साहित्य / विविध / फिचर

स्मृति ह्युमपाइपको

521 पटक पढिएको

- रामचन्द्र भट्ट

20th Oct 2018, Saturday | २०७५ कार्तिक ३, शनिबार ०८:३१

बरण्डाको कुर्सीमा बसेर कञ्चन चुरोटको सर्को तान्दै चिया पिउँदै छ । उ सोचमग्न छ–‘त्यो नयाँ कम्पनीले पठाएको जब अफरलाई स्विकार गरुँ कि नगरौं ? तलब, सुविधा, स्वास्थबीमा, फोरओवानके, पेड भ्याकेसन सबै असाध्यै राम्रो छ । खोजेकै जस्तो । तर टेक्सस छाडेर साउथ क्यारोलाइना जानुपर्ने प्रस्ताव । बल्लतल्ल सेटल हुन लागेको ड्यालसको बसाई । फेरि पनि सुटकेस बोकेर जानुपर्ने, गाडी मुभिङ कम्पनीमा जिम्मा दिएर पठाउनुपर्ने । के गर्ने, के नगर्ने ?’

बितेका चार वर्षमा उसले अमेरिकाको पूर्बदेखि पश्चिम, उत्तरदेखि दक्षिणका ६ ठाउँ चाहारिसकेको छ। एउटा प्रोजेक्ट सकिनासाथ अर्को कामका लागि सुटकेस बोकेर कोलम्बरदेखि सानहोजे, रोचेस्टरको तीन फिट हिउँदेखि टक्सनको उखरमाउलो गर्मी उसले भोगिसकेको छ । एक मनले त थोरै पारिश्रमिक भएपनि ड्यालस छाडेर जान पटक्कै मन लागेको छैन कञ्चनलाई ।

घर्याक्क बरण्डाको ढोका खुल्छ । ‘बाबा, आज म स्कुल बसमा नजाने । हजुरले पुर्याइदिने मलाई’ भरखरै ५ वर्ष पुगेको छोरा सौजनले भन्यो ।

‘हैन छोरा, बस आइहाल्छ नि । बसमै जाउँ न,’ कञ्चन सम्झाउने प्रयास गर्छ ।

‘नाई नाई जान्न बसमा त । आज त जाँदै जान्न । हजुरले पुर्याइदिनुपर्छ । नभए स्कुलै जान्न,’ बालक ढिपी गर्यो ।

दिमागले भविष्यका बारेमा के निर्णय लिने भनेर निर्णय गर्न नसकिरहेको बेलामा सौजनको ढिपीले कञ्चनलाई रिस उठिसकेको छ । आजै अफिस फेरि ८ बजे पुग्नुपर्छ । सौजनको स्कुल १० बजेमात्र खुल्छ । प्रि–स्कूल भएकोले केही ढिलै खुल्छ । १० बजेसम्म कुर्दा उता अफिस ढिला भैसक्छ ।

सौजन खुट्टा बजार्दै भित्र पस्छ । ‘बाबाले नलगिदिने हो भने त म स्कुलै जान्न ममी,’ उसले अर्पणासँग गुनासो गरेको बाहिर बरण्डासम्म सुनियो ।

सौजन असाध्यै जिद्धीवाला बालक छ । हुनतः अमेरिकामा नेपालीका बालबालिकाहरु केही जिद्धीनै हुन्छन् । तरपनि सौजनको स्वभाव आफूले जे भन्यो त्यो ममी–बाबाले पुर्याइदिनैपर्छ भन्ने खालको छ । उ फेरि बरण्डामा आउँछ । ‘हजुरले नै लगिदिनुपर्छ मलाई आज । नत्र त जान्न नि,’ उसले फेरि जिद्धी गर्यो ।

कञ्चनको रिसको पारो धेरै माथि पुगिसकेको छ । तरपनि अमेरिकामा छोराछोरीलाई कुट्न भएन । नेपालमा भए दुईचार चड्कन भेटिसक्थ्यो उसले । के गर्नु ? रिस थामेर बस्नुपरेको छ कञ्चनलाई ।

‘किन यस्तो जिद्धी भयो यो बच्चो ? मरिगए न मेरो कुरा बुझ्छ, नत अर्पणाकै कुरा सुन्छ ?’ मनमनै कञ्चनले आफैँसँग प्रश्न गर्छ ।

उसले सौजनको अनुहारमा हेर्यो । ‘मेरो नाक चुच्चो छ, तर यसको अलिकति थेप्चो छ । आँखा पनि खैराखैरा छन् । मुख पनि मेरो आकारको छँदैछैन । सौजनको अनुहार काटीकुटी कुमारसँग मेल खान्छ । कुन दशा लागेर ह्युमपाइपमा पसिएछ त्यस दिन ?’ कञ्चन सोचमग्न हुन्छ ।

-0-

२०६९ असोज महिना । तराईको नवलपुरको मौसम न त गर्मी, नत जाडो । दशैं सुरु भैसकेको थियो । घटस्थापनाको दोस्रो दिन थियो । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस दशैंका लागि बन्द भएपछि काठमाडौंमा बसेर अंग्रेजी साहित्यमा डिग्री गर्दै गरेको कञ्चन र कुमार गाउँ आएका थिए ।

एउटै गाउँका, सँगै एकै वर्ष एसएलसी दिएका दुबै असाध्यै मिल्ने साथी थिए । त्यही भएर पनि उनीहरु काठमाडौंमा सँगै बसेर डिग्री (स्नातकोत्तर) पढ्दै थिए । 

