मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गामबेँसीका चेपाङ अभियन्ता केपीकिरण सम्मानित

गामबेँसीका चेपाङ अभियन्ता केपीकिरण सम्मानित


चितवन । पूर्वी चितवनको रत्ननगर १० स्थित मंगलपुरमा गामबेँसीको चेपाङ संरक्षण केन्द्रमार्फत् चेपाङ बालबालिकाको लागि शिक्षा र चेपाङ जातिको उत्थान र उन्नयनमा योगदान गरेको भन्दै चेपाङ अभियन्ता केपि किरण शर्मा सम्मानित भएका छन् । 
 
केन्द्रका अध्यक्षसमेत रहेका शर्माले आश्रममा करिब एकसय पचास जना बालबालिकालाई राखेर शिक्षा प्रदान गरेका छन् । सामाजिक कार्यमा समर्पित शर्मालाई पोखराको गोल्डेन स्टार मिडिया प्रालिले सम्मान गरेकोे हो । 
 
शुक्रबार चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश नं ३ का भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले उनलाई दोसल्ला र कदरपत्रले सम्मान गरेका हुन् । 
 
लामो समयदेखि गामबेँसीको चेपाङ संरक्षणमार्फत चेपाङ बालबालिकाको संरक्षणमा लागिपरेका शर्मालाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको मिडियाका कार्यकारी निर्देशक सिरन गुरुङले बताए । 
 
सम्मान गर्दै मन्त्री लामाले भौगोलिक विकटता र आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराउने शर्माको काम उदाहरणीय रहेको भन्दै भविष्यमा यस्तै अभियान गर्न हौसला प्रदान गरे । 
 
सम्मान ग्रहणपश्चात् शर्माले आफूले पाएको सम्मानबाट चेपाङ हितमा काम गर्ने उर्जा मिलेको बताए । सीमान्तकृत चेपाङ बालबालिकाले आफूले सोचेजस्तै प्रगति गर्दै आएकाले अभियानले सार्थकता पाएको उल्लेख गरे ।