विचार / ब्लग

असभ्यको परिचय नदिउँ

759 पटक पढिएको

– रामचन्द्र भट्ट

हिमालयखबर | 28th Sep 2018, Friday | २०७५ आस्विन १२, शुक्रबार २१:५८
मातृभूमिको प्रधानमन्त्री आउँदा यति ठूलो विवाद संभवत अमेरिकामा रहेका नेपालीहरुबीच कहिल्यै भएको थिएन । स्वागत र कालोझण्डा देखाउने नाममा यति ठूलो असहिष्णुता पनि कहिल्यै देखिएको थिएन । 
 
संयुक्त राष्ट्र संघको ७३ औं महासभा यतिखेर न्यूयोर्कमा चलिरहेको छ । सदस्य राष्ट्रका हैसियतमा हरेक वर्षमा महासभाहरुमा नेपालबाट सरकार प्रमुखको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुँदै आएका छन् । यस पटक प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहितको टोली सहभागी छ ।
 
पहिलेदेखिकै चलन हो– प्रधानमन्त्री आउँदा नेपाली समुदायसँग अन्तरकृया गर्ने र आफ्ना कुराहरु राख्ने  । यस्तो कार्यक्रम विशेषगरि न्यूयोर्कमा हुँदै आएको छ । कतिपय अवस्थामा युएनको नेपाल नियोग, कतिपय अवस्थामा कन्सुलेट अफिस त कतिपय अवस्थामा जो प्रधानमन्त्री हुन् उनैका दलको भातृसंस्थाले यस्ता कार्यक्रमहरु गर्दै आएका थिए ।
 
सन् १९९० मा नेपालमा बहुदलीय व्यबस्थाको पुनस्र्थापना पछि १३ जना प्रधानमन्त्री भैसकेका छन् । यसबीचमा हरेक वर्ष महासभामा न्यूयोर्क आउँदा प्रधानमन्त्रीहरुले नेपाली समुदायसँग छलफल गर्ने चलन हो । प्रधानमन्त्रीको स्वागतमा कार्यक्रम आयोजना गर्ने र त्यसमा सरकारलाई सुझाव दिने, गुनासो गर्ने, ज्ञापनपत्र बुझाउने चलन पनि थियो । 
 
तर यसपटक महासभामा आएका प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रमका विषयमा निकै ठूलो विवाद भएको छ । कार्यक्रम लगभग स्थगित भएको चर्चा चलेको छ । कारण रहेछ– यसमा समेत पक्ष र विपक्षका रुपमा नेपाली खडा भएका छन् । 
 
आएका प्रधानमन्त्री अतिथि हुन्, सुझाव छ भने लिखित रुपमा दिनुस्, भेटेर दिन मन छ भने ज्ञापन पत्र बुझाउने समय पनि उपलव्ध गराउनेछौ भनेर एकथरिले भन्दै रहेछन् । अर्काथरि भने प्रधानमन्त्रीले भाषण गर्ने हलको ढोकामा बसेर कालोझण्डा देखाउन र नारा लगाउन पाउनुपर्छ भन्दै छन् । 
 
बडा दुःखको कुरा । नेपालबाट १३ हजार किलोमिटर पर आएर बस्दा पनि हामी नेपालीहरु नेपालको राजनीतिबाट बाहिर सोच्न सक्दैनौ । आपूm बसेको अमेरिकाको घर छिमेकमा के भैरहेको छ भन्ने बारेमा चासो दिदैनौ । आउँदो नोभेम्बरमा यहाँ हुन गैरहेको चुनाव, त्यो चुनावमा भोट हाल्नका लागि नाम दर्ता गराउन चासो छैन । अधिकांश भोट हाल्न पनि जाँदैनौ ।
 
 आप्रवासीका हक अधिकारका विषयमा सुनुवाई हुनेगरि बोल्न लेख्न सक्दैनौ । तर नेपालबाट नेता आउँदा स्वागत र विरोधले हामी किन यसरी छिन्न भिन्न छौ ? 
 