रात्रीबसबाट एकाबिहानै पूर्बपश्चिम राजमार्गको नवलपुरमा दुबै उत्रिए । रातभरिको अनिदो थिए उनीहरु । बसबाट उत्रिएपछि कुमारको घर राजमार्गबाट आधा किलोमिटर उत्तरतिर जानुपर्थ्यो । कञ्चनको घर भने मलंगवारोडपट्टि झण्डै एक किलोमिटर थियो ।

‘ल भरे ५ बजेतिर यतै भेट्नुपर्छ है । हामीभन्दा दुईवर्ष पछि एसएलसी दिएकी अर्पणा छे तिमी चिन्छौ नि । हो उसैले कुरा गर्नुछ भनेकी छ । उ पनि डिग्री पढ्न काठमाडाैँ जाने रे । सहयोग चाहियाे भन्दैथिइ,' छुट्टीदै कुमारले भन्यो ।

‘एकाध पटक देखादेख त भएको होला अर्पणासँग । खासै चिनेको त होइन । मोबाइलमा फोन गर न । म साइकल लिएर आइहाल्छु,’ कञ्चन घरतिर लाग्यो ।

साइकल लिएर भाई आइपुगेको थियो उसलाई लिन बसस्टपमा । दुबैजना साइकल चढेर घरतिर लाग्छन् । आमाले बनाउनुभएको चिया पिएर कञ्चन सुत्न भनेर माथि उक्लियो । रातभरिको निद्राले थाकेको उ भाईको बेडमा पल्टियो । ‘आमा, मलाई साह्रै निद्रा लागेको छ । मलाई खाना खान पनि नबोलाउनुस् है । जतिबेला बिउँझिन्छु त्यतिखेरै खाउँला । बरु खाना राखिदिनुभए हुन्छ,’ उसले आमालाई अनुरोध गर्छ ।

‘ल ल सुत । म खाना राखिदिन्छु । सेलाएको रहेछ भने तताएर खानु । म खेतमा जानसक्छु । उठेर खाना चाहि खानु नि,’ त्यति भन्दै आमा तरकारी टिप्न बारीमा निस्कनुभयो । स्कुल पनि छुट्टी भैसकेकोले आमा पनि फुर्सदिलो भएकी थिइन् ।

नवलपुरमा कञ्चनका पिता मदनकुमार निकै सकृय समाजसेवी र राजनीतिकर्मी थिए । उनी नेपाली कांग्रेसमा आवद्ध थिए । मधेश आन्दोलनको क्रममा उनको घर तोडफोड समेत भएको थियो । उनी पहाडीयामुलको हुनु र नेपाली कांग्रेसबाट स्थानीय रुपमा सकृय हुनुलाईनै आन्दोलनकारीहरुले कारक बनाएर तोडफोड गरेका थिए ।

तर उनी हरेश खाएनन् । त्यतिखेर केही समय काठमाडौं गएर बसे । मधेश शान्त भएपछि उनी फर्किएर संबिधान सभाको दुबै चुनावमा कांग्रेसको पक्षमा माहौल खडा गर्न सकृय भए । स्थानीय चुनाव भएको अवस्थामा उनको विकल्प थिएन कांग्रेसभित्र ।

कञ्चनकी आमा पनि शिक्षित परिवारकी चेली थिइन् । सिन्धुलीको थापा परिवारकी छोरी थिइन् उनी । २०४३ सालमा जनकपुरको रामसागर रामस्वरुप क्याम्पसबाट बिए पास गरेकी थिइन् । उनी घरपायक हरिपुरकै एक सरकारी स्कुलमा अर्थशास्त्र पढाउँथिन् ।

शिक्षित परिवारमा जन्मे हुर्केकाले कञ्चनले काठमाडौंमा बसेर पढ्ने अवसर पाएको थियो । पिताको राजनीति, आमाको शिक्षण पेशालाई सम्झँदा सम्झँदै उ भुसुक्कै निदायो ।

‘सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली........ मोबाइलको घण्टी बज्यो । कञ्चनले मोबाइलको रिङ्गटोनमा राष्ट्रिय गान राखेको छ । हरेक पटक मोबाइलको घण्टी बज्दा यही राष्ट्रिय गान बज्नेगर्छ । दिउँसोको साढे चार बजिसकेछ । मोबाइलको घण्टीले उ झल्यास्स बिउँझियो । कुमारले फोन गरेको रहेछ ।

‘ए म त सुतेको सुत्यै पो भएछु । ल म खाना खाएर आइहाल्छु है त?’

‘ल ल छिटो आइज । म अघिनै यहाँ चोकमा आइसकेँ,’ कुमारले फोन काट्यो । आमाले हटकेसमा राखिदिनुभएको खाना खाएर कञ्चन साइकल सडकमा निकालेर बेतोडले दौडाउन थाल्छ ।

झण्डै एकवर्षपछि गाउँमा आएका छन् उनीहरु । अघिल्लो वर्षको दशैंमा आउँदा भन्दा नवलपुरमा धेरै नयाँ घरहरु थपिएछन् । केही वर्ष अघिसम्म सर्लाही भन्नासाथ अर्कै नजरले हेरिने थलो भएको थियो । तर अहिले विस्तारनै शान्त भएकोले पहाडीमुलका पनि नवलपुरमा झर्ने क्रम बढेको छ । बनेका नयाँघरहरुले पनि त्यही देखाइरहेको थियो ।

