साहित्य / विविध / फिचर

ओछ्यानका कुरा

1073 पटक पढिएको

– रामचन्द्र भट्ट

- कथा | 22nd Sep 2018, Saturday | २०७५ आस्विन ६, शनिबार ०२:१९
‘यति भएपछि त खुलेर कुरा गर्न पनि सहज हुन्छ । कसैले सुन्लान् भन्ने पनि भएन र नयाँ ठाउँ तिम्लाई देखाउन पनि पाइयो,’ ट्रेनको अघिल्लो सिटमा बस्ने मध्यका अधबैँसेले बोलेको मेरो कानसम्म आइपुग्यो । लाग्यो–नेपाली रहेछन् । तर नेपालीनै हो भनेर ठोकुवा गर्न भने गाह्रै पर्छ टेक्ससमा । किनकी नेपालीभाषी भुटानी समुदायको पनि बाक्लो बसाई छ ।
 
‘त्यही त । जीवनमा कल्पना नगरिएको पीडा यतिखेर भोग्दैछ काका । के गरौँ, कसो गरौँ ? भनेर दोधारमा छु । स्वास्नीसँगको ओछ्यानका कुरा कसैसँग नसाट्नु भन्छन् । तर नसाटी समाधान पनि नहुने भयो,’ चुस्स दाह्री पालेका, हाफ पाइन्ट र टिशर्ट लगाएका युवाले भने ।
 
म फोनमा युटुब हेर्दैथिएँ । उनीहरुको ‘ओछ्यानका कुरा’ ले मेरो कान उनीहरु केन्द्रित भयो । आँखा फोनमा भएपनि युटूबलाई ‘पज’ गरेर कान र मन उनीहरुका कुरा सुन्नतिर केन्द्रित गरेँ मैले ।
 
‘के भयो र त्यस्तो ? बुहारीलाई ल्याउँदा त खुशी देखिएका थियौ,’ अधबैँसेले सोधे ।
 
फोर्टवर्थ वाटर गार्डेन घुमेर फर्किदै थिए म । गाडीलाई बेल हेलिकोप्टर स्टेशनमा पार्किङ गरेर गएको थिएँ । फर्किने क्रममा नेपाली आवाज सुनियो ट्रेनमा । म झर्नुपर्ने बेल स्टेशन थियो ।
 
ट्रेन रिचल्याण्ड हिल्स आइसकेको थियो । युवक केही बेर सोचेजस्तो भावमा देखिए । दायाँ बायाँ, अघिपछि तिर आँखा डुलाए । मलाई विदेशमा के सजिलो छ भने मेरो श्यामवर्णको अनुहारले गर्दा कसैले पनि नेपाली भनेर अनुमान समेत गर्न सक्दैनन् ।
 
‘कहानी लामो छ काका’ उनले सुरू गरे ।
 
‘मेरो घर, परिवार, नातागोता, इष्टमित्रका बारेमा त तपाईलाई के भनिरहनुपर्यो र ? सबै थाहा छ । तर उनी कसरी मेरो जीवनमा भित्रिइन् भन्ने बारेमा त्यतिखेर तपाई यहाँ आइसक्नुभएकोले तपाईलाई थाहा छैन । लौ सुन्नुस मेरो जीवनकहानी ।’
 
–०–
 
म पढनका लागि काठमाडौंमै थिएँ । पार्टटाइमका रुपमा केही टापनटिपन कामहरु गर्थे । ताकी पढाई खर्चका लागि बा आमालाई दुःख दिन नपरोस् । उसैपनि क्याम्पस पढ्दा आत्मनिर्भर हुनु भन्छन् । मलाई पनि आत्मनिर्भर हुने र सकभर बा आमालाई दुःख नदिने रहर थियो ।
 
काठमाडौंमा मैले के काम मात्र गरिन । एकाबिहानै साइकलमा पत्रिका पुर्याउने हकरदेखि लिएर दिउँसो एउटा फोटोकपी सेन्टरमा काम गर्थे । राति क्याम्पस पढ्थेँ । दिउँसोको कामले मेरो कोठाखर्च र क्याम्पसको फिस तिर्न पुग्थ्यो । बिहान पत्रिका पुर्याए वापत आउने तलब मैले केही जोगाउँथे । बेलाबखत बा आमालाई त्यसैबाट केही खर्च पनि पठाउँथे ।
 
काठमाडौंको बसाई । दुईजना साथीहरु मिलेर एउटा कोठामा बस्थ्यौँ हामी । बिहानको खाना म बनाउँथे भने साँझको साथीले । डिप्लोमासम्मको पढाई मज्जाले चल्यो । त्यसपछि मास्टर्स गर्ने भन्दाभन्दै दिनहरु यत्तिकै बित्न थाले ।
 
एकपटक दशैंमा घर जाँदा सँगैकी स्कुले सहपाठी स्वस्तिकाले जिस्काइन्–‘कति बस्छौ हो बुङ्गो भएर । अब त बिहे गर्ने बेला पनि भयो होला नि ? मेरा त दुईवटा भैसके ।’
 
मलाई पनि लाग्यो–हो २७ वर्ष पुगियो । बिहे गर्नु त पर्ने हो । मैले उनलाई जिस्क्याउने उद्वेश्यले भनिदिए–‘मैले मन पराएको तिमीनै थियौ । तिमीलेनै धोका दिएपछि अब कोसँग गर्नु मैले बिहे ?’
 