नेपालमा सरकारले जुन रुपमा जनताले आशा अपेक्षा गरेका थिए, त्यस अनुसार काम गरेर देखाउन नसकेको तथ्य सत्य हो । सरकार अलमलिएको छ । हात हालेर आक्रामक रुपमा जनतालाई सेवा सुविधा दिनुपर्ने ठाउँमा कमजोर सावित भएको छ भने हात नहाल्नुपर्ने ठाउँमा हात हालेर गिजोलेको छ । 
 
कानुन र न्याय भन्ने कुरा ठूलाबडाका निम्ति मात्र हो कि भन्ने अवस्था देखिएको छ । सुशासन नभएकै हो । अनुशासनहिनता, दण्डहिनता व्याप्त छ । मन्त्रीहरु बेलगाम छन् । 
 
तर यति हुँदाहुँदै पनि प्रधानमन्त्री केपी शर्मा ओली हुन् या अरु मातृभूमिबाट आउने जो कोही हुन् उनीहरु हाम्रा अतिथि हुन् । हाम्रो संस्कारले अतिथिलाई स्वागत गर्न सिकाएको छ । 
केही कुरा भएमा बसेर पाहुनासँग गुनासो पोख्न पनि कसैले रोक्न मिल्दैन ।
 
विरोध र समर्थनका नाममा नेपाली समुदाय यसरी भाँडिनु यो कसैको पनि हितमा पटक्कै छैन । कालोझण्डा देखाउँदैमा सरकारले छु मन्तर गरेर समस्या समाधान गरिहाल्ने पनि होइन । अनि नदेखाउँदैमा सरकारले असाध्यै जनप्रिय काम गर्दै अघि बढेको पनि छैन । 
 
अस्ति सांसद गगन थापा कुर्लिदै थिए । विरोध खतिवडा चिच्याउँदैथिए । आज माधब नेपाल गुनासो पोख्दैथिए । उनीहरुका कुरा त सरकारले ध्यान दिएको छैन भने न्यूयोर्कको एउटा कुनामा कालोझण्डा देखाउँदैमा समस्या समाधान सरकारले गरिहाल्ला भन्नेमा विश्वस्त हुन सकिदैन । बरु त्यसले एउटा खराब संस्कारको विकास हुँदै जानेछ । ताकी जुनसुकै प्रधानमन्त्री आएपनि कालोझण्डा देखाउने । कारण चाहिदैन–अर्को दलबाट निर्वाचित प्रधानमन्त्री भएकै कारण कालोझण्डा देखाउने संस्कार बढ्दै जानेछ ।
 
कोही पनि प्रधानमन्त्री या सरकार दूधले नुहाएका हुँदैनन् । कमजोरी नभएको कुनै सरकार हुँदैनन्, कुनै प्रधानमन्त्री र मन्त्री हुँदैनन् । सामान्य कारण देखाएर कालोझण्डा देखाउने रोग प्रवासको नेपाली समुदायमा भित्रिँदैछ । जसले हामीबीच एकता होइन, विखण्डन ल्याउँदैछ ।
 
प्रधानमन्त्री हुनका लागि कुनै दलबाट निर्वाचित भएका होलान् । तर त्यो पदमा पुगिसकेपछि मुलुककै प्रधानमन्त्री हुन् । मुलुकका प्रधानमन्त्रीलाई विदेशको भूमिमा कालोझण्डा देखाउनु बौद्धिक काम हुँदै होइन । हिजो सुशील कोइराला जस्ता सादगी नेतालाई देखाउनु पनि गलत थियो, बाबुराम भट्टराईलाई देखाउनु पनि गलत हो र केपी ओलीलाई देखाउनु पनि गलत हो ।
 
हामीमध्य धेरैले अमेरिकी नागरिकता लिएपछि गर्व गर्छौ । सामाजीक सञ्जालमा फोटो हाल्छौँ । अनि एनआरएनले दोहोरो नागरिकताका लागि केही गर्न सकेन भनेर गाली पनि गर्छौ ।
 
किनकी उताको सम्पत्तिको लोभ लाग्न छाडेको छैन । नागरिकता लिएको दाजुभाईले थाहा पाइहाल्लान् कि भनेर गुपचुप बस्ने पनि तपाई हामी मध्यकै धेरै छौँ । 
 
तर नेपालको प्रमं आउँदा खुशी बनाएर गैर आवासीय नेपालीका माग र चासोलाई पुरा गर्ने र गराउने तर्फ माग राख्नुपर्नेमा कालोझण्डा देखाएर कस्को स्वार्थ पुरा हुन्छ ? विरोध गरेर कार्यक्रमनै गर्न नदिएपछि कुन चाँही प्रधानमन्त्री र मन्त्रीले हामी अमेरिकामा बस्ने नेपालीप्रति सहानुभूति राख्छ ? 
 