आजै साँझ स्कुलका २०६२ सालका एसएलसी व्याचका मिलेसम्मका साथीहरु भेट्ने कुरा पनि छ । काठमाडौंमै छँदा फोनमा साथीहरुबीच छलफल भैसकेको थियो ।

हरियाको चिया पसलमा कञ्चनलाई कुरिरहेको छ कुमार । त्यहाँ पहिलेनै अक्रुर, श्यामा, कागेश्वर, स्वेता लगायतका २०६२ का एसएलसी व्याचका साथीहरु जम्मा भैसकेका छन् ।

‘ल, हामीले त एकएक कप चाय पनि पिइसक्यौँ त । अरे ओ कञ्चन कस्तो देर करेको ?’ साइकलमा ताल्चा लगाउँदै गरेको कञ्चनलाई स्वेताले सोधिहालिन् ।

‘तिमीजस्तो आनन्दले सुत्न पाएको भएपो त । उहाँ आफूलाई रातभरिको ह्याङओभरले अझै छाडेको होइन,’ कञ्चनले श्वेतातिर फर्किदै जवाफ दियो–‘बरु भने के छ खबर ? अझै बिहे गरेकी छैनौ ? सिन्दुर, पोते त केही देख्दिन । तिम्रो बाबाले त पोहोर मंसिरमै बिहे गरिदिने कुरा गर्नुभएको थियो ।’

‘अँ, अब बाबाले त पराईघर पठाइदिन चाहनुभएकै हो नि । तर के गर्नु ? हाम्रो समाजमा दहेजले गर्दा बाबालाई गाह्रो छ नि,’ स्वेताले पीडा फुकाइन् ।

बिएसम्म पढेकी स्वेता अहिले स्थानीय एक बोर्डिङ स्कुलमा शिक्षिका छिन् । केटा पक्षबाट मोटरसाइकल, १५ लाख नगद, १० तोला सुन माग भएपछि स्वेताका बाबाले त्यति जुटाउन नसक्दा उनको बिहे भएको छैन । दहेज भनेर चिनिने दाइजो तराईको निकै ठूलो समस्या भएको छ । केटीका धेरै बाउहरु छोरीको बिहेका लागि दहेज जुटाउन नसक्दा आत्महत्या गर्न वाध्य भएका छन् ।

त्यसदिन २०६२ सालमा एसएलसी दिनेहरुमध्य ८ जनामात्र जम्मा भए । सबैले आफ्नो कहानी सुनाए । प्रगति भन्दा पनि उनीहरुमा असन्तोष थियो । देशको राजनीति, भ्रष्टाचारले गर्दा विदेश जाने मोह धेरैमा थियो । दशैंको टिकाको भोलीपल्ट एकादशीको दिन मिलेसम्म सबैलाई सहभागी गराउनेगरि भेला राख्ने सहमति भयो । किनकी कतिपय सहपाठीहरु बाहिर जिल्लाका कार्यालयमा काम गर्ने भएकोले बिदा नभैसकेकोले आएका थिएनन् ।

हरियाको चिया पसलमा झण्डै तीन राउण्डसम्म चिया पिए उनीहरुले ।

‘ए, ल अर्पणा पनि आइन् । तिमी २०६२ को एसएलसी नभएपनि ल बस हामीसँग,’ कुमारले सबैको ध्यान आकृष्ठ गर्दै भन्यो ।

अर्पणाले सबैलाई नमस्कार गरिन् । गहुँगोरी बर्णकी उनी निकै राम्री देखिन्थिन् । एकाध पटक  देखभेट भएपनि कञ्चनको उनीसँग त्यति घनिष्ठता भने थिएन ।

‘तिमी कति सालको एसएलसी हो रे अर्पणा ?’ कञ्चनले सोध्यो ।

‘हजुर २०६४’

उनी लालबन्दीको एउटा सहकारीमा काम गर्दिरहिछन् । स्थानीय क्याम्पसबाटै भरखरै बिबिएस समाप्त गरेकी उनका हजुरबा २०३५ सालमा रामेछापबाट झरेका थिए । उनी भने लालबन्दीमै जन्मिएकी, हुर्किएकी । बाउ पहाडिया कार्की र आमा तराईकी रायको मिश्रणबाट जन्मिएकी थिइन् अर्पणा । तर स्वर र अनुहारमा तराईबासीको अलिकति पछि संकेत आउँदैनथ्यो । हुनत उनकी आमा रायकी छोरी भएपनि गोरी थिइन् । नेपाली उच्चारण पनि शुद्ध भएकोले त्यसको प्रभाव अर्पणामा परेको थियो ।

त्यसदिन अर्पणा, कञ्चन र कुमारले त्यही हरियाको चियापसलमा झण्डै दुईघण्टासम्म कुराकानी गरे । स्कुल, साथीसंगीहरुको प्रगति, आफ्नो काम, परिवार आदीका बारेमा उनीहरुका कुराकानी केन्द्रीत रहे ।

‘यही मंसिरमा बिहे गर्ने गरि कुराकानी भैरहेको छ । मलाई भने डिग्री पढ्न मन छ,’ अर्पणाले दुःखेसो पोखिन् । काठमाडौं गएर डिग्री गर्न मन रहेछ उनलाई । बा बितिसक्नुभएको र एउटा दाजु कतारमा अनि अर्को कोरिया गएका रहेछन् कामको लागि । हुर्की बढेकी छोरी घरमा पालेर राख्नु जोखिमपूर्ण हुन्छ भन्ने सोचाईकी आमा हुनाले उनले काठमाडाैँ गएर डिग्री पढ्ने अनुमति पाएकी थिइनन् ।

