मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

टिष्टा किनारमा छचल्किएका यात्रा—अनुभूतिहरु

टिष्टा किनारमा छचल्किएका यात्रा—अनुभूतिहरु


धनकुटा बजारभन्दा तलको लेउती खोलाको तीरबाट ठँस्ठँस् कन्दै बस उकालो लाग्यो । हाँसको गतिमा अजस्र पसिनाको धारा यात्रुहरुमाथि तप्तप् चुहाउँदै थियो । चिसो सिरेटोले पसिनाको थोपा स्पर्श गर्न थालेपछि बस पनि रोकियो भेडेटार भञ्ज्याङ्गमा ।
 
यो यात्राको दुर्गतिले मेरा सहयात्री (चेतनाथ कणेल, सोमबहादुर श्रेष्ठ, गोपाल गौतम, देवेन्द्र बुढाथोकी) हरुलाई कहाँ कता च्यापेको थियो कुन्नि ! पत्ता लगाउनै गाह्रो । कणेल दाइचाहिँ हाते रुमालले पसिना पुछ्दै मेरो छेउमा बसेर बाहिर हेरिरहनुभएको रहेछ । “कणेल दाइ …” मैले यात्राको आलोचना गर्न निसास्सिएको तातो सास्बाट बोलाएँ । उहाँले “हजूर …।” आवाजको प्रतिउत्तरमा बसको झ्यालबाट बाहिर औँल्याउँदै भन्नुभयो “…लिलाजी ऊ … हेर्नोस्त सूर्यास्त, भेडेटारबाट सूर्यास्तको समय कति रमणीय हगि !” साँच्ची ! हरियो नागबेली अस्ताचलको सानो छिँडीबाट सेतो फूल—खरानीमा रातो आगोको कोइला विस्तारै–विस्तारै चमकता घटाएर डुब्दै थियो । यो मनोरम दृश्यको चुम्बनले यात्राको आलोचना गर्न तत्पर मेरो ओठ त्यत्तिकै ओइलिएर गयो । भेडेटार पुगेपछि बस पनि चिप्लो, सिनित्त परेको अलकत्रे नागबेली सडकबाट वायुवेगले हान्निन थाल्यो । गोधूली साँझले घाँसको मुठा कस्दा नकँस्दै धरानको बस–बिसौनीमा टक्क रोकिन पुग्यौँ ।
 
बसबाट उत्रेर पूर्व जाने बस–बिसौनीको छिँडीतिर सबैजना हुर्रियौँ । “थुक्क ! आज दमक पुगेर बास बस्ने योजना चकनाचुर भयो,” मैले शुष्क ओठबाट कल्पना फुकालेँ । पूर्व जाने अन्तिम बसले हामीलाई नमस्ते गरिसक्यो । हामी दोधारमा पर्यौँ । सोम दाइले धरानमै बस्ने विचार पोख्नुभयो । मैले त ‘हुन्छ’ भनेर मुख बाइसकेके थिएँ । झट्ट ! गौतमजी र देबेन्द्रजीले ईंटहरीसम्म पुगेर बास बस्ने विचार पस्कनु भयो । म मूकदर्शक भएर उभिरहेँ । कणेल दाइले स्वीकृतिको टाउको हल्लाउनुभयो । गौतमजी बस खोज्न लाग्नुभयो । विराटनगर जाने एउटा बस बाँकी रहेछ । हामी सबै त्यतैतिर खन्नियौँ ।
 
विराटनगर जाने बसको स्थिति पनि उही सिन्की खँदाइ थियो । कुम्लो–कुटुरो बसको सामान राख्ने क्याबिनभित्र कोचरेर चढ्यौँ । बाबै नि ! कस्तो भीड !! ढोकाबाट भित्र छिर्नै सकिएन । गौतमजीले मूढे बल लगाएर अलिकति बाटो खोतल्नुभयो । ठेलम्ठेल । धन्न ! ढोकामै भएपनि उभिनसम्म पायौँ । थोत्रो बसको घच्याक्–घुचुक र बिग्रेको सडकको घत्र्याक्घुत्रुकको दुर्गतिमा बस अगाडि बढ्यो । गतिभन्दा आवाज धेरै आएर कानै बहिरो होलाजस्तो बोध हुन्थ्यो ।
 