सासुको राजदूत पद गुम्ला भनेर नेपाली कांग्रेसका सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवा सरकार विरुद्ध बोल्न सकेका छैनन् । यहाँ तरुण दल र नेविसंघका नाममा तमासा देखाएर के हुन्छ ? प्रेम र सद्भावले अपनत्व बढाउँछ, घृणाले वैमनस्यता र आक्रोश बढाउँछ । यहाँ विरोध गर्दै कालोझण्डा देखाउँदा केहीले नेपालबाट स्याबास पनि भन्लान् । तर त्यसले नेपालमा नत अहिलेको सरकारको एप्रुभल रेटिङनै घट्छ, नत नेपाली कांग्रेसको लोकप्रियतानै माथि चढ्छ । 
 
सामाजीक सञ्जालमा हेरेमात्र पुग्छ–अमेरिकामा बस्नेहरु प्रति नेपालबाट आक्रोश, कुण्ठा व्यक्त गरेर कति गाली गरिएका हुन्छन् । असभ्य भनिएका हुन्छन् । कालोझण्डा, विरोध प्रदर्शनले नेपालबाट सम्मान र ताली त छाडौँ असभ्य, संस्कार नभएका भनेर गाली खानु शिवाय अरु कुनै उपलव्धी हुनेवाला पनि छैन । 
 
मुलुकको कार्यकारी प्रमुखको कार्यक्रम विवादरहित बनाउन नसक्नु यहाँको कुटनीतिक निकायको सबैभन्दा कमजोरी देखिएको छ । न्यूयोर्कको युएन मिसन, कन्सुलेट कार्यालयको ठूलै कमजोरी हो । डिसीको दूतावासले पनि प्रमंको कार्यक्रमका लागि प्रयाप्त होमवर्क नगरेकै हो । यसको परिणाम संभवत प्रधानमन्त्रीको नेपाल फर्किएपछि देखिनेछ । 
 
विगतका वर्षमा प्रधानमन्त्रीको आगमनकै क्रममा नेपाल डे मनाउने परिपाटीलाई यसपटक पहिलेनै गरिएको विषयमा पनि अहिले न्यूयोर्कको समुदायले प्रश्न गरिरहेका छन् । कर्मचारीको असहयोगको पनि केहीले हिसाब किताब गरिरहेका छन् । नेपाल सरकारको दानापानी खाएर प्रधानमन्त्री संलग्न हुने भनिएका कार्यक्रम असफल बनाउन कर्मचारीवृत्तले असहयोग गरेको कुराले राम्रै चर्चा पनि पाएको छ । 
 
अमेरिकामा बस्ने नेपालीहरु असभ्य छन् । अझ न्यूयोर्कमा बस्ने त महाअसभ्य छन् भनेर संसारभरिका नेपालीमाझ सन्देश पु¥याउने कि प्रधानमन्त्रीको कार्यक्रम गर्न दिने ? मलाई थाहा छ यो प्रश्नको उत्तर कसैले दिने छैनन् । अहिलेसम्म आयोजकले कार्यक्रम स्थगितनै गरेको भन्ने आधिकारिक सूचना त गरेका छैनन् । आधिकारिक सूचना गरेर कार्यक्रम स्थगित गर्नुप¥यो भने अमेरिकामा रहेका एनआरएन, प्रवासी मञ्च, जनसम्पर्क समिति लगायत न्यूयोर्कका संस्थाहरुले कुन मुख देखाउलान् ? प्रधानमन्त्रीसँग कार्यक्रम गर्ने वातावरण त मिलाउन नसक्नेले दोहोरो नागरिकता मिलाइदिनुप¥यो भन्दै कुन मुख लिएर नेपाल जाँदा सिंहदरबार छिर्ने आँट राख्लान् ? 
 
बुद्धि, विवेक पु¥याउँ । तय भैसकेको कार्यक्रम स्थगित हुँदा राम्रो सन्देश जाँदैन । अमेरिकामा बसेका नेपालीकै इज्जत जान्छ, न्यूयोर्कका नेपालीको बदनाम हुन्छ । अमेरिका जस्तो संसारले सभ्य भनेर हेर्ने देशमा बसेका हामीले अरुलाई सभ्यता सिकाउनुपर्नेमा उल्टो असभ्य भनेर नचिनिउँ ।
 
कार्यक्रम सभ्य रुपमा गर्नैपर्छ । विरोध असहमति छन् भने ज्ञापनपत्र दिएर, माग राखेर जाँदा त्यसले हार्दिकता बढाउँछ, आत्मियतानै थप्नेछ ।