साहित्य / विविध / फिचर

स्मृतिकी ती पत्रमित्र

421 पटक पढिएको

– रामचन्द्र भट्ट

संस्मरण | 6th Oct 2018, Saturday | २०७५ आस्विन २०, शनिबार २१:३९
हिजो पनि धुइँपत्ताल लगाएर उनलाई खोजेँ फेसबुकमा । तर प्रयास निरर्थक भयो ।
 
झण्डै चार वर्षदेखि २/३ महिना बिराएर यसैगरि फेसबुकमा खोजिरहेको छु उनलाई । कुनै न कुनै दिन फेसबुकमा जोडिन त आइहाल्ने छिन् भन्ने आशा बोकेर उनलाई मैले निरन्तर खोजी गर्दै आएको छु । विश्वका ७ अर्ब ७० करोड मानिसहरु मध्य २ अर्ब २३ करोड फेसबुकमा जोडिसकेका छन् । एक दिन न एक दिन त उनी पनि कसो नजोडिकन बस्न सक्लिन र ? यही आशा बोकेर हिजो पनि उनको नाम टाइप गरेर फेसबुकमा प्रयास गरेँ । उनको नामको दोस्रो अक्षर नेपाली ‘ई’ कार छ । अंग्रेजीबाट नाम सर्च गर्दा ‘आई’ बाट नदेखिएपछि डबल ‘ई’ गरेर पनि खोजेँ । तरपनि भेटिएन ।
 
गाउँको नाम ‘रमाइलो’ टाइप गरेर पनि सर्च गरेँ । अहँ, भेटिएन । त्यही नामका भेटिए थुप्रै । तर नेपालदेखि भारत, अमेरिकासम्मका । तर उनको त्यतिखेरको हुलियासँग मिल्दोजुल्दो कुनै अनुहार देखिएन । 
 
२१ वर्ष पुगेछ उनीसँग चिनाजानी भएको । तर डेढ वर्ष पनि टिकेन हाम्रो सम्बन्ध । सम्बन्ध दीर्घकालिन नहुनु रहेछ र पो उनी मलाई हदभन्दा माथि उक्लिएर आत्मियता देखाउँथिन् । देखाउन न त के देखाउनु र ? उनको स्वरले त्यो झल्को दिन्थ्यो । उनी भन्थिन्–‘एक दिन बिराएर हजुरको स्वर सुन्न नपाउँदा म आफै हराउँछु ।’ म पनि के कम र ? ‘गफै त हो सम्धी’ भनेझैँ आकास पाताल जोडेर म उनको मात्र हुँ भनेर आश्वस्त पार्ने प्रयास गर्थे ।
 
२०५३ सालको अन्तिम या २०५४ को बैशाख महिना थियो । ठ्याक्कै याद भएन । जुन महिना भएपनि देशमा स्थानीय चुनावको माहौल थियो । म त्यतिखेर पार्टटाइम पत्रकारिता गर्थे नुवाकोटबाटै । पूmलटाइम काम चाहि उद्योग बाणिज्य संघमा थियो । धेरै साथीहरु बनाउने अभियानमा देशको पूर्बदेखि पश्चिमसम्म धेरैलाई पत्रमित्र बनाएको थिएँ ।
 
एकपटक त्यस्तै पत्रमित्रले फोन गरिन् । म कार्यरत उद्योग बाणिज्य संघमै फोन आयो ।  अहिलेजस्तो हातहातमा मोबाइल कहाँ हुनु र ? ल्याण्डलाइन फोन समेत कालोबजारीमा बिक्ने समय थियो । घरमा फोन हुनु त शानको विषय पो थियो त त्यतिखेर ।
 
ती पत्रमित्रले बिराटनगरबाट पूर्बतिर पर्ने गाउँ रमाइलोबाट फोन गरेकी थिइन् । ‘रमाइलो’ गाउँमा कहिल्यै नपुगेपनि कताकता सुनेजस्तो लाग्थ्यो । नेपालको राजनीतिक इतिहास पढ्ने क्रममा ‘रमाइलो झोडा’ को कुरा धेरै पढेको थिएँ । त्यहाँको कुरा बुझ्नका लागि मलाई निकै चासो थियो ।
 
