विचार / ब्लग

कालो झण्डा देखाउँदैमा राहत मिल्छ त ?

805 पटक पढिएको

– टेकराज पाैडेल

15th Sep 2018, Saturday | २०७५ भाद्र ३०, शनिबार २०:२३
पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइ सहभागी ड्यालसको कार्यक्रममा नेपाली समुदायकै सदस्यहरूले कालो झण्डा देखाउदै अपमानजनक गाली गरेको भिडियो र फोटो अहिले सामाजीक सञ्जालमा छरपष्ट भएको छ । 
 
राजनेतालाई स्वागत सम्मान अनि बिरोध स्वरुप कालो झण्डा देखाउन पाउनु नागरिकको अधिकार हो । यसलाई सम्बन्धित पक्षहरुले पचाउनु पनि पर्छ । तर हामीले यतिखेर डा. भट्टराइ अमेरिका आउँदै गर्दा बिरोध वा गाली गर्न र अपमान गर्नु जायज अनि उपयुक्त छ त ?  
 
बाबुरामलाइ कालोझण्डा देखाउने, हत्यारा भनेर गाली गर्नेहरुले किन गाली गरे भन्ने सवालमा गहिरिएर हेर्न अावश्यक छ । यसमा उनीहरुले दिने जबाफ भनेको बाबुराम प्रचण्डहरुले देशमा युद्ध गरेकोले १७ हजार मान्छेको हत्या भयो, हजारौ अपाङ्ग भए, हजारौ बिस्थापित भएर अमेरिका आउन परेको तर्क छ । यो तर्कमा अांशिक सत्यता पक्कै छ । तर पुरापुर सत्यता भने छैन र होइन पनि । 
 
द्वन्द्वको सम्बन्धमा एउटा तथ्य के पनि हो भने हिजोको शशस्त्र युद्ध एक पक्षले मात्र चाहेर भएको होइन । शान्तिपूर्ण माग सुनुवाई नभएको र राज्यले जायज अनि पुरा गर्न सक्ने माग गरिरहेका जनतामाथि दमन र हिंसाको नीति अख्तियार गरेको कारण बाध्य भएर प्रतिकारमा तत्कालिन माअोवादी पार्टी उत्रिएको हो । त्यसले पारेको असरमा राज्य पक्ष र बिद्रोही पक्षको बराबर नभए पनि कम्तिमा ६०/४० को भूमिका छ नै । 
 
बिदेश भ्रमण आएका बाबुराम भट्टराइ, प्रचण्ड वा देउवाको अपमान गर्दैमा, कालोझण्डा देखाउँदैमा हामीले राहत महसुस गर्न सकिन्छ ?  अहँ, पक्कै मिल्दैन । यस्ता कच्चा व्यबहारले झनै इगो र वैमनस्यता पैदा हुन्छ । हामी अमेरिकामा बसेका नेपालीको चाहना नेपाल समृद्ध र सुखी होस् भन्ने छ । हामीलाइ दोहोरो नागरिकताको लोभ, लालशाले पनि छाडेको छैन । के यतिखेर पूर्व माअोवादीलाइ चिढ्याएर त्यो लालशा पुरा होला ? त्यसमाथि डा. भट्टराइ त झनै प्रधानमन्त्री भैसकेका व्यक्ति हुन् । उनलाइ चिढ्याउनु हामीजस्ता गैर अावासीय नेपालीका लागि झनै हितकर छैन । 
 
त्यसमाथि देशमा द्वन्द राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापानको लागि भएको जगजाहेर नै छ । त्यहि आन्दोलनले अहिले मुलुकमा संघिय समाबेशी धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । जसको जग भनेकै माअोवादी अान्दोलन हो । 
 
आफ्नो एकलौटी शासन गुमेको चिन्ताले के राजाबादीहरुले कालो झण्डा प्रदर्शन गरेर कृष्णप्रसाद भट्टराइ, गिरिजाप्रसाद कोइरालाहरुको महत्व र गरिमा घटेको थियो ?  अनि बाबुरामलाई कालोझण्डा देखाउदैमा उनको गरिमा र महत्व नै घट्ला र ?  
 
