मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इतिहासको कालो दिनलाइ अमेरिकाभरि स्मरण गरिदै

इतिहासको कालो दिनलाइ अमेरिकाभरि स्मरण गरिदै


हिमालयखबर संबाददाता
वासिङटन डिसी (अमेरिका) – घुम्दैफिर्दै अमेरिकी इतिहासकै सबैभन्दा कालोदिन सेप्टेम्बर ११ फेरि अाइपुगेको छ। अमेरिकाको अार्थिक राजधानी न्युयोर्कमा अाज मंगलबार विशेष प्रार्थना सभाको आयोजना गरी सेप्टेबर ११ को सम्झना गरिँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारनै पेन्सलभेनियामा अायोजित विशेष कार्यक्रममा उक्त अातंककारी हमलामा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । 
 
राम्रो उद्वेश्यका लागि तयार पारिएका यन्त्र र प्रविधि समेत अातंककारीले चाहेमा मानिसलाइ दुख, यातना दिने उपकरण हुन सक्दो रहेछ भन्ने तथ्य यो घटनाले समेत पुष्टी गरेको छ । संसारलाइ नजिकबाट जोड्ने हवाइजहाज समेत अातंककारीले दुरूपयोग गरेर संसारलाइ पीडा दिने साधन हुनपुग्यो । 
 
विश्वमै सबैभन्दा सुरक्षित मानिने अमेरिकाको प्रमुख सहर न्युयोर्क र रक्षा मन्त्रालय रहेको पेन्टागनमाथि गरिएको अकल्पनीय आतंकवादी आक्रमण भएको १७ वर्ष भएको छ । करिब तीन हजार मानिसको ज्यान लिएको र छ हजारभन्दा बढीलाई घाइते बनाएको साथै अर्बौं डलरको भौतिक क्षति पुर्याएको यो आतंकवादी आक्रमण अमेरिकाकै इतिहासमा कहिल्यै नभएको र कल्पनासम्म पनि नगरिएको घटना हो । यो घटनापछि सुरु गरिएको आतंकवादविरुद्धको विश्वव्यापी अभियान अहिले पनि जारी छ । यो अभियानले आतंकवादलाई समाप्त पार्न आतंंकवादलाई संरक्षण दिने तानाशाही अतिवादी सत्ता चलाउने शासकविरुद्ध कारबाही गर्नुका साथै अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा विन लादेनलाई मार्न सफलता मिलेको छ । तर पनि आतंकवाद र आतंकवादी गतिविधि भने विभिन्न रूपमा प्रकट भएका छन्, यसलाई निमिट्यान्न पार्न सकिएको छैन । 
 
सन् २००१ को सेप्टेम्बर ११ अमेरिकाको इतिहासमा सबैभन्दा नराम्रो दिन हो । अमेरिकीहरूले यस दिनलाई कालो दिनका रूपमा स्मरण गर्ने र आतंकवादविरुद्ध लड्ने प्रण गर्ने गर्दछन् । सो आक्रमणअघिसम्म अमेरिकीहरू आफ्नो मुलुकमाथि कुनै पनि बाह्य आक्रमण हुन सक्दैन भन्ने गर्व गर्दथे । उनीहरू बढी विश्वस्त थिए मुलुकको सुरक्षा संयन्त्र र व्यवस्थाप्रति । तर सेप्टेबर ११ को घटनापछि अमेरिका आतंकवादीहरूप्रति बढी चिन्तित छ । उनीहरूको एउटै मात्र चाहना के छ भने अब सेप्टेम्बर ११ को जस्तो घटना यो मुलुकमा कहिल्यै दोहोरिन नपाओस् । त्यसका लागि सरकारले मुलुकको सुरक्षा संयन्त्र र सुरक्षा प्रणालीलाई सबैभन्दा व्यवस्थित र आधुनिक बनाओस् । आम अमेरिकीहरूको यो चाहनालाई सर्वोपरि राख्दै अमेरिकी सरकारले शान्ति, सुरक्षा, स्वाभिमान र राष्ट्रिय हितलाई नै विशेष आफ्नो प्रमुख एजेन्डा बनाएको छ । 
 
