मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेकपा एनआरएनमैत्री पार्टी होः पहारी

नेकपा एनआरएनमैत्री पार्टी होः पहारी


हिमालयखवर संवाददाता
टेक्सस (अमेरिका) – नेपालका प्रदेश सभाका सांसद राजीब पहारीले नेपाल कम्युनिष्ट पार्टीनै गैर आवासीय नेपाली मैत्री पार्टी भएको दावी गरेका छन् । 
 
आइतबार टेक्ससको ड्यालसमा उक्त पार्टी निकटहरुसँगको अन्तरकृयामा सांसद पहारीले नेकपा नेपालको सबैभन्दा ठूलो एनआरएनमैत्री पार्टी भएको बताएका हुन् । ‘हामीलेनै जापानमा स्थापित भएका डा. सूर्य पाठकलाई नेपालमा लगेर सांसद बनायौँ, अमेरिकाबाट गएकालाई मेयर बनायौँ । अब भन्नुस कस्ले तपाई एनआरएनलाई महत्व दिइरहेको छ?’ उनले प्रश्न गरे ।
 
एनआरएनलाई नागरिकताको संबन्धमा डा. पाठकको पहलमै संशोधन प्रस्ताव दर्ता भएको र सबैले नागरिकता पाउनेमा आफू विश्वस्त रहेको बताए । शनिबार पूर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एनआरएनहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता दिने पक्षमा आफू रहेको बताएका थिए । 
 
पहारी तत्कालिन एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अध्यक्ष थिए । सांसद निर्वाचित भएपछि उनले अध्यक्ष पद छाडेका थिए । हाल उनी गण्डकी प्रदेशका सभासद् हुन् । 
 
नेपालमा अहिलेनै लगानीका लागि यहाँ कमाएको रकम ओइर्याउनुस् भनेर आफूले नभन्ने बताउँदै पहारीले सरकारले उचित वातावरण बनाइरहेको र त्यसपछि लगानी गर्न उनले आग्रह गरे । ‘अहिले ८/१० करोड नेपालमा लगानी गर्ने उद्वेश्यले कोही गयो भने २/४ करोड त अण्डर टेबुल ख्वाउनुपर्छ । अझै एनआरएन भनेर जानुभयो भने त झनै दुहुनो गाई बनाउने सरकारी संयन्त्र छ,’ पहारीले भने । उनले नेपालमा लगानी भित्राउनका लागि उचित नीति, नियम, वातावरण बनाउन वर्तमान सरकार लागिपरको बताए । 
 
गण्डकी प्रदेशका सभासद रहेका पहारीले आफु फेवातालको क्षेत्रफल बढाउन लागिपरेको उल्लेख गरे । फेवाताल अहिले आसपासका क्षेत्रबाट बगेर आउने माटो, बालुवाले पुरिँदै गएको छ । 
 
त्यस्तै मानिसको अतिक्रमण, जलकुम्भी झारले गर्दा पनि फेवाताल साँघुरो भैरहेकोले त्यसलाई पुरानै अवस्थामा पुर्याउन आफू लागिरहेको बताए । 
 
कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टले समेत फेवाताल मिचेको अदालतले प्रमाणित गरिसकेको उनले बताए । ‘मिचिएको संरचना भत्काएर फेवातालको क्षेत्रफल बढाउन खोज्दा फेरि अदालतमा मुद्धा परेको छ । जसले गर्दा कामहरु देखिनेगरि गर्न सकिएको छैन,’ उनले भने । 
 
प्रदेश सरकारसँग क्षमता हुँदाहुँदै पनि अधिकार नपाएको र क्षमता नहुने स्थानीय सरकारलाई भने जवरजस्ती अधिकारहरु थोपरिएको प्रति समेत उनले गुनासो गरेका थिए । 
 
सहभागीहरुले सरकारको कामकारवाही सन्तोषजनक र जनतामा उत्साह ल्याउने, राहतमुखी नभएको भन्दै प्रश्न राखेका थिए । 
 
सहभागीहरुले विवादास्पद दिगम्बर झाको नियुक्तिले सरकारले सुशासनको संकेत नदिएको धारणा राखेका थिए । त्यसक्रममा पहारीले झा अयोग्य रहेको बताउँदै जनता र सरकारले निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिएका थिए । 
 
प्रवासी मञ्च टेक्ससले आयोजना गरेको कार्यक्रमको सभापतित्व अध्यक्ष मणि भण्डारीले गरेका थिए । त्यस अवसरमा भीम कार्की, जनक राना, कमल ओझा, सुशील क्षेत्री, कृष्ण भट्टराई, चन्द्रमणि पाण्डे, राजेन्द्र वाग्ले, सोफिन थापा लगायतले पहारीसँग बिभिन्न विषयमा जिज्ञासा राखेका थिए ।