कुमारको पहिलेदेखिनै चिनजान भएपनि कञ्चनको भने अर्पणासँग दोहोरो कुराकानी भएको पहिलो पटक थियो । तर पहिलो पटकमै पनि अर्पणाले खुलस्त कुराकानी गरेको देखेर कञ्चन दङ्ग थियो । काठमाडौंमा उसले थुप्रै केटीहरुसँग कुराकानी गरेको भएपनि किन हो कुन्नि कञ्चनलाई ती सबैका कुरा बनावटी जस्तो लाग्थ्यो । नौटंकी जस्तो भान पथ्र्यो मलाई । तर अर्पणाको कुराले कञ्चन निकै प्रभावित भयो । थपमा उनको सुगठीत शरिर त छँदैथियो ।

कुराकानी हुँदै गर्दा उनले आफूलाई पनि हतार भएको संकेत गरिन् । उनी पनि साइकलमा आएकी थिइन् । नवलपुरबाट लालबन्दी त्यति टाढा त होइन । साइकलमा १० मिनेटमा पुगिन्थ्यो ।

‘ल म पनि जान्छु । आजको हाम्रो भेटघाट निकै उपलव्धीमुलक भयो । भोली फेरि साँझ यही भेटौं न त हुन्न अर्पणा ?’ कुमारले सोध्यो ।

उनले हुन्छ नै त भनिनन् । ‘खै’ भन्ने संकेत गरिन् ।

‘होइन । के छ र तिम्रो पनि बेलुकी काम ? आउ न यता भेटेर अरु कुराकानी पनि गर्नुछ,’ कुमारले प्रस्ताव राख्यो ।

त्यसदिन उनीहरु लागे आफ्नो गुँडतिर ।

उता कञ्चनलाई अर्पणाको रुप र शील स्वभावले निकै आकर्षित गरिसकेको थियो । शील स्वभाव पुरै नजाने पनि उनको रुपबाट कञ्चन लठ्ठै परिसकेको थियो ।

अघिल्लो दिनभरि सुतेका कारण बिहान चाँडै ब्युझियो उ । साँझमात्र भेट्ने कुरा छ । दिन कसरी कटाउने भनेर उ बडो चिन्तित भयो ।

‘ए कञ्चन, त्यो मलंगवासम्म पुगेर आइज त । त्यहाँ दशैंको लागि खसी आइपुगेको छ । हाम्रो लागि भनेर एउटा राखिदिएका छन्,’ बाबाले भन्नुभयो ।

यसलाई पनि दिनभरि बिजी हुने कुनै काम चाहिएको थियो । जान बढीमा डेढ घण्टा आउन डेढ घण्टा गरेर मलंगवा पुगेर बढीमा ५ घण्टामा त आइहालिन्थ्यो । उसले सहर्ष स्विकार्यो । मलंगवा जाँदा उसलाई दुईवटा फाइदा थियो । पहिलो त समय बित्थ्यो भने अर्को त्यहाँको नयाँ परिवर्तन बारेमा जानकारी पाउन सकिन्थ्यो । उ मलंगवा नपुगेको पनि सात वर्ष भैसकेको थियो । तराईको सबैभन्दा गएगुज्रेको शहरको रुपमा मलंगवा परिचित हुँदै गएको थियो ।

कञ्चन मलंगवा पुगेर घर फर्कदा ३ बजिसकेको थियो । बडेमानको ध्वाँसे खसीलाई उसले खोरमा बाँधेको छ । कतिबेला ५ बज्ला र अर्पणालाई भेट्न पाइएला भनेर उसको मन अधैर्य थियो ।

‘कञ्चन आइस् ?’ बाबाको प्रश्नले खाजा खाँदै गरेको उ झसङ्ग भयो । दशैंको समय भएकोले बाबा गाउँका मानिसहरुलाई जम्मा गरेर समसामयीक राजनीतिका बारेमा गफ गर्दै थिए । संबिधान सभाले संबिधान बनाउला जस्तो छैन, मधेश फेरि कतै अशान्त त हुने होइन भन्नेमा धेरैको चिन्ता थियो ।

‘हजुर बाबा, ल्याएँ । यो खसी हाम्रो सानो परिवारका लागि ठूलो भएन र ?’ बाबासँग प्रश्न ग¥यो कञ्चनले ।

‘तँ र हामीमात्र हो र यो खसी खाने ? धेरै जना आउँछन् नि त घरमा । सबैको मुख जुठो नबनाइ नपठाउने हाम्रो संस्कार हो बुझिस्,’ बाबाको जवाफ सुनेर उसले मुन्टोमात्र हल्लायो ।

आज उ साढे चार बजेनै साइकल लिएर नवलपुर चोकका लागि निस्कियो । एक वर्षपछि आएकोले साइकलबाटै सबैलाई नमस्कार गर्दै, सञ्चो बिसञ्चो सोध्दैथियो ।

हिजोजस्तै आज पनि उ हरियाको चियापसलमा पुग्यो । हिजो कञ्चन सबैभन्दा ढिला भएको थियो भने आज सबैभन्दा पहिलो ।

‘हरिया दाई, कडक चाय बनाउनुस् त,’ उसले अर्डर गर्यो ।

‘कति कप बनाइलिउँ कञ्चन बाबु ?’

