मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

नेपाली मन्दिर प्रवेश गर्दै पूर्ब प्रमं डा. भट्टराईले यसो भने

नेपाली मन्दिर प्रवेश गर्दै पूर्ब प्रमं डा. भट्टराईले यसो भने


हिमालयखवर संवाददाता- 
टेक्सस (अमेरिका) – धर्मका सन्दर्भमा बहुसंख्यक नेपालीको भन्दा अलग्गै धारणा राख्दै आएका पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार अमेरिकाको ड्यालसमा नेपाली मन्दिरभित्र प्रवेश गर्दा निकैनै प्रशन्नता व्यक्त गरेका छन् । 
 
बेलाबखतमा हिन्दू धर्म, त्यसले अँगालेका विचारबाट पनि समृद्धता हाँसिल गर्न वाधक भएको धारणा राख्दै आएका नयाँशक्ति पार्टीका संयोजक डा. भट्टराई शनिबार अर्भिङस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिर प्रवेश गरेका थिए । अपरान्ह साढे चार बजे मन्दिरमा पुगेका भट्टराईले त्यहाँ राखिएका भगवानका मूर्तिहरु, संरचनाका बारेमा जिज्ञासा राखेका थिए ।
 
त्यसबखत डा. भट्टराईले मन्दिरका मुलपूजारी डा. शेखर पण्डितको हातबाट टिका र प्रसाद समेत ग्रहण गरेका थिए । मुलपूजारी पण्डितसँग भट्टराईले पूजा विधिका बारेमा जानकारी लिनुका साथै उनीसँग ‘नेपालमा कहाँ हो घर ?’ भनेर जिज्ञासा समेत राखेका थिए । डा. भट्टराईले आफूले पाएको प्रसाद सँगै रहेका अरुलाई पनि बाँडेर खाएका थिए । 
नेपालमा लामो समय राजप्रासाद सेवामा रहेका मन्दिरका मुलपूजारी डा. पण्डित केही वर्षदेखि अमेरिकामा छन् । उनी स्थानीय हिन्दु धर्मसँग संबन्धित कार्यक्रमहरुमा सकृय रुपमा सहभागी हुँदै आएका छन् ।
 
मन्दिरभित्रको संरचनालाई निकै गहिरो अभिरुची लिएर डा. भट्टराईले अवलोकन गरेका थिए । उनी आर्किटेक्चर इन्जिनियर पनि हुन् । डा. भट्टराईसँगै रहेकी पूर्ब मन्त्री हिसिला यमीले पनि मन्दिरको निकै चाख लिएर अवलोकन गरेकी थिइन् ।
 
नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसिएससी) बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्यालले मन्दिरको अवस्था र प्रगतिका बारेमा जानकारी भट्टराई दम्पत्तीलाई जानकारी गराएका थिए । मन्दिर र यसले चर्चेको भवन, जग्गा आफ्नै सम्पत्ति भएको र सबै ‘पेड–अप’ गरिसकिएको अर्यालले जानकारी दिएका थिए । 
 
‘ओहो कति राम्रो रहेछ यहाँको नेपाली समाज । यत्रो मन्दिर र सम्पत्ति जोडिसक्नुभएछ,’ यमीले भनिन् । दुबै जनाले मन्दिरको अतिनै चाख र खुशी मानेर हेरेका थिए । नेपालीले अमेरिकामा रहेर स्थापना गरेको मन्दिरले नेपाललाई जोडेको धारणा भट्टराई दम्पत्तिको थियो । 
 
युएन भोलेन्टिएर हुने इच्छा थियोः
डा. भट्टराईले शनिबारनै एनआरएन अमेरिकाको टेक्सस च्याप्टरले आयोजना गरेको कार्यक्रममा आफ्नो अमेरिका भ्रमणको उद्वेश्यका बारेमा स्थानीय समुदायलाई जानकारी गराएका थिए । 
 
‘गोरखाको पिछडिएको परिवारमा जन्मेको व्यक्ति हुँ, त्यतिखेर एसएलसीमा काठमाडौं बाहिरकाले टप गर्ने भन्ने सोच्न पनि सकिदैनथ्यो,’ उनले भने । इन्जिनियरिङको पढाई सकेपछि संयुक्त राष्ट्रसंघमा भोलेन्टिएर भएर काम गर्ने इच्छा रहेको तर पछि सोचाई बदलिएर आफ्नो मात्र आर्थिक परिवर्तन भन्दा देशकै परिवर्तन गर्नेतिर आफू लागेको बताए ।
उनले देशको परिवर्तनका लागि वाध्यतावशः हतियार सहिको आन्दोलन गर्नुपरेको समेत बताए । परिवर्तन र क्रान्ति अलिक दुःखदायी हुने गरेको बताउँदै उनले संसारको कुनै पनि देश क्रान्ति बिना नबनेको उल्लेख गरे । 
 