‘आम्मामा... के विधि पात्तिएको यो बाजेको छोरा त ? गुरुङ्गनीलाई पाउन त त्यति सजिलो छ र बाजेका सन्तानलाई’ उनले लजाउँदै भनिन् । चार कक्षादेखिकै सहपाठी स्वस्तिकाले मलाइ स्कुलदेखिनै बाजेका छोरा भनेर संबोधन गर्थिन् ।
 
उनको कुराले म हाँसिमात्र रहेँ । उनले गंभीर भएर भनिन्–‘बिहे गर्ने भए मेरो एउटी साथी छ । गर्छौ त ?’
 
‘देखाउ न त । हेरिहालौँ । मैले हेर्दा तिम्री साथी खिइने त होइन होला नि ?’
 
‘ल ल धेरै नमात्तिनु क्या । मेरी साथी त अलि सोझी छ, लजालु पनि छ ।’
 
एक सातापछि स्वस्तिकाको फोन आयो । म रुपाताल माथि रहेको मामाघरमा टिका लगाउन गएको थिए ।
 
‘ए बाजेका छोरा, ल मेरो साथीलाई भेट्ने भए भोली दिउँसो ३ बजे महेन्द्रपुल नजिकैको पोर्टल्याण्ड क्याफेमा आउनु नि,’ उनले भनिन् ।
 
‘ल ल म आउँछु । कति दुःख दिन सकेकी यो गुरुङ्गसेनीले’ मैले त्यति भनेर फोन राखिदिएँ । भोलीपल्ट बिहानै मामाघरबाट निस्किएँ ।
 
३ बज्नुभन्दा १० मिनेट पहिलेनै क्याफेमा पुगेँ । स्वस्तिकाकी साथी कस्ती होलिन् ? हाइट कति होला ? कपाल कति लामो होला ? मोटी या दुब्ली कस्ती होली ? आदीआदीमा मेरा मन डुल्न थाले । त्यही क्रममा खल्तिबाट मोबाइल निकालेर फेसबुक चलाउन थालेँ ।
 
‘ए, बाजेका छोरा त अघिनै पो ?’ स्वस्तिकाको स्वरले म झसङ्ग भएँ । यसो उनीतिर हेरेँ । तर मेरो मन र अाँखाले उनलाइ भन्दा पनि उनीसँग अाउने भनिएकीलाइ खोजिरहेको थियो ।
 
स्वस्तिकाको अलि पछिल्तिर झण्डै साँढे ५ फिटकी, तर अलिकति दुब्ली, गोरी, हरियो कुर्ता सुरुवाल लगाएकी युवती अाउँदै थिइन् । सिल्की परेको कपाल, त्यसमा लाइट कलर गरेको, फराकिलो अनुहार, मिलेको नाक, अनि त्यसमा भएको फुलीले गर्दा म उनीप्रति एक्कासी मोहित हुन पुगेछु ।
 
‘तिमीजस्तो हो त कहिल्यै समयमा नआउने ? स्कुल पनि त तिमी सधैँभरि १० मिनेट ढिला आउँथ्यौ नि । कति पटक रोहिणी सरको छडी भेटेको थियो नि तिम्रा नलीखुट्टाले,’ मैले अलिकति एक्स्ट्रा देखिनको लागि त्यति जवाफ लगाइहाले उनलाई ।
 
‘ल ल धेरै स्मार्ट नबन तिमी पनि । तिम्लाई पनि सरले होमवर्क नगरेकोमा कम्ति कुखुरा बनाएको होइन,’ उनले जवाफ लगाइहालिन् । हाम्रो हिसाब किताब बराबर ।
 
‘ल उ चाँही मेरो साथी उर्मिला । म चाँहि उर्मी भनेर बोलाउँछु उसलाइ । अहिले बिबिएस पढ्दै हो । तिमीहरुको जोडी बाँधिदिन पाए मलाई पनि खुशी लाग्ने भएर भेटाइदिएको नि,’ स्वस्तीकाले भनिन् ।
 
हामीले त्यसदिन खासै कुराकानी गरेनौँ । मोबाइल नम्बर साटासाट सँगै आँखा साटासाटमात्र भए । साँझ घर आएर उर्मीलाइ मैले फेसबुकमा उनलाई फ्रेण्ड रिक्वेस्ट पठाएँ । तुरुन्तै एसेप्ट भएको नोटिफिकेसन अायो ।
 
