मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको क्रियाकलापले जनता निराश : लेखक

सरकारको क्रियाकलापले जनता निराश : लेखक


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् ।
 
मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाए ।
 
उनले भने, ‘संविधानले जनतालाई धेरै अधिकार दिएको छ, सरकारले यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने र केही नगर्ने हो भने संविधानप्रति जनताको विश्वास घट्ने अवस्था सिर्जना हुन्छ । त्यसैले सरकार ज्यादा सचेत हुन आवश्यक छ । श्रृङ्खलाबद्ध रुपमा बलात्कारका घट्नाहरु घटिरहेका छन्, यस्तो अवस्थामा सरकारले तदारुकता देखाउनुपर्ने हो । तर, सरकारले त्यसो गर्न सकेको छैन् ।’
 
नेता लेखकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको करिब दुई महिना बितिसक्दा पनि सरकारले खास दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उक्त घट्नाका बारेमा सरकारलाई गम्भीर हुन आग्रह गरे ।
 
उनले भने,‘सरकारले खास अपराधीलाई पत्ता लगाउन सक्दैन, निर्दोषलाई चरम यातना दिएर आधिकारिक दोषीलाई उन्मुक्ति दिन खोज्दैछ, जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा सरकारको हो, अपराधीलाई जोगाउने होईन, संविधानको कार्यान्वयन र सरकारले गरिरहेका कामको बारेमा के कति बाधा परेको छ र जनता कत्तिको सन्तुष्ट छन भन्ने कुरासमेत प्रष्ट पारेको छ ।’
 
संविधानले राजनीतिक, समाजिक, सांस्कृतिकरुपमा परिवर्तनकारी भूमिका खेल्न सफल भएको नेता लेखकको भनाइ छ । उनले भने, ‘तराई–मधेसका राजनीतिक दलहरुले संविधानमा केही फरक मत राखेका छन्, संविधान आवश्यकता र मुलुकको हितमा परिवर्तन गर्न सकिने भएका कारण विरोधलाई उग्र बनाउनुहुँदैन ।’ 
 
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटिहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । उनले भने,‘संविधानमा त्रुटिहरु छन् । दुनियाँमा त्रुटिरहित संविधान कहीँ पनि छैन । तर, अहिले संविधानप्रति असहमतिका ग्राफ धेरै सानो अंशमा छ ।’
 
सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटि भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पार्टी २ बुँदे सम्झौता गरेर सरकारमा गएको छ । जबसम्म संविधान संशोधन हुँदैन्, तबसम्म यो सर्वस्वीकार्य हुँदैन ।’
 
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाइरहने बताएका छन् । नेता कर्णले भने,‘हामीले यसअघि पनि दुईपटक कालो दिवस मनाइसकेका छौं । भोलि पनि हामी कालो दिवस नै मनाउँछौं । देशैभरि विभिन्न जिल्लामा हामी प्रर्दशन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ ।’