मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

न्यूयोर्कले गुमाएको त्यो अवसर

न्यूयोर्कले गुमाएको त्यो अवसर


मेरो लागि वैयक्तिक स्वतन्त्रता र स्वायत्तता भन्दा ठुलो यो दुनियामा केही छैन र जानेसम्म अनि सकेसम्म अरुहरुको त्यस्तो निजी स्वतन्त्रताको पनि म उच्च सम्मान गर्दछु । म हिजोआज जहाँ जान्छु या पुग्छु त्यहाँसम्म पुग्नलाई मलाई मनले नै आदेश दिन्छ । कस्ले के भन्ला भन्ने लोकलाज र लोकाचारबाट अब म पुरै बाहिर निस्किएको छु । कार्यक्रमहरुमा जाँदा म कहिले पनि हिसाब-किताब गर्दिन । 
 
तर म जहाँ पुग्छु अनि उभिन्छु त्यहाँ मान्छेहरुको कहिले नटुङ्गिने गुनासाहरु सुन्ने गर्छु "खोई दाई, यता आउन त समय निकाल्नु भएछ, मेरो कार्यक्रममा चाँही आउनु भएन..निम्ता पनि पठाएकै थिएँ..मान-सम्मान केही पुगेन कि?" त्यसो भनेर मेरो टाउको खाने स्नेही बन्धुहरुलाई म हामीले आयोजना गर्ने सम्प्रेषणको सामुदायिक अन्तरक्रियात्मक बहसमा बिरलै देख्छु अनि भेट्छु तर आजसम्म मैले कसैलाई "सम्प्रेषणको सामुदायिक बहसमा किन आउनु भएन?" भनेर भनेको सम्झना छैन । हरेक मानिसको आफ्नै रुची र प्राथमिकताहरु हुन्छन त्यसमा हामीले अंकुस लगाउने अभिष्ट र नियत राख्नु हुन्न भन्ने मेरो निजी मान्यता हो । 
   
शनिबार न्युयोर्क च्याप्टरले मनाएको "एनआरएन डे" का बारेमा पनि त्यहाँका सकृय भाईहरुले आउनुस है दाई भनेर फेसबुक ईनबक्समा केही खबरहरु छाडेका रहेछन । एनआरएनको कार्यक्रममा जान मलाई चाँही मान, सम्मान, निम्ता या औपचारिक आमन्त्रण केहि चाहिन्न । किनकी एनआरएन अभियानमा लागेकै कारण र यही बीटमा निरन्तर विचार सम्प्रेषण गरेकै कारण मैले एक जना नयाँ सिकारू संचारकर्मीको परिचय बनाएको छु । अनियमितता मार्फत एनआरएन अमेरिकालाई भात्री संगठनका राजनैतिक ठेट्नाहरु परिचालित गरेर यो संगठनलाई त्यही राजनैतिक चक्रब्युहमै राखिरहनेहरुले हरेक किसिमले बाहिर राख्न खोज्दा अनि नबोलाउँदा पनि म त्यस्तो राजनैतिक चक्रब्युह तोड्न त्यहाँ अनि त्यस्ता ठाउँमा पुगेको छु । 
 
निजी आलेख तथा स्टाटसका अनवरत झटाराहरु सन् २०१४ देखि निरन्तर हानेको छु । हामीले यही बिषय र सन्दर्भकै सेरोफेरोमा अहिलेसम्म अमेरिकामा १६ वटा सामुदायिक अन्तरक्रिया गरिसकेका छौं । एनआरएनलाई राजनैतिक आधुनिक दासहरुबाट पूर्ण मुक्त बनाउने लक्षमा हामी निरन्तर अगाडी बढीरहेका छौं । यो धार र आयाममा बोल्ने र लेख्नेहरुको भारी बढोत्तरी भएको छ । आफ्ना खेमा र गुटका राजनैतिक कर्जेकर्ताहरु परिचालन गरेर १५ हजारको संख्यामा भरेर राखेको त्यो तथाकथित "हार्डड्राईभ" अथवा "क्लाउड" लाई अबको निर्वाचनसम्ममा हामी पुरै तित्तो पार्ने छौँ र हिजोका दिनका त्यस्ता कर्तुत गर्ने र गराउनेहरुलाई कानुनको दयारामा ल्याउने छौं ।  
 