सेप्टेम्बर ११ को घटना अमेरिकाविरुद्ध मात्र लक्षित थिएन, विश्वकै शान्ति र समृद्धि, विज्ञान र प्रविधिको अधिकतम विकासमाथिको आक्रमण थियो । त्यही भएर नै सो आक्रमणविरुद्ध अमेरिकाले सुरु गरेको आतंकवादविरुद्धको विश्वव्यापी अभियानलाई विश्वका अधिकांश मुलुकले सहयोग र समर्थन गरेका हुन् । 
 
अल कायदाका प्रमुख विन लादेनको योजना अनुसार सन् २००१ सेप्टेम्बर ११ तारिखका दिन बिहान अमेरिकाको आन्तरिक उडानमा रहेका चारवटा यात्रुवाहक विमान १९ जना अपहरणकारीले अपहरण गरी अमेरिकाको प्रमुख व्यापारिक राजधानी रहेको प्रमुख सहर न्युयोर्कस्थित विश्वव्यापार केन्द्र रहेका जुम्ल्याहा भवन, राजधानी वासिङ्टन डीसीस्थित रक्षा मन्त्रालय रहेको पेन्टागनमाथि विमान ठोक्याएर भीषण आत्मघाती आक्रमण गरे । विश्वकै समृद्धिको प्रतीक मानिने विश्वव्यापार केन्द्रमा अमेरिकन एअरलाइन्स फ्लाइट ११ र युनाइटेड एअरलाइन्सको फ्लाइट १७५ प्रयोग गरी आक्रमण गरियो । सो आक्रमणबाट दुई घण्टाभित्रमै ११० तले विश्व व्यापार केन्द्र ध्वस्त भयो । सो केन्द्रमा दुई हजार ६०६ जनाको ज्यान गयो भने पाँच हजारभन्दा बढी घाइते भए । 
 
अपहरण गरिएको तेस्रो विमान अमेरिकन एअरलाइन्स फ्लाइट ७७ वासिङ्टनस्थित रक्षामन्त्रालय रहेको पेन्टागनमा लगेर ठोक्काइयो । सो आक्रमणबाट पेन्टागनको एक भाग ध्वस्त भयो भने १२५ जनाको ज्यान गयो । अपहरण गरिएको चौथो विमान अमेरिकन एअरलाइन्स फ्लाइट ९३ वासिङ्टनस्थित संसद् भवन अर्थात् क्यापिटल हिलमा ठोक्काउन लगिएकोमा यात्रुहरूले नै अपहरणकारीलाई नियन्त्रणमा लिई त्यता लैजान रोकेपछि पेन्सिल्भानियामा पुगेर दुर्घटनाग्रस्त भएको थियो । यात्रुहरूको अवरोधका कारण संसद् भवन ध्वस्त पार्ने योजना भने विफल भयो । जुन तथ्यलाइ मंगलबार राष्ट्रपति ट्रम्पले स्मरण गर्दै अाफु मरेर भएपनि ठूलो जनधनको क्षती हुनबाट जोगाउने विमानका यात्रुलाइ सम्मान गर्दै राष्ट्रका हिरोको उपमा दिए । 
 
सेप्टेम्वर ११ मा भएको आतंकवादी आक्रमणमा चारवटा विमानमा रहेका २४६ यात्रु, १९ जना अपहरणकारी, विश्व व्यापार केन्द्रमा दुई हजार ६०६ र पेन्टागनमा १२५ गरी कुल दुई हजार ९९६ जनाको ज्यान गएको र छ हजार जना घाइते भएको अनुमान छ । घटनामा प्राप्त अन्य प्रमाणका आधारमा अन्य हजारौँ मानिस बेपत्ता भएको आशंका गरिएको छ । विश्व व्यापार केन्द्रको भग्नावशेषबाट पहिचान गर्न नसकिएका करिब १० हजार हाड र मांसपिण्ड संकलन भएको थियो । सो आक्रमणमा अमेरिकालगायत विश्वका ९२ मुलुकका नागरिक मारिएका थिए । 
 
आतंकवादी आक्रमणबाट ध्वस्त भएको विश्व व्यापार केन्द्रलाई ग्राउण्ड जिरो नामकरण गरी अहिले सोही स्थानमा अमेरिकी महादेशकै सबैभन्दा अग्लो टावर वान वर्ल्ड ट्रेड सेन्टर निर्माण गरिएको छ । सो सेन्टर एक हजार ७७६ फिट अर्थात् ५४१ मिटर अग्लो छ । 
 
