मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दशैं धमाका बीच एनएएचको नयाँ कार्यसमिति

दशैं धमाका बीच एनएएचको नयाँ कार्यसमिति


नेप्लिज एशोसियसन अफ ह्युस्टनको नयाँ कार्यसमिति 
 
ह्युस्टन , टेक्सास । दशैं उत्सव मनाउन आयोजना गरिएको कार्यक्रमको मनोरन्जन सकिएको थिएन , ताज हलमा उपस्थित सहभागीहरुले आफ्नो संस्थाको नयाँ कार्यसमितिको घोषणा सुने । निर्वाचित कार्यसमितिलाई हार्दिकतापुर्वक स्वागत गरे सहभागीहरुले , बधाई र शुभकामना दिए । 
 
सधैं झैं यो पटक पनि नेप्लिज एशोसियसन अफ ह्युस्टनको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भयो । अरु अमेरिकी शहरहरुमा भएका नेपाली संस्थाहरु राजनीतिक ,जातीय र साम्प्रदायिक कलेवरले मुछिएका र पदकोलागि हानाथाप भएका चर्चा व्यापक भैरहंदा ह्युस्टनमा भने आपसी समझदारी र सौहार्दपुर्णरुपमा एशोसियसनको निर्वाचन हुनु यहाँको नेपाली समुदायको सामुहिकता र मेलमिलापको उदाहरण मानिएकोछ । 
 
निर्वाचन समितिका संयोजक तारा बरालले निर्विरोध निर्वाचित पदाधिकारी सदस्यहरुको नाम घोषणा गर्दा हलमा रमाइलो उत्सुकता देखिन्थ्यो । 
 
विष्णु नेपाल ,पीएचडीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिमा ज्योति घिमिरे -आइपीपी , रविन्द्र श्रेष्ठ प्रथम उपाध्यक्ष , द्रोण गौतम द्वितीय उपाध्यक्ष , विजय वोखिम सचिव र चेज गुरुङ्ग कोषाध्यक्ष छन् । सहायक सचिवमा प्रशान्ती पण्डीत र सदस्यहरुमा दीपक रायमाझी , मनिष मुनाकामी , राम कुँवर र शिव सेढाई निर्वाचित भएकाछन् । 
 
सहायक कोषाध्यक्ष र चारजना सदस्यको पद भने उम्मेद्वारी नपरेकोले रिक्त रहेको जानकारी संयोजक बरालले दिएका थिए । 
 
नयाँ कार्यसमितिमा धेरै युवा अनुहार छन् । निर्वाचन समितिमा  संयोजक बरालसंग विनोद श्रेष्ठ र दिनकर अमात्य सदस्य थिए । 
 
नवनिर्वाचित अध्यक्ष विष्णु नेपालले पशुपति मन्दिर र सामुदायिक केन्द्रको कार्यलाई अघाडि बढाउने आफ्नो कार्यकालको प्रमुख एजेन्डा रहेको जानकारी दिंदै आगामी दिनमा समन्वय र सामुहिकतामा जोड दिने बताए । 
 
आफ्नो विदाई मन्तव्यमा ज्योति घिमिरेले आफ्नो कार्यकालको उपलब्धी र कमजोरी उल्लेख गर्दै नयाँ कार्यसमितिले आफूले थालेका बाँकी कामहरु पुरा गर्ने विश्वास व्यक्त गरे । 
 
यसअघि पत्रकार तारा बरालले नेप्लिज एशोसियसन अफ ह्युस्टनको विगत र वर्तमान कार्यकालको समीक्षा गर्दै एशोसियसनले नेपाली समुदायको प्रभावकारिता र गौरव बढाएकोमा बधाई दिए । 
 
संस्थाको जग त्यसका साधारण सदस्य भएको तर एनएएच कार्यसमितिले सदस्यता विस्तारमा भने उल्लेख्य काम नगरेकोमा बरालको तीखो टिप्पणी थियो । 
 
रमाइलो साँझ 
दशैं उत्सव मनाउन भेला भएका सहभागीहरुले स्थानीय कलाकारद्वारा प्रस्तुत विविध सांस्कृतिक कार्यक्रमको आनन्द पनि लिए । जनक थापाको संयोजनमा आयोजित उक्त सांगीतिक साँझमा साई लामा , जनक थापा र अर्जुन पोख्रेलले मनोरन्जक गीत गाएका थिए । 
 
त्यसैगरी बाल कलाकारहरुले रोचक नॢत्य र गीत प्रस्तुत गरे । कॢति सापकोटा , श्रुति ज्ञवाली ,काव्या नेपाल , आर्या जोशी , अविज्ञा न्यौपाने , ज्योति कुँवर लगायतको सांस्कृतिक प्रस्तुतिले दर्शकलाई खुसी बनाएको थियो । 
कार्यक्रमको उद्घोषण राम कुँवरले गरेका थिए । 
 
गीत संगीतमा राती अबेरसम्म नाचेका दर्शकहरु भन्दै थिए – परदेशमा यसरी नै भएपनि दशैंको स्वागत गरौं ।