मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

प्रमोद रेग्मी : जसले जहाज बनाएर अमेरिका भ्रमण गरे (भिडियोसहित)

प्रमोद रेग्मी : जसले जहाज बनाएर अमेरिका भ्रमण गरे (भिडियोसहित)


काठमाडौँ । संघर्षले सफलता प्राप्त हुन्छ । हरेक मानिसको जीवन यात्रामा आरोह र अवरोह आउँछ । तर धैर्य र साहसका साथ परिस्थितिसँग जुधेर निरन्तर अगाडि बढ्न सक्ने मानिसले नै सफलता हासिल गर्न सक्छ । यस्तै संघर्षशील व्यक्तिमध्ये एक हुन्, इन्जिनियर एवं पाइलट प्रमोद रेग्मी । 
 
काठमाडौँको बालाजुमा जन्मिएका केशव रेग्मी र अम्बिका रेग्मीका सुपुत्र हुन् उनी । हाल अमेरिकाको फोनिक्स, अरिजोनाका स्थायी निवासी प्रमोद सानैदेखि अत्यन्त जिज्ञासु र मेहनती स्वभावका थिए । उनलाई केही न केही नयाँ कुराको आविष्कार गरेर मुलुकलाई योगदान पुर्याउने चाहना थियो ।
 
तरुण माविबाट एसएलसी पास गरेका उनले बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट आधारभूत प्राविधिक शिक्षा हासिल गरे । त्रिचन्द्र कलेजबाट बिएसम्मको अध्ययन गरे । देशको विषम परिस्थितिले गर्दा उचित साधन र श्रोतको अभावमा उनले अवसर हासिल गर्न सकेनन् । र, लागे २०५४ सालमा थप अध्ययनका लागि अमेरिका । 
 
२३ वर्षको युवा उमेरमा सुखद भविष्यको सपना बोकेर अध्ययनको सिलसिलामा अमेरिका भासिएका रेग्मीको चाहना पाइलट बन्ने थियो । प्रतिभाशाली व्यक्तित्व एवं महत्वाकांक्षी स्वभावका रेग्मी केही नयाँ काम गरेर आफ्नो पहिचान बनाउन चाहन्थे । तर, उचित साधन र श्रोतको अभावमा उनको सपना अधुरै रहेको थियो । 
 
अमेरिका छिरेपछि पनि अधिकांश दिनहरू उनका लागि सुखद हुन सकेनन् । अधिकांश समय संघर्ष गर्दैमा बिते । उचित अवसरको खोजीमा रहेका उनी सर्वप्रथम आफ्नो अध्ययन पूरा गर्नु थियो । र, अमेरिकामा आफूलाई स्थापित गर्नु थियो । यी दुवै चुनौतीहरू पार गरिसकेपछि बल्ल उनले आफ्नो सपनालाई निरन्तरता दिने अठोट गरे ।
 
उनले सपनाको सहर मानिने अमेरिकामा मेसा टेक्निकल स्कुलबाट इलेक्टिकल इन्जिनियरको अध्ययन पूरा गरे । साथै एरोजिम अवाजनबाट पाइलट कोर्स पनि पूरा गरे । पेसाले इन्जिनियर रहेका रेग्मीले पाइलटको कोर्स पूरा गरी लाइसेन्स लिइसकेपछि प्लेन पनि आफैँ बनाउने अठोट गरे ।
 
उनको अठोट सहज भने पक्कै थिएन । उनीमाथि  चुनौतीका पहाडहरू थिए । त्यसमा आर्थिक पक्षलगायत प्राविधिक कठिनाइ पनि थिए । जसका लागि लगनशीलता, अध्ययन, अनुसन्धान, सन्तुलित दिमाग, कठिन परिश्रम, आत्मविश्वास, धैर्यता चाहिन्थ्यो । 
 
तर, रेग्मीले निरन्तर उद्देश्य प्राप्तिको लागि अगाडि बढ्दै गए । परियोजनालाई सफल बनाउन डेढ वर्षसम्म कसैसँग पनि सम्पर्क गरेनन् । उनी मात्र आफ्नो कार्यमा अगाडि बढ्दै गए । परियोजना सफल बनाउन आफ्नो नियमित कामबाहेक अन्य समयमा घण्टौँ समय ग्यारेजमा बिताउन थाले । उनी यति खट्थे कि परिवारलाई समेत भेट्ने समय थिएन । छोराछोरी र श्रीमतीले ग्यारेजमै गएर भेट्नु पर्दथ्यो ।
 
डेढ वर्षको उनको अथक प्रयास, लगातारको मेहनत र परिश्रमको वावजुद उनको यो परियोजना सफल भएको छ । अन्य देशको तुलनामा यो सामान्य भए पनि नेपालको सन्दर्भमा भने प्लेन बनाउने उनी पहिलो व्यक्ति भएका छन् । 
 
मिहिनत गरे संसारमा असम्भव भन्ने केही छैन भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् । मिहिनतबाहेक प्लेनको कुल लागत डेढ करोड नेपाली रुपैयाँ खर्च भएको उनले बताएका छन् । 
 
हाल उनको प्लेनले अमेरिकी सरकारको हवाई विभाग यूएस गर्भन अफ एफएएमा जुन ४ २०१८ मा सूचीकृत हुनुका साथै उडान अनुमतिसमेत लिइसकेको छ । उनी एक्लैले तयार पारेको प्लेनको सफल परीक्षण एवं सफल उडानसमेत गरिएको छ । उनको पहिलो सफल उडान १४ जुन २०१८ मा गरिएको थियो । जसको समयावधि डेढ घण्टाको थियो । २०१९ भित्रमा अमेरिकाका सबै स्टेटहरूमा उडान भर्ने उनको लक्ष्य छ ।
 
साधन, श्रोत र अवसर पाए नेपालीले पनि ठूला काम फत्ते गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण हुन् प्रमोद रेग्मी । प्राविधिक ज्ञानको माध्यमद्वारा स्वदेश तथा विदेशी मुलुकमा नाम र शान उँचो पार्न अहोरात्र खटिने यस्ता होनहार प्रतिभालाई राज्यले अवश्य कदर गर्ने नै छ । 
 
राज्यबाट आवश्यकता महसुस भए इन्जिनियरिङ र पाइलटिङको क्षेत्रमा आफूले सकेको सहयोग गर्न तयार रहेको उनी बताउँछन् ।