विचार / ब्लग

दसैँमा ‘कक्टेल्स्’ शुभकामना

177 पटक पढिएको

- केशव भट्टराई

16th Oct 2018, Tuesday | २०७५ आस्विन ३०, मंगलवार २३:५७
हेर्दाहेर्दै दसैँले छपक्कै छोपिसकेछ । चाडबाड आउनमात्रै बाँकी हो आएपछि रोकिँदैन । यो जहिले पनि आउँछ । न दिन हेराउनुपर्छ, न त चिना जुराउनु नै पर्छ । आयो–गयो, फेरि पनि आयो गयो । यसरी नै चलिरहन्छ । चल्दाचल्दै हामी कतिबेला कहाँ छलिन्छौँ पत्तो हुन्न । चाहनाअनुसार आउने र चाहनेहरुका लागि मात्र आउने भैदिए यो दसैँ अचम्म कै हुन्थ्यो । दसैँ आए पनि फिस्स हाँसेर शुभकामनाका दुई शब्द दिएर यसको सार्थकता छैन् ।
 
महङ्गीले आकास छोइसक्यो, दसैँको नाममा दशाको मोड लिइसक्यो । जतिसुकै चहलपहल भए पनि उमङ्ग आए पनि र गाउँशहर ताते पनि केही हुनेवाला छैन् । कतिपय व्यक्तिहरुले दसैँपछि भोलि नै नआउनेजस्तो गर्छन् । अनावश्यक र अर्थहीन तरिकाले खर्च पनि गर्छन् । देखावटी र देखासिखी गरेर खर्च गर्ने जमातको प्रतिष्पर्धा बढेको छ । 
 
दसैँमा आ–आफ्नो गक्ष्यअनुसार योजना बन्छ । रमाइलो पनि रुचीअनुसार गरिन्छ । बजारको चहलपहल र खर्च गराइको तौरतरिका हेर्दा सामान्य व्यक्तिलाई कहाली लाग्नु स्वभाविक नै हो । कतिपय भद्रभलादमीहरु दसैँ आउनुअगाडि देखि नै दसैँ मनाउन जुटिरहेका छन् । पहिलेजस्तो नयाँ लुगा किनेर दसैँ मनाउने चलन यतिबेला छैन् । कमाई–धमाई सुको नभए पनि अहिलेका मान्छेलाई सपिङचाहिँ गतिलै गर्नुपर्ने रोग लागेको छ । मिश्रित समुदाय र मिश्रित परम्पराले गर्दा अहिले अभिभावकलाई निल्नु न ओकल्नुको स्थिति छ ।
 
सबैभन्दा ठूलो मर्का त मध्यमवर्गीय परिवारलाई परिरहेको छ । दसैँ मान्नै पर्ने र खर्च धान्नै पर्ने अवस्थाका व्यक्तिलाई यो दसैँले दोधारमा पारिदिएको छ । हुँदा खाने अर्थात् विपन्न वर्गका लागि त यो दसैँ सरासर दशा नै बनेको छ । आम्दानी पनि छैन, खर्च पनि छैन भनेजस्तो स्थिति छ । सबैको दुःख, दर्द आफ्नै छन् । कसैले पनि कसैका लागि केही गर्ने होइन । सदभावले मात्र पनि कसैको पेट भरिन्न । 
 
दसैँमा सबैका आफ्नै समस्या हुन्छन् । केही दौतरीलाई दसैँ कस्तो लाग्दै छ त, भनेर सोधेको कसैबाट पनि सकारात्मक जबाफ आएन । सबै विरक्तिएका थिए । एकजना शिक्षक मित्र अमिलो मन लिएर घर गए । कारण थियो– जागिरे दाजुबाट बहिनीले एउटा मोवाइलको अपेक्षा गरेकी रहिछन्, आमाको अपेक्षा छुट्टै थियो, भाइको आशा, बाबुको आकांक्षा, साथीभाइको चाहना र श्रीमतीको रहरजस्ता समस्याको थुप्रोले उनी निराश थिए । घरबेटीलाई घरभाडा, पसलको पालो र होटलको हप्ता तिर्दा तिर्दै उनी सिंगो ज्यान लिएर घर फर्किए । अर्का बन्धुको मर्का पनि उस्तै थियो । माछामासु नखाने भए पनि उनको पीर छुट्टै थियो । अझ खसी किन्ने, रक्सी रोज्ने र म्यारिजमा रमाउनेका लागि त भन्नै पर्दैन । मान्छेको रहर कहिल्यै पूरा हुने होइन । जे छ र जस्तो छ त्यसैमा रमाउन सक्नुपर्छ । देखावटीमा लाग्ने हो भने कि खरानी धस्नुपर्छ कि त लाहुरै पस्नुपर्छ । 
 