‘अँ अहिलेलाई तीन कप बनाउनुस् न । कुमार र अर्पणा पनि आउँदैछन् ।’

‘अँ, ओ अर्पणा लड्कीको बात कर्नुभएछ । साह्रै बेस छ ओ तो,’ हरियाले अर्पणाको बारेमा भने–‘मलाई यो चियापसल कर्नेको लिए सहकारीबाट दोलाख ऋण दिलाइदिएको छ अर्पणाले ।’

‘उसको साथ सादी जसले गरिलिन्छ, ओ बहुत भाग्यमानी भैजान्छ कञ्चनबाबु,’ उनको प्रशंसा गर्दै हरिया भन्दैगयो । साँच्चिकै उनी सुन्दरनै थिइन् । साँढे ५ फिट उचाई, टमक्क परेको शरिर, पुष्ठ छाती, पुष्ठ नितम्ब । बारुले कम्मर नभएपनि उचाई अनुसार मिलेको, धनुष जस्तै मिलेको आँखीभुई उनका विशेषता थिए ।

कञ्चनले मनमनै यत्तिकी केटी पाइयो भने त बाआमाको बुहारी बनाउन योग्य भएको निर्क्याैल गर्यो । बोलीचाली पनि त सभ्य नै रहेछ । हरियाको कुरा अनुसार उनी सहयोगी, स्थानीय समुदायमा परिचित भएका कारण बाबाको राजनीतिमा सहयोगी समेत हुनसक्ने उसको अनुमान उसले गर्यो ।

अर्पणालाई बिहे गर्दा तराईमुलकी सम्धिनी हुनेभएकोले मदनकुमारको राजनीतिलाई पनि टेवा पुग्ने अवस्था हुन्थ्यो । उनको मनमा के छ कुन्नि ? तर कञ्चनले भने भित्री मनले उनलाई मन पराइसकेको छ ।

‘ए, तिमी त आइसकेछौँ ?’ कुमारको आवाजले कञ्चन झसङ्ग हुन्छ ।

‘अँ १५ मिनेट भैसक्यो नि त ।’

‘म त हिजोजस्तै फेरि तिमीलाई फोन गर्नुपर्ने त होला नि भनेर विस्तारै आएको,’ कुमारले भन्यो ।

‘अनि खै त अर्पणा चाहि ? आज आउँदिन कि के हो ?’ कञ्चनलाई कुमारको आगमनप्रति भन्दा पनि अर्पणाप्रति चासो छ ।

‘खै आउनुपर्ने हो । अघि घरबाट निस्कने बेलामा फोन भएको थियो । ढिला हुनसक्छ भन्दैथिइ,’ कञ्चनको मनलाई शान्त पार्दै कुमारले भन्यो ।

‘अर्पणा आएपछि हामी यहाँबाट अन्तै जानुपर्छ, बुझिस् । उनीसँग शान्त वातावरणमा कुरा गर्नुछ’ कुमारले सुनायो ।

‘कस्तो शान्त वातावरण हो ? यहिँ पनि त के हल्लाखल्ला छ र ? फेरि मैले त घरमा केही भनेको छैन । राति त घरमा फर्किनुपर्छ,’ कञ्चनले आंशीक अस्विकार गर्र्दै भन्यो ।

‘त्यसो होइन । तँ पनि यत्तिकै चिन्ता लिन्छस् । रात बिताउनेगरि अन्त जाने भनेकै होइन क्या ।’

‘अनि के हो त ?’ कञ्चनको मनभित्रको जिज्ञासा अझै शान्त भएको छैन ।

‘पख न पख । उसलाई आउन त दे ।’

अर्को राउण्ड चिया पिउँदै उनीहरु दुबैजना पूर्बपश्चिम राजमार्ग हुँदै ओहोर दोहोर गर्ने सवारी साधन हेरिरहेका छन् । दशैंका लागि मानिसहरुको चहलपहल निकै बढेको छ । बसबाट ओर्लिने र चढ्नेहरुको त्यत्तिकै भीड छ । बसबाट झरेपछि अँगालो हालेर खुशी हुनेहरु पनि छन्, ‘मेरो त पैसा भएको पर्सनै पकेट मारिएछ’ भनेर रुवाबासी गर्नेहरु पनि थोरै छैनन् ।

रिक्सा चालकहरुलाई छोइसाध्य छैन । अघिपछि ५ रुपैयाँमा पुर्याउने ठाउँलाई हिजोआज २० घटी कुरै गर्दैनन् । ‘दिने भए २० रुपैयाँ दिनुस्, नभए हिँडेर जानुस्,’ रिक्सावालाहरु ठाडै भन्न थालेका छन् । झन सुटकेस, सामानको भारी धेरै भएकाहरु त बसबाट झरेर हिँडेर जान सक्दैनन् भन्ने लागेपछि त उनीहरु जथाभावी भाडा भनिहाल्छन् । मुखको बोली भएको छ उनीहरुको भाडादर ।

यत्तिकैमा कुमारको फोनको घण्टी बज्छ । ‘अर्पणाले गरेकी रहिछ,’ कञ्चनलाई फोन देखाउँदै कुमार  भन्छ ।

‘अँ कहाँ आइपुग्यौ ? हामी कुरिरहेका छौँ तिमीलाईनै,’ फोन उठाउँदै कुमार भन्छ ।

अर्पणाले आफू बाटोमा आइरहेको बताइन् । उनले अघिल्लो दिन भेटेको स्थानसम्म आउन नभ्याउने हुँदा अलि अगाडीसम्म हिँडेर आउन आग्रह गरिन् ।