डा. भट्टराईले विगतको घाउलाई मलहम पट्टी लगाउन आफू पनि लागिरहेको र सबैले विगततिर नकोट्याउन आग्रह गरे । ‘व्यक्तिगत रुपमा केही भएको रहेछ भने म दुःख व्यक्त गर्न चाहन्छु,’ उनले भने । उनले सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत पीडितहरुलाई उचित क्षतीपूर्ति राहत दिने उद्वेश्य रहेको प्रष्ट पारे । 
 
आपूm मर्ने बेलासम्म नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वको मुलुकमा पु¥याउने लक्ष्य रहेको उल्लेख गर्दै डा. भट्टराईले त्यसका लागि वर्षेनी दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्नुपर्नेमा जोड दिएका छन् । आफ्नो यसपटकको अमेरिका भ्रमणमा नेपालको निम्ति विकासको उपयुक्त मोडल कुन हुनसक्छ भन्ने बारेमा विज्ञ, प्रोफेसरहरुसँग बसेर छलफल गर्ने रहेको बताए ।
 
‘मेरो एउटै लालशा छ–नेपाललाई कसरी समृद्ध बनाउने भनेर । त्यसका लागि यहाँ बसिरहनुभएका तपाईहरु बिभिन्न क्षेत्रमा विशिष्टता बोक्नेहरुलाई नेपाल फर्किनुस् भन्ने मेरो अपिल हो,’ उनले आग्रह गरे । ‘तपाईहरु नेपाल फर्किनुस्, हामी त्यसका लागि वातावरण मिलाउँदैछौँ,’ डा. भट्टराईले भने ।
 
देशमा लगानीका लागि दोहोरो करमुक्त सम्झौता, विप्पा लगायतका गर्न खोज्दा कहिले अदालत त कहिले राष्ट्रघातीको संज्ञा आपूmले बोक्नुपरेको गुनासो समेत उनले गरे । दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि वर्षेनी १२ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने, त्यसका लागि स्वदेश विदेशमा रहेका नेपाली, दातृ निकायको सहयोग नभै नहुने बताए । 
 
‘अमेरिकासँग पनि सरकारले दोहोरो करमुक्त सम्झौता गर्दैछ, त्यसले गर्दा तपाईहरु यहाँ बस्नुभएका नेपालीहरुलाई नेपालमा लगानी गर्दा सहजता हुनेछ,’ भट्टराईको भनाई थियो । 
 
१६ लेनको बाटोमा गाडी चलाएर दुई लेनको विरोधः
डा. भट्टराईले नेपाली समुदायले राखेका प्रश्नहरुको जवाफ पनि दिएका थिए । उनले काठमाडौंको सडक विस्तारको विरोध गरेर सोधिएको प्रश्नप्रति इंगित गर्दै भने–‘यहाँ १६ लेनको सडकमा गाडी दौडाउने अनि नेपालमा दुई लेनको बनाउँदा नकारात्मक कुरा गर्नु हुँदैन ।’
 
काठमाडौंमा सडक विस्तारको लागि डा. भट्टराईले प्रधानमन्त्री हुँदा निकै विरोध खेप्नुपरेको थियो । अहिले विस्तार भएका सडकको श्रेय डा. भट्टराईलाई जान्छ । ‘त्यतिखेर सडक विस्तारका क्रममा पुराना घर नभत्काएको भए भुकम्पको समयमा अझै ठूलो मानवीय क्षती हुनेथियो,’ उनले भने ।
 
एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरी जोशीले समापन गरेका थिए । कार्यक्रमको सञ्चालन एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीले गरेका थिए । 
 
खचाखच भरिएको हलमा उपस्थित नेपाली समुदायका सदस्यहरुले झण्डै डेढ घण्टासम्म डा. भट्टराईका विकासका धारणाहरु सुनेका थिए । त्यस अवसरमा नेपाली समुदायले डा. भट्टराईसँग माओवादीले सुरु गरेको जनयुद्ध, त्यसबाट प्राप्त उपलव्धीका बारेमा समेत जिज्ञासा राखेका थिए ।