गिरिजाप्रसाद कोइरालालाइ शान्ति प्रक्रियाको नायक भनेर प्रशंशा गर्नेहरुले प्रक्रियाको अर्को पाटो र शान्तिप्रक्रियाका अर्का नायकलाई अपमान गरेर अघि बढ्दा शान्ति सम्झौता प्रति बेइमानी गरेको ठहर्दैन ? यस तर्फ अाफूलाइ कांग्रेसको समर्थक भनेर हिँड्नेले गहिरिएर हेर्नु पर्छ कि पर्दैन ?
 
अहिलेको परिस्थिति प्रति कोही कसैलाइ चित्त बुझेको छैन । आफुले खाइपाइ आएको सुबिधा काट्दा दरबारियाहरुलाई मन परेको होला त ? २०४६ देखि २०६२ सम्म एकलौटी खाइपाइ आएकाहरुलाई गरीब र दुखिहरु संसदमा गएको मन परेको छैन । अनि सदियौ देखि विभिन्न बहानामा ठग्दै आएकाहरुको रजगज समाप्त नपारि सम्झौतामा युद्ध टुङ्गाएको पनि माओबादी भित्रका कसैलाई मन परेको छैन । सोही कारण अहिले चोइटिएर बिभिन्न नामका नयाँ माअोबादी पार्टी देखिएका छन् ।
 
सबै पक्षबाट सम्झौतामा टुङ्गाएको समझदारीमा लेखिएको संविधानबाट बीचको बाटो तय भएबाट नेपाल अहिलेको अवस्थामा अाइपुगेको छ । अब मुलुकको सम्बृद्धिका लागि सबैले मिलेरै काम गर्नुपर्छ । हामीमध्य अधिकांशको सपना यहाँ केही वर्ष बसेर अार्थिक स्वतन्त्रता हाँसिल गरिसकेपछि भोली सबै नेपालमै फर्किने र मिलेर बस्ने हो ।  
 
नेपालबाट खेदिएर यहाँ अमेरिका कोही पनि अाइपुगेका होइनन् । यहाँ आएका ९५ प्रतिशत विभिन्न बहाना बनाएर पसेका छाै । कोही डिभीका नाममा मातृभूमि छाडेर रमाइलोका लागि अाएका हाै भने कोही बिभिन्न वहानावाजी बनाएर यहाँ पसेका हाैँ।  बास्तबिक पीडामा परेकाहरु अहिले पनि दुख पाएर गाउँघर मै छन्  । कांग्रेस सत्तामा आउदा ती पिडितलाई हेरेन, माओबादी सत्तामा पुग्दा पनि द्वन्दका पीडिततलाई वास्ता गरेन । यदि पीडा परेका जति अमेरिका आएकै हुन्थे भने युद्धको घाउ गहिरो हुने थिएन । द्वन्दको पीडित देखाएर कांग्रेसको लेटरहेड र माओबादीले चन्दा मागेको लेटरहेड कारखानामा बनाएर ल्याउने धेरै छन् । 
 
अब कम्युनिष्टलाइ अमेरिकामा बन्देज छ र यो अमेरिकालाइ कांग्रेस कै बिर्ता नठान्न, अनि अमेरिकामा रहेका अरू विचारधारा बोक्नेहरूलाइ अपराधी नदेख्न म विनम्र अाग्रह गर्दछु । लहरो तान्दा पहरो पनि थर्किन सक्छ । यसतर्फ विचार गरेर संयमित हुन र अरूलाइ अारोप, गालीमात्र नगर्न पनि म बिनम्र अनुरोध गर्दछु ।
 
सिकागो, (अमेरिका)