एकातिर टेक्ने समाउने ठाउँको अभावले सडकमा पछारिने डर अर्कोतिर ‘पाकेट्मार’देखि सावधान रहनुपने सन्त्रासले सताउन थाल्यो । यस रुटमा पाकेटमारदेखि सावधान रहनुपर्ने कुराले मलाई निकै वर्षअगाडि नै चेतावनी दिएको थियो ।
 
ईटहरीसँग साइनो
एकपटक म र मेरो एकजना साथी विराटनगर आएका थियौँ । साथीले आफूसँग भएको पैसाजति सबै पाइन्टको पछाडिको पकेटमा राख्नुभएको रहेछ । पाकेट्मारले चारकोशे झाडी नपुग्दै उडाइदिएछ । धन्न ! मसँग आवत्जावत्को लागि पर्याप्त पैसा भएकोले कुनै अप्ठ्यारो परेन । यस कुराले मलाई झस्क्याउन थाल्यो । सधैँ त म पैसालाई कमिजको खल्तीमा नखस्ने गरी राखेर होशियार हुन्थेँ, तर आज मेरो पनि उही पछाडिको खल्तीमा छ । बेला–बेलामा “पाकेटमारदेखि होशियार रहनु होला ।” कण्डक्टरको आवाज आउँथ्यो । म एउटा हातले ढोकाको चौकस पक्डेर अर्को हात पाकेटमा पु¥याउँथेँ । यस्तै ढुक्ढुकीको गतिमा बसले ईटहरी चौक मोडेर बसस्टप्को काउण्टरमा पु¥यायो । उत्रेर पाकेट छामें – पैसा हराएको रहेनछ । साथीहरु सबैजना उत्रिसकेपछि आ–आफ्नो कुम्लो–कुटुरो च्यापेर बास खोज्ने धुनमा लाग्यौँ । देबेन्द्रजीले “साइनो लज राम्रो छ, म कहिलेकाँही त्यहीँ बस्ने गरेको छु, त्यहीँ नै जाऊँ” भन्नुभयो । सबै उतैतिर लाग्यौँ ।
 
ग्राहकहरुको प्रतीक्षा गरिरहेका लजवालाका सेवकहरुले हाम्रो आगमनलाई स्वागत् गर्दै ‘रुम’ मा पुर् याईदिए । दुई–दुई वटा बेड भएको दुईटा कोठा लियौँ । यात्राको झन्झट र थकाइले परेला जोडिन लागेको थियो । खानपानको अत्तोपत्तै थिएन । कुम्लो–कुटुरो त्यहीँ थन्क्याएर खानाको खोजीमा हिँड्यौँ । यही धुनमा ईटहरीको झण्डै एक फन्को पो मारिएछ । अन्त्यमा घुमिफिरी ‘साईनो लज’ नजिकैको होटलतिरै लाग्यौँ । बाहिर खुल्ला आँगनमा आगोको भुङ्ग्रोमा खसी र कुखुराको सेकुवाको बास्ना हरहर्ती आइरहेको थियो । खाना खानुभन्दा अगाडि सेकुवाको स्वाद लिने निश्चय ग¥यौँ । मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्दाभन्दै पनि थकाइको प्यास मेटाउन र सेकुवाको स्वाद बढाउन हामी केहीलाई बियर नभै भएन । सोम दाइले रमको प्याला लिनुभयो । देबेन्द्रजी कोक् घट्घट्याउन थाल्नु भयो । उहाँहरु दुवैजना बियर मन पराउनुहुन्न थियो । सेकुवाको स्वाद लिएपछि केही परको अर्को होटलमा गई दालभात खायौँ । अनि लजतिर लाग्यौँ ।
 
