मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पतालमा फेरि अर्को बालकको मृत्यु

भरतपुर अस्पतालमा फेरि अर्को बालकको मृत्यु


चितवनको पुरानो सरकारी अस्पताल भरतपुरमा फेरि एक नवजात शिशुको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भई उपचारका लागि ५ दिनअघि भरतपुर अस्पताल ल्याइएका नवजात शिशुको भरतपुर अस्पतालमा आवश्यक उपचार नहुँदा मृत्यु भएको हो । 
 
भरतपुरकी उमा तामाङकी नवजात शिशुको निधन भएको अस्पतालले जनाएको छ । बिग्रेको नियो न्याटल भेन्टिलेटर मर्मत नहुँदा र नयाँ भेन्टिलेटर पनि जडान नहुँदा जन्मेको दुई हप्ताकै फरकमा नवजात शिशुले ज्यान गुमाउनु परेको हो । 
 
यो उपकरण नहुँदा एनआईसीयूमा उपचाररत अन्य नवजात शिशुहरुलाई जुनसुकै बेला पनि नियो न्याटल भेन्टिलेटर चाहिने अवस्थामा उनीहरुको ज्यान तलमाथि हुन सक्नेमा अस्पताल प्रशासन मौन रहेको छ । 
 
भरतपुर अस्पतालका निमित्त मेसु डा. युवानिधि बसौलाका अनुसार अस्पतालको एनआईसीयूमा रहेका १२ नवजात शिशुमध्ये ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नेमा पर्याप्त उपचार उपकरण नहुँदा जबर्जस्ती एनआईसीयूमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । 
 
गत भदौ २१ गते यसै अस्पतालमा पीआईसीयू सुविधा नहुँदा मंगलपुरका एक बालकको सर्पदंशको कारण मृत्यु भएको थियो । बच्चा जन्मेपछि २८ दिनसम्मका शिशुको नियो न्याटलमा राखेर कृत्रिम श्वासप्रश्वासबाट उपचार गर्ने गरिन्छ । 
 
भरतपुर अस्पतालमा यसअघि २ वटा नियो न्याटल भेन्टिलेटर रहेकोमा एउटा केही महिनाअघि नै बिग्रेको छ भने अर्कोको पनि सेन्सर गएकाले दुवै प्रयोगमा आउन सकेको छैन । नवजात शिशुको उपचारमा अत्यावश्यक उपकरण नहुँदा ज्यान गुमाउनुपरेको छ ।