सबैका घरमा दसैँको आगमन होस् भन्ने कामना गर्दा गर्दै पनि सबैले दसैँ मनाउन सक्दैनन् । नसक्नेका लागि पनि दसैँको बेला धन र मन हुनेले केही गर्न सके पुण्य मिल्ने थियो । फजुल खर्च खर्नेहरुले केही प्रतिशत मानवीय सेवामा पनि खर्च गरुन् । यसपाली मेरो पनि दसैँमा त्यस्तो विशेष योजना केही छैन् । आर्थिक समस्याले गर्दा मेरा योजना पनि त्यसै ओइलाएका छन् । मन फराकिलै भए पनि धन नभएकाले त्यसै चाम्रिनु परेको छ । साथी भाइका योजना र फर्माइस सुन्दा म रनभुल्लमा परिरहेको छु । अरुका योजनामा सहभागी भइदिँदा, अरुका रमाइलोका लागि सहभागिता जनाइदिँदा, अरुकै चाहनाका लागि दौडिइदिँदा अनि समय दिइदिँदा पुण्य मिल्ने त होइन । तर, यसपालीचाहिँ अरुकै तालिकाअनुसार हिडिँदिनुपर्ने बाध्यता भएकाले आफ्ना कार्यक्रमहरु ओझेलमा पर्ने निश्चित छ । 
 
मेरा अनन्यमित्रहरुका योजना कस्ता–कस्ता छन् । सबै उल्लेख गर्न सकिन्न, केही उल्लेख गर्न नै नमिल्ने खालका पनि छन् । एकमहिना अघि नै एकमित्रले दसैँँलाई विशेषरुपमा मनाउन निम्ता दिएका छन् । त्यो निम्ता कक्टेल्सको लागि हो । इटालियन ब्रान्डको कक्टेल्स्को निम्तो कहिले आउने हो त्यो चाहिँ ग्यारेन्टी छैन । म भने फुर्सदमा बस्नुपर्ने भएको छ ।
 
अनि अर्को पार्टी एक मदिरा कम्पनीमा काम गर्ने मित्र ‘डबल प्रमोशन’ भएको खुसीयालीमा रात्री भोजमा सरिक हुनुपर्नेछ । रात्रीभोज भन्नासाथै दारुको गन्ध आइहाल्छ । उसै त दारु कम्पनीका सिनियर अफिसर त्यसमाथि स्थायी नियुक्ति पाएको र क्षेत्रविस्तार भएको खुसीयालीमा हुने पार्टीमा फुर्सद निकाल्नु छ । यस्तै निमन्त्रणा एक पत्रकार मित्रले गरेका छन्, उनी कतारबाट भर्खरै घर आएका छन् । उनको प्रायोजनमा एकदिन समय नमिलाए अन्याय नै हुनजान्छ । त्यस्तै पेसाले पत्रकारिता गर्दै आएका अर्कामित्र पनि चुनावमा उम्मेदवार बनेर जितेको अवसरमा आमनत्रण गरेका छन् । त्यसैको खुसीयालीमा एकदिनको समय दिनुपर्ने बाध्यता छ । 
 
अर्का एक आफन्तले जापानबाटै कोशेली ल्याइदिएका छन्, त्यो स्वीकार नगर्नु आफैँलाई घाटा हो । अष्ट्रेलियाली मित्र अर्थात् भर्खरैमात्र पिआर पाएको तात्तातो पार्टी दिन नेपाल आउँदै गरेका अर्का मित्रलाई एकदिन पनि समय दिए के को साथी रु एक पोल्ट्री व्यवसायी मित्रले ५० लाखमा कार खरिद गरेको अवसरमा उनकै पोल्ट्री फर्ममा आमन्त्रण गरेका छन् । बारबीक्यूसहित उच्चजातको ग्रीन लेभल पान नगरिदिए उनको मन दुख्न सक्छ । अर्का मित्रले ‘खजुरबोटे टनिक’ ल्याएको महिना दिन भयो समय दिन पाएको छैन् । विदेशी लाहुरेहरुको पार्टीका लागि तालिकाहरु यस्ता छन् । मेरा लोकल, विकासे र विकाशोन्मुख साथीहरुका आआफ्नै गुनासा छन् । ती गुनासाको सम्बोधन गर्न पनि मैले उनीहरुलाई टाइम दिनुपर्ने हुन्छ ।  
 
छिमेकी र बन्धुहरुसँगको दसैँ भनिरहनु नै पर्दैन । भजनकीर्तन, सांस्कृतिक कार्यक्रम, आफन्त, ससुराली, मावलीजस्ता महत्वपूर्ण ठाउँमा सहभागिता जनाउनु अनिवार्य हुनआउँछ । घरपरिवारलाई समय दिन नसकिए व्यावहारिक भइँदैन । छिमेकी र साथीभाइसँग हिँडडुल नगरे इज्जतै रहँदैन । मास्टर साहेवहरुसँग म्यारिजमा कोरम नपु¥याइदिए टोलमा बस्नै पर्दैन । कतै स्याउको, कतै अनारको त कतै महको वाइन नखाइदिए ठूलो मान्छे भएछ भनेर गुनासो आउँछ त्यता पनि मन राखिदिनै प¥यो । मन राख्दा–राख्दै दसैँ खर्लप्पै हुने भो । त्यसैले कतिको मन राख्ने भनेर एकमुष्ठ कक्टेल्स् शुभकामना दिएर भूमिगत हुनुपर्छ कि क्या हो भन्ने लाग्न थालेको छ ।
 