कामको जिम्मेवारी बाँडफाँड
हाम्रो यात्रालाई अझ व्यवस्थित बनाउन भोलिदेखि सबैले एक–एकवटा कामको जिम्मेवारी लिने निर्णय गर्यौँ । सोम दाइले खानपानको व्यवस्थापन गर्ने, कणेल दाइले सुत्नेबस्नेको चाँजोपाँजो मिलाउने, गौतमजीले बस, रिक्सा, रेल तथा फुडिङ्ग–लजिङ्ग चार्ज मिलाउने/तिर्नेजस्ता कामहरु अँगाल्ने र देवेन्द्रजीले क्यामराम्यानको जिम्मेवारी लिने । मैलेचाहिँ यात्रा अनुभूतिको टिपोट गर्ने टुङ्गो लाग्यो । यसको साथै भोलिदेखि नै पाकेटमारदेखि सावधान रहनुपर्ने जिम्मेवार हामी सबैले लिनुपरेको थियो । आवश्यक थोरै रकममात्र खुल्ला पाकेटमा राखेर अरु सबै रकम भित्री पाकेटमा लुकाउने विचार—मन्थन गरेर सुत्यौँ । रातको ११ बजिसकेको थियो ।
 
हाम्रो योजनाअनुसार, सीमापारको पहिलो रात कालिम्पोङ्गमा बिताउने योजना थियो । नानाथरीको कल्पनामा चुर्लुम्म डुबेको निद भोलिपल्ट राम्ररी उज्यालो पनि नभै बिच्किहाल्यो । म र देबेन्द्रजी एउटै कोठामा सुतेका थियौँ । अरु तीनजना अर्कै कोठामा हुनुहुन्थ्यो । मैले देवेन्द्रजीलाई उठाउने विचार गरेँ । अरे ! उहाँ त मभन्दा पनि अगाडि पो ब्युँझिनुभएको रहेछ । अझै उज्यालो भएको थिएन । साथीहरु उठ्नुभएको संकेत कतै आएन । आखिर उज्यालो त बनाउनै पर्यो । हामी दुईजना “मर्निङ्ग–वाक” गर्न भनी बाहिर निस्कियौँ । निकैबेर डुलेपछि मिर्मिरे उज्यालोले छनक दियो । अब त साथीहरु पक्कै उठ्नुभयो होला भनेर हामी कोठातिरै लाग्यौँ । साथीहरु सबै उठीसक्नु भएछ ।
 
नित्यकर्म सकेर आ–आफ्नो कुम्लो–कुटुरो च्यापी काँकडभिट्टा जाने बस–बिसौनीतिर लाग्यौँ । गौतमजीको ‘लोकल बस भन्दा पोखरा, काठमाडौँ, भैरहवा आदि ठाउँतिरबाट आउने रात्रिबसमा जाँदा छिटै र आरामसँग काँकडभिट्टा पुगिन्छ’ भन्ने रायलाई सबैले स्वीकार्यौँ ।
 
रात्रिबसको प्रतीक्षा गर्ने ठाउँमा सानो चियापसल रहेछ । चिया पिउनतिर लाग्यौँ । चियाको ग्लास खट्खटाएर बसेकी त्यो कालीले हाम्रो शुभमुहूर्तको साईत नै बिगारिदिई । अस्वाभाविक प्रश्नको झटारो हान्दै द्रव्यपिशाचको नाटक खेल्ने त्यस नखरमाउलीको चिया पिउनु हाम्रो मूर्खता नै भयो । अझ हाम्रो साथी देवेन्द्रजी र गौतमजीले भलाकुसारी गर्नु बिष नै भयो । शायद साथीहरुले त्यस नखरमाउलीसँग ख्यालठट्टा नगरिदिएको भए फर्सीको झोल जस्तो चियालाई प्रति कप तीन/तीन रुपियाँ त तिर्नुपर्ने थिएन । अन्त एक—दुई रुपियाँमा पाइने चियालाई त्यो कालीले तीन रुपियाँ पो लिई ।
 
भैरहवा–काँकड्भिट्टाको रात्रिसेवा बिहानको साढेपाँच बजेतिर आइपुग्यो । बसमा ओर्लिने उत्रिने यात्रुहरुको खचाखच भीड थियो । यात्रुहरुसँग जोल्टिङ्ग खेल्दै बसमा ठेलमठेल गर्दै चढेको हुनिहुनामी भयो । चढ्दा–चढ्दै सिटमै नपुगी देवेन्द्रजीको मनिब्याग नै पाकेट मारिहालेछ; धन्न उहाँले …। सोम दाइको चाहिँ भा.रु. एकसय रुपियाँमात्र उडाएछ । मेरो पनि पाकेटको बटम् खुस्काईसकेको रहेछ । मनिब्याग भने थुत्न पाएनछ । कणेल दाइ र गौतमजीका पाकेटहरु भने सुरक्षित नै रहेछन् ।
 
