मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राप्ती नगरपालिकामा सरकारी गाडीको व्यापक दुरुपयोग

राप्ती नगरपालिकामा सरकारी गाडीको व्यापक दुरुपयोग


चितवन । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको डेढ वर्ष हुनै लागेको छ । यस अवधिमा जनप्रतिनिधिले जनताको मन जित्नुको साँटो जनताले नै तिरेको करको दुरुपयोग गर्दै आएका छन् । 
 
जनप्रतिनिधिका मनलाग्दी बढिरहेका बेला राप्ती नगरपालिकामा भने जनप्रतिनिधिले सरकारी गाडीको व्यापक दुरुपयोग गर्दै आएका छन् । 
 
राप्ती नगरपालिकाकी मेयर प्रभा बराल र उपमेयर इमानसिहं लामाले बिदाको दिनमा समेत नगरपालिकाको गाडी दुरुपयोग गरी बिहे भोजमा रमाइलो गर्न गएको पाइएको छ । 
 
असोज ३ गते संविधान दिवसमा सार्वजनिक बिदा भए पनि मेयर र उपमेयरले छुट्टाछुट्टै गाडी लिएर बिहे भोजमा गएका हुन् । उनीहरु नगरपालिकाका प्राविधिक चेतनाथ थपलियाकी छोरी निशा थपलियाको बिहे भोज खान गाडीसहित रत्ननगरस्थित हरिहर बेन्क्युटमा गएका हुन् ।
 
स्थानीय महिला अधिकारकर्मी एवम् नेपाली कांग्रेसका तर्फबाट उपमेयरकी प्रत्याशी अनिता मैनाली कर दुरुपयोगका कारण जनप्रतिनिधिहरु आलोचित बन्न पुगेको बताउँछिन् । भन्छिन्, ‘राप्ती नगरपालिकाभित्रै कार्यकर्ताबाट बजेटको सदुपयोग नभएको सामाजिक सञ्जालमा गुनासा बढिरहेको अवस्थामा सरकारी गाडीको दुरुपयोग हुनु बिल्कुल गलत कुरा हो ।’  
 
‘जनप्रतिनिधिलाई गाडी चाहिन्छ । तर जनताको काम विशेषमा प्रयोग हुनुपर्छ । तर, राप्तीमा पार्टीका काममा, कार्यकर्ता ओसार्न र निजी कामका लागि गाडी प्रयोग भइरहेको छ ।’ 
 
निम्न वर्गका मान्छेले तिरेको करको सही सदुपयोग नभएको उनको आरोप छ । राप्ती नगरपालिकामा एकलौटी ढंगले अघि बढेको र करको दुरुपयोगको विषयमा नगरपरिषद् र धर्नामार्फत् विरोध जनाउँदै आएको उनले बताइन् । 
 
बन्दमा गाडी दुरुपयोग भएको विषयमा राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले प्राविधिककी छोरीको बिहे भएकाले कार्यालयका सबैजना बिहेमा गएको स्वीकार गरिन् । उनले भनिन्, ‘नगरपालिकाकै कर्मचारीको छोरीको बिहे भएकाले बिहेमा शुभकामना दिएर आएका हौँ, व्यानर राखेर गएको होइन ।’ 
 
मेयर बरालले आफूले नगरपालिकाको कामबाहेक व्यक्तिगत प्रयोजनका लागि गाडी प्रयोग नगर्ने दाबी गरिन् । उनले भनिन्, ‘म जनताकै काम गर्नका लागि हिँड्ने गर्छु । संघसंस्थाबाट बिदाकै समयमा कार्यक्रममा निम्तो आउँछ, जानैप¥यो । निजी काममा भने गाडी प्रयोग गरेको छैन ।’
 
नगरपालिकाको गाडी कार्यालय प्रयोजनको लागि मात्रै प्रयोग गर्न पाइने व्यवस्था छ । तर, राप्तीमा साधन स्रोतको व्यापक दुरुपयोग भइरहेको नेपाली कांग्रेस राप्तीका नगर सभापति नारायण उप्रेती बताउँछन् । उनी भन्छन्, ‘बिहेमा दुईवटा गाडी लैजाँदा अलि असहज देखिएकै हो । सो बिहेमा म स्वयम् पनि उपस्थित भएको थिएँ ।’
 
उनले भने, ‘उहाँहरुले सीमा नाघिसक्नु भो, साँझबिहान जुनसुकै बेला पनि गाडीको व्यापक दुरुपयोग भइरहेको छ । नगरपालिका पार्टी कार्यालयजस्तो भएको छ । एक महिनाअघि धर्ना पनि दियौँ, कार्यान्वयन भएको छैन ।’