कहिल्यै नभेटेको, त्यसअघि एकाध पटक पत्राचार गरेको व्यक्तिसँग भएपनि हामीबीच त्यतिखेर १५ मिनेट जति कुराकानी भयो । पढाई, काम, गाउँघरका विषयमा केन्द्रित भए कुराकानी । महत्वपूर्ण कुरा चाहि पहिलो संबोधननै उनले ‘दाजु’ बाट गरिन् । जुन दाजुको नाता र सम्बन्ध उनले त्यसदिन राखिन् त्यो सम्बन्ध आज पर्यन्त पनि कायमै छ ।
 
गाउँको स्कुलमा रहेको पिसिओ (पब्लिक कल अफिस) बाट उनले फोन गरेकी थिइन् । भिस्याट प्रविधिको फोन थियो त्यो । पानी परेको समयमा, बादल लागेको बेलामा फोनले काम गर्दैनथ्यो । ‘ल दाजु, तपाईले पनि फोन गर्दै गर्नुहोला है,’ यतिनै भनेर उनले फोन राखिन् ।
 
उनीसँग अब हरेक साता जसो कुराकानी हुन थाल्यो । पत्रमित्रताबाट फोनमित्रतामा परिणत भयो । मित्रता भन्दा पनि हामीबीच दाजु र बहिनीको नाता जोडियो ।
 
मैले यताबाट फोन गर्दा इशु नाम गरेकी केटीले रिसिभ गर्थिन । धेरै पटक फोन हुँदाहुँदा उनले मैले कोसँग कुरा गर्न खोजेको हो भनेर जानिसकेकी थिएन् । ‘अँ, निमालाई खोज्नुभएको होइन ?’ उनी सोध्थिन् । गुरुङकी छोरी भएकीले उनको आवाजमा कताकता त्यो झल्किहाल्थ्यो । निकै मिठासपूर्ण स्वर थियो इशुको ।
 
एकपटक फोन गर्दा फरक स्वर सुनियो । महिलाकै स्वर भएपनि इशुको भन्दा तिखो अनि कमाण्डिङ थियो स्वरमा । मैले फलानोलाई खोजेको भन्नासाथ कहाँबाट, किन, कसरी चिनजान भयो, के काम गर्नुहुन्छ भन्नेसम्मका सबै अन्तरवार्ता लिन पो थालिन् उनी । 
 
‘आज इशु नभएर म फोनमा बसेकी हुँ । म यो स्कुलमा पढाउँछु,’ उनले आफ्नो बारेमा बेलीविस्तार लगाइन् । उनले प्रस्ताव राख्दै भनिन्–‘म पनि पत्रमित्रता गर्नुपर्यो । अरुसँग के गर्नु र ? तपाईलाईनै पठाउँछु पहिलो पत्र चाँही हैत ?’
 
उनको प्रस्तावलाई मैले ‘नाई’ र ‘हुन्न’ भन्न सकिन मैले ।
 
‘नाम चाँहि भन्नुभएन नि तपाईले ?’ मैले जिज्ञासा राखेँ ।
 
‘ए, मैले नामै पो भनिनछु । म डिना,‘ उनले हाँस्दै भनिन्–‘बाँकी सबै चाँही हुलाकबाट अाउँछ है ।‘ (डिना उनको वास्तविक नाम यो होइन । उनलाई पारिवारिक समस्या नहोस् भनेर नाम अर्कै राखेको हुँ मैले ।)
 