अहिले फलफूल खाउँ, साकाहारी बनौँ, भजन गाऔँ भन्ने हो भने एकलकाँटे भइन्छ । रमाइलो गर्ने र रमाउने आ–आफ्ना तौरतरिका हुन्छन् । चाडबाडमा दारु नै खानु पर्छ, म्यारिज नै खेल्नुपर्छ भन्नै पनि छैन् । रमाइलो गर्ने थुप्रै विकल्पहरु पनि छन् । स्वीमिङ गर्ने, ट्रेकिङ्ग जाने, बालबालिकासँगै रमाइलो गर्ने, नाचगान, कन्सर्ट, घैटो फुटाइ, गीत–सङ्गीतबाट पनि रमाइलो गर्न सकिन्छ । 
 
रमाइलो गर्ने भन्दैमा मापसे गरेर तीव्र सवारी चलाउने, ज्यानले धान्नेभन्दा बढी खाएर हस्पिटल भर्ना हुने, बल प्रदर्शन गरेर ग्याङ फाइट गर्ने, बिहानैदेखि पिउन सुरु गरेर घरै नफर्किने, जुवा खेलेर धनसम्पत्तिको बर्बादी गर्ने, अनावश्यक होहल्ला गर्ने, सामाजिक सदभाव बिथोल्नेजस्ता क्रियाकलाप गर्नुपर्छ भन्ने छैन । त्यसो गर्दा हानी हुने आफैँलाई हो पराइलाई होइन । 
 
अहिले प्रहरीले पनि टोलटोलमा काम पाएका छन् । दिनदहाडै मापसे चेक गर्ने, यसो साथीभाइसँग म्यारिज खेलौँ भने पनि कतिबेला भ्यानमा कोचेर बेइज्जत गर्दै थानामा पुर्याउँछन् थाहै हुनन । कौडा त पुलिसकै संरक्षणमा खेलाइन्छ । जुवातिर मन लाग्दैन । मन लाग्नलाई गतिलो आर्थिक स्रोत पनि छैन । 
 
यसपाली सामान्य तरिकाले दसैँ मनाउने कुरा गर्दागर्दै एक लाख रुपैयाँ चिरिपप भयो । बूढीका लाथिग २५ हजारको त मोबाइल नै खरिद गर्नुपर्यो । खसीदेखि खादान्न, बेलुकी ब्ल्याक चिम्नीदेखि सबैका फर्माइसले गर्दा यसपटकको दसैँमा ऋण बोकाउने निश्चित भैसक्यो । 
 
यो देखासिकी भन्ने कुरा पनि अचम्मकै रहेछ । पल्लोघरकी भाउजूले सपिङ गरेको असर आफूसम्म आइपर्ने । फलानीले दसैँमा यस्तो किनी, यो यो किनी भनेर बूढीले कनकन गरेपछि साह्रै गाह्रो पर्ने । तिहार मनाउने खर्चसमेत दसैँमा स्वाहा भएपछि मचाहिँ अष्टमीदेखि नै बाहिर हिँड्न बन्द गरेको छु । दसैँमा मितव्ययी हुन सुझाउने म स्वयं ऋणधन गरेर अस्वाभाविक खर्च गर्न उद्यत छु । त्यसैले एकदिन भए पनि दसैँ मनाउन नसक्नेका लागि केही गर्नुपर्छ भन्ने सोचाइमा म छु । यो दसैँको बोझको असरले मलाई कम्तीमा तीन महिना पिरोल्छ । पिरैपिर छ मनमा खुसीको सञ्चार हुन सकेको छैन ।  
 
सरभर सामान्य किसिमले दसैँ मनाउँदा सबैलाई फाइदा पुग्छ । तामझामसँग खर्च गर्नेहरुले भोका–नाङ्गा बालबालिकाको लागि पनि एक दिन पेटभरि खान दिए उनीहरुको आत्माले कति आर्शीवाद दिन्थ्यो होला रु जुनसुकै बहानामा पनि दारु खाने कार्यक्रम सजिलै बन्ने र सहयोगको लागि भने हात माथि पर्दै नपर्ने हो भने त एक दिनको रमाइलो गरेर के फाइदा रु समस्या जसलाई पनि पर्न सक्छ ।
 
समयको कुरा हो आज विपन्न हुनेहरु भोलि हुने खाने पनि बन्न सक्छन् । एकदिन विचार गरौँ, आजका हुनेखानेहरुको हिजोको अवस्था के थियो रु दसैँ सबैले मनाउन सकून । सबैको घरमा चुल्हो बलोस् । कसैलाई महङ्गो लुगा र कोही नाङ्गै हिँड्नुपर्ने अवस्थाको अन्त्य होस् । तामझाम, सान–सौकत र भड्किलो पारामा होइन, स्वच्छ, शान्त र सद्भावका साथ दसैँ मनाउन मलगायत सबैलाई दुर्गा भवानीले सद्बुद्धि दिऊन् । विजया दशमीको सबैलाई ‘कक्टेल्स’ शुभकामना !