मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दाउन्नेमा बाटो अवरुद्ध हुँदा सयौँ यात्रु घण्टौँ अलपत्र

दाउन्नेमा बाटो अवरुद्ध हुँदा सयौँ यात्रु घण्टौँ अलपत्र


नवलपरासी । पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक नहट्दा यात्रु अलपत्र परेका छन् ।
 
प्रहरीले बाटो खुलिसकेको जनाउने गरे पनि यात्रुहरुले भने घण्टौँ सास्ती व्यहोर्नुपरेको जनाएका छन् । सवारी बुधबार ११ बजेदेखि एकतर्फीमात्र खुले पनि यात्रुले एकतर्फी बाटो काट्न ६ घण्टासम्म कुर्नु परेको गुनासो गरेका छन् ।
कावासोतीबाट बुटवलका लागि १ बजे हिँडेका यात्री धनबहादुर जिसीले आफू ७ बजेसम्म पनि बाटो कट्न नसकेपछि घर फर्किएको बताए ।
 
शुक्रबार दिउँसो ३ बजे घरतर्फ लागेका राष्ट्रिय अनुसन्धान नवलपुर जिल्लाका एक कर्मचारी साँझ सात बजेसम्म पनि जाम कट्ने सम्भावना नदेखेपछि अर्का कर्मचारीलाई बाइकमा बोलाएर कार्यालय नै फर्किएका थिए ।
 
नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले दाउन्नेमा व्यापक मात्रामा बिग्रिएको सडकले गर्दा थप समस्या भएको बताए । बिहीबार साँझ भुस बोकेको ट्रक पल्टिएको थियो । त्यसमाथि लामो ट्रक सोही ठाउँमा आएर बिग्रँदा झन समस्या थपिएको थियो । त्यस्तै घीउखोलामा पनि अर्को ट्रक पल्टिएपछि बिहीबार रातभर दाउन्नेमा सडक अवरुद्ध भएको थियो ।
 
प्रहरी उपरीक्षक थापाले भने सडकमा निर्वाध यातायात सञ्चालन भएको दाबी गर्दै आएका छन् । सडक विभागले बेलैमा भत्किएका सडक मर्मत नगरिदिँदा यात्रुलाई थप समस्या भएको बताए । प्रहरीले सडकमा पल्टिएको ट्रकलाई केही पर धकेलेर एकतर्फी बाटो खोलेको छ ।
 
दाउन्नेमा सयौँ ठाउँमा सडक बिग्रिएको छ । गत वर्ष जताततै खाल्डाखुल्डी भएर घण्टौँ जाम हुने गरेका कारण सडक मर्मत गरिए पनि एक वर्ष नपुग्दै वर्षामा सडक पुनः बिग्रिएको हो ।
 
बिहीबार साँझदेखि दाउन्नेको घीउखोला र दुम्कीबासमा पल्टिएको भुसको ट्रक हटाउन प्रहरीले क्रेन नै मगाउन परेको थियो । बिहीबार राति एउटा क्रेनले हटाउन नसकेपछि शुक्रबार थप एउटा क्रेन मगाएर बिहान सवा ११ बजेतिर मात्र बाटो एकतर्फी  खुलेको हो ।
 
दाउन्नेमा सयौँ ठाउँमा सडक भत्किएर ठूलाठूला खाडल हुँदा सवारीसाधनहरु नियमितजसो घण्टौँ जाममा पर्ने गरेका छन् । १० मिनेटमा पार गरिने सडक पार गर्न जामका कारण ६÷७ घण्टासम्म लाइन लाग्नु परेपछि यात्रुहरुले भने सास्ती बेहोरेका छन् ।  सडक अवरुद्ध हुँदा दसैँ मान्न घर हिँडेका यात्रुहरु घण्टौँ जाममा परेर हैरानी व्यहोर्नु परेको थियो । सडकमा दुवैतर्फ गरी १५ किलोमिटरभन्दा बढी लामो सवारीसाधनको लाम लागेको छ ।