मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सरकारले युवा स्वरोजगारका लागि बिनाधितो ऋण लगानी गर्ने

सरकारले युवा स्वरोजगारका लागि बिनाधितो ऋण लगानी गर्ने


काठमाडौँ । सरकारले युवा स्वरोजगारका लागि केही युवालाई बिनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि बिनाधितो ऋण लगानी गर्ने बताए । 
 
किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसियल विजिनेस च्यालेञ्ज २०१८’ को यहाँ उद्घाटन गर्दै मन्त्री विष्टले भने, ‘हजारौँ युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको छ । सानो पूँजीको अभावमा पनि कोही युवा उद्यमशील बन्नबाट बञ्चित हुनु पर्ने छैन । केही हजार युवालाई स्वरोजगार बनाउने गरी विनाधितो रु पाँचदेखि १० लाख ऋण लगानी गर्न सरकार तयार छ ।’ 
 
युवा स्वरोजगारका लागि चालू आवमा सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री विष्टले उद्यमशील मानसिकताका साथ युवाको सक्रिय सहभागिता हुन जरूरी छ भने । श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताउँदै उनले सामान्य पढेलेखेका युवामा सानो काम गर्नुहुन्न भन्ने नकारात्मक सोच नै चुनौती बनेको उल्लेख गरे । 
 
किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले युवा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षदेखि ऊर्जा, कृषि, पर्यटन, महिला सहभागितालगायत विषयमा युवा उद्यमशीलता विकास र सामाजिक दायित्व निर्वाहका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । 
 
सोसियल विजनेस प्रतियोगिताका लागि यो पटक देशका विभिन्न शहरबाट ५५ वटा युवा उद्यमी समूहले आवेदन दिएकामा विभिन्न चरणमा छनोट भई १० वटा समूह अन्तिम प्रतिस्पर्धा पुगेका छन् । यीमध्ये विजेता पाँच समूहलाई विभिन्न पाँच शीर्षक क्रमशः प्रतियोगिताको शीर्षक विजेतालाई रु एक लाख, दिगो कृषिलाई रु ४५ हजार, दिगो पर्यटनलाई रु ५० हजार, महिला सहभागितालाई रु ५० हजार र वैकल्पिक ऊर्जालाई रु ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ । रासस