विचार / ब्लग

प्रविधि भनेको फेसबुक र युटूबमात्र होइन

345 पटक पढिएको

- सरोज निश्चल अधिकारी

2nd Sep 2018, Sunday | २०७५ भाद्र १७, आईतवार १८:४५
कहिलेकाहिँ २०६२/६३ को जनआन्दोलनलाई सम्झिन्छु म । जनताको कत्रो जोश, जाँगर, उत्साह अनि परिबर्तनका लागि एकजुट भएर आन्दोलनमा होमिएका राजनीतिक दलहरु । नुवाकोट सदरमुकाममा हरेक दिन राजतन्त्र बिरुद्द जुलुस र्याली सभाहरु हुन्थे | जुँगाको रेखी बस्ने सुरसार गर्दैको म १३/१४ बर्षको फुच्चे पनि त्यो आन्दोलनमा सहभागी हुन कता कता बाट जोश थियो त्यतिखेर । 
 
राम्रो सम्झना त छैन, तर १९ दिन मध्ये ११/१२ दिन म सहभागी भएको थिए आन्दोलनमा । चैत महिना स्कुल पनि बिदा अनि के चाहियो | तत्कालिन अवस्थामा सकृय राजनीति गर्ने हाम्रो परिवारमा कोहि नभए पनि हजुरबा बुवा अनि अङ्कलहरु बीच घरमा हुने राजनीतिक कुराकानीलाई म सधै चासो दिएर सुन्ने भएर होला मलाई कता कता राजनीति प्रति लगाव बसिसकेको थियो । हाम्रो गाऊ बागेश्वरी चोकदे ( हाल सुर्यगढ़ी गाउँपालिका) मा झन् राजनीति बढी हुने ठाउँ थियो नुवाकोटको । 
 
त्यतिखेर आन्दोलनमा सहभागी हुदै गर्दा मलाइ त्यो ज्ञान थिएन कि म केका लागि आन्दोलनमा सहभागी हुदै छु र त्यसको उपलब्धि भोलि के हुनेछ भनेर । तत्कालिन समयका नुवाकोट नेबिसंघका नेता मछिन्द्र खड्का मैले अध्ययन गर्ने जाल्पा देवी (जेडी) बोर्डिंग स्कुलमा शिक्षक हुनुहुन्थ्यो । बट्टार क्याम्पसमा हुने राजनीतिक गतिबिधिका बारेमा बेलाबेला उहाँले कुरा गर्दा म कान ठाडो पारेर सुन्थे । किनकि मलाई पनि राजनीति कुराहरु पढ्न सुन्न हेर्न एउटा छुट्टै किसिमको जागर आउँथ्यो । थोरै रहरले होला अनि धेरै बाध्यताले आज देशभन्दा टाढा भए पनि देशको राजनीतिक अवस्था बारे समय भएसम्म नियाल्ने कोशिस गर्छु ।
 
त्यो आन्दोलन सम्झिदा आज पनि शरीरमा छुट्टै किसीमको उर्जा आउछ | कांग्रेसको एउटा झण्डा हातमा बोकेर अर्को झण्डा टाउकोमा बाधेर जिन्दाबाद र मुर्दाबादका नाराहरु लगाउदै आन्दोलनमा सहभागी भएको थिएँ म पनि | हाम्रा उमेरका धेरै जना लहैलहै र रमाइलोका लागि जुलुसमा गयौ होला । तर छोरानातिका भबिष्यका लागि असिनपसिन भएर गाउँगाउँबाट आन्दोलनमा आएका बृद्द बाहरुको चाहना आजका गएर सेलाएको सुन्छु ।
 