डिनासँग अब हरेक साताजसो कुराकानी हुन थाल्यो । कता पत्र कुरिरहनु ? म पत्रमित्र बहिनीलाई फोन गर्थेँ । बहिनीसँग भन्दा पनि बढी डिनासँग पो गफ हुन थाल्यो । त्यतिखेर नुवाकोटबाट बाहिर जिल्लामा फोन गर्न एसटीडी (ट्रङ्कल) गर्नुपर्थ्यो । जुन महङ्गो थियो । मोरङ जिल्लामा फोन गर्न मिनेटको १२ रुपैयाँ पर्थ्यो । मेरो स्वर सुन्नकै लागि उनी पनि फोन गर्थिन । ढुक्कले गफ गर्न पाइने भएकोले साँझ साँढे ४ बजे पछि उनले फोन गर्थिन् । कतिपटक त हामीबीच भएका कुराकानीलाई कोशहरि निरौला (हाल सिडिओ स्याङ्जा) ले एक्सटेन्सन लाइनको त्यही फोन उठाएर अर्को कोठाबाट सुन्नुहुन्थ्यो । निरौला त्यतिखेर जिल्ला शिक्षा कार्यालयमा हुनुहुन्थ्यो । अफिस छुटेपछि उहाँ मेरो अफिसमा आउनुहुन्थ्यो र हामीसँगै बट्टारसम्म आउँथ्यौँ ।
 
एक सातापछि कार्यालयमै चिठी आयो । चार पानाको थियो चिठी । सँगै दुईवटा पोस्टकार्ड साइजका फोटाहरु पनि ।
 
एउटा फोटो चाँही कलेजी रङ्गको ब्लाउज र साडीमा र अर्को चाँही निलो कुर्था सुरुवालमा थियो । ५ फिटको हाराहारीमा मात्र उचाईकी, थोरै काली भएपनि सुहाउँदो अनुहार थियो ।
 
निलो कुर्था सुरुवालमा भएको फोटोमा चाँही उनी रेयुकाईको प्रार्थना गरिरहेकी थिइन् । म निश्चित भएँ उनी पनि रेयुकाईमा आवद्ध रहिछन् । त्यतिखेर म पनि रेयुकाई नेपालको त्रिशूली शाखा अन्तरगत होजासु भन्ने पदमा पुगेको थिएँ ।
 
अब मैले पनि फोटो नपठाई सुखै भएन । पोजपोजका तीनवटा फोटोहरु पठाइदिएँ ।
 
उनले हरेक १५ दिनको अन्तरमा चार पन्नामा लेखेर चिठी पठाउँथिन् । आकाश पातालका कुरा जोडिएका हुन्थे । जुन र ताराका कुरा हुन्थे । लैला र मजनुका प्रसङ्ग जोडिएको हुन्थ्यो ।
 
म पनि कहाँ कम्ता थिएँ र ? उनको तस्विर, अक्षर र शव्दका बखान गर्दै त्यत्तिनै पेज लेखेर पठाउँथे ।
 
अहिले ती शव्दहरु सम्झँदा पनि बडो रमाइलो लाग्छ । अहिले तथ्यभन्दा बाहिर गएर कल्पनाका कुराहरु लेख्न र गर्न मुस्किल पर्छ । तर त्यतिखेर ती शव्दहरु कसरी फुर्थे कुन्नि ?
 
डिना र म बीच सम्पर्क अलि बाक्लै हुन थाल्यो । नढाँटी भन्दा मेरो चाहना उनीसँग प्रेम भन्दा पनि समय बिताउनेमात्र थियो । उनीसँगमात्र कहाँ थियो र मेरो पत्रमित्रता ? एकै समयमा पूर्बको इलामदेखि पश्चिमको बर्दियासम्मका दर्जनौ पत्रमित्र थिए । दिनमा दुई घण्टा जति त पत्र लेख्नकै लागि छुट्याउनु पर्थ्यो ।
 
पत्रमित्र बहिनी निमाले हामीबीच सम्बन्ध प्रगाढ हुने संकेत पाइछन् । उनले एउटा पत्र पठाइन् । पुरै चिठी डिनाका चरित्र अनि स्वभावका बारेमा बर्णन गरेर । ‘डिनालाइ मायाँनै गर्न थाल्नुभयो कि के हो ? उसबाट तपाइको घर हुँदैन । मिठो स्वरले लठ्ठ बनाएर धेरैलाई बिचल्ली बनाउने उसको खुबी हो । धेरै केटाहरु घर न घाटका भएका छन् । ती केटाहरु स्कुलमा आएर अनसन बस्न मात्र बाँकी छ ।’ उनको चिठीको मुख्य आशय यही थियो ।
 
