विचार / ब्लग

ऋखीराज र अमेरिकामा नेपालीको निष्कृयता

4884 पटक पढिएको

- रामचन्द्र भट्ट | 17th Oct 2018, Wednesday | २०७५ आस्विन ३१, बुधवार ०७:०५
दुई साता अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ड्यालस आएका थिए । न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आएका ज्ञवाली नेपाली समुदायको आग्रहमा ड्यालस आइपुगेका थिए । उनले यहाँको नेपाली समुदायलाई स्पष्टसँग भने–‘नेपालका मुद्धाहरुलाई लिएर, राजनीतिलाई लिएर अमेरिकाको नेपाली समुदाय विभाजित हुन जरुरी छैन ।’
 
नेपालको राजनीतिमा जस्तैगरि अमेरिकामा पनि नेपाली समुदाय विभाजित भएको, रस्साकस्सी गरेको देखेपछि मन्त्रीमा असन्तुष्टी रहेको बुझ्न गाह्रो थिएन । उनले उताको राजनीति यता नगर्न र आफूहरुनै त्यता रहेको भन्दै प्रवासमा मिलेर बस्न सुझाव दिएका थिए । न्यूयोर्कमा प्रधानमन्त्रीको उपस्थितीमा हुने कार्यक्रम विरोधका कारण स्थगित भएपछि नेपालीहरुले उतै (नेपाल) बाट स्वभाव र संस्कार बोकेर आएको टिप्पणी समेत मन्त्री ज्ञवालीको थियो ।
 
के नेपालको राजनीति यहाँ गरेर कुनै तार लाग्छ त ? 
अहँ लाग्दैन । यहाँ नेपालको राजनीति गरेर, उताबाट आउने नेताहरुलाई कालोझण्डा देखाएर,  विभाजित भएर फाइदा कसैलाई छैन । बरु बेफाइदा पुग्छ । वेमेलको अवस्था सिर्जना हुन्छ । मन भाँडिन्छ । प्रधानमन्त्रीलाई कालोझण्डा देखाइएको समर्थन र विरोधले अहिले न्यूयोर्कको नेपाली समुदाय विभक्त हुन पुगेको छ । रिजउड सोसाइटीको सकृयतामा बन्न लागेको सामुदायिक केन्द्र सहितको मन्दिरका लागि प्रवासी नेपाली मञ्चले कबुल अनुसारको सहयोग दिन स्थगित गरिसकेको छ । 
 
प्रवासी मञ्चले सोसाइटीका अध्यक्ष रविकिरण कोइरालाको नैतिकतामा प्रश्न उठाउँदै राजिनामा मागेको छ । नेपालको प्रतिपक्षी दलको राजनीतिलाई यहाँ हुबहु टिप्दा यतिखेर सबैको आस्थाको संस्था विवादमा परेको छ । कालोझण्डा देखाएर रबिकिरणलाई प्राप्ती केही भएन । भयो त केवल विवादको सुरुवात । 
 
नेपालको राजनीति, त्यहाँका दलका आधारमा यहाँ अमेरिकामा नेपाली समुदाय विभाजित हुन आवश्यक छँदैछैन । नत आफ्ना लागि फाइदा, नत आफ्ना सन्तानका लागि फाइदा । 
 
यहाँ अमेरिकामा रहेका नेपालीहरुमध्य मुस्किलले एक प्रतिशत नेपाल फर्कलान् । बाँकी ९९ प्रतिशतको नेपाल फर्किने, त्यहाँ राजनीति गर्ने कुनै सोच समेत छैन । यदी छैन भने उताबाट आउनेको विरोधमा आक्रमकता गरिरहनु आवश्यक पनि छैन र नत स्वागतमा अनावश्यक तामझाम नै । बरु यहीको राजनीतिमा किन नलाग्ने यहाँको समुदाय ?
 