आफ्नो छोरा नातिले परिबर्तनका लागि फेरी लड्नु नपरोस भनेर आन्दोलनमा सक्रिय सहभागी भएकाहरुको मनमा आज कस्तो अनुभूति भइराखेको होला ? हाम्रा अघिल्ला पुस्ताहरुले धेरै राजनीतिक परिवर्तनका लागि लडे । एउटा राजनीतिक परिवर्तनले देशमा केहि परिवर्तन भएन भनेर एउटै पुस्ताले धेरै पटक परिवर्तनका लागि लडे । तर खोइ त के पाए ? भोलिको सन्ततिको लागि भनेर लडेका सबैमा एक किसिमको निराशा छ । 
 
आन्दोलन सफल भएपछि देशले नयाँ दिशा लिन्छ भन्ने सबैको आशा एबम् चाहना थियो तर त्यसो हुन सकेन । परिबर्तनका निम्ति सधै आन्दोलन भैरहे जनताले सधै साथ दिए तर आन्दोलन पश्चात प्राप्त उपलब्धीलाई सदुपयोग गर्न नसक्नु नै नेपालको लागि दुर्भाग्य बन्दै आइरहेको छ । बिगत ७०/८० बर्षमा ४/५ वटा ठुला र धेरै सानातिना आन्दोलन भए । तर देशलाई संक्रमणकाल र यथास्थितिबाट माथि उठाउन नेतृत्ववर्ग असफल भएकै हो । हरेक दिन जनतामा निराशा बढ्दो छ जो युवा हिजो राजाका बिरुद्द लड्यो त्यहि युवा आज एकसय भन्दा धेरै राजाबाट पीडित छन् । अहिले त्यही युवापुस्ता एकसय राजाभन्दा एउटै राजा ठीक रहेछ भन्दै सामाजिक संजालमा शेयर गर्छ । हेर्दा यो सानो कुरा होला तर त्यसले एक किसिमको निराशालाई पुष्टी गरिरहेको छ । 
 
देशको अर्थतन्त्र आज जोखिममा छ । वैदेशिक ऋण र अनुदान अनि नेपाली युवाहरुको पसिनासँग सटिएको रेमिट्यान्स आज देशको अर्थतन्त्र धान्ने बाटो बनेको छ । आयात र निर्यात बीच ठुलो अन्तर छ । हामीजस्तो भौगोलीक रुपमा सानो देशलाई विकासको गति लिन धेरै समय लाग्नु धेरै दुखद पक्ष हो ।
 
स्थायी र दिगो सरकारको अभाब, भर्ष्टचार, दुरदर्शी भन्दा पनि काम चलाउ सरकारी नीति विकासको बाधकको रुपमा देखा परेको छ । विकास निर्माण हचुवाको भरमा चलेको छ । विकास निर्माणका लागि कम गर्ने सरकारी मन्त्रालयहरूबा बीचमा समन्वय छैन । किन छिटो काम भएन भन्यो भने एकले अर्कोलाई देखाएर उम्किने परिपाटी छ । एकहप्ता अघि सडक विभागले बाटो कालोपत्रे गर्छ अनि त्यसको हप्तादिन पछि खानेपानी सस्थांनले त्यै पिच सडक भत्काएर पाईप गाड्न र मर्मत गर्न थाल्छ । अनि त्यो सडक मर्मतको लागि अर्को बर्षको बजेट कुर्नु पर्छ ।
 
राजनीतिक दलहरुको गैरजिम्मेवार पन पनि देश पछि पर्नुको एउटा मुख्य कारण हो । भ्रष्टाचार, गुण्डागर्दी, अनियन्त्रित महंगी, जनशक्तिको बिदेश पलायन, बिकास निर्माणमा सुस्तता आदि समस्याहरुको जडको रुपमा राजनीतिलाई लिने गरिन्छ । 
 
सत्तामा नपुग्नजेल जनताका कुरा गर्ने अनि सत्तामा पुगेसी आफ्नै हात जगन्नाथ गर्ने गलत प्रवृतिले हामी ग्रसित छौ । बास्तबमा जनताले नेता र नेताले राजनीति चलाउनु पर्ने हो तर यहाँ नेताले जनता र राजनीतिलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्दै आएका छन् । जताततै नाताबाद,कृ पाबाद र परिवारबादले जरा गाडेको छ । देशको स्थायी सरकार मानिने कर्मचारीतन्त्र पनि भ्रस्टाचार र ढिलासुस्तीले ग्रसित छ । जिम्मेवारी नलिने परम्परा कर्मचारीतन्त्रमा हावी देखिन्छ । 
 
