मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेसमाथि अंकुश लगाउनु आपत्ति : सभापति देउवा

प्रेसमाथि अंकुश लगाउनु आपत्ति : सभापति देउवा


नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र हुनुपर्ने प्रेस जगत्माथि हस्तक्षेप गर्न सरकार नै उद्यत रहेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । 
 
शुक्रबार भरतपुरमा नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्रको भवन उद्घाटन गर्दै सभापति देउवाले स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न पाउनुपर्ने सञ्चार जगत् र समग्र पत्रकारिता क्षेत्रलाई नै धरापमा पार्न खोजिएको भन्दै सरकारको तीव्र आलोचना गरे । उनले भने, ‘प्रेस जहिले पनि स्वतन्त्र हुनुपर्छ, त्यसैले प्रेसलाई स्वतन्त्र छाडिनुपर्छ ।’ 
 
सञ्चार क्षेत्रमै अंकुश लगाएर जनतालाई सूचनाको हकअधिकारबाट वञ्चित गराउन सरकार आफैँ लागेकोले नेपाली कांग्रेस यसविरूद्ध उभिएको उनको भनाइ थियो । 
 
‘जनतालाई सूचनाको हकबाट वञ्चित गराउने होइन, संविधानले दिएकै अधिकार पूर्णरुपमा कार्यान्वयन गराउनतर्फ सरकार लाग्नुपर्छ’, उनले भने, ‘त्यसका लागि नेपाली कांग्रेस पनि सहयोग गर्न तयार छ, तर सरकारले कुनै पनि बहानामा सञ्चार क्षेत्रमाथि हस्तक्षेप गर्न पाउँदैन ।’
 
प्रेस युनियनको भवन उद्घाटन
 
शुक्रबार सभापति देउवाले नेपाल प्रेस युनियन चितवन शाखा भवनको उद्घाटन गरेका छन् । 
 
समाजसेवी सुश्री मैयाँदेवी श्रेष्ठले उपलब्ध गराएको १३ धुर जग्गामा प्रेस युनियनले आफ्नै भवन निर्माण गरेको हो । २०७२ पुस १० गते जग्गादाता श्रेष्ठबाटै शिलान्यास गरिएको उक्त भवन करिब ५५ लाख रूपैयाँको लागतमा निर्माण भएको भवन निर्माण आर्थिक समिति संयोजक सिर्जना अर्यालले जानकारी दिइन् । 
 
भवन निर्माणमा १४ जनाले जिन्सी सामग्री उपलब्ध गराएका थिए भने ४६ जनाले आर्थिक सहयोग गरेका थिए । भवन निर्माणका लागि दाताहरुले १० हजार रूपैयाँदेखि ११ लाख रूपैयाँसम्म सहयोग गरेका थिए । भवन निर्माणमा १८ जनाले एक लाखभन्दा बढी सहयोग गरेका थिए ।  
 
तीन पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कार  
 
नेपाल प्रेस युनियन चितवन शाखाले ‘चीजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट वरिष्ठ पत्रकारहरु किशोर नेपाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डितलाई जनही ५१ हजार १५१ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरेको छ । 
 
वरिष्ठ पत्रकार नेपाललाई ०७३, वाग्लेलाई ०७४ र पण्डितलाई ०७५ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
 
यस्तै, स्थानीय क्रियाशील युवा पत्रकारका रुपमा राजु चौधरीलाई ११ हजार १११ रुपैयाँसहित पुरस्कृत गरिएको थियो । सो अवसरमा भवन निर्माणमा सहयोग पुर्याउने दाताहरुलाई पनि सम्मान गरिएको थियो । 
 
कार्यक्रममा कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, सांसद गीता वाग्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।