अनि सुरुभयो हामी दुईबीचको प्रेमको यात्रा ।
 
उनी एकान्तप्रेमी । रजनीशको भक्त । एकान्तमा बसेर रजनीशका पुस्तकहरु पढ्न रुचाउने । हामीबीच फेसबुकको मेसेन्जरमा अधिकांश समय ओशोकै विषयमा कुराकानी हुन्थे । उनले मलाई बुझाउन खोज्थिन् । म उनलाई मन पराउने क्रममा जीवनमा कहिल्यै चासो नभएका कुरामा पनि बुझ्ने प्रयास गर्न खोज्थेँ ।
 
उनको एकान्तप्रेमी स्वभाव र घर बाहिर सितिमिती ननिस्कने स्वभावले चिन्तित रहेछन् ।
 
केही महिना हामीले मेसेन्जरमा आफ्ना भावनाहरु साट्न थाल्यौँ । उनी भन्थिन्–‘किन हो कुन्नि मलाई केटाहरु मनै पर्दैन । केटाहरुको शरिरले मलाई पटक्कै आकर्षण गर्दैन ।’ मलाई जिस्काउन यसो भनेकी होलिन् भन्ने लाग्थ्यो । यो कुरा उनले स्वस्तिकालाई पनि भनेकी रहिछन् ।
 
‘एक पटक केटाको अँगालोमा बाँधिएर त हेर । तँलाई सधैँभरि बाँधिएरै बसौँबसौँ लाग्नेछ,’ स्वस्तिकाले भनेकी रहिछन् । जुन कुरा मलाई पछि थाहा भयो ।
 
उर्मीले मसँग कुराकानी हुन लागेको कुरा उनका बा आमालाई पनि भनिछन् । बा आमा खुशी भएछन् । उनीहरुले एकदिन मलाई पोखरा आउन भने । म काठमाडौंमै बसेर एउटा तालिम लिँदैथिएँ । उनीहरुले दुई सातापछिको शनिबारको दिन घरमा आउन निमन्त्रणा दिए ।
 
उर्मीका बा आमालाई भेट्नै भनेर म काठमाडौंबाट बसमा पोखरा हानिएँ ।
 
शनिबार उर्मीले उनकै घर नदीपुर बोलाइन् । कन्या क्याम्पस अघिल्तिर पुगेर उनलाइ कुरेँ । उनलाइ कुर्ने क्रममा क्याम्पसबाट निस्कने केटीहरूलाइ नियाल्दैथिएँ । उनी मलाई लिन त्यहीँ अाइपुगिन । उनी अाएको पनि मलाइ पत्तो भएन ।
 
‘हे हेर्दैछाै ? बडो अाँखा घुमाइरहेका छाै त ?‘ उनको बोलीले म झसङ्ग भएँ ।
 
‘ए केही होइन । तिमी जस्ती राम्री त कोही रहेनछन् यो कन्या क्याम्पसमा पढ्ने,‘ मैले उनलाइ फुर्क्याएँ ।
 
‘ए, होला नि,‘ उनले अाँखा सन्काउँदै भनिन् ।
 
नदीपुरमा सानो चिटिक्कको घर थियो । उसैपनि पोखराका घरहरु चिटिक्कका हुन्छन् । त्यसमाथि उर्मिलाका बा आमा राम्रै सरकारी जागिरे भएकाले घर दुई तल्ले सानो भएपनि चिटिक्कै थियो ।
 
‘ल बाबु र उर्मिला साथी हुनुहुँदो रहेछ । उसले पनि तपाईलाई मन पराएकी जस्तो छ । के छ बाबुको विचार ?’ एक्कासी उर्मीलाका बाले सोध्नुभयो ।
 
‘म र उर्मी असल साथी हौँ । खै अहिलेनै त बिहे गर्ने सोच छैन मेरो । पढ्नका लागि अमेरिका जाने तयारीमा छु,’ मैले तीन वाक्यमा आफ्नो अवस्था दर्शाएँ ।
 
उर्मी अर्को सोफामा बसेर मोबाइल खेलाइरहेकी थिएन् । लाग्थ्यो उनी हाम्रो कुरामा ध्यान दिइरहेकी छैनन् ।
 
मेरो जवाफले उर्मीका बा आमा केही बोल्न सकेनन् । निकै बेरको मौनतालाई चिर्दै आमाले भन्नुभयो–‘बाबुसँग कुराकानी गर्न थालेपछि यसको बानी व्यबहारमा निकै परिवर्तन भएको छ । तपाईलाई अप्ठेरो छैन भने अहिले कोर्ट म्यारिज गरेर अमेरिका जानुस् । उर्मिलालाई लैजान मिलेको खण्डमा लैजानुस्, नभए पछि फर्केर आएपछि बिहे गरेर लैजानुहोला ।’
 