समय अनुसार नयाँ प्रबिधिको प्रयोग गरि सरकारी कामकाज चुस्त र दुरुस्त बनाउन पर्ने हो तर त्यस्तो भएको पाइदैन । आज हरेक सरकारी कार्यालयमा इन्टरनेट सेवा छ, तर आज पनि एउटा सरकारी कार्यालयले अर्को सरकारी कार्यालयलाई पत्र लेख्नु परे खाममा हालेर समय लगाएर पठाउने परिपाटी अहिलेसम्म जिउँदै छ ।
 
खोइ त हामीले प्रविधिको प्रयोग गर्न जानेका, के इन्टरनेटको काम फेसबुक र युटुब चलाउने मात्र हो त ? मिनेटभरमा इमेलबाट हुने कामलाई हामी कति समय खर्चिरहेका छौ ? बिकासका कामकाजलाई रफ्तारमा लाने हो भने सरकारले आफ्ना हरेक कामकाजलाई छिटो छरितो र पारदर्शी बनाएर अगि बढ्नु पर्छ | जुन देशको बजेट खर्बमा हुन्छ त्या एउटा सरकारी कर्मचारीले यति अर्ब यति करोड भ्रष्टाचार गर्यो भन्ने हामी सुन्छौ यो कति सम्मको लज्जापन हो । नेपालको विकास निर्माणलाई रफ्तारमा अगाडी बढाउने हो भने भ्रस्टाचारलाई जरै देखि उखेलेर फाल्नु आजको आवस्यकता हो । आर्थिक भ्रस्टाचार सँगै नैतिक भ्रस्टाचार पनि एउटा देशमा त्यत्तिकै ब्याप्त छ ।
 
लामो संक्रमणकाल पछि हामीले एउटा स्थाई सरकार पाएका छौ । तत्कालिन एकीकृत माओबादी र एमाले बीचको एकताबाट जन्मेको नेकपाको नेतृत्वमा दुई तिहाइको सरकार गठन भएको छ । जनताले दुई तिहाई मत सहित देशको चाबी केपी ओलीलाई बुझाए । चुनाब अघि उनले गरेका गरेका भाषण र प्रतिबद्दतालाई अब ब्यबहारमा उतार्ने जिम्मेवारी सरकारको हो । सरकारलाई अवसर संग संगै चुनौती पनि त्यत्तिकै छ तर जसले चुनौतीलाई चिरेर अवसर सिर्जना गर्छ उसैले सम्मान पाउँछ । 
 
पाँच बर्ष धेरै लामो समय त होइन तर सरकारले चाहयो भने जनताले अनुभब गर्ने परिबर्तन गर्न यो पर्याप्त समय हो । संसारमा धेरै देश छन् जसले केहि दशकमै आफ्नो मुहार फेरेका छन् । 
 
खस्किदै गएको देशको अर्थतन्त्रलाई उकास्नु आजको मुख्य काम हो । निर्यात र आयात बीच आकाश जमिनको फरक छ । रोजगारीका लागि ४०/५० लाख भन्दा बढी युवा मातृभूमि बाहिर छन् ।
 
ठुलाठुला बिकासका योजनाहरु तोकेको समय र लागतमा सम्पन्न हुन नसकिरहेको अवस्थामा सरकारसँग अवसर सँगै धेरै चुनौतीहरु पनि छन् | तीन तहको सरकार रहेको अबस्थामा एक आपसमा समन्वय गरि देश र जनताको हितको लागि काम गर्नु नै अहिलेको जरूरी हो ।
(लेखक अधिकारी टेक्ससको वेदरफोर्ड कलेजमा अध्ययनरत छन् ।)