‘फोनमा कुरा गरौँ भने त्यो डिना त्यही बसिरहेकी हुन्छे । उसका बारेमा त्यही कुरा गर्न पनि मिलेन । त्यही भएर चिठीनै लेखेकी हुँ,’ निमाले लेखेकी थिइन् ।
 
हुनतः मैले जीवन बिताउने उद्वेश्यनै बोकेर डिनासँग नजिकिएको थिइन । मात्र हार्दिकता साटासाट गर्ने र मित्र बनाउने भन्दा बाहेक केही छँदै थिएन । तथापी नजानिदो हिसाबले उनको लठ्ठै पार्ने स्वरसँग नजिकिएको भने थिएँ म । 
 
मैले बिहे गरेर जीवनै बिताउने उद्वेश्य बोकेको भए पो उसको विगत थाहा पाएर चिन्ता लिनु । मलाई नत डिनाको विगतसँग चासो थियो, नत भविष्यलाई लिएरै कुनै चिन्ता । मसँग उनले गर्ने आकास पाताल, जुन–ताराका कुराले रमाइलोमात्र दिइरहेको थियो । साँचो हिसाबले भन्नुपर्दा उनको म प्रतिको ‘पागलपन’ बाट रमाइलोमात्र लिइरहेको थिएँ मैले ।
 
उनीसँग मैले कल गर्न बन्दै गरेँ । मैले बन्द गरे पनि उनीनै हरेक हप्ता एकपटक कल गर्थिन् ।
 
‘अँ थाहा पाइस्यो हजुरले ? म मंसिरमा काठमाडौं आउँदैछु नि रेयुकाईको प्रोग्राममा । हजुरसँग भेट हुने आशा गरेकी छु है मैले,’ २०५४ कार्तिकको कुनै दिन उनले फोनमा सुनाइन् ।
 
मलाई पनि लाग्यो–६० किलोमिटर त हो काठमाडौंँ । गएर भेटघाट गर्नैपर्छ कि । तर अन्तरमनले आदेश दियो–जानु ठीक छैन । रेयुकाईको प्रधान कार्यालय धोबीधारामा थियो । त्यसअघिनै २/३ पटक प्रोग्राममा गैसकेको थिएँ म । यसपटकको प्रोग्राममा म सहभागी नहुने भएपनि नुवाकोटको मलाई काठमाडौँ त्यति टाढा पनि होइन । इच्छा हुँदाको अवस्थामा तीन घण्टाको बसयात्रा न थियो ।
 
म रेयुकाईको कार्यक्रममा गइन । नढाँटी भन्नुपर्दा डिनालाई भेट्नकै निम्ति काठमाडौं जान मन लागेन । 
 
‘तपाई ठूलो धोकेवाज हुनुहुँदो रहेछ । मैले यस्तो कल्पना समेत गरेको थिइन,’ काठमाडौंबाट रमाइलोझोडा फर्किएपछि एक दिन दिउँसै फोनमा डिनाले मलाई आरोप लगाइन् । मैले बनावटी कुरा गरेर उनलाई सम्झाउने प्रयास गरेँ । ‘हेर्नुस्, मेरो छुट्टी पनि मिलेन अफिसमा । दोस्रो कार्यक्रममा मलाई शाखाले सहभागी हुनै पठाएन । म के गरौँ त ? तपाईलाई भेट्न मलाई पनि कम्ति इच्छा थिएन नि,’ मैले भने । तर डिना जस्ती चलाख केटीले के पत्याउनु र ?
 
