मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पोखरालाई पर्यटकीय राजधानी बनाउन हानको प्रस्ताव

पोखरालाई पर्यटकीय राजधानी बनाउन हानको प्रस्ताव


पोखरा , होटल सङ्घ नेपाल (हान)ले पोखरा महानगरपालिकालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रस्ताव गरेको छ । 
 
पोखरामा आयोजित अन्तरक्रियामा पर्यटन व्यवसायी, प्रदेशका मुख्यमन्त्री, मन्त्री र पोखराका महानगरका प्रमुखलाई सँगै राखेर सङ्घले पोखरालाई दक्षिण एशियाको पर्यटकीय प्रवेशद्वार बनाउन सकिने अवधारणासहित पर्यटकीय राजधानीको प्रस्ताव गरेको हो । 
 
सङ्घका अध्यक्ष अमरमान शाक्यले गण्डकी प्रदेशमा दिगो पर्यटन विकास गर्दै यसलाई समृद्ध प्रदेशका रुपमा अगाडि बढाउन सकिने बताउँदै यसका लागि सङ्घीय सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिए । 
 
प्रदेश सरकारले पर्यटनमैत्री तथा लगानीमैत्री नीति तर्जुमा गर्दै पोखरालाई विशेष पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाएर दशौँ लाख पर्यटक भित्र्याउन सकिने धारणा उनले व्यक्त गरे । 
 
सङ्घका पूर्वअध्यक्ष एवम् होटल सङ्घ नेपालका पूर्वअध्यक्ष परिषद् गण्डकी प्रदेशका संयोजक प्रसिद्धबहादुर पाण्डेले हरेक उमेर, क्षमता र अवस्था भएका पर्यटकका लागि पोखरा उपयुक्त पर्यटकीय गन्तव्य भएको अवधारणापत्र प्रस्तुत गरे । 
 
पोखरालाई मास तथा माइस ९एमआइसिई० टुरिज्मको गन्तव्यका रुपमा विकास गर्न आक्रामक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गर्दै सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन उनले सरकारको ध्यानाकर्षण गराए । 
 
अवधारणापत्रमा होटल तथा रिसोर्ट खोल्न सरकारी जग्गा भाडामा दिन सकिने व्यवस्था हुनुपर्ने, करीब पाँच प्रतिशत ब्याजदरमा बैंक कर्जा उपलब्ध हुनुपर्ने र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने उल्लेख छ । 
 
त्यस्तै सरकारले १० वर्षका लागि कर मिनाहा गर्नुपर्ने, विदेशबाट ल्याइने वस्तुको आयातकर छुट हुनुपर्ने र स्थानीय उत्पादनमा मूल्य अभिवृद्धि कर आधा कम हुनुपर्ने प्रस्ताव अवधारणापत्रमा गरिएको छ । 
 
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हानले ल्याएको अवधारणा सकारात्मक रहेको बताउँदै प्रदेश सरकार अहिले नीतिनिर्माणकै विषयलाई केन्द्रमा राखेर अगाडि बढेको छ भने । 
 
काठमाडौँ, पोखरा, भैरहवा र निजगढमा विमानस्थल सुधार तथा निर्माण भएपछि र पोखरा जोड्ने मध्यपहाडी, पृथ्वी, सिद्धार्थ र कोरला हुँदै त्रिवेणी जोड्न राजमार्ग निर्माण तथा विकास भएपछि पोखरा पर्यटनको विशिष्ट केन्द्र बन्ने उल्लेख गर्दै उनले पर्यटकीय विकासका लागि लेकसाइडलाई २४ घण्टा नै खोल्ने वातावरण बनाउनुपर्ने तथा डाँडाकाँडामा होटल र क्यासिनो खोल्नुपर्ने धारणा व्यक्त गरे । 
 
मुख्यमन्त्री गुरुङले मुस्ताङमा हाइ अल्टिच्युड खेल केन्द्र खोल्ने तथा लगानी सम्मेलन गर्ने प्रदेश सरकारको चाहना रहेको बताए । 
 
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लिगलिगकोटमा इतिहाससम्बन्धी सङ्ग्रहालय र पोखराको विजयपुर खोलामाथि आकर्षक सिग्नेचर ब्रिज निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिँदै नागरिकमा कर तिर्नुपर्छ भन्ने भावना भयो भने सरकारले विकास निर्माणमा खर्च गर्ने रकम प्राप्त गर्ने बताए । 
 
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई पर्यटक ट्रान्जिटका रुपमा नभई हवका रुपमा विकास गर्नुपर्ने, फेवा तालको संरक्षण गर्नुपर्ने र यसका लागि भाषण मात्र नभई कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने सुझाव दिए । 
 
पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटकीय पूर्वाधारको विकास, पर्यटकलाई सहज पहुँचको व्यवस्था र बैंकको चर्को ब्याजदरलाई न्यून गर्न सके पर्यटनमा लगानी र पर्यटक आगमनसमेत बढ्न सक्ने धारणा व्यक्त गरे । 
 
कार्यक्रममा गण्डकी प्रदेशका सदस्यद्वय दीपक कोइराला, मनबहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य विश्वशङ्कर पलिखे, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, हानका उपाध्यक्ष सिर्जना राणा र अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरलगायतले पर्यटन क्षेत्रको विकास, विस्तारका सरकार र पर्यटन व्यवसायीले गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश पारे । रासस