‘तिमीहरु पनि विस्तारै आउँदै गर । म पनि आउँछु । बीच बाटोमा भेटेर गफ गरौँला नि,’ उनले प्रस्ताव राखिन् ।

‘ल ल आउँदै गर । हामी विस्तारै हिँडेर आउँछौँ । त्यता कतै पुलको छेउछाउमा बसेर कुरा गरौँला । भोक लागेको थियो । केही खाँदै यतै बस्न पाएको भएपनि हुन्थ्यो,’ कुमारले फोनमै आग्रह ग¥यो । तर अर्पणाले भरखर खाजा खाएकोेले केही खान मन नभएको फोनमै बताइन् ।

कञ्चन र कुमार हरियाको चियापसलबाट उठे । चार कप चियाको ४० रुपैयाँ तिरेर उनीहरु पूर्बपश्चिम राजमार्गको दायाँ छेउ हुँदै पूर्बतिर बढे ।

साँझको समयमा पूर्बपश्चिम राजमार्गको सडक छेउमा हिँड्नेहरु प्रशस्तै हुन्छन् । त्यसमाथि दशैँको मौसम भएकोले साथीभाई भेटघाटका लागि समेत हिँड्दै कुरा गर्दा शारिरीक अभ्यास समेत हुनेहुँदा धेरै मानिसहरु हिँडिरहेका थिए । साँझको समय भएकोले मौसम निकै रमाइलो थियो । निलो आकास, कपासका थुङ्गा जस्ता बादलहरु दक्षिणबाट उत्तरतिर उँडिरहेका थिए । नजिकै रहेको बागबानीफार्म भित्र फूलेको पारिजातको बास्नाले मादकता दिइरहेको थियो ।

राजमार्ग छेउका चौरमा युवा युवतीहरु मोटरसाइकल रोकेर जंगलतिर फर्किएर गफिइरहेका थिए । लाग्थ्यो उनीहरुलाई कसैको पर्वाह छैन ।

‘उ त्यो आउँदै गरेकी अर्पणा होइन ?’ कञ्चनले सोध्यो । उनीहरु डेढ किलोमिटर हिँडिसकेका थिए ।

‘ए होत आइसकिछन् त । यतै कतै बसेर गफ गरौँ न । चिया पिउने पसल पनि नजिक भएन,’ कुमारले भन्यो । उनीहरुलाई देखेर अर्पणा पनि साइकलको स्ट्याण्ड लगाएर त्यहीनिर रोकिइन् ।

हिजोभन्दा आज अलि फरक रुपमा आएकी थिइन् उनी । हिजो पाइन्ट र टीशर्टमा थिइन् भने आज रातो कुर्था सुरुवाल लगाएकी थिइन्  कलेजी रंगको सल बायाँ काँधबाट छातीसम्म छोपेर दायाँ काँध हुँदै पछाडीसम्म पुगेको थियो । हिजोको पहिरनमा भन्दा पनि आज उनी बढी सुन्दर देखिएकी थिइन् ।

‘हिजै भेटेको थियो नि । किन दुःख दिएको आज पनि ?’ सुरुमै अर्पणाले गुनासो गरिन् कुमारसँग ।

‘तिम्रो मायाँले नि पोक्ची । दुई दिनको जिन्दगानीमा के लैजानु छ र मरिजाँदा । साथीभाईले त सम्झिउन् न,’ उसले आँखा झिम्काउँदै भन्यो । अर्पणा मुसुक्क हाँसी । तर म पट्टि हेरेर लजाए जस्तो गरि ।

‘ल उ त्यही कल्भर्टको तल केही बेर बसेर कुरा गरौँ न हुन्न ?’ कुमारले प्रस्ताव राख्यो । राजमार्गको छेउ भन्दा अलि तल नहरको कल्भर्ट थियो । गाउँतिर जाने शाखा सडक पनि भएकोले त्यही गएर बसेर कुराकानी गर्दा कसैले देख्ने संभावना कम थियो ।

झिसमिसे साँझ भैसकेको छ । मानिस चिन्न मुस्किल पर्ने अँध्यारो छ । दुई युवक र एक युवती कल्भर्ट मुनि सिंचाईको ह्युमपाइपमा छेकिएर गफिँदैछन् ।

‘के गर्दैछौ त अर्पणा? तिमी बिहे गर्नेनै भयौ त ?’ कुमारले जिज्ञासा राख्यो ।

‘मलाई डिग्री पढ्न कम्ता रहर थिएन । ममीले मान्नुभएकै होइन । अब बिहे गरिदिने रे मेरो,’ निकै मलिन स्वरमा अर्पणाले भनिन् । बाबाले डिग्रीसम्म पढाउने भनेपनि त्रिशूलीमा भएको बस दुर्घटनामा बाबा परेपछि उनको त्यो रहर तुहिएको थियो । आमाले बिबिएससम्म पढिसकिस् अब हामी सक्दैनौ भनेका कारण उनी दुःखीत थिइन् ।

‘यसलाई खुशी बनाउँ । तिम्रो डिग्री गर्ने रहर पुरा हुन्छ,’ कञ्चनतिर देखाउँदै कुमारले भन्यो । कञ्चन आफैँलाई थाहा थिएन कसरी उनको त्यो चाहना पुरा गर्ने भनेर । एक हिसाबले कञ्चनले सोच्यो–‘कुमारले ठीकै भन्यो । मैले पनि चाहेको केटी यिनी जस्तै त हो ।’

तर अर्को मनले उसले सोच्यो–आफ्नो मात्र निर्णयले कसरी अर्पणालाई ग्रहण गर्न सक्छु र ?

