मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

महाबीर पुनले जब झिङ्गा पालेर दाना बनाउने कुरा सुनाए

महाबीर पुनले जब झिङ्गा पालेर दाना बनाउने कुरा सुनाए


हिमालयखबर संबाददाता
ड्यालस (टेक्सस) – शरिर, मन र मस्तिष्कमा राष्ट्रिय आविष्कार केन्द्रलाई बोकेर एक दशकदेखि निरन्तर कृयाशील डा. महाबीर पुनले आइतबार टेक्ससको ड्यालसमा नेपाली समुदायसँग अन्तरकृया गरेका छन् ।
 
एनआरएन टेक्सस च्याप्टरको आयोजनामा भएको कार्यक्रममा पुनले झण्डै तीनघण्टासम्म नेपाली समुदायसँग कुराकानी गरे । त्यस अवसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नुको उद्वेश्य, अहिलेसम्मको अवस्था र भविष्यको योजनाका सम्बन्धमा जानकारी दिए ।
 
‘जुन देशमा प्रविधिको विकास र विस्तार हुन सक्दैन, त्यो देशले आर्थिक रुपमा विकास गर्न सक्दैन,’ उनले भने–‘नेपाल आर्थिक रुपमा पछि पर्नुको कारण प्रविधिको विकास र विस्तार हुन नसकेकै कारणले हो ।’
 
‘हातमा शीप बोकेको व्यक्तिलाई हेयको दृष्टिले हेर्ने र तल्लो जातको भनेर व्यबहार गरेपछि प्रविधिको विकास एवं विस्तार कसरी होस् त ?’ उनले समाजसँग प्रश्न गरे । अहिलेकै स्पिरिटमा काम गर्न सकेमा ५० देखि एकसय वर्षभित्रमा आविष्कार केन्द्र पनि एमआइटी (म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी) जस्तै संस्था हुने समेत बताए । 
 
उनले विज्ञान तथा प्रविधिलाई विकास नगरि संसारका कुनैपनि मुलुक समुन्नत नभएको दृष्टान्त दिँदै यो क्षेत्रमा ठूलो रकम लगानी गर्नुपर्ने अवस्था रहेको बताए । विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्नकै लागि भनेर खडा गरिएका संस्थाहरुलाई पङ्गु बनाइएको, यो क्षेत्रको महत्व नबुझेर लगानीनै नगरिएकाले देश झनझन गरीब हुँदै गएको तथ्यलाई उनले प्रस्तुत गरे ।
 
‘खुद्रा मसिना काम गरेरमात्र अब नेपाल विकास हुँदैन, सबै क्षेत्रमा वृहद रुपमा लगानी गर्नुपर्छ,’ उनले भने । 
 
आविष्कार केन्द्र मार्फत भैरहेका प्रविधिको इन्नोभेसनका बारेमा पनि उनले जानकारी दिए । झिङ्गा पालेर त्यसबाट कुखुराको दाना बनाउने, गर्मीको समयमा आउटडोर काम गर्नेलाई काम गर्न सहज होस् भनेर ‘एअर कण्डिसनर सुट’ को अनुसन्धान, ड्रोनको प्रयोगले दुर्गम गाउँमा औषधीको ढुवानी जस्ता १४ वटा क्षेत्रमा अनुसन्धान भैरहेको जानकारी उनले दिए । 
 
पुनले फोहोरको डुङ्गुर बनाएर त्यसमा झिङ्गा पाल्ने र लार्भा निकालेर कुखुराको दाना बनाउने प्रविधि सुनाउँदा स्थानीय नेपाली समुदायले निकै चाख दिएर सुने । यो प्रविधिमा समेत आविष्कार केन्द्रको टीमले अध्ययन गरिरहेको छ । 
 
‘अहिलेको अनुसन्धान सफल भएको खण्डमा व्यबसायीक रुपमा उत्पादन गरेर संसाभरि जान सकिन्छ । जसबाट नेपालमै ठूलोमात्रामा रोजगारी बढ्ने र आर्थिक रुपमा मुलुक सवल हुनेछ,’ उनले भने । 
 
आफ्नो अभियानलाई महाबीर पुनको अभियानका रुपमा नहेरिदिन आग्रह गर्दै उनले नेता, प्रशासकलाई बुझाउन समय लागेकोले देशले लिनुपर्ने अभियानलाई केही समयका लागि आफुले अघिमात्र बढाएको बताए । उनले सरकारबाट सहयोग कुर्दाकुर्दा चार वर्ष खेर गएपछि देश विदेशमा रहेका नेपालीहरुको सहयोग र सद्भावले केन्द्रलाई अघि बढाएको समेत जानकारी दिए । 
 
कार्यक्रममा उपस्थित नेपाली समुदायका अगुवाहरुले पुनसँग केन्द्रको स्थायीत्व, अन्य वैकल्पिक क्षेत्रका बारेमा चासो राखेका थिए । 
 
सोही अवसरमा काठमाडौंमा मानसिक रुपमा कमजोर बालबालिकाका लागि स्कुल सञ्चालन गरिरहेकी एसएसडीआरसीकी संस्थापक सबिता उप्रेतीले आफ्नो संस्थाले गरिरहेको कार्यका बारेमा जानकारी दिएकी थिइन् । गत साता सिकागोमा सम्पन्न कार्यक्रममा महिला फोरममा विज्ञ वक्ताकी रुपमा आएकी सबिताले अमेरिकामा रहेका नेपाली समुदायसम्म पुगेर संस्थाका बारेमा जानकारी दिने बताइन् । 
 
एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिनेश शर्मा र ज्योति ओझाले गरेका थिए । 
 
त्यस अवसरमा डा. पुनको अभियानका लागि उपस्थित व्यक्तिहरुले एनआरएन टेक्सस च्याप्टर मार्फत सहयोगको प्रतिवद्धता समेत जनाएका थिए । 
 
अमेरिकामा रहेका नेपालीहरुलाई आविष्कार केन्द्रका बारेमा जानकारी दिने उद्वेश्यले ५० दिनको अभियानमा आएका पुनले बिभिन्न राज्य-शहरहरुमा रहेका नेपालीहरुलाई भेटेर अन्तरकृया गर्दैछन् । यसअघि सिकागो, डेनभर र ह्युस्टनमा उनले नेपाली समुदायसँग अन्तरकृया गरिसकेका छन् । 
 
उनले मंगलबार फ्लोरिडामा नेपाली समुदाय तथा विद्यार्थीसँग छलफल गर्दैछन् । अमेरिका र क्यानडाका बिभिन्न स्थानमा हुने अन्तरकृयामा उनी सहभागी हुनेछन् ।
 
म्यागासेसे पुरस्कार प्राप्त गरेका पुनले नेपालमा पनि थुप्रै पदकहरु पाइसकेका छन् । २६ वर्ष अघि अमेरिकाकै युनिभर्सिटी अफ नेब्रास्काबाट उनले पिएचडी गरेका थिए । त्यसपछि नेपाल फर्किएर सूचना प्रविधि, पर्यटन, कृषिका क्षेत्रमा काम गरिरहेका छन् ।