उनले आरोप लगाइन् । ‘त्यो निमाले के के भनेर मेरो विषयमा कुरा लगाएकी छ भन्ने सुनेकी छु । ठीकै छ । म त्यस्ती केटी पनि होइन बुझ्नुभो ? हजुरलाई त मैले पत्रकार समेत हुनुभएको हिसाबले निकै समझदार ठानेकी थिएँ । तर मेरो तपाई प्रतिको बुझाइमै खोट रहेछ,’ डिना फोनमा एकोहोरो कराइरहिन् । म सुनिरहेँ । मैले कुनै जवाफ दिन जरुरी पनि ठानिन । उनले फोन झड्याम्म राखिदिइन् ।
 
झण्डै दुई महिनासम्म हामीबीच फोनमा कुराकानी भएन । पत्र त फोनले गर्दा पातलो भैसकेको थियो । तर एकदिन फेरि प्रेषक पट्टि उनको नाम भएको खाम आइपुग्यो अफिसमा । खोल्न डर लाग्यो । लाग्यो–मेरा फोटाहरु फिर्ता भए होलान् ।
 
डर मानिमानि खामलाई ध्याररर.. च्यातेर चिठी खोलेँ । चिठीमा पनि उही गुनासो । नभेटेकोमा दुःख मनाउ । फोनमा अलि रिसाएकोमा क्षमायाचना आदीआदी । आफू कस्ती नारी हुँ भन्ने बारेमा पनि ज्यादानै स्पष्टीकरण थियो त्यसमा ।
 
मैले त्यसको जवाफ दिनुपर्ने आवश्यकता र औचित्य देखिन ।
 
चिठी हात परेको अर्को साता फोन आयो उही नम्बरबाट । फोनको कलर आइडीमा मोरङको एरिया कोड ०२१ देखिइहाल्यो ।
 
‘रिसाउनुभयो होला है ?’ उताबाट प्रश्न ।
 
‘छैन । किन रिसाउनु र ?’ मेरो जवाफ ।
 
हामीबीच त्यसदिनदेखि औपचारिक कुराकानीमात्र हुन थाले । बढीमा एक मिनेटमा हाम्रो कुराकानी सकिन्थ्यो । तन्काउने विषयवस्तुनै हुँदैनथ्यो ।
 
मैले फोन गर्न चटक्कै छाडेँ । उनले सुरुमा दुई हप्ता, पछि महिना दिनमा एक पटक गर्न थालिन् । त्यति लामो ग्याप हुँदा पनि हामीबीच फोनमा कुराकानीका विषयहरु हुँदैनथे ।
 
मेरो बिहे भयो २०५५ बैशाखमा । बिहे हुनुभन्दा दुई दिन अघि मैलेनै फोन गरेँ । उनको सञ्चो विसञ्चो, परिवारको सोधपुछ, रमाइलो झोडाको मौसम, इशुका बारेमा झण्डै पाँच मिनेट गफ भए । तर मैले आफ्नो बिहे हुन लागेको जानकारी दिनु ठीक ठानिन । यद्यपी बहिनी निमालाई भने मैले खबर गरेँ । उनी त्यति टाढाबाट मेरो बिहेमा आउन संभव हुने कुरा पनि भएन । शूभकामना दिइन् ।
 
बिहे भएको दोस्रो महिना डिनाको फोन आयो । ‘ल बधाई छ, बिहे गरेको कुरा सम्म भन्नुभएन है ?’ उनले भनिन् । मैले जिस्क्याउने नियतले जवाफ दिए–‘मुटुमा काँडा बिझ्ला भनेर नभनेको नि ।’ उनी मज्जाले हाँसिन् । उनको हाँसोले मलाई पनि सन्तोषनै दियो । लाग्यो– उनले सहजै लिएकी रहिछन् ।
 
हुनत हामी प्रेमी–प्रेमिका कहिल्यै भएनौँ । पत्र लेख्दैमा र भावना साट्दैमा देखादेख समेत नभएको व्यक्तिसँग कसरी प्रेम हुनसक्छ र ? उनको स्वर मिठो थियो, त्यही स्वरको मात्र फ्यान बनेको थिएँ म ।
 