मलाई बडो अप्ठेरो पर्यो । हुँदैन भन्न पनि सकिन । किनभने भित्रभित्रै उनीसँग मेरो मायाँ बसिसकेको थियो । दिनमा दुई पटक कुराकानी नभएसम्म निद्रा पनि लाग्दैनथ्यो । हुन्छ भन्नका लागि परिवारको सहमति लिएकै थिइन मैले ।
 
मेरो खुशीमा परिवारले ‘हुँदैन’ भन्ने अवस्था त थिएन । परिवारबाट पनि केही वर्ष पहिल्यैबाट बिहेका लागि चासो र चिन्ता व्यक्त हुँदै आएको थियो । विशेषगरि आमाले मैले बिहे गरिदेओस् भन्ने चाहना राखेको ३/४ वर्षै भैसकेको थियो ।
 
‘म सोचेर हजुरहरुलाई जवाफ दिनेछु’ भन्दै त्यसदिन त्यहाँबाट बाहिरिएँ । मलाई बिदाई गर्न उर्मी चिप्लेढुंगासम्मै अाइन् । हामी बाटोमा कुराकानी गर्दै अायैाँ । रसिलो आँखा पार्दै उनले बिदाई गरिन् ।
 
काठमाडौं फर्किएपछि अर्को महिना मेरो अमेरिका अध्ययनका लागि आउने भिसा लाग्यो । जीवनमा सबैभन्दा खुशी त्यो दिन थियो मेरा लागि । भिसा लागेको पहिलो जानकारी उर्मीलाईनै फोन गरेर बताएँ । उनी सुक्कसुक्क गरेर रुन पो थालिन् । मैले सम्झाएँ उनलाई । ‘म पोखरा आएर कोर्ट म्यारिज गर्छु । त्यसपछिमात्र अमेरिका उँड्नेछु । विश्वास गर उर्मी,’ मैले यति भनेपछि उनले बधाई दिइन् ।
 
म अमेरिका उँड्ने चाँजोपाँजो मिलाउन थालेँ । हुनत अझै तीन महिना बाँकी थियो अमेरिका उँड्नका लागि । त्यसअघि म पोखरा हानिएँ ।
 
एक हप्ता पोखरा बसाईको क्रममा मेरा र उनका अभिभावकहरुको भेटघाट भयो । हुनेवाला बुहारी देखेर आमाको खुशीको सीमा रहेछ । जेठको ७ गते हाम्रो अदालतमा गएर बिहे भयो हामी दुबै पक्षका अभिभावकको रोहवरमा ।
 
बिहे भैसकेपछि अब उनी सम्पूर्णत मेरी भइन् । बेलुकी मेरा बा आमा, उर्मी र म बैदाम स्थित घरमा गयौँ । उनको जस्तो चिटिक्क परेको नभएपनि म जन्मेको घर मलाई साह्रै रमाइलो र सुन्दर लाग्छ ।
 
बुहारी भएर निर्वाह गर्नुपर्ने सबै भूमिका उनले पुरा गरिन् । एउटी नारीमा हुनुपर्ने सबै शील स्वभाव थियो उर्मीमा । तर किन हो कुन्नि अझै पनि एकान्तप्रेमी, ध्यानप्रेमी थिइन् ।
 
बिहेको भोलीपल्ट म उनलाई लिएर काठमाडौं निस्किएँ । मेरो योजना अबको तीन महिना भएपनि उनका साथ सँगै बस्ने थियो । म अमेरिका लागेपछि उनलाई पोखरा पठाउने र उनलाई माइती या घर जहाँ ठीक लाग्छ उहीँ बस्न दिने मेरो सोचाई थियो ।
 
घट्टेकुलोमा एक कोठे डेरा थियो मेरो । किचन, बेडरूम सबै एउटै कोठामा । एउटा कुनामा खाना पकाउने टेबुल, अर्को कुनामा खाट । रुममेटले छाडेर गएपछि म एक्लै थिएँ कोठामा । एक हिसाबले रुममेटले छाडेर जानुले मलाई सजिलो पनि भएको थियो । नत्र उर्मीलाई कसरी ल्याउनु र ?
 
एउटा कोठामा कष्टसाथ बसेको देखेर सुख सयलमा हुर्केकी उनले निकै माया देखाइन् । उनले अलि राम्रो कोठा लिन पनि भनिन् । मैले उनको चित्त बुझाउने प्रयास गर्दै भने–‘हेर उर्मी, तीन महिना त छ । त्यसपछि म अमेरिका, तिमी पोखरा । ल भन त किन तीन महिनालाई दुख गर्नु ?’ उनी सहमत भइन् । हामी तीन महिनालाई त्यही साँघुरो कोठामा दुःखजिलो गरेर बस्नेमा सहमत भयौँ ।
 