नेपालको साहित्यिक परिवारको एक सदस्य हुनुहुन्छ प्रभात दीक्षित । टेक्ससको युलेसमा बस्नुहुने उहाँ अमेरिकी राजनीतिमा नेपाली समुदायलाई चासो जगाउन कृयाशील देखिनुभएको छ । अमेरिकी मुलधारको राजनीतिमा नेपाली पनि अब लाग्नुपर्छ भनेर यहाँका डेमोक्रेट, रिपब्लिकन उम्मेदवारहरुसँग निरन्तर निकटता राखेर सामुदायिक गतिविधिमा उहाँ सकृय भैरहनु भएको छ ।
 
उता मेरिल्याण्डमा नेपालबाट आएका ह्यारी (एचबी) भण्डारीले इतिहास बनाउने तयारी गर्दैछन् । भर्जिनियामा नेपाली मुलका किरण सिटौलाले उपमेयर जितेका छन् । भर्जिनियाको हरण्डनमा नेपालीमुलका प्रदीप ढकालले काउन्सिलम्यानका लागि उम्मेदवारी दिएर अगाडी बढेका छन् । 
 
नेपालसँग हाम्रो भावनात्मक संबन्ध गाँसिएको छ । हाम्रा आफन्त, निकट, बन्धुवान्धव सबै उतै छन् । हामीले जतिसुकै अंग्रेजी जानेपनि, दिनभरि अंग्रेजीमा बोलेपनि हामीले राति सुत्दा देख्ने सपनाको भाषा भनेको नेपालीनै हो । त्यसो हुँदा चटक्कै नेपाललाई छाडनुपर्छ, कुरै गर्नुहुँदैन, त्यहाँको राजनीति, आर्थिक, सामाजीक विकासमा चासो दिनै हुँदैन, सद्भाव शूभेच्छा राख्नै हुँदैन भन्नेमा म छैन । तर ‘अती सर्वत्र वर्जयते’ भनेझैँ प्रवासमा बसेर नेपालको राजनीतिमा बढ्ता चासो राखेको, विरोध र समर्थनमा ज्यादा खर्चिएको विषय नेपालकै कुनै दलका नेताले पनि मन पराएको देखिँदैन । 
 
सरकारका मन्त्रीले त मुखै खोलेर भनिसके । यसअघिका सरकारका मन्त्रीहरु आउँदा पनि यो कुरा उठ्ने गरेको थियो । संबिधानलेनै राजनीतिक अधिकार बाहेकका अन्य अधिकारहरु दिने भनेर उल्लेख गरेको अवस्थामा प्रवासमा बसेर नेपालको राजनीतिमा ज्यादा समय खर्चिने, आपसमा लडाई गर्ने कार्य ठीक होइन । 
 
अमेरिकी नागरिकता लिइसकेपछि अब जो कोहीको पनि ध्यान यहीको राजनीति, यहीँका डेमोक्रेट र रिपब्लिकन नेता, यहीका सिनेटर, कंग्रेसम्यान, मेयरसँग निकट रहेर कार्यक्रममा सहभागी हुनुपर्ने हो । तर चौबिसैघण्टा नेपालको राजनीति, नेपाली राजनीतिक पार्टीका भातृसंस्था (जनसम्पर्क, प्रवासी मञ्च) मा लागेर विरोध र समर्थनमा खर्चिनु बालुवामा तेल हाल्नुभन्दा अरु केही होइन । लगानी गर्यो गर्यो, त्यसबाट कुनै प्रतिफल आउनेवाला छैन । 
 
हामीमध्य धेरैजना नेपालमा स्याचुरेसनमा पुग्न आँटेको करिअरलाई छाडेर अमेरिका आएका हौँ । किन आएका हौँ भन्दा परिवारको सुख, बालबच्चाको भविष्य र समृद्धिको अपेक्षा बोकेर यहाँ आइपुगेका छौं । तर हामीले यताका राजनीतिज्ञ भन्दा पनि मातृभूमिका राजनीतिमा बढ्ता चासो राख्दा कुनै उपलव्धी हात लागेको छैन । बरु खसेको टिप्नका लागि निहुँरिदा पोल्टाको पनि खस्ने अवस्था सिर्जना हुन लागेको छ । 
 
अमेरिकामा बसेर यहीँको नागरिकता प्राप्त गरिसकेपछि आफू र परिवार, बालबच्चाहरुको सुरक्षित भविष्यका लागि यहीँका रिपब्लिकन, डेमोक्रेट दलका नेताहरुसँग सम्पर्क र संबन्ध विस्तारमा समय खर्चिनु आवश्यक छ । समुदायमा ल्याएर अन्तरकृया गर्ने, उम्मेदवारहरुसँग भेट्ने, चासो र सरोकारका एजेण्डालाई राख्न सक्नुपर्छ । 
 
