देश

चाडबाडको बिदा कटौती फिर्ता लिन माग

91 पटक पढिएको

–पूर्णप्रसाद मिश्र | 26th Oct 2018, Friday | २०७५ कार्तिक ९, शुक्रबार ०५:५७
काठमाडौँ । दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमी जस्ता सनातनदेखि चलिआएका मौलिक धर्म संस्कृति र चाडबाडका बिदा काटिएकोमा पण्डितहरुले आपत्ति जनाएका छन् । 
 
राष्ट्रिय धर्मसभा नेपालले शुक्रबार आयोजना गरेको पाँचौँ पण्डित सम्मेलनका सहभागीले चाडबाडका बिदा कटौती अविलम्ब फिर्ता लिन माग गरेका हुन् । पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले यस वर्ष कात्तिक ४ गतेदेखि नै कार्यालय खोले पनि अझै कर्मचारी आई नसकेको बताए । 
 
कोजाग्रत पूर्णिमाका दिनसम्म त कार्यालय खोल्ने कर्मचारीमात्र रहेको उल्लेख गर्दै उनले त्यस अवधिमा सेवाग्राही पनि नगएकाले अविलम्ब बिदा कटौती फिर्ता लिन माग गरे । भाषा, धर्म र संस्कृतिमाथि नियोजित तवरले आक्रमण गर्ने क्रममा कसैको इसारामा बिदा कटौती गरिएको सहभागीको जोड थियो । 
 
कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, समितिका पूर्वअध्यक्ष तथा धर्मसभाका अध्यक्ष डा माधव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी, हिन्दू जन जागृति संस्थान भारत गोवाका अध्यक्ष डा चारुदत्त पिँगले, किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, लामा धर्मगुरु खिलबहादुर थिङ लामा, पर्व सुधार अभियानकर्मी हरिनारायण मल्ललगायतले नेपालका मौलिक धर्म संस्कृति संरक्षणका लागि सबैका सामूहिक आवाज आवश्यक रहेकामा जोड दिए । 
 
शनिबारसम्म चल्ने सम्मेलनमा आज पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री कान्ता भट्टराईले ‘वर्तमान कानूनमा व्यवस्था भएका धर्मशास्त्रसँग बाँझिएका महिलासम्बन्धी कानूनी व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरे । 
 
यसैगरी नेपाल संस्कृत विश्व विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराईले ‘धार्मिक क्षेत्रमा देखिएका समस्या’ विषयक कार्यपत्र प्रस्तुत गरे । 
 
दुवै कार्यपत्रमाथि शनिबार छलफल गरी चारवटा सम्मेलनले पारित गरेका घोषणापत्रको कार्यान्वयनका विषयमा धर्मसभाका अध्यक्ष भट्टराईले अर्को कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव अरुणकुमार पाण्डेले जानकारी दिए । शनिबार नै सहभागीले उठाउने धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद्ले गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ । 
 
सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढीको सहभागिता छ । सम्मेलनमा भाग लिन भारतबाट ३० जना पण्डितको समूह आएको छ । 
 
नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । काजक्रिया घटाउने, आशौच र व्रत खण्डीत गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा सहभागीले जोड दिएका छन् । 
 
बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनले यसअघि नै जारी गरेको पण्डितको आचारसंहिता पालनाका लागि सरकारीस्तरबाट नीतिगत व्यवस्था गर्न पनि सहभागीले माग गरेका छन् । रासस