विश्वको शान्ति र स्थायित्वका लागि अहिले सबैभन्दा ठूलो चुनौती बनेको आतंकवादलाई समाप्त पार्न नसकिएसम्म विश्वमा केही पनि सुरक्षित रहन नसक्ने निष्कर्ष निकाल्दै अमेरिकाले सुरु गरेको अभियानप्रति प्रत्यक्ष वा परोक्ष रूपमा अधिकांश मुलुकहरूले सहयोग र समर्थन गर्दै आएका छन् । 
 
अमेरिकाले सो अभियानअन्तर्गत आतंकवादीलाई संरक्षण गरेको भन्दै अफगानिस्तान र इराकमाथि सैन्य कारबाही गरी दुवै मुलुकका अतिवादी सत्ता फ्याँक्न सफल भएको छ । अफगानिस्तानमा अतिवादी सत्ता चलाएका इस्लामिक उग्रवादीहरू– तालिवानलाई सत्ताच्युत गरी लोकतान्त्रिक शासन प्रणाली स्थापना भएको छ । अफगानिस्तानमा लोकतन्त्र आए पनि त्यसलाई संस्थागत गर्न विद्रोही तालिवान र अल कायदा नै प्रमुख चुनौती बनेका छन् । अमेरिकाको नेतृत्वमा त्यहाँ तैनाथ नेटो सेनाले शान्ति स्थापना गर्न जिम्मा त लियो । अनि पछि सुरक्षा जिम्मा त्यहीँको सेनालाई जिम्मा लगाएर नेटो सेना सन् २०१४ को अन्त्यमा अफगानिस्तानबाट फिर्ता भएको छ । 
 
त्यसै गरी, आतंवादविरुद्धकै अभियानका क्रममा जैविक, रासायनिक र आणविक हतियार जोहो गरी लोकतान्त्रिक विश्वलाई धम्क्याउने काम गरेको र आतंवादीहरूलाई प्रश्रय दिएको भनी तत्कालीन इराकी शासक सद्दाम हुसेनविरुद्ध अमेरिकाले गरेको अर्को सैन्य कारबाहीले सद्दामको सत्ता मात्र ढलेन, विगतमा गरेका मानवताविरोधी अपराधमा उनलाई फाँसीमा झुण्ड्याउने काम भयो । 
 
सद्दामको निरंकुशसत्ता ढलेपछि त्यहाँ पनि लोकतान्त्रिक शासन व्यवस्था सुरु भएको छ । तर सद्दाम समर्थकहरू र कट्टरपन्थी अतिवादीहरूले त्यहाँ आतंक मच्चाउन अहिले पनि छाडेका छैनन् । सुरक्षा चुनौती आफ्नो ठाउँमा भए पनि अफगानिस्तान र इराकमा अतिवादी सत्ता ढाली लोकतन्त्र स्थापना गर्न मिलेको सफलता आतंवादविरुद्धको अभियानमा एक महìवपूर्ण उपलब्धि हो । त्योभन्दा पनि ठूलो उपलब्धि भनेको एकदशक लामो र अत्यधिक खर्चिलो प्रयासबाट अल कायदाका प्रमुख विन लादेनलाई पत्ता लगाई मार्नुलाई लिइएको छ । 
 
अर्बौँ डलर खर्च गरेर लामो समय लगाएर भए पनि आफ्नो सबैभन्दा ठूलो शत्रु विन लादेनलाई मार्न सफल भएकोमा अमेरिकाले यसलाई आतंकवादीवरुद्धको अभियानको सबैभन्दा ठूलो सफल घटनाका रूपमा लिएको छ । अमेरिकी सेनाको विशेष कमाण्डोले २०११ को मे १ मा पाकिस्तानमा लुकी बसेका विन लादेनलाई नाटकीय ढंगले आक्रमण गरी मार्न सफल भएको थियो । 
 
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर अाएपछि अातंकवाद विरूद्ध अमेरिका अझै कडा रूपमा प्रस्तुत हुने संकेत मिलेको छ ।
 
तस्बिर: सामाजिक सञ्जाल