ईटहरी चोकको छातीमा बुर्कुसी मार्दै हान्निएको बस उर्लाबारी, दमक, विर्तामोड हुँदै काँकडभिट्टा बस–बिसौनीमा घ्याच्च भयो । पूर्व पश्चिम राजमार्गको दृश्यावलोकन, ठाउँठाउँमा क्यामराबाट क्लिकक्लिक पारेर बिहानको साढे सात बजे नै त्यहाँ पुगियो । तर पनि बिहानको खाना काँकडभिट्टामै खाने निश्चय गर् यौँ । “खाना कति समयपछि तैयार हुन्छ होला बैनी ?” बसस्टपको नजिकैको एउटा होटलमा गएर कणेल दाइले सोध्नुभयो । “अब लगभग एकघण्टापछाडि हुनसक्ला …।” मुसुक्क हाँस्दै जवाफ दिइन् बैनीले । मुस्कान राम्रो थियो उनको । हाम्रा कुम्ला–कुटुरा त्यहीँ राखेर एकछिन काँकडभिट्टा बजार घुम्यौँ ।
 
गर्मीको समय नभएकोले त्यत्ति गर्मीको अनुभव त भएन तर गर्मीको समयमा यहाँ उखरमाउलो नै चढ्छ रे ! यस बजारको क्षेत्र विस्तृत भएता पनि राम्रा–राम्रा पसलहरु भने दुईचारवटा मात्रै थिए । गौतमजीले एउटा फैन्सी पसलबाट जिन्सको ज्याकेट किन्नुभयो । त्यस नयाँ ज्याकेटमा काँकडभिट्टाको तरेली–तरेली सम्झना गाँसेर फोटो पनि खिच्नुभयो । फेरि, कुन्नि केको झोँक चल्यो ? ज्याकेट त तुरुन्तै फिर्ता पो गरिदिनुभयो । कत्ति चखिलो मान्छे । नयाँ पोशाक र परिधानमा फोटो खिच्ने काइदा पनि गौतमजीले हामीलाई सिकाउनुभयो !
 
सीमित समयको उपयोग, बजारको चक्करपश्चात् छिटोछिटो खाना खाएर नेपाल भन्सार कार्यालयतिर गयौँ । क्यामराको प्रमिसन लिनुपर्ने रहेछ । जुन व्यक्तिले जुन सामान लैजान चाहेको हो उक्त सामानको प्रमिसन लिँदा नागरित्तकताको प्रमाण–पत्र धरौटी राख्नुपर्ने रहेछ । हामी कसैसँग पनि नागरिकताको प्रमाण–पत्र साथमा थिएन । धन्न ! गौतमजीसँग कार्यालयको परिचय–पत्र रहेछ, यसैलाई धरौटी राखेर ‘प्रमिसन’ लियौँ । यसपछि हामी सिलिगुडी बस—बिसौनी जाने तरखरमा लाग्यौँ । ट्याक्सी, रिक्साले बोलाउँदै थिए, तर हामी वास्तै नगरी अगाडि बढ्यौँ । त्यहाँबाट अलिकति ओह्रालो झरेपछि एउटा लामो पुल आयो – त्यहीँ रहेछ मेची पुल । ५८३ मिटर लामो !
 
मेची नदीमा डुबुल्की
मैले यसभन्दा अगाडिसम्म मेची नदीलाई कम्तीमा पनि ‘अरुण’ र ‘तमोर’ जत्रो होला भनेर कल्पना गरेको थिएँ । पुल तरिसकेपछि यस नदीको पानी छुने उत्साहले हामी सबै नदीकिनारमा झर्यौँ । यो नदी त सजिलै वारपार गर्न सकिने पो रहेछ – मेरो मनमथिङ्गल एकपटक छलल्कियो । मेची नदीको पुल तरिसकेपछि हामी पूर्णतः भारतीय भूमिमा टेकिसकेका थियौँ । यस नदीको पानी छुँदा–छुँदै हामीलाई नुहाउने जाँगर बढ्यो । सबैजना नुहाइ–धुवाइ गर्न लाग्यौँ । गौतमजी र कणेल दाइ पौडिन सिपालु हुनुहुँदोरहेछ । कुक्लिङ्ग परेर पानीको प्रवाहमा निकै तल–तलसम्म बग्नुहुन्थ्यो । मेची नदीको प्रवाहमा एकछिन हामी सबै हरायौँ । नेपालको पूर्वी सिमानाको काम यही नदीले गर्ने भएकोले हाम्रो भ्रमणलाई एक ऐतिहासिक भ्रमण पनि ठान्यौँ ।
 