एकै ठाउँमा भएपछि विपरित लिङ्गी प्रति आकर्षण हुनु स्वभाविकै हो । म पनि त्यसमा अलग रहन कहाँ सक्थेँ र ? झन एउटै बेडमा भएपछि त्यो प्राकृतिक आवश्यकता भनुँ या चाहनाको विषय पनि नभैरहन कसरी सक्छ र ? तर हामीबीचको त्यो सम्बन्ध त्यति भावनात्मक र समर्पणयुक्त हुन सकेन । एक, दुई, तीन,चार हुँदै धेरै पटकका हाम्रा शारिरीक सम्बन्धहरु समर्पणयुक्त भएनन् । लाग्यो–‘उनीमा त्यो लजालु स्वभाव गएकै छैन । नयाँ भएर होला ।’
 
मलाई मात्र चाहना भएजस्तो व्यबहार उनीबाट हुन थाल्यो । उनी नत कुनै प्रतिकार गर्थिन, नत क्रिडाका क्रममा समर्पणनै । तर जसरी दुईजनाको जुन रुपमा हुनुपर्ने क्रिडा हो त्यो मेरो तर्फबाट मात्र हुन्थ्यो । एक दिन होइन, दुई दिन होइन । धेरै दिनपछि मैले उनीसँग सोधेँ–‘पीडा हुन्छ ?’
 
उनले टाउको हल्लाउँदै संकेत गरिन्–‘होइन ।’
 
‘अनि किन त ? केही अप्ठेरो छ तिम्लाई ?’
 
‘मलाई किन किन यसमा रुचीनै छैन,’ उनको जवाफपछि मैले केही भनिन । म केही बोल्न सकिन ।
 
उनले धेरै पहिले भनेको याद भयो–‘मलाई केटा प्रति रुचीनै छैन ।’
 
अब उनीसँग शारिरीक सम्पर्क ज्यादै कम हुन थाल्यो । मलाई सम्हालिन निकै गाह्रो हुन थाल्यो । तर पनि कुनै कृया प्रतिकृया मैले देखाइन । लाग्यो–‘पछि यो समस्या आफसे आफ समाधान हुनेछ ।’ पत्नीको कृयाशीलता र समर्पण बिनाको शारिरीक सम्पर्क गर्नु र बलात्कार गर्नु एकै लाग्न थाल्यो मलाई ।
 
अमेरिका आउने दिन नजिकिए पछि मैले डेरामा भएका धेरै सामान पोखरा पठाइदिएँ । बाँकी केही साथीहरुलाई दिएँ । एक साता अघि उनलाई पोखरा लगेर सासु ससुराको जिम्मा लगाएँ ।
 
अमेरिका उँड्नुभन्दा एक रात अघि पनि मैले उनलाई मनाउन प्रयास गरेँ । उनले ‘अँ हुन्छ नि त’ भनिन् । तर कुनै कृयाशीलतानै प्रस्तुत गरिनन् । कतिसम्म भने म क्रिडामा संलग्न हुँदा उनी मोबाइल खेलाइरहेकी थिइन् ।
 
–०–
 
म भन्दा अघिल्लो सिटमा बस्ने ती युवक एकोहोरो रुपमा आफ्नो कहानी सुनाउँदैथिए । अर्का चाही बीचबीचमा ‘ए ए’ भन्दै थिए । उनको कुरा मलाई पनि निकै चाखपूर्ण लाग्यो ।
 
ट्रेनबाट झर्नुपर्ने बेल स्टेशन आएको संकेत बज्यो । ट्रेनमा रेकर्डेड भ्वाइस बज्यो–‘बेल स्टेसन, ओपन दी डोर इज लेफ्ट साइड ।’ ती अपरिचितको कहानी अझै सुन्ने रहर जाग्यो । कुनै फिल्मको कहानी जस्तो थियो ।
 
झर्नका लागि उठिसकेको पनि फेरि सिटमै बसेँ । अनि मोबाइलमा रहेको ‘गो–पास’ एप्सबाट ड्यालस युनियन स्क्वाएरसम्म र त्यहाँबाट फेरि बेलसम्मै फर्किने टिकट लिएँ ।
 
अगाडी सिटमा रहेका ती युवा कहानी सुनाउँदैथिए ।
 
‘अमेरिका आइसकेपछि केही समय निकै दुःख पाइयो । जसले गर्दा केही दिन उनीसँग कुराकानी गर्ने समय पनि मिलेन । एक हिसाबले त रिस पनि उठेको थियो । तर जब उनको त्यो सुधो अनुहार, सिल्की कपाल सम्झिन्थे । किनकिन असाध्यै मायाँ लागेर आउँथ्यो ।’
 
अमेरिका आएको १५ दिनसम्म त कलेज, अपार्टमेन्टको चक्करमै समय बित्यो । एक साँझ ल्यापटप खोलेको उनलाई अनलाईन देखेँ । उनीपनि म कतिखेर अनलाईन आउला भनेर पर्खिबसेकी रहिछन् ।
 