हिजोको कार्यक्रम १२ बजे सुरु गर्ने भनिएको थियो । म सभाकक्षमा १२:२५ तिर पुगेको थिएँ मनमा लागि रहेको थियो ढिला पो भएँ कि? के हुन्थे नेपालीपाराकै आयोजकहरु लखरलखर आईरहेका थिए । शनिबार काम गर्नु पर्ने भएकोले यसो पुगेर "क्याबात्!" को शाब्दिक ढाडस दिएर फर्किहाल्छु भन्ने योजना थियो । अन्तत: कार्यक्रम सुरु भयो तर निक्कै ढिला सुरु भयो । अाशन ग्रहण, यथास्थानको आशन ग्रहणको लामो अनवरत श्रृङ्खला चलि रह्यो । सँधै झैँ साईड-टक, हल्ला-खल्ला, सहगोत्रीय झुण्डहरुको अमुक प्रदर्शनी, सेलफोनको घन्टी आदी ईत्यादी..!! यसो घडी हेरेको दुई बजेर १३ मिनेट गईसकेको रहेछ । म छेवैको मान्छेलाई पनि थाहा नहुने गरि बिरालो चालमा निस्किएँ ।
 
ट्रेन स्टेशन तिर हतारहतार लम्कन्दै थिएँ । एक्कै चोटी शैलेश दाई र शैलेश जीको मिश्रित स्वर सुने..यसो फर्किएर हेरेको आनन्द बिष्ट भाई र प्रमोद जी रहेछन उनीहरु यही कार्यक्रमका लागि आएका रहेछन । म चाहेर पनि बस्न सकिने ट्रेन पक्डन कुलेलाम ठोकेँ । मनमनै लाग्यो..यो हो नि नेपाली तरिका.. उनीहरुलाई थाहा छ यो दसगजा भित्र कसरी अनि कति बेला कार्यक्रम सुरु हुन्छ । 
 
साँझ अक्कुर लुइटेल भाईले गरेको रुपान्तरण लाईभ हेरें । न्युयोर्क च्याप्टरका भाई-बैनीहरुले नेपाली पुरातनिक सुबिधा-घेराबाट निस्किने अनुपम प्रयास गरेका रहेछन ।
 
हजारौं नेपालीहरुलाई उपल्लो सरोकार रहेको यही जीवन र जगतका प्राथमिकताहरुमा काम गर्ने चाहना न्युयोर्क च्याप्टरले स्थापनादेखि नै राखेको छ । टीपीएस नवीकरणको बेला न्युयोर्क च्याप्टरले गरेको समायोजन अनि अगुवाईहरुको म पनि देखिजान्ने साक्षी मात्र होइन सहयात्री पनि हुँ । मैले चुनाबताका पनि आकांक्षी मित्र तथा भाईहरुसँग बारम्बार भन्ने गरेको थिएँ यदि तपाईहरु यो गुटगत गोत्रीय राजनैतिक तावेदारीबाट निक्लिन सक्नु भयो भने न्युयोर्क च्याप्टरले गर्न सक्ने काम संसारभरका सबै राष्ट्रिय समन्वय समिति भन्दा उल्लेखनीय हुनेछ । त्यसको सम्भावना अब अझ बढ्दो छ तर त्यहाँ रहेका भाई तथा मित्रहरुले त्यो पुरातनवादी राजनैतिक घेरा र जीहजुरीलाई चाँही पुरै परित्याग गर्न सक्नु पर्छ ।  
 
तर हामीनै यतै सहयोगी र सहृदयी छैनौं । कपट र गुनासो बाहेको केही हुन्न हामीसँग क्लिप हेरें केही वक्ताहरु प्रधानमन्त्री ओली आउँदा ज्ञापन-पत्र दिन नपाएको झोँक अरिङ्गालमार्काहरुलाई पोखिरहेका थिएँ कोही आफुलाई सुरुमा बोल्न नदिएर अन्तमा मात्र बोल्न दिएकोको गहिरो तिक्तता ओकेली रहेका थिए । 
 
यति राम्रो अभिष्टका साथ यति धेरै समय खर्च गरेर आयोजना गरिएको यस्तो सम्भावनायुक्त कार्यक्रममा त्यो बीसौं बर्षदेखि अनवरतरुपमा चलेको आशनग्रहण र यथास्थान आशनग्रहणको पुरातनिक श्रृङ्खला र शैलीलाई पुरै हटाएर बिषयगत बिषय र प्राथमिकताहरुमा प्रवेश गरेको भए एनआरएन अमेरिका न्युयोर्क च्याप्टरले आयोजना गरेको हिजोको "एनआरएन डे" कार्यक्रम आगामी दिन र कार्यक्रमहरुलाई पनि अनुकरणीय नमुना बन्ने थियो । सबैलाई खुसी पार्ने चाहना र लालचकै कारण यसपटक न्युयोर्क च्याप्टरले त्यो अनुपम अवसर गुमायो । फोटोः प्रदीप परियार थापा