यो उल्लासमय वातावरणको झुलाइपछि एकपटक अन्तिम नजर नेपालपट्टी फर्काएर अलबिदा गर्दै हामी लाग्यौँ भारत भन्सार कार्यालयतिर । यहाँ सबै सामान चेक गराइसकेपछि सिलिगुडी जाने बस–बिसौनीतिर हामी लम्कियौँ ।
 
लोकल बस तैयारीमै थियो । कणेल दाइ बसमा चढिहाल्नु भयो । सोम दाइ र म वाल्ल परिरह्यौँ । देवेन्द्रजी र गौतमजी सिटी बसकै खोजाइमा धुईं–धुईं हुनुहुन्थ्यो । बस छुट्न लागेकोले कणेल दाइ हतारिएर बसभित्रबाट बोलाउन लाग्नुभयो । सोम दाइ पनि चढिहाल्नुभएछ । देबेन्द्रजी र गौतमजी अब छुट्नुहुन्छ होला भनेर हामीलाईं जग्जगी भयो । यता–उता टहल्दाटहल्दै उहाँहरु पनि मेरो नजिकै पो आईपुग्नु भएछ । सिटीबसमा जाँदा भाडा पनि सस्तो पर्ने र आरामदायी यात्रा पनि हुने कुरा भन्दाभन्दै लोकल बस हुईंकिने संकेत भैसक्यो । हामीहरु पनि तुरुन्तै यसैमा चढिहाल्यौँ । आफूलाई हिन्दी भाषा त्यत्ति नआउनाले हिन्दीभाषीहरुको जमातमा हाँसको बीचमा बकुल्लो हुन करै लाग्यो ।
 
सिलीगुडीका लागि गुड्दा
काँकडभिट्टाको पारिपट्टि भारतीय सीमबजारबाट बस “सन्यासीस्थल टी–स्टेट” को मनोरम दृश्य चुम्दै–चुम्दै हुँइकिन थाल्यो । यात्राका दृश्यहरु अभिलेख गर्ने अभिलाशामा चञ्चल मनोवेगहरु बसको झ्यालबाहिर नै डुल्न थाले । दीपावलीको रमझममा दृश्यहरु आँखामै चुम्न आउँदा वायुवेगको अवलोकन भएता पनि मन्त्रमुग्ध हुन्थे । थाहै नपाई डेढ घण्टामा बसले सिलिगुडीको प्रवेशद्वारमा पुर्यायो । एकातिर चिया—बगानको दृश्य राम्ररी हेर्ने अवसर नदिएकोले बसलाई सराप्न थाल्यौँ । अर्कोतिर ट्राफिक जाम भएर धेरै समयसम्म कोलाहलयुक्त झन्झटिलो बस, मोटरसाइकल, ट्याक्सी आदिको धूवाँ पिउनुपर् यो । सिलिगुडी सहर पनि विशाल नै रहेछ ।
 
