हिमालय खबर संबाददाता-
सियाटल (अमेरिका) । अमेजनले आफ्ना सबै प्रकारका कामदारहरुको पारिश्रमिकमा वृद्धि गर्ने घोषणा गरेका छ ।
कम पारिश्रमिक दिएका कारण अमेजनमा कार्यरत कामदारहरु फुडस्टाम्प लिन बाध्य भएको विषयमा अमेरिकी संसदमा कुरा उठेपछि अमेजनले आउँदो नोभेम्बर १ बाट कामदारको पारिश्रमिक बढाउने घोषणा गरेको वालस्ट्रिट जर्नलले जनाएको छ । नोभेम्बरदेखि अमेजनमा काम गर्ने कामदारले कम्तिमा प्रतिघण्टा १५ डलर पाउनेछन् ।
मुख्यगरि वेयरहाउसमा काम गर्ने कामदारको पारिश्रमिक ज्यादै कम (११ डलरको हाराहारीमा) भएपछि अमेरिकी सिनेटर बर्नी स्याण्डर्सले विशेष प्रस्तावनै दर्ता गराएका छन् । सोही प्रस्तावका कारण अमेजनले लाज ढाक्न अहिले कामदारको पारिश्रमिकका भारी बृद्धि गर्ने निर्णय गरेको छ ।
अमेजनमा दुईलाख ५० हजार कामदारहरु कार्यरत छन् । सिजनल कामदारका रुपमा यसले होलिडे सिजन (थ्यांक्स गिभिङदेखि नयाँ वर्षसम्म) का लागि थप एकलाख कामदार लिँदैछ ।
‘हामीले हाम्रा बारेका धेरै आलोचनाहरु सुनिसकेका छौं, त्यसो हुँदा कामदारमैत्री हुनका लागि सबैभन्दा अघि बढेर सुविधा बढाउने निर्णय गरेका हौँ,’ अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले भने । उनले प्रतिस्पर्धी अन्य कम्पनीहरलाई मिलेर कामदारको सुविधा बृद्धि गर्न आग्रह गरेका छन् ।
अमेजनले अमेरिकाका प्राय सबै राज्यहरु र ठूला शहरहरुमा हजारौं मानिसहरुले एकैसाथ काम गर्ने वेयरहाउसहरु सञ्चालनमा ल्याएको छ । ती वेयरहाउसहरुबाट सामानहरु बिभिन्न स्थानमा डेलिभरी हुन्छ ।
विशेषगरि ड्यालस, फोर्टवर्थ क्षेत्रमा पनि हजारौं नेपालीहरु अमेजनमा कार्यरत छन् ।
प्रतिक्रिया