यतिखेर अमेरिकाभरि चुनावी माहौल छ । आउँदो महिना हुन लागेको चुनावका लागि उम्मेदवारहरु प्रचारप्रसारमा छन् । उनीहरुले सार्वजनिक स्थलमा मतदाताहरुसँग भेटेर अन्तरकृया गरिरहेका छन् । नेपाली समुदायका व्यक्तिहरुले यस्ता कार्यक्रमहरुमा देखिनु, सहभागी हुन र सकृय हुन जरुरी छ । त्यसो भयो भनेमात्र हाम्रो समुदाय यहाँका उम्मेदवारहरुको ‘नोटिस’ मा पर्छन । भोट दिएर मात्र पनि हुँदैन, अनुकुलता मिलाएर भेटघाट, अन्तरकृयामा सहभागी हुन जरुरी छ । जसले गर्दा हाम्रा समस्यालाई उम्मेदवारहरुले बुझ्न सक्छन्, सरोकारलाई संबोधन गर्न पहल गर्ने प्रयास गर्नेछन् । 
 
केही दिन अघि टेक्ससको युलेसमा उम्मेदवारहरुले कार्यक्रम राखेका थिए । बियरक्रिक पार्कमा राखिएको त्यो कार्यक्रममा नेपाली समुदायका मुस्किलले ६ जना सहभागी भए । टेरेन्ट काउन्टी भरिमा एकहजार दुईसयको हाराहारीमा नेपालीमुलका मतदाता छन् । तर सहभागीता भने ६ जनाको मात्र । यसले के प्रश्न खडा गरेको छ भने हाम्रो समुदायका सदस्यहरुको चासो डलर टिप्नुमात्र हो त ? आफ्ना सन्तानहरुको भविष्यप्रति किन हामी सरोकार राख्दैनौ ? चासो राख्ने हो भने हामीले यस्ता कार्यक्रममा सहभागीता जनाउनैपर्छ । उम्मेदारहरुलाई भेटेर, समुदायमा बोलाएर आफ्ना सरोकारका विषयहरु राख्नैपर्छ । 
 
संसारभरि आप्रवासमा एउटा समस्या हुँदै आएको छ । त्यो हो आप्रवासीहरु जहाँ बसेका छन्, त्यो समुदायसँग घुलमिल भएर बस्न सक्दैनन् भने सधैंभरि दबिएर, हेपिएर रहनुपर्छ । उनीहरुका कुरा कसैले सुन्नेवाला छैनन् । सधैंभरि चेपिएर, थिचिनुपर्छ । तर जुन आप्रवासी समुदाय स्थानीय समुदायसँग मिलेर बस्छ, घुलमिल हुन्छ, साथमा साथ लागेर हिँड्छ त्यो आप्रवासी समुदायले निकै प्रगति गरेको हुन्छ । यहाँको राजनीतिमा चासो राख्न त छाडौंँ भोट हाल्न समेत नजाँदा हाम्रो समुदायदाई अमेरिकामा यहाँको सरकार, राज्यले कसरी गणना गर्छ ? 
 
केही छैन, जनसम्पर्कमा आवद्ध हुनुहोस्, प्रवासी मञ्चमा संगठित पनि हुनुहोस् । अरु के के संस्थाहरु छन् त्यसमा गोलबन्द पनि हुनुहोस् । तर अमेरिकामा बसेपछि, यहाँको नागरिकता लिएपछि, भोटर लिस्टमा नाम भएपछि यताको राजनीतिप्रति पनि चासो दिनुस् । चुनावी कार्यक्रममा समय मिलाएर सहभागी हुनुहोस् । जसबाट यहाँको समुदायसँग घुलमिलको अवसर मिल्छ । हाम्रा बालबच्चाको शिक्षा, स्वास्थका बारेमा उम्मेदवारहरुले चासो राख्न वाध्य हुन्छन् । 
 
गत वर्ष टेक्ससको युलेसमा भएको नगर चुनावमा पाकिस्तानीमुलका सलमान भोजनीले जिते । थोरै मतको अन्तरले उनले विजय हाँसिल गरे । उनको विजयमा नेपाली समुदायको निर्णायक हात रह्यो । शायद नेपाली समुदायले सहयोग र समर्थन नगरेको भए भोजनीको विजय यसपटक पनि संभव थिएन । भोजनीको विजयले नेपाली समुदायले आफ्नो हैसियत प्रष्ट्याउने अवसर पनि पाएको छ । 
 
