मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकी डलरको भाउ बढ्यो, यसको असर के हुनसक्छ

अमेरिकी डलरको भाउ बढ्यो, यसको असर के हुनसक्छ


करिब ९ महिनाअघि एक अमेरिकी डलर करिब १०१ रुपैयाँ थियो । एक महिना अघिसम्म पनि डलर ११० रुपैयाँ वरिपरि किन्न पाइन्थ्यो । तर, गत शुक्रवार एक डलर करिब ११५ रुपैंयाको हाराहारीमा पुगेको छ । अमेरिकी डलर नेपालमा किन महँगो भयो अव आउने दिनमा अझ महँगो हुन्छ की सस्तो ?
 
करिब १५ वर्ष अघि नेपालमा अमेरिकी डलरको मूल्य अहिले जस्तै लगातार बढिरहेका बेला खरो टिप्पणी गर्ने स्वभावमा त्यसवेलाका चर्चित अर्थशास्त्री डा राधवध्वज पन्तलाई यही प्रश्न सोध्दा उनले भने यो प्रश्न मलाई त के नेपाल राष्ट्र बैंकका गभर्नरलाई सोधे पनि उत्तर दिन सक्दैनन् भारतीय रिजर्व बैंकका गभर्नरलाई गएर सोध ।
 
अहिले अमेरिकी डलर ११५ रुपैयाँ नजिक किन पुग्यो । यसको उत्तर नेपालको अर्थतन्त्रमा खोजेर, राष्ट्र बैंकका गभर्नरलाई सोधेर पाइँदैन । भारतको मुद्रा बजारमा हुने भारतीय रुपैंयाको मूल्यले डलर र नेपाली रुपैंयाको भाउ निर्धारण हुन्छ । भारु १०० बराबर नेरु १६० को दर स्थायी दर निर्धारण गरिएको छ । करिब ३५ वर्ष देखि यही दर कायम छ । भारु १०० बराबर १६० नेरु दर अहिले कति सान्दर्भिक छ, यसको कहीँ कतै अध्ययन सम्म नभएको धेरै वर्ष भयो । राष्ट्र बैंक विशिष्ट श्रेणीको कर्मचारी हुदां डा युवराज खतिवडा अनौपचारिक रूपमा यो दरको सान्दर्भिकता प्रति प्रश्न उठाउने गर्थे । उनी पाँच वर्ष गभर्नर भए, अहिले अर्थमन्त्री छन् । तर, यो विषयमा मौन नै रहे ।
 
नेपाली रुपैंयाको अवमूल्यन आर्थिक विषय हो । तर, यसले न्यून आय हुने देखि धनीसम्म सबैलाई असर पार्छ । नेपालमा प्रमुख चाडपर्व नजिक आइरहेको वेला भएको डलरको मूल्य वृद्धिले प्राय सबै नेपाली परिवारलाई छुन्छ । चाडपर्व मनाउन पहिले भन्दा महँगो पर्ने छ ।
 
 गत शुक्रवार भारतमा प्रति डलर करिब ७२ रुपैयाँ भारु पुगेको छ । एक महिना यता भारुसँग करिब १० प्रतिशतले डलर महँगो भएको छ । भारतले यस पटकको यो गिरावटलाई रोक्न खोजेको छैन । भारतका अर्थमन्त्री अरुण जेट्लीले भारुको गिरावट भारतीय अर्थतन्त्रको कारण नभई अन्तराष्ट्रिय कारणले गर्दा भएको बताएका छन् । अर्थमन्त्री जेट्लीको यो जवाफले भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया तत्काल भारुलाई मजबुत बनाउन बजारमा हस्तक्षेप गर्ने पक्षमा छैन भन्ने संकेत गर्छ । मुद्रा बजारमा हस्तक्षेप गरेर अहिलेको गिरावटलाई रोक्दा भारतीय अर्थतन्त्रलाई बेफाइदा हुने भएकालेपनि जेट्लीले यस्तो जवाफ दिएको हुनुपर्छ ।
 
भारतको अर्थतन्त्र कमजोर भएर भारुमा गिरावट आएको भने होइन । भारतको आर्थिक वृद्धिदर उच्च छ । विदेशी मुद्राको संचितीपनि मजबुत अवस्थामै छ । तर, बढ्दो आयातले गर्दा व्यापार घाटा पनि आकासिएको छ । यो भारतको अर्थतन्त्रको चिन्ताको विषय हो । बढ्दो आयातले भारतमा डलरको माग बढेको छ । निकासी बढाउन भारतले चीनसँग प्रतिस्पर्धा गर्नु पर्छ । चीनले आफ्नो मुद्रा युयानलाई कमजोर बनाएकाले पनि भारत मजबुत भारु बनाउन नचाहेको जस्तो देखिन्छ । प्रति डलर भारु ७३ हुदांसम्म कुनै चिन्ताको विषय नभएको विश्लेषण भारतीय अर्थशास्त्रीहरूले गरेका छन् । यस आधारमा नेपालमा प्रति डलर ११७ रुपैंयासम्म पुग्न सक्छ ।
 
भारतमा प्रति डलर ७३ भारुलाई नेपाली रुपैंयामा गणना गर्दा यो हिसाब आएको हो ।