मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणी नदी कटानबाट एक हजार घर जोखिममा, सुरक्षित रहन अनुरोध

नारायणी नदी कटानबाट एक हजार घर जोखिममा, सुरक्षित रहन अनुरोध


चितवन । नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् । 
 
भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा एकसय मिटर तटबन्ध बगाएर नदीले छेउको जमिन कटान गरेपछि त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।  
 
नदी कटान बढेपछि नजिकैका दुई घर स्थानान्तरण गरिएको र अन्य केही घर स्थानान्तरण गर्ने क्रममा रहेको उनले बताए । नदीले कटान गरिरहेका ठाउँमा तारजाली र बोरामा बालुवा, ढुङ्गा, गिट्टी भरेर नियन्त्रणको प्रयास भइरहेको छ । 
 
मंगलबार बिहान अकस्मात् नदीले तटबन्ध बगाएपछि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको नेतृत्वमा प्रजिअ बस्नेतसहित सुरक्षा निकायका प्रमुखलगायत प्रभावित ठाउँमा पुगेका थिए । 
 
सो ठाउँमा अहिले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी, स्थानीयलगायतले नदी नियन्त्रणमा लागिपरेको प्रमुख दाहालले बताइन् । नदी पसेमा वडा नं २८ का सम्पूर्ण बस्ती पूर्णरुपमा प्रभावित हुने भएकाले सतर्क रहन प्रशासनले सूचना जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणी नदीको कटानबाट प्रभावित बस्तीहरुलाई सुरक्षित हुन मंगलबार अनुरोध गरेको छ ।
 
प्रशासकीय अधिकृत रामचन्द्र ढकालले जारी गरेको सूचनामा भरतपुर महानगर २८ का साविक मेघौली १, २ र ३ का सालबास, सिसाबास पर्साबजार, लौखरी, गोलाघाट र अनौली आसपासका बस्तीहरुमा बाढी पस्ने सम्भावना देखिएकाले सुरक्षित रहन अनुरोध गरिएको छ ।