‘मसँग साह्रै रिसाउनु भएको होला है ?’ उर्मीले पहिलो प्रश्न गरिन् ।
 
‘अहँ छैन । तिम्लाई कस्तो छ अहिले ?’ मैले सोधेँ ।
 
घरपरिवार, पोखराको मौसमका कुराकानी भए । उनी साह्रै नियास्रेकी रहिछन् ।
 
‘म हजुरलाई असाध्यै मायाँ गर्छु । शायद हजुरले पनि गर्नुहुन्छ मलाई । मेरो बिन्ती छ, हजुरले अर्को केटी खोजेर बिहे गर्र्नुस् है त्यतै,’ उनले भनिन् । म अचम्ममा परेँ उनका कुराले ।
 
‘किन ? के भयो ? किन यसो भनेकी तिमीले ?’ मैले सोधेँ ।
 
‘मैले तपाईलाई सबै कुरामा खुशी दिन त सक्छु । तर शारिरीक सन्तुष्टी दिन सक्दिन् । त्यही भएर,’ उनले भनिन् ।
 
आवेगमा आएर त्यसो भनेकी होलिन् भन्ने लाग्यो । मैले उनलाई सम्झाएँ । मलाई लाग्यो–‘उनलाई अमेरिका ल्याउन सकियो भने उपचारबाट समस्या समाधान गर्न सकिन्छ ।’
 
कलेज, कामको चापले गर्दा उनीसँग २/३ दिनको अन्तरमा मात्र कुराकानी हुन थाल्यो । उनीसँग कुराकानी हुँदा पुरानै कुरा दोहो¥याउँथिइन् । ‘मैले तपाईलाई सन्तुष्टी दिन सकिन । मलाई माफ गरिदिनुहोला,’ म ती कुरा बिर्सन भन्थेँ ।
 
म यो कुरामा ढुक्क थिएँ कि–उनीलाई यहाँ अमेरिका ल्याउन सकियो भने समस्या समाधान हुनेछ । र उनलाई डिपेन्डेन्टमा ल्याउन प्रकृया थाले । हामीबीच औपचारिक रुपमा बिहे भैसकेकोले कागजी प्रकृयाका लागि कुनै समस्या थिएन ।
 
झण्डै एक वर्षको प्रयास पछि उनी अमेरिका आउने बाटो खुल्यो । अर्थात उनलाई भिसा लाग्यो । अब म जिन्दगीका अरु स्वर्णिम दिनहरुको पखाईमा बस्न थाले । एक दिन त्यो पनि आयो । उनलाइ कुर्न म कतिसम्म अधैर्य थिएँ भने काठमाडाैबाट उनी चढेको कतार एअरको जहाज कहाँ अाइपुग्यो भन्दै मोबाइलमा हेरेर बस्थेँ ।
 
उनी म बसेको शहरको विमानस्थलमा उत्रिइन् । उनलाई लिनका लागि म गाडी लिएर विमानस्थलमा तीन घण्टा पहिलेनै पुगेँ ।
 
दुइवटा सुटकेश लिएर उनी विमानस्थलबाट निस्कदा मेरा आँखाबाट खुशीका आँशु चुहिए । निकैबेरसम्म उनी मेरो अँगालोमा बाँधिइन् । हामीलाई कसैले देख्लान् भन्ने कुनै डर पनि थिएन । देखे पनि यो मुलुकमा चुम्बन र अँगोलोमा बाँधिनु सामान्यनै भइहाल्यो ।
 
हो म त्यसबखत तपाईले भन्नुभए जस्तै म त्यसबखत असाध्यै खुशी भएँ । खुशी शेयर गर्न फेसबुकमा फोटाहरु पनि राखेँ ।
 
झण्डै आधा घण्टाको यात्रा पछि हामी हाम्रो अपार्टमेन्ट पुग्यौँ । उनी थाकेकी थिइन् । मैले अमेरिकाको पहिलो एक गिलास जुस दिएँ । दुई दिनसम्मको विमान यात्राले उनी निकै थाकेकी थिइन् । जेटल्यागले होला मैले खाना बनाउँदै गर्दा उनी कुन बेला सोफामै निदाइछन् । बोकेर बेडमा लगेर सुताएँ ।
 
भोलीपल्ट दिउँसो २ बजेमात्र उनी ब्युँझिइन् ।
 
उनलाई मैले हल्का खाने कुरा दिएँ । दिनभरि अपार्टमेन्टमै राखिरहँदा शरिर झनै फ्रेस नहुने भएकालेले साँझपख डाउनटाउन घुमाउन लिएर गएँ । उनी अमेरिकाको शहर, अर्धनग्न पोशाकमा हिँडेका युवतीहरुको गतिविधीलाई उर्मीले अनौठौ रुपमा हेरिरहेकी थिइन् ।
 
त्यस साँझ हामीले पहिलो पटक चाइनिज बफेट खाना खायौँ । अपार्टमेन्टमा फर्किदा रातको १० बजिसकेको थियो ।
 
