीता माथिको यो कृति प्रकाशित गर्नु उहाँको ठुलो सपना रहेको छ ।
विशालनगर चण्डोल स्थित धरावासीको निवास 
 
कृष्ण धरावासीले कथा, निवन्ध, समालोचना, उपन्यास, जीवनी, कविता जस्ता विविध विधामा कलम चलाउनु भएको छ । उहाँलाई मनपर्ने आफ्नो कृतिहरु यस्तो छ –
उपन्यास – शरणार्थी 
निवन्ध – नारी भित्र त्यस्तो के छ हजुर ?
कथा – झोला 
उहाँका प्राय सबै कृतिहरु पढिसकेकी यो पँक्तिकारलाई भने आधाबाटो उत्कृष्ट लाग्छ ।
उहाँले २०४६ सालमा महानन्द पुरस्कार प्राप्त गर्नुभयो । त्यस्तै गरि राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम शान्ति पुरष्कार र युवा वर्ष मोती पुरस्कार लगायत विभिन्न पुरस्कारहरु धरावासीले प्राप्त गर्नु भएको छ । 
 
मेरो बुझाईमा शालीन, सरल र मिलनसारीता चर्चीत साहित्यकार धरावासीको विशेषता हो । 
 
(यो कथा होइन – दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।  www.himalyakhabar.com / [email protected] )