मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

निर्मला हत्याको सुरुवातदेखि नै अनुसन्धान हुने, परिवारलाई १० लाख राहत

निर्मला हत्याको सुरुवातदेखि नै अनुसन्धान हुने, परिवारलाई १० लाख राहत


काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्याका विषयमा सुरुवातदेखि नै अनुसन्धान हुने भएको छ । 
 
प्रहरी प्रशासनले एउटा सोझो र मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई बलात्कारी भन्दै फसाएको भन्दै स्थानीयले आन्दोलन चर्काएपछि प्रहरीले अनुसन्धान प्रक्रिया नै सुरुदेखि नै थाल्ने निष्कर्षमा पुगेको हो ।
 
कञ्चनपुरका एसपी कुबेरसिंह कडायतका अनुसार जुन घरबाट घटना सुरु भएको हो, त्यहीँबाटै अनुसन्धान सुरु हुनेछ । निर्मला गएको घरका दिदीबहिनी रोशनी र बबिता बमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । 
 
गाउँलेले साथीहरुको घरमा गएकी निर्मलाको हत्याका बारेमा उनीहरुलाई नै अनुसन्धानको घेरामा ल्याउन दबाब दिएका थिए । तर, प्रहरीले ढाकछोप गर्न लागेपछि आन्दोलन चर्किएको थियो । निर्मलाका आमाबुवा तथा स्थानीयले पहिलेदेखि नै सोही घरबाट अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएा थिए । 
 
प्रहरीले स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरेर अपराधीका नाममा सार्वजनिक गरेपछि आन्दोलन झनै चर्किएको थियो । आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा एक किशोरको ज्यान गएको छ भने २० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ । 
 
परिवारलाई रु १० लाख राहत 
 
सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति भत्र्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 
 
पन्तको घटनाको छानबिनको मागका क्रममा भएका प्रदर्शनलाई उत्तेजक बनाउने प्रयास भइरहेका बेला मन्त्रीपरिषद्ले गम्भीर समीक्षासहित जिल्लास्थित सर्वपक्षीय बैठकको सुझाव समेतलाई ध्यान दिई सो निर्णय गरेको हो ।  
 
गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको शव स्थानीय उखुबारीमा भेटिएको थियो । 
 
शनि खुनालाई शहीद घोषणा
 
बैठकले पन्तको घटनालाई लिएर यही भदौ ८ गते कञ्चनपुरमा भएको प्रदर्शन र झडपका क्रममा मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरी राहतस्वरुप रु १० लाख सहायता दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए । बैठकले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।
 
घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले निःशुल्क उपचार गर्ने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने जनाएको छ । 
 
पन्तको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई भदौ ८ गतेको घटनाबारे पनि छानबिनको अख्तियारी दिइ छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारवाहीको सिफारिश गराउन बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।
 
घटना भएको समयमा सो जिल्लामा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरी छानबिनको दायरामा राखेको छ ।