मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनप्रतिनिधिले नै स्कुल भत्काइदिएपछि सडकमै डेस्कबेञ्च राखी पठनपाठन

जनप्रतिनिधिले नै स्कुल भत्काइदिएपछि सडकमै डेस्कबेञ्च राखी पठनपाठन


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सडक विस्तारको नाममा वडा नं २१ कुर्थामा रहेको राजर्षी माध्यमिक विद्यालयको छ वटा कक्षाकोठा तथा पर्खाल भत्काएपछि सोको विरोधमा विद्यार्थीले सकडमै डेस्कबेञ्च राखेर पठनपाठन थालेका छन् । 
 
वैशाखको पहिलो साता मध्यरातमा उपमहानगरपालिकाले सडक विस्तारका नाममा डोजर लगाई विद्यालयको छ वटा कक्षाकोठा र भत्काएपछि करीब ६०० विद्यार्थीको पठनपाठन प्रभावित भएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए । 
 
दशैँ बिदापछि पहिलो पटक आज विद्यालय खोल्नासाथ उपमहानगरपालिकाको विरोधमा विद्यालय अगाडि नै डेस्कबेञ्च राखेर विद्यार्थीले पठनपाठन गरी विरोध जनाए । विद्यार्थी विरोध गर्दै सडकमा उत्रेपछि शिक्षकसमेत सडकमै दुई घण्टी कक्षा लिएका थिए । 
 
सडककै छेउमा रहेको विद्यालयका विद्यार्थीले सवारी साधनका ध्वनि र धुलोबाट प्रभावित भई विभिन्न रोगको सिकार हुन थालेकाले विरोधमा विद्यार्थी आन्दोलनमा उत्रेको विद्यालय सुधार समितिका अध्यक्ष भोगेन्द्र रायले बताए । उपमहानगरपालिकाले यथाशीघ्र भत्काएको संरचना तयार नगरे आफूहरु सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उनको चेतावनी थियो । 
 
वडा अध्यक्ष रामेश्वर महासेठले आफ्नो नातामा पर्ने भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको बलमा विद्यालय भवन भत्काउन लगाएको विद्यालयका प्रअ यादवले आरोप लगाए । 
 
वडाअध्यक्ष महासेठले आफ्ना नातागोताका व्यक्तिको जग्गा जोगाउन जबर्जस्ती विद्यालयको संंरचना भत्काएको यादवले बताए । यता कुर्थाका स्थानीयले जनप्रतिनिधि भएर विद्यार्थीको भविष्यसँग खेलबाड गर्दैै सार्वजनिक सम्पत्ति मासेको आरोप लगाएका छन् । 
 
स्थानीय चेतनारायण साहले सडकमै रहेको वडा कार्यालय जोगाउन वडाध्यक्ष महासेठले विद्यालय भवन भत्काएर विद्यार्थीको भविष्यसँग खेलबाड गरेको बताए । वडाध्यक्ष महासेठले आफूले विद्यालय भवन भत्काउन नलगाएको दाबी गरेका छन् । 
 
उनका अनुसार विद्यालयका प्रअ आफैँले डोजर लगाई विद्यालय भवन भत्काएको उनको आरोप छ । तर वडाध्यक्ष महासेठ आफैँ उभेर विद्यालय भवन भत्काउन लगाएको तस्बीर आफूहरुसँग रहेको स्थानीयले बताएका छन् । रासस