सिलिगुडी बस–बिसौनीमा उत्रेपछि सर्वप्रथम कालिम्पोङ्ग जाने बसको टिकट काट्ने निश्चय गर्यौँ । हामी पाँच प्राणी दुईवटा रिक्सामा चढ्यौँ । गौतमजी, देवेन्द्रजी र म एउटै रिक्सामा चढेका थियौँ । कालिम्पोङ्ग जाने बस बिसौनीको केही वर नै रिक्साले हामीलाई उतार्यो । गौतमजी निहूँ खोज्न पो थाल्छ । रिक्साको भाडा खास चाहिँ एक रुपियाँमात्र रे ! तर हामी नौलो मान्छे देखेर रिक्सावालले तीन रुपियाँ पो भन्न थाल्यो । अझ ऊ त हिन्दीमा पो कड्किन थाल्छ । गौतमजी पनि हिन्दीको पारखी ! उहाँले पनि हिन्दीबाटै हप्काउन थाल्नुभयो । मान्छेको भीड भयो । आम्मै नि ! गौतमजीले त रिक्सावालको घाँटी पक्डी पो हाल्नुभयो । साह्रै झ्वाँकी मान्छे हुनुहुँदोरहेछ । एकजना स्थानीय युवक आएर “… के भयो, एई रिक्सा ?!” मात्रै के भनेको थियो उसँग रिक्सावाला त बङ्गालीमा पो गफ गर्न लाग्यो । गौतमजी बङ्गाली भाषा पनि राम्ररी नै बुझ्नुहुँदोरहेछ । रिक्सावाललाई चड्कन दिन खोज्दै वास्तविक कुराको बयान दिनुभयो त्यो जवानलाई । त्यसपछि त्यो जवानले रिक्सावाललाई हप्काईदप्काई ठिक लगायो । नत्र के–के हुने थियो । “यी रिक्सावालहरुको बानीव्यहोरा यस्तै हुन्छ”, जवान यत्ति भनेर हामीलाई त्यहीँ छोडेर उता लाग्यो । हुन पनि हो प्रायः जहाँका रिक्सावालहरु पनि यस्तै हुँदारहेछन् । आफूले यिनीहरुको अगाडि अलिकति पनि नौलोपन देखाइयो भने सहजै ठगिदिन्छन् । गौतमजी जस्तो बोलक्कड र झ्वाँकी साथी नभदिएको भए हामी सिलिगुडीमा पक्का ठगिने थियौँ ।
 
यसरी रिक्साको भाडा मिलाइसकेपछि हामी कालिम्पोङ जाने बस–बिसौनीतिर लाग्यौँ । सिलिगुडी बजारको बस–बिसौनी भव्य छ । एउटा विस्तृत क्षेत्रफलले ओगटेको यात्रु प्रतीक्षालय भवनको कोठा–कोठामा यात्रुहरुको मनोरञ्जनको लागि टेलिभिजन पनि जडान गरिएको रहेछ । यस भवनको एकापट्टि यात्रुहरुको टिकट बेच–बिखन गर्ने कोठाहरु छन् । यहाँबाट विभिन्न ठाउँहरुमा जाने बसको टिकट पाइन्छ । हामीले कालिम्पोङ जाने बसको टिकट लियौँ ।
 
निकै भोक लागिसकेको थियो । । कालिम्पोङ जाने बस छुट्न अझै १५ मिनेट जति बाँकी थियो । हामी रेष्टुराँतिर लाग्यौँ । बाबै नि ! मागीखानेहरु कति बिघ्न ! एकपछि अर्को ताँती, ताँती, ताँती …। सबैलाई एक–एक रुपियाँमात्र दिने हो भने पनि दिनभरिमा त सयौँ भा.रु. सकिन्थ्यो होला । यस्तो बिघ्न ताँती देखेर हामी झस्कियौँ । सोचेँ, यदि लक्ष्मीप्रसाद देवकोटा यहाँ अहिले भइदिएको भए उनको के गति हुन्थ्यो होला ? मैले सुनेको थिएँ – देवकोटा तलव थापेर घरमा बिरलै पुर् याउँथे रे ! उनीसँग कसैले माग्यो भने खल्तीमा हात लगाउँदा जति आउँछ त्यत्ति नै दिन्थे रे ! मैले यो दृश्य आँखामा नचाइरहेँ । म कणेल दाइसँग लेप्सिएर उभिरहेको थिएँ । एकजना भलाद्मी देखिने मान्छे बेञ्चमा बसेर माग्नेहरुलाई बारम्बार पैसा दिइरहन्थ्यो– कत्ति पनि दिक्क नमानी । मेरो आँखामा त्यो मान्छे देवकोटा झझल्कियो त्यहाँ । 
 
(क्रमश: ….)
ड्यालस, अमेरिका
(सन् १९९२, संस्मरण डायरीबाट)