अर्पणा अलि भावुक भइन् । उनी मुन्टो निहुराएर बसिरहिन् । ‘बा हुनुभएको भए मैले पनि तपाईहरुले जसरी काठमाडौं नभए जनकपुरमा बसेर डिग्री पढ्न पाउनेथिएँ । म कति अभागी रहिछु, चाहेको पनि पढ्न नपाउने ?’ उनका अाँखा रसाए ।  

तीनजनाको बीचमा कञ्चन थियो । एक्कासी अर्पणा रुँदै कञ्चनको काँखमा मुन्टो घोप्टाएर  छाँद हाल्न पुगिन् । उसलाई के गर्नु के नगर्नुको अवस्था भयो । सोच्यो–‘के आइलाग्यो यस्तो ?’ त्यस्तो अवस्था कञ्चनले कहिल्यै व्यहोरेको थिएन ।

-0-

 ‘बाबु कञ्चन, किन नउठेको ? चिया तयार भयो । आइज तल’ आमाले बोलाइन् ।

बिहान अामाको अावाजले कञ्चन व्युँझियो । घुँडामा पीडा भएजस्तो लाग्यो उसलाइ । हिजो रातिका घटनालाइ सम्झियो । ह्युमपाइपमा घस्रिँदा उसको घुँडामा दर्फराएको रहेछ ।

कञ्चनलाई त्यहाँबाट निस्किसकेपछि पनि कुमार र अर्पणा अझै त्यही थिए ।

कञ्चनलाई घुँडाको चोट त छँदैथियो । मनमा पीडा र ग्लानी थियो । ‘मैले नगर्नुपर्ने काम गरेँ । बिहेनै गरेपनि अहिलेनै मैले त्यस्तो काम गर्नुहुन्थेन । हाम्रो संस्कार विपरित काम भयो मबाट ।,’ उसको मनमा अनेक ताना खेल्नथाले ।

बिहान उठेपछि हाफपाइन्ट लगाएर बाहिर निस्कने कञ्चन त्यसदिन ट्राउजरमा तल झर्यो । दर्फराएको घुँडा कसरी देखाउनु परिवारका अघिल्तिर ? के जवाफ दिनु ?

बिहानभरि कञ्चन सुतेरै बस्यो । साँढे ११ बजेतिर कुमारको फोन अायो । बोल्न मन नलागी नलागी उसले फोन रिसिभ गर्यो ।

‘तिमी त्यहाँबाट निस्किएपछि पनि म र अर्पणा एकघण्टासम्म त्यही थियौँ,’ कुमारले सुनायो । यो भनाईले कञ्चनलाई अझै बेचैन बनायो । के गरेर बसे त एकघण्टासम्म तिनीहरु ? उसले अर्पणाप्रति मायाँ लाग्यो ।

दिउँसो ३ बजेतिर उठेर कञ्चन उही पुरानै स्टेशन हरियाको चियापसल तिर निस्कियो । अघिपछि जस्तो जोडमा होइन हल्कासँग पाउदानी बिस्तारै ठेल्दैथियो उसले ।

केही परबाट परिचित अनुहार आफूतिर आउँदैगरेको देख्यो उसले । नजिकै आएपछि प्रष्ट भयो उनै अर्पणा पो रहिछ ।

‘म तपाईलाईनै भेट्न भनेर तपाईको घर जाँदैथिए,’ उनले साइकल रोक्दै भनिन् ।

‘किन र घरमा ? म आइहाल्थेँ नि हरियाको चियापसलमा ?’ कञ्चनले आँखा सिधा गर्न आँट पनि गरेन अाज ।  

‘हिजो राति के गर्नुभयो तपाईले ? एक्ली केटीलाई पाएर त्यसो गर्ने ? मेरो कमजोरीको फाइदा उठाउनुभयो होइन ?'

कञ्चन मौन भयो । उसले बडो अाँट गरेर भन्यो–'म मात्र थिएँ र ? कुमार पनि त थियो ।'

उसको कुरालाइ वास्तै नगरि अर्पणा भनिन्-‘म घर पुग्दा रातिको ११ बजिसकेको थियो । घरमा आमाले कति गाली गर्नुभयो ? तपाईहरुलाई के थाहा छ ? अब मलाई व्यहोर्नुहुन्छ कि तपाईको घरमा गएर बा–आमाका अगाडी सबै कुराको पोल खोलिदिउँ ?’ अर्पणाको कुराले कञ्चनको होश हवास उँड्यो । केही भन्न सक्ने अवस्थानै रहेन । किनकी गल्ती उसैको थियो ।

उसलाई एकातिर बा–आमाका अघिल्तिरको डर थियो भने अर्कातिर अर्पणाले त्यो घटना सार्वजनिक गरिदिँदा समाजको पनि डर थियो । अर्को डर भनेको यो घटनाले राजनीतिक मोड लिनसक्ने संभावना पनि त्यत्तिकै थियो । किनकी उनकी आमा एउटा मधेश केन्द्रीत दलकी नेता भैसकेको थिइन् । राजनीतिक रुप लिएको खण्डमा कञ्चनको बाबालाई समेत ठूलो असर पर्नसक्थ्यो ।