नेपालीहरु अमेरिकाका हरेक राज्यमा छन् । हवाईदेखि अलास्कासम्म छन् । पूर्बमा कनेक्टिकटदेखि एरिजोना, फ्लोरिडासम्म छन् । विन्सकन्सिनदेखि टेक्सससम्म छन् । नेपाली नपुगेका शहरहरु कमै छन् अमेरिकामा । 
 
तर हामी एक अर्कामा भेट हुँदा गफ गर्ने मेलोको सुरुवात भनेको नेपालको राजनीति, केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, गगन थापा, योगेश भट्टराईकै हो । त्यहाँभन्दा माथि सोचेर आफू बसेको स्थानीय शहरको राजनीतिका बारेमा विरलै कुराकानी हुन्छ । अब हामीले अमेरिकामै बस्ने हो, यहीँ स्थापित हुने हो र सन्तानको भविष्य यहीँ सुरक्षित बनाउने हो भने डोनाल्ड ट्रम्पका कुरा सुन्नुपर्छ, टेड क्रुजका कुरा गर्नुपर्छ, बेटो रुर्केका चुनावमा सरिक हुनुपर्छ, बर्नी स्याण्डर्सलाई जान्नुपर्छ, एलिजाबेथ वारेनका भाषण/लेख पढ्नुपर्छ, डायना फाइन्सटाइनलाई बुझ्नैपर्छ । नभए हाम्रो अवस्था यहाँ कसैले महत्व नदिने वर्गका रुपमा सिमित रहनेछ । नेपाली संघसंस्थाका पदाधिकारीहरु आफ्नै समुदायमा मात्र सिमित हुनेछन् । 
यद्यपी अहिले स्थानीय रुपमा जहाँजहाँ नेपालीहरु छन् त्यहाँ उनीहरुको बढ्दो सकृयताले गर्दा निकै महत्व दिन थालिएको महसुस भएको छ । नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा स्थानीय जनप्रतिनिधिहरुको चासो र सहभागिताले देखाएको छ कि अब नेपाली समुदाय अग्रसर हुने उपयुक्त मौका यही हो । 
अन्तिममा, म बालक हुँदाको एउटा सन्दर्भ । ऋखीराज नाम गरेका एकजना दाई हाम्रो गाउँमा थिए। उनको आफ्नो नत घर थियो, नत थितिनै । दिनभरि जस्ले जे काम अह«ायो त्यही गर्थे । त्यही ज्याला लिन्थे, त्यही भात खान्थे । सुत्नका लागि एकजनाको पिँढीमा सुत्थे । 
 
उनी कहाँका हुन् भन्ने बारेमा कसैलाई थाहा थिएन । अविवाहित हुँ भन्थे । झण्डै ३०/३५ वर्ष पुरानो सन्दर्भ हो यो । कसैले घर कहाँ हो भनेर सोधिहाल्यो भने ‘पूर्बतिर हो’ भन्थे । नुवाकोटबाट पूर्ब भनेपछि काठमाडौं, सिन्धुपाल्चोक लगायत त्यसभन्दा पूर्बका सबै पर्थे । तोकेर जिल्ला कहिल्यै भनेनन् उनले । 
गाउँमा चुनाव आउँथ्यो । गाउँलेहरु खेतबारीको काम समेत छाडेर चुनावमा लाग्थे । ऋखीराज दाईलाई टाउको दुःखाइ हुन्थ्यो । गाउँले काम नगरेपछि उनको पनि काम हुँदैनथ्यो । ‘ह्या, यो चुनाव सुनावको के मतलव मलाई ? आफूलाई त ज्यालामा काम पाइन्छ कि पाइदैन भन्ने मात्र चिन्ता छ,’ उनी यसै भन्थे । चुनावको समयमा उनी दिनभरि कसैको पिढीँमा सुत्थे । नत उनको मतदाता सूचिमा नामै थियो, नत चुनावी प्रचार प्रसारमा उनी हिँड्थेनै । 
केही वर्षपछि एकाएक ऋखी दाई हराए । 
 
आज अमेरिकामा चुनाव, यहाँको राजनीति, अर्थव्यबस्था, समाजका बारेमा चासो नदिँदा कतै तिनै ऋखीराज दाईको जस्तै कसैले नटर्ने र पछि पलायनै हुनुपर्ने अवस्था नेपालीको नहोस् ।