डबल बेडरुम अपार्टमेन्ट थियो । अर्को रुममा साथी सुत्थे । उनी रात्रीकालिन ड्युटीमा थिए ।
 
एउटै बेडमा सुतेपछि स्वभाविक रुपमा पुरुषत्व जाग्नेनै भयो । मैले उनलाई मनाउने प्रयास गरेँ । उनले असहमति त जनाइनन् । तर व्यबहार पहिलेजस्तै । चासो, सकृयता पटक्कै होइन । एक हिसाबले पत्नीसँगको सम्भोग मेरा लागि लाशसँगको सम्भोग जस्तै भयो । न कुनै क्रिया छ, नत कुनै सकृयतानै, न समर्पणनै ।
 
शंका लाग्यो–समलिङ्गी पो हुन् कि उर्मी ? धेरै पटक त शंका पनि लाग्यो–‘कतै यिनको ब्वाईफ्रेण्ड पो छ कि ?’ स्वस्तिकालाई फोन गरेर सोधेँ । उनले मलाई उल्टै हप्काईन् र गाली गर्दै भनिन्–‘त्यस्तो सोझी केटीलाई जे मन लाग्यो त्यही पो भन्दोरैछ यो बाजेका छोराले । यहाँ नेपाल आइज मात्र मैले जानेको छु ।’
 
सबै कुरा स्वस्तीकासँग भन्न पनि सकिन । ओछ्यानका कुरा कसरी पो सुनाउनु उस्लाई ?
 
उर्मी अमेरिका अाएको पनि तीन वर्ष पुरा भैसक्यो । यो बीचमा मैले यहाँका नामी डाक्टरदेखि लिएर मनोविज्ञानका विज्ञसम्म देखाइसकेँ । जति देखाएपनि कुनै प्रगति भएन । एकजना नामी डाक्टरलाइ देखाउँदा उनले भने–‘यो समस्या संसारमा एकदमै कम मानिसलाइ हुने समस्या हो । ‘ए–सेक्सुअलिटी‘ भनिन्छ यसलाइ । जसलाइ शारिरीक सम्पर्क प्रति पटक्कै रूची हुँदैन । दशाै लाख मानिसहरूमध्य एकजनामा यस्तो भेटिन्छ । जो शारिरीक सम्पर्कमा पटक्कै इच्छुक हुँदैनन् र त्यसबाट इन्ज्वाई लिन सक्दैनन् ।
 
गुगल सर्च गरेर हेरेँ । विकीपिडियामा पढेँ । ‘ए–सेक्सुअलिटी‘ हुनेहरूमा याैन सम्पर्क प्रति केहीलाइ पटक्कै रूची नहुने रहेछ । केहीलाइ थोरै रूची भएपनि कुनै सकृयता नदेखाउने रहेछन् ।
 
उनीबाट म सबै कुरामा सन्तुष्ट छु । व्यबहारिक छिन्, मेरो ख्याल पनि गर्छिन् । मायाँ त्यत्तिकै गर्छिन । उनी भनिरहेकी छिन्–‘म बाट तपाईको घर व्यबहार, सृष्टि चल्दैन । तपाई अर्को खोजेर बिहे गर्नुस् । म डिभोर्स दिन तयार छु ।’
 
बडो आँट गरेर उर्मीका बा आमालाई सुनाएँ यो कुरा । सिधै शारिरीक सम्बन्ध राख्न अनिच्छुक रहेको कुरा त भन्न सकिन । तर उनी बच्चाको लागि अनिच्छुक भएको कुरा राखेँ ।
 
यो कुरा सुनेर बा आमा अतिनै चिन्तित भए । बा आमाले पनि उनलाई सम्झाउन लाख कोशिष गरे । दिनहुँ बा आमासँग उर्मीको डेढ दुई घण्टा कुराकानी हुन थाल्यो । तर जे गर्दा पनि उनी ठीक अवस्थामा आइनन् ।
 
‘मलाई हजुरले दवाव नदिनुस् । धेरै दवाव दिन थाल्नुभयो भने म आत्महत्या पनि गर्नसक्छु । म बाट तपाईको घर हुँदैन, म बच्चा पनि जन्माउन चाहन्न । त्यसो हुँदा बरु मैँ केटी खोजिदिउँला । अर्को बिहे गर्नुस्,’ एक रात उनले बेडमा भनिन् ।
 
म छाँगाबाट खसेजस्तै भएँ । मलाई पहाडले थिचेजस्तो भयो । भरखरै पढाई सकेर काम सुरु गरेको मलाई के लफडा आइलाग्यो ? त्यो रात म निदाउनै सकिन । भोलीपल्ट पनि अनकल छुट्टी लिएँ कामबाट ।
 