बिहे पछि हामीबीच फोन सम्पर्क असाध्यै पातलो हुन थाल्यो । बिहेपछि उनले मुस्किलले तीन पटक फोन गरिन् होली । मैले एक पटक गरेँ । त्यतिखेर पनि उही औपचारिक कुराकानीमात्र हुन्थे । रेयुकाई, स्कुल, मेरो पत्रकारिताका विषयमा कुराकानी हुन्थे । मैले त्यतिखेर आजको समाचारपत्र (हाल–नेपाल समाचारपत्र) मा पठाएको समाचारहरु पढ्ने रहिछन् । दृष्टिमा प्रकाशित समाचार पनि पढ्दी रहिछन् । त्यतिखेर दृष्टिमा बिराटनगर संवाददाता रहेका यज्ञ शर्मासँग उनको चिनजान पनि रहेछ ।
 
शायद उनीसँग अन्तिम पटक २०५५ सालको मंसिरमा कुराकानी भएको थियो । उनको विगत जे जस्तो भएपनि र वर्तमानमा जसरी चलेपनि मेरो सरोकार थिएन । उनको निजी जीवनमा हस्तक्षेप गर्ने अधिकार मसँग थिएन  ।
 
बहिनी निमासँग हुने कुराकानीमा बेलाबखतमा डिनाका बारेमा सोध्थेँ । उनी हाँस्दै सोध्थिन्– ‘अझै भुल्नुभएको छैन है ?’
 
२०५८ देखि २०६९ सालसम्म एक दशक काठमाडौंमा हुँदा उनको मोबाइल नम्बर पत्ता लगाउने भगिरथ प्रयास गरेँ । संभावित माध्यम एउटै थियो बहिनी निमा । तर उनले अनेक वहाना बनाएर टार्थिन । ‘मसँग छैन क्या उसको नम्बर । कति याद आइरहेको डिनाको ? बाबुनानी समेत भैसके, तर पनि याद आउन छाडेन है ?’ उनी उल्टै मलाई जिस्काउँथिन् । शायद म फेरि डिनासँग नजिकिएर घर बिग्रिन्छ भन्ने निमाको चिन्ताले हुनसक्छ कहिल्यै नम्बर दिइनन् ।
 
धेरै पछि काठमाडौंमा भेट हुँदा निमाले सुनाइन्–‘डिना त आफूभन्दा पनि निकै पाको उमेरकोसँग घरजम गरेर बसेकी छिन् । धेरै टाढा अर्कै ठाउँमा गएर बसेकी छिन् । एक पटक तीजमा भेट भएको थियो ।’
 
निमाले डिनाको कुरा मेरी पत्नीसँग पनि शेयर गरिन् । हुनत डिनासँग भएका पत्राचारका सबै चिठीहरु बिहे पछि मेरी बुढीले पढिसकेकी थिइन् । निमाले डिनासँगको प्रसङ्ग निकाल्नासाथ उनी हाँसिन् ।
 
‘यो लोग्नेमान्छेको जातलाई दुई खुट्टा उभिएको भए पुग्ने रहेछ । सिन्धुपाल्चोककी एउटी थिइ–साह्रै दुब्ली । ती सँग पनि मेरो बुढोको पत्रमित्रता रहेछ । एउटा कार्यक्रममा भाग लिन चौतारा जाँदा भेटघाट भएको थियो,’ बुढीले प्रसङ्ग निकालिन् । म हाँसिमात्र रहेँ । सिन्धुपाल्चोककी तिनको नाम सुस्मा थियो । थर चाहि गोप्य राख्छु ।
 
विस्मृतिबाट धेरै पत्रमित्रहरु हराइसके । तर किन हो कुन्नि डिना अझै स्मृतिमा छिन् । त्यसैले त उनको नम्बर खोज्न र फेसबुक आइडी पत्ता लगाउन धेरै प्रयास गर्दै आएको छु । घर भाँडिएला भन्ने डरले होला निमाले नम्बर पटक्कै दिने होइन । 
 
धुईपत्ताल लगाएर खोज्दा पनि नभेटेपछि बहिनी निमालाई मेसेन्जरमा फेरि पनि जिस्काएँ–‘ए नानी, त्यो डिनाले अझै फेसबुकमा अकाउन्ट खोलेकी छैन ?’
 
सेप्टेम्बर ३०, २०१८
ड्यालस, अमेरिका