‘मैले के गर्नुपर्यो त अर्पणा त्यसोभए ?’ दबिएको स्वरमा उसले सोध्यो ।

‘मलाई स्विकार्नुस अब । तपाईलाई पूर्णिमाको दिनसम्म निर्णय गर्ने मौका दिन्छु म । त्यतिखेरसम्म निर्णय दिनुभएन भने म तपाईकै घरमा आएर झुण्डिन्छु,’ यति भनेर उनी जुन बाटो आएकी त्यतैतिर फर्किइन् ।

कञ्चनलाई हरियाको पसलमा जान मन लागेन । उ पनि युटर्न गरेर घरै फर्कियो ।

दशैंको टीकाको दिन कञ्चनले फोन गरेर अर्पणलाई स्विकार्ने वचन दियो । कुमार जस्तो सामान्य परिवारको थिएन कञ्चन । त्यही कारण उसलाई आफ्नो, परिवारको र बाबाको राजनीतिका कारण पनि अर्पणालाई स्विकार्नैपर्ने वाध्यता आइलाग्यो ।

दशैं सकिएपछि कञ्चनले अर्पणालाई मन पराएकोले बिहे गर्ने प्रस्ताव परिवारमा राख्यो । परिवारले असहमति राख्नुपर्ने अवस्था थिएन । किनकी उनलाई कञ्चनका आमा–बा दुबैले राम्रैसँग चिन्दथे ।

तिहार बिदा पछि कञ्चन आफ्नै सुरमा काठमाडौं फर्कियो भने कुमार आफ्नै सुरमा । नवलपुरमै छँदा कञ्चनले काठमाडौंको डेरा सर्ने सोचाई बनाइसकेको थियो । कुमारसँगै बस्नमात्र होइन, कुराकानी गर्न र भेट्न समेत कञ्चनलाई अप्ठेरो लाग्न थाल्यो ।

मंसिरमा गाउँ फर्किएर कञ्चनको बिहे धुमधामसँग बिहे भयो । तर कुमारलाई उसले बोलाएन । कुमारको याद आउनासाथ त्यही ह्युमपाइपको दृश्यमा कञ्चनको स्मृति पुगिहाल्थ्यो । आफू निस्किएसँग कुमार ह्युमपाइपमा पसेको थियो । त्यो दृश्यलाई कञ्चनले कसरी बिर्सन सक्थ्यो र ?

काठमाडौंमा हुँदा तीनपटक जति कीर्तिपुरमा ती तीनजनाको भेटघाट भयो । कञ्चन र अर्पणालाई सँगै हिँडेको देख्दा कुमार टक्क अडिएर एकनासले हेरिरहन्थ्यो । कुमारलाई देखिहालेमा दुबैजना मुन्टो अर्कातिर फर्काएर हिँड्थे । बडो अजीव सम्बन्ध हुनपुग्यो उनीहरुबीच ।

१ कक्षादेखि डिग्रीसम्मका सहपाठी दुई दोस्तीहरु अहिले देख्न नपरे हुन्थ्यो जस्तो गर्छन् । बिरालोले बाटो काट्दा जस्तो गरिन्छ कञ्चनले त्यस्तै गर्छ । कुमार भएको ठाउँतिर सितिमिती जाँदैन । अर्पणाले दुई पटक जति एक्लै बाटोमा भेटेकी छ कुमारलाई । तर अर्पणा घोसेमुन्टो लगाएर हिँड्छे ।

अर्पणालाई डिग्री भर्ना गर्ने तयारी हुँदैथियो । उनको गर्भमा प्रवेश गरेको नयाँ जीवनले चार महिना पुरा गरिसकेको हुँदा पढ्ने योजना तत्काललाई रोकियो । असारमा थापाथलीस्थित प्रशुतीगृहमा छोरा जन्मियो । सातै महिनामा नाती जन्मिएकोमा कञ्चनकी आमाको भुईमा खुट्टा थिएन । नातीलाई हातमा लिँदै उनी भन्दैथिइन्–‘सात महिनामा जन्मेको त कुलकै भाग्यमानी पो हुन्छ त । पृथ्बीनारायण शाह पनि सातै महिनामा जन्मिएका थिए रे ।’

बच्चाको न्वारान पनि काठमाडौंमै गरियो । नाम राखियो–सौजन ।

सौजन जन्मिएको तीन महिनापछि डिभी चिठ्ठा खुल्यो । कीर्तिपुरकै एक साइबरबाट उनीहरुले डिभी भरे । त्यही डिभीले उनीहरुलाई अमेरिकासम्म ल्याइपुर्याएको पनि चार वर्ष भैसक्यो । अनुहार, जिद्धीवाल स्वभाव सबै सबै कुमारकै जस्तो भएको बालक कञ्चनले आफ्नो रगत ठानेर अमेरिका ल्याएको थियो । आफ्नो नभै यो कुमारकै छोरा हो । उसले मनमनै ठहर गर्यो । तर भन्ने कस्लाइ ? गर्ने के ?

जति सोच्यो, स्मृति त्यही ह्युमपाइपमा पुगेर ठोकिन्छ ।

-०-

‘होइन, कपमा त चिया अझै आधा बाँकी पो बाँकी छ । छिटो पिउनुहुन्छ कि पिइसकेर आफैँले बेसिनमा लगेर छाडिदिनुहुन्छ ? मलाई काममा जान ढिला भैसक्यो’ अर्पणाको स्वरले उ झसङ्ग हुन्छ ।

टेबलको चिया अघिनै सेलाइसकेछ ।

 

ड्यालस, अमेरिका

अक्टोबर ८, २०१८