मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कर उठाएरै नागरिकलाई सामाजिक सुरक्षा : अर्थमन्त्री

कर उठाएरै नागरिकलाई सामाजिक सुरक्षा : अर्थमन्त्री


कावासोती । अर्थमन्त्री डा युवराज खतिवडाले जनताले तिरेको करबाटै सबै नागरिकलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइने बताएका छन् । 
 
आन्तरिक राजस्व कार्यालयअन्तर्गतको करदाता सेवा केन्द्रको आइतबार नवलपुरको कावासोतीमा उद्घाटन गर्दै मन्त्री खतिवडाले जनताले तिरेको करबाटै ७० वर्ष नाघेकाहरुलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइने बताएका हुन्  । 
 
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा सुविधा वितरण गर्न बजेट चाहिने भएकाले कर उठाएर मुलुकको विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे । 
 
राजस्व बढाउन करको दायरा फराकिलो पार्ने रणनीति सरकारको छ, उनले भने, ‘सधैँ कर तिर्नेलाई मात्रै कर तिर्न बाध्य पारिरहने होइन, नयाँ करका क्षेत्र पहिचान गर्ने नीति सरकारको छ ।’
 
अर्थमन्त्री खतिवडाले करको दायरालाई फराकिलो बनाएर व्यवस्थित गर्दै लैजाने उल्लेख गर्दै दोहोरो कर लगाउने सरकारको नीति नभएको स्पष्ट पारे । 
 
उनले भने, ‘कर विभिन्न चरणमा लाग्छ, कर उठाउने ठाउँ एउटा हुन्छ । त्यसरी उठेको मूल्य अभिवृद्धि कर वा अन्तःशुल्क संघ, प्रदेश र स्थानीय तहमा वितरण हुन्छ । कहीँकतै दोहोरो कर लाग्दैन ।’ 
 
उनले कतिपय स्थानीय सरकारले नबुझेर कर लागू गरेको भए पनि त्यसैलाई आधार बनाएर सामाजिक सञ्जालमार्फत करको विषयमा गलत हल्ला फैलाइएको दाबी गरे । 
 
अर्थमन्त्री खतिवडाले सर्वसाधारणलाई करको मारमा नपार्न सरकार सचेत रहेको बताए । उनले व्यापार घाटा कम गर्न सरकारले कृषि, उर्जा र निर्माण सामग्रीको उत्पादनमा वृद्धि हुने गरी योजना अघि सारेको जानकारी दिए । 
 
अर्थमन्त्री खतिवडाले मुलुकको समृद्धिका लागि करदाताले इमान्दारीपूर्वक कर तिर्नुपर्छ भन्दै संघीयता खर्चिलो प्रणाली भएकाले त्यसलाई व्यवस्थित गर्न पनि कर उठाउनुपर्ने अहिलेको आवश्यकता रहेको विचार राखे ।