उनी भन्थिन्–‘म तपाईलाई बाटो फुकाउन डिभोर्स दिन तयार छु । तपाई र म सधैँ असल साथीका रुपमा रहन सक्छौँ । समय धेरै नबिताउनुस् । दह्रो मन बनाएर डिभोर्स गरेर बाटो खुलाई हाल्नुस् ।’
 
उनका कुराले उता उनका बा आमा असाध्यै चिन्तित छन् । मेरा बा आमालाई त मैले सम्झाउन सक्छु । उनको सबै गुण म भुल्न सक्दिन । मात्र उनमा किन त्यो समस्या आयो भन्नेमा म आफैँ चिन्तित छु । हिजो पनि उनले तत्काल डिभोर्स दिउँ भनिन् । जतिसक्दो चाँडो मसँग डिभोर्स दिएर मेरो अनुहारमा उनी खुशी हेर्न चाहन्छिन् । मैले शारिरीक सन्तुष्टी पाएको र बच्चा खेलाएको उनी देख्न चाहन्छिन् ।
 
हिजोआज उर्मी मैले कोही केटीलाई फोन गरेको सुन्दा अति खुशी हुन्छिन् । अस्ति कामको सिलसिलामा लसएन्जलस बसेको थिएँ एक हप्ताका लागि । फोनमा उनी सोध्थिन्–‘कोही मन पराएनौ ?’
 
काका, म मेरो यो ययार्थता सबैलाई सुनाउन पनि सक्दिन । नत कतै भन्नै सक्छु । उनीनै मेरा लागि केटी खोज्दै हिँडेकी छिन् । अर्को बिहे गर्नु अघि उनीसँग डिभोर्स गर्नैपर्ने हुन्छ । उनीनै हामीबीच डिभोर्स पेपर तयार गर्नका लागि दौडधुप गर्दैछिन् ।
 
सबैभन्दा अचम्मको घटना चाँहि कहाँ भयो भने अघि बिहान म तपाईकोमा आउँदै गर्दा उनको फोन अायो । दुई पटकसम्म उनको फोन काटिदिएँ । तेस्रो पटक उठाएर हेलो भन्नाथ उनले बडो उत्साहित भएर एउटा खबर सुनाइन् । ‘सुन्यौ अभय, मेरो साथी अनुष्काकी बहिनी पनि भरखरै डिभी परेर यतै आएकी रहिछन् नि । ६ महिना भयो रे अनुष्काले भनेकी । उसको नाम मर्यादा हो क्या’ उर्मीले भनिन् ।
 
यहाँसम्म आइपुग्दा बल्ल जानकारी भयो उसको नाम अभय रहेछ ।
 
‘के भयो त अनुष्काकी बहिनी मर्यादा आएर ?’ मैले सोधेँ ।
 
‘तिमी कुरै बुझ्दैनौ क्या । म अनुष्का मार्फत तिम्रा लागि कुरा चलाउँछु क्या,’ उनले भनिन् ।
 
‘अनुष्काकी बहिनी मर्यादा त्यही हो, जस्लाई केही महिनादेखि उर्मीले थाहा नपाउनेगरि अलिकति टाढा मैले नै अपार्टमेन्टमा राखेको छु । यो कुरा मैले उर्मीलाइ थाहा दिएको पनि छैन ।’
 
ट्रेन ड्यालस डाउनटाउको युनियन स्टेशन आइपुगेको ‘एनाउन्समेन्ट’ आउँदैथियो । अभयको हातमा भएको मोबाइल फोनमा घण्टी बज्यो । उसले फोनलाइ साइलेन्स मोडमा राखिदियो र अधबैँसेको अनुहारतिर फर्कियो ।
 
‘अँ, उठाएर कुरा गरन । कुनै इमरजेन्सी हुनसक्छ,‘ अधबैंसेले भने ।
 
निर्देशन पाउनासाथ अभयले फोन उठायो ।
 
‘हजुर हजुर म अभय बोल्दैछु,’
 
उताबाट के सोधियो कुन्नि । अभयको स्वर र अनुहारले उ आत्तिएको जनाउ दिएको थियो ।
 
‘ल हस्पिटल लगिहाल्नु मर्यादालाई, म एकैछिनमा आइपुग्छु । अहिले डाउनटाउनमा छु,’ अजयले फोनमा भनेको सुनियो–‘काका, फर्किनुपर्ने भयो । ट्रेन कुर्दा ढिला होला । उबर या लिफ्ट लिएर जानुपर्ला ।’
 
युवकको ओछ्यानका कुराले त्यसबीचका पाँचवटा स्टेसन पार गरेको पत्तै भएनछ । सबै यात्रुहरु सिटबाट जर्याकजुरुक उठ्न थाले । उनीहरु पनि उठे ।
 
गोप्य बातचित गर्नकै लागि ट्रेन चढेका रहेछन् उनीहरु । गोप्य कुरा सुनेको मैले आफू नेपाली भएको परिचय सम्म पनि दिन सकिन । 
 
(युलेस, टेक्सस)