मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकाको दक्षिणी बेल्टमा बटुलिएका फूल

अमेरिकाको दक्षिणी बेल्टमा बटुलिएका फूल


अमेरिका बसाइले ८ वर्ष पुरा गर्नै लाग्दा पनि दक्षिणीभेगमा भने पाइलो परेको थिएन । सन् २०१० मा अमेरिका अाएपछि मेरा सबै समय इष्टकोस्टमै बितेका छन् । अमेरिकामा एक्लै हुँदा समय निकालेर भ्रमणका लागि हिड्न सजिलो भएपनि परिवार भएपछि धेरै कुराहरूलाइ मिलाउनु पर्ने हुन्छ । त्यसो हुँदा चाहेर पनि रहर लागेका ठाउँमा पुग्न सकेको थिइन म ।
 
पहिलोपल्ट पारिवारिक भेटघाटबाट सुरु भएको अमेरिकाको दक्षिणी बेल्टको हाम्रो यात्राका अधिकांश समय टेक्सस र सेरोफेरोको भ्रमण अनि भेटघाटमा बित्यो । अमेरिकाको उत्तरपूर्वी सिरानमा बोष्टने शरिर बोकेर हामी दक्षिणी भेकको भ्रमण गर्दै थियौं । हामी पहिलो दुइदिन बहिनी ज्वाईं सुमन राउतको मास्टर्स डिग्रीको ग्राजुएसन कार्यक्रममा सहभागी भयौं । त्यसपछि फ्लोरिडाको पेन्साकोला समूद्री तटमा बितायाैँ ।
 
अमेरिकाको दक्षिणी भेग हाम्रा लागि नितान्त नौलो थियो । यसक्रमममा लुजियाना, फ्लोरिडा, टेक्सस घुमियो । अनि बाटोमा पर्ने राज्यहरु अलाबामा र मिसिसिपी पनि छोइयो । बोस्टनबाट हु्यूस्टनसम्मको दूरी हवाइजहाजबाट पार गरेपनि त्यसपछि भने रोमान्चक सडक यात्रा सुरू गर्यौं । यात्राका क्रममा ६ दिनमा झण्डै १ हजार ६ सय माइल सडक पार गरियो । सडक यात्राका क्रममा तीनवर्षे र डेढ वर्षे छोरीहरु एभा र आन्याले पनि भरमग्दूर समन्वय गरे भनेको मान्दिएर र नरोइदिएर ।
 
उनीहरुलाई चुप लगाउने विन्जूको सुझबुझपूर्ण व्यवस्थापनले काम गरेको थियो ।  उनीहरुले पनि ड्यालस र ह्यूस्टनका पार्कहरु जस्तै वाटर गार्डेन र लेभी पार्कमा रमाइलो गरे । फ्लोरिडाको पेन्साकोलाको यात्रामा बिन्जू, बहिनी इन्दिरा, ज्वाईं सुमन, साथीहरु द्रोण पाण्डेय विश्वास, सन्तोषी चालिसे, कविन्द्र श्रेष्ठ र शुभेक्षा श्रेष्ठको साथ रह्यो ।
 
ह्यूस्टनमा भाइ कुसल कार्कीसँग भेट भयो । सडकमा यात्रा गरिरहँदा कहिले नेपालको बीरगञ्ज जाने बाटो जस्तो लाग्थ्यो भने कहिले नेपालगन्ज जाने बाटो जस्तै । हु्यूस्टन देखि लुजियानाको रस्टनसम्मका धेरै जसो स्थानमा आँखाले भ्याइन्जेलसम्म जंगलैजंगल र फराकिला चौर भेटिए । कतैकतै सिमसार क्षेत्र थिए जसको छेउबाट गाडिमा हुईंकिनुको मजा बेग्लै थियो । पूर्वी तट(इस्टकोस्ट)का हाइवेमा जस्तो नजिकका दूरीमा रेस्ट एरिया र ग्याँसस्टेसन भेटिंदैनथे । त्यसैले यात्रा शुरु गर्नुअगाडि नैं गाडिमा ग्यास फुल ट्यांक गरेका थियाैँ ।
 
टेक्ससमा फराकिला सडक, चौडा घर र फराकिला मन भेटिए । सबै फराकिला टेक्ससमा तापक्रम झन् के साँघुरो हुन्थ्यो ? त्यसै त गर्मीको बेला । १०१ डिग्री फरेन्हाइटसम्मको तापक्रममा पनि हिडियो । बोस्टनमा चिसोको बारेमा जस्तो तर्क हुनेगर्छ त्यस्तै डालस, ह्यूस्टनमा पनि गर्मीको बारेमा पनि उस्तै खालको तर्क हुनेगर्छ । टेक्सासबासी नेपाली भन्छन्–‘घरमा शीतल नै हुन्छ,
काम गर्ने ठाउँ शीतलै हुन्छ, गाडीमा पनि शीतल नैं हुन्छ ।‘ वर्षमा छ महिना भन्दा बढि चिसो हुने ठाउँ बोस्टनको बारेमा हामी पनि भन्छौं, घरभित्र, अफिस र गाडिमा न्यानो नैं हुन्छ, गाडी
 
नचढुन्जेल एकैछिन त हो नि चिसो । नेपालभन्दा चारगुणा ठूलो क्षेत्रफल अोगटेको टेक्सस अझै तन्कँदो र फैलँदो छ, यसको व्यापक भौतिक पूर्वाधारको निर्माणको गतिलाई हेर्दा ।
 
ड्यालसमा माकुराका जालो जस्ता सडक सन्जाल, अधिकांश फ्लाइओभर यहाँका लोभलाग्दा भौतिक संरचना हुन् । जमिनमा भन्दा पनि ज्यादा टेक्ससको हाइवे, फिडररोडहरू प्राय फ्लाइअोभर छन् । हाइफाइभ इन्टरचेन्ज (पाँचतल्ले फ्लाइअोभर) देखि लिएर अमेरिकामा सबैभन्दा बढी २६ लेनको क्याटी फ्रि–वे समेत टेक्ससमै छ । यस्तो लाग्छ–टेक्ससको जस्तो सडक सञ्जाल र पूर्वाधार अमेरिकामा कहिँ पनि छैन कि ।
 
दिनदिनै सडक विस्तार र निर्माण हुँदो क्रममा छ । जसले गर्दा कतिपय एक्जिटमा त गुगल म्यापले नैं काम गर्दोरहेनछ । माकुराको जालोजस्ता सडकमा एक्जिट मिस गर्नु सामान्य रहेछ । हुन पनि हामी युलेस जाँदैगर्दा गुगलम्यापले एरो देखाएको ठाउँमा गुड्दा पनि एकैछिन पछि रिराउटिंग देखायो ।
 
कुनैबेला सोम्याक्स अंग्रेजी उपनाममा साहित्यीक रचना सिर्जना गर्ने सञ्जय घिमिरे अहिले अमेरिकाको स्थायी बासिन्दा हुनुहुन्छ । नेपाली नामको भीडमा सोम्याक्स त्यतिबेला अनौठो थियो भने अहिले अमेरिकन नामको भीडमा सञ्जय पनि नौलो नैं होला । सञ्जय दाइ र तारा भाउजुसँग झण्डै नौ वर्षपछि भेट भयो । नेपाल छोड्नु अघि उहाँहरु दुबैजना च्यानल नेपालमा कार्यरत हुनुहुन्थ्यो ।
 
सञ्जय दाइबाट मैंले धेरै कुरा सिकेको छु र अझै पनि उहाँको कलमको प्रसंशक हुँ । उहाँका उतिबेलाका पाठकले मिस गर्दा हुन् उहाँका ब्यंग्य साहित्य लेखन् । उहाँले लेखेको एउटा व्यंग्य लेखनको हेडलाइन सम्झिन्छु– पाउरोटी नचिन्ने आमाकी पिज्जा खाने छोरी, बहिराले संगीतमा नाचिरहे झैं आदि । त्यति नैं बेला कान्तिपूर दैनिकमा भने नारायण वाग्लेको कफी गफ चर्चित थियो ।  ५० को दशकमा छापिएका समकालीन साहित्यमा सन्जयदाइका साहित्यिक रचना भेट्न सकिन्छ ।
 
नेपालखबर डटकममा डेढदुइ महिनाको अन्तरमा छापिने उहाँका लेख नबिराइ पढ्छु । दैनन्दिनी विषयवस्तु र भोगाइमा कतै लुकेछिपेका दर्शनहरु भेटिन्छन् सञ्जयदाइका लेखनमा । मलाई भारतीय मासिक पत्रिका कादम्बिनीको कालचिन्तनको स्मरण हुन्छ उहाँका हरफहरु पढ्दा । उहाँ किताब लेख्दै हुनुहुन्छ, तर यो भेटमा उहाँको किताव लेखन कता पुग्यो सोध्न बिर्सिएछु ।
देवेन्द्र भट्टराइ र थानेश्वर सापकोटा उहाँका समकालीन साथी हुन् । देवेन्द्र भट्टराइ नेपालमै पत्रकारिता गर्दै हुनुहुन्छ भने थानेश्वर सापकोटा जर्मनीमा बसोबास गर्नुहुन्छ । आफ्नो वास्तविक नामबाट समाचार लेख्ने उहाँ सोम्याक्स नामबाट लेख्नुहन्थ्यो हिमालय टाइम्समा ।
 
उहाँहरुकै निवासमा कुनै बेलाका सहकर्मी रामचन्द्र भट्टसँग पनि भेट भयो । उहाँसँगै आउनुभएका हिमालयखबरका प्रबन्ध सम्पादक विकासराज न्यौपाने, नेजाका गोकुल ढकाल र अर्का सञ्चारकर्मी शेर केसीसँग पनि भेट भयो ।
 
रामचन्द्र भट्टलाई ‘भट्टदाइ‘ भनेर सम्बोधन गर्थें । रामचन्द्र दाइ भनेर लामो गरी भन्नुभन्दा छोटोमा सकिने हँदा भट्ट दाइ भनेर सम्बोधन गर्दथें । दैनिकी र नागरिक दैनिकमा हामी एउटै
 
न्यूजरुममा मात्र होइन एउटै आर्थिक बिटमा काम गर्थ्याै । नेपाल समाचारपत्र दैनिकको न्यूजरुमबाटै रामचन्द्र भट्टले आर्थिक पत्रकारितामा आफ्नो नाम स्थापित गरिसक्नुभएको थियो । नागरिकमा अाएपछि उहाँ अझै खारिनुभयो ।
 
फरक फरक पत्रिकामा काम गरेपनि आर्थिक बिटमा पत्रकारिता गर्नेहरुको एकता बेग्लै हुन्थ्यो । स्थापितहरुले नवआगन्तुकलाई गर्ने सहयोग र हौसला अन्य बिटको भन्दा आर्थिक विटमा बढि हुन्थ्यो । त्यसकारण पनि एकसमय आर्थिक पत्रकारिताले नेपालमा गुणात्मक फड्को मारेको थियो । नेपालमा आर्थिक पत्रकारिताको पर्यायवाची जस्तै बन्नुभएका विजय घिमिरेसँग दैनिकी र नागरिकमा काम गर्ने मौका मिल्यो । उहाँको विचार स्वतन्त्र थियो । अरुलाई सिकायो भने आफ्नो पनि ज्ञान बढ्छ । अरुलाई सहयोग गर्यो भने आफूले पनि सहयोग पाइन्छ भन्ने विचार राख्नुहुन्थ्यो । यस्तै विचार उहाँले नेतृत्व गरेको आर्थिक पत्रकार समाज (सेजन)आबद्ध सहधर्मीहरुमा भेटिन्थ्यो । जटिल मानिने आर्थिक कारोवारका विषयहरु सरल ढंगबाट कखरा नपढेको मान्छेलेपनि बुझ्नेगरी समाचार लेख्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो बिजयदाई । हामी पनि त्यस्तै सरल लिडको खोजीमा हुन्थ्यौं जसले थोरै शब्दमा समाचार भनिदेओस् । इकोनोमी लेख्ने हामीहरु शब्द किफायती अर्थात वर्ड इकोनोमीमा ध्यान दिन्थ्यौं ।
 
गन्जागोल बनाएर समाचारको पहिलो लाइन लेख्ने अन्य पत्रिका र अरु व्यूरोका रिपोर्टरका समाचारलाइ लिएर समिक्षा हुन्थ्यो हामीबीच । यस्तरी समाचार लेख्नुहँुदैन भन्नेबारे छलफल हुँदा ती सन्दर्भसामाग्री बन्थे । अार्थिक समाचार सरल र सबैले बुझ्नसक्ने भाषामा लेख्नुपर्छ भन्ने विषयमा हामीबीच वहश हुन्थ्यो । बिजनेश व्यूरोको लेखनमा जटिल र साहित्यिक प्रकृतिका लेख, समाचार प्रवेश निषेध थियो । व्यूरो सम्पादक विजय दाइ भन्नुहुन्थ्यो–अामाले बुझ्ने भाषा र शैलीमा समाचार लेख्नुपर्छ ।
 
दिनभरी रिपोर्टिंग गरेर अफिस फर्केपछि भट्ट दाइलगायत अरु सहकर्मीसँग चिया पसल छिर्नुको रौनक अर्कै हुन्थ्यो । समाचारको लिड नै फुरेन, चिया खाएपछि फुर्छ भन्दै भट्टदाइलाई कम्प्युटरमा समाचार टाइप गर्दागर्दै जुरुक्क उठाएर चिया पसल लिएर गइन्थ्यो । कहिले चिया खाएर आएर लेखौला भन्दै लिएर जानुहुन्थ्यो ।
 
हामीमध्ये धेरैजसो डेडलाइन नजिकै पुगेर समाचार लेख्थ्यौं । डेडलाइनको चापले समाचार बुन्ने मस्तिष्क सिर्जनशील बन्छ भन्ने धेरैको ठम्याइ थियो । समाचारको डेभलपमेन्टलाई कुरेको भन्ने निहूँ त छँदै थियो । त्यतिखेरका यादहरुलाई धेरैवटा तखता बनाएर राख्न सकिन्छ, छुट्टा छुट्टै विषयवस्तुहरुमा ।
यात्राका क्रममा प्राय सबै सुखद अनुभव भए । ड्यालस जाँदैगर्दा चारलेनको बाटोमा हामी हाइस्पिड बाटोभन्दा दाहिनेपट्टीको लेनमा थियौं । हामीभन्दा दाहिनेपट्टीको लेनबाट एउटा ठूलो मालबाहक १८ पांग्रे ट्रकले कुनै इण्डिकेटर नबाली हाम्रो लेनतिर पेलेर अगाडि बढ्यो । ६५ माइल प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको हाम्रो गाडिलाई आफ्नै लेनबाट अगाडि बढेर फुत्किन सम्भव थिएन ।
 
एउटै उपाय भनेको यदि कुनै गाडी आइरहेको छैन भने हाइस्पिड लेनमा जानु थियो । संयोगबश अर्को कुनै गाडि आइरहेको थिएन र त्यतापट्टी लेन बदलेर हुईकियौं । पछि मैंले त्यो मालवाहक ट्रकमा कस्तो मान्छे रहेछ भनेर हेर्दा एउटी महिलाले गाडि चलाइरहेको देखें । सायद मोबाइल फोनले ति मालवाहक चालक महिलाको ध्यान अन्त गएको हुनुपर्छ । आजभोली सडक दूर्घटनाका प्रमुख कारकमध्ये मोबाइल चलाउँदै गाडी चलाउने बानी रहेको अध्ययनहरुले देखाएका छन् । यस्तै वेपर्वाह चालकहरुका कारण ठूल्ठुला सडक दुर्घटनाहरु हुन्छन् । आफ्नो ज्यान त जोखिममा पर्छ त्यही बाटोमा गुड्ने अरुको पनि ज्यान खतरामा पर्छ । त्यसकारण कतिपय राज्यहरुमा मोबाइल चलाएर गाडि चलाएको प्रहरीले थाहा पायो भने ठूलो जरिवाना तिर्नुपर्छ ।
 
अवसर र सुविधाले मान्छेलाई एकठाउँबाट अर्को ठाउँमा सर्न प्रेरित गर्छ । कुनैबेला डेनभर कोलोराडोमा व्यवसाय गर्नुहुