मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मन्त्री ज्ञवालीले सोधे–देशको राजनीतिलाई लिएर किन रस्साकस्सी गर्नुहुन्छ ? (भिडियो सहित)

मन्त्री ज्ञवालीले सोधे–देशको राजनीतिलाई लिएर किन रस्साकस्सी गर्नुहुन्छ ? (भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको राजनीति, जातजाती, धर्म, भूगोलका आधारमा विभाजित नहुन अमेरिकामा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन् ।
 
शनिबार टेक्ससको ड्यालसमा आयोजित दुई बेग्लाबेग्लै कार्यक्रममा मन्त्री ज्ञवालीले प्रवासमा रहनेहरुका बीचमा सबैभन्दा बढ्ता एकता आवश्यक पर्नेमा जोड दिए । ‘संसारभर आप्रवासीहरु अल्पमतमा हुन्छन्, त्यसोहुँदा आफ्नो अधिकारका लागि भएपनि कुनै पनि दलीय विचारधारा, धर्म, जाती र नेपालको भूगोलका आधारमा यहाँ विभाजित नहुनुहोला,’ मन्त्री ज्ञवालीले भने ।
 
नेपालको राजनीतिक विचारधारा बोकेर अमेरिकामा नेपाली समुदाय असाध्यै बिभाजित छन् । यही विभाजित अवस्थालाई एक सातासम्म न्यूयोर्कमा रहँदा नजिकबाट देखेका मन्त्री ज्ञवालीले नेपालको राजनीतिका बारेमा यहाँबाट चिन्ता नगर्न समेत आग्रह गरे । 
 
नेपालबाटै दिमागमा विभाजनको सोचलाई बोकेर ल्याएको तर्फ संकेत गर्दै उनले त्यस्तो सोचले प्रवासमा कसैको हित नगर्ने बताए । ‘त्यस्तो सोचले प्रवासमा मात्र होइन, नेपालमै पनि हित गर्दैन,’ उनले भने । 
 
नेपालको राजनीतिका आधारमा नेपाली समुदाय विभाजित भएकै कारण मुलुकको कार्यकारी अधिकारयुक्त प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका आउँदा समेत न्यूयोर्कमा नेपाली समुदायले कार्यक्रम गर्न सकेनन् । प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने, विरोध प्रदर्शन गर्ने अवस्था भएपछि प्रधानमन्त्रीलेनै न्यूयोर्कमा कार्यक्रम गर्न अनिच्छा देखाएका छन् । 
 
‘देश (नेपाल) का सबै मुद्धामा यहाँ बसेर तपाईहरु विभाजित हुन जरुरी छैन,’ मन्त्री ज्ञवालीले भने । अत्यन्तै शालीन रुपमा मन्तव्य व्यक्त गरेका मन्त्री ज्ञवालीले एनआरएन टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस र प्रवासी मञ्च टेक्ससले आयोजना गरेको संयुक्त कार्यक्रममा देशको आन्तरिक राजनीतिका बारेमा बोल्न अनिच्छा समेत जनाए । 
 
‘यहाँ बसेर तपाईहरु एकजुट हुनुनै हाम्रा लागि खुशी र गौरवको कुरा हो । म एउटा पाटीबाट निर्वाचित भएको हुँ, तर यहाँ आउँदा म नेपालको प्रतिनिधि हुँ । तपाईहरु जो जो यहाँ बस्नुभएको छ, तपाईहरु पनि नेपाली हो, नकी कुनै राजनीतिक दलको कार्यकर्ता । तपाईहरु पनि सबै नेपाल सरकारको अवैतनिक दूत हुनुहुन्छ, त्यसो हुँदा राजनीतिक दलको कार्यकर्ता भन्दा नेपाली भएर बस्न अनुरोध गर्दछु,’ मन्त्री ज्ञवालीले भने । 
 
नेपालको आन्तरिक राजनीतिका कुरा यहाँ अमेरिकामा राख्नु र घरका कुरा बाहिर पोख्नु उचित नहुने धारणा मन्त्री ज्ञवालीको थियो । ‘अमेरिकामा रहनुभएका तपाईहरु किन बाँडिनुहुन्छ ?
किन रस्साकस्सी गर्नुहुन्छ ? त्यसका लागि हामीनै छौँ उतातिर । बरु तपाइहरुले यहाँ आर्जन गरेको शीप कौशलताको यतिखेर नेपाललाई खाँचो छ,’ मन्त्रीले अत्यन्तै भावुक हुँदै भने । 
 
सबै क्षेत्रमा आम सहमति खोज्न पनि नसकिने र सर्वसम्मत बनाउन पनि नसकिने ज्ञवालीको भनाई थियो । ‘आम सहमति र सर्वसम्मती त कि सद्धाम हुसेनको कार्यकालको इराकमा थियो, कि त उत्तर कोरियामा होला, लोकतन्त्रमा विमती र असहमति हुन्छन् । त्यो स्वभाविकनै हो,’ उनले भने ।
 
सरकारको प्राथमिकताः
वर्तमान नेपाल सरकारले देशको आर्थिक उन्नतीका लागि ५ वटा एजेण्डा अघि बढाएको जानकारी मन्त्री ज्ञवालीले दिए । 
 
कृषिको आधुनिकीकरण, जलस्रोतको विकास, पर्यटन, भौतिक पूर्वाधार र मानव संशाधनमा वर्तमान सरकारले उच्च प्राथमिकता दिएर नीति अघि बढाएरहेको उनले बताए । ‘वर्तमान सरकार राष्ट्रहित भन्दा बाहिर कदापी लाग्नेछैन, आरोप प्रत्यारोप गर्ने भन्दा पनि काम गरेर देखाउने तिर सरकार लागिरहेको उनले जानकारी दिए । 
 
‘यो सरकारलाई असफल हुने कुनै पनि छुट छैन, यो असफल भयो भने मुलुक असफल हुन्छ,’ उनले भने । 
 
नेपाली समुदायसँग पटक पटक नेपालमा ज्ञान, शीप, पूँजी लगानीको लागि आग्रह गरेका मन्त्री ज्ञवालीले नागरिकताको संबन्धमा संबिधानले दिएका कुरालाई कानुन मार्फत व्यबस्थित गर्नका लागि ड्राफ्ट तयार भैसकेको पनि जानकारी दिए । 
 
‘त्यसमा भएका केही प्रावधानहरु प्रति कुरा उठेको छ, हामी त्यसलाई अगाढी बढाइरहेका छौं,’ उनले भने । नेपाल सरकारले एनआरएनलाई वृहद नेपाली परिवारकै एउटा सदस्यका रुपमा लिइरहेको र जतिसुकै वर्ष अघि प्रवासमा आएको भएपनि संस्कृति, अनुभूतिका हिसाबले नेपालीकै रुपमा स्विकार गर्दै आएको उनले बताए । 
 
सरकार झुक्कियोः
कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको बारेमा सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले विश्वास गर्नुपर्ने प्रहरीबाटै ठूलो लापरवाही भएको र सरकार त्यसैमा विश्वास गर्नुपर्ने अवस्थाले गर्दा झुक्किएको बताए ।
 
‘पुलिसकै लापरवाहीले गर्दा समस्या उत्पन्न भएको हो, लामो समयसम्म प्रहरीको लापरवाही, प्रमाण गायव बनाउन खेलिएको भूमिकाले गर्दा निकै समस्या उत्पन्न भएको र चाँडै हत्यारा पत्ता लाग्नेछन्,’ उनले भने । जतिसुकै हाइप्रोफाइलवाला भएपनि अभियुक्तलाई कारवाही गर्न पछि नहट्ने समेत उनले प्रतिवद्धता जनाए । 
 
२०२२ सम्म गरिब देशबाट माथिः
मन्त्री ज्ञवालीले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित देशको सूचिबाट माथि उकास्ने रणनीति सरकारले लिएको जानकारी दिए । त्यसका लागि वर्षेनी १८ अर्ब डलर थप लगानी आवश्यक पर्ने भएकोले सरकार अघि बढिरहेको समेत उल्लेख गरे ।
 
नेपाललाई सन् २०३० भित्रमा मध्यम आय भएका मुलुकहरुको सूचिमा राख्नेगरि सरकारले नीति लिएर अघि बढिरहेको समेत उनले जानकारी दिए ।
 
प्रवासी मञ्च टेक्ससका अध्यक्ष मणि भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनका वरिष्ठ उपाध्यक्ष सुनिल साह, एनअारएन टेक्ससका अध्यक्ष भानु खरेल, नेपाली समाजका अध्यक्ष सुमन थापा, प्रवासी मञ्चका भीम कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका कमल ओझाले गरेका थिए । 
 
त्यस अवसरमा मन्त्री ज्ञवालीले नेपाली समुदायका व्यक्तिहरुले सुशासन, परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिता लगाएतका विषयमा राखेका जिज्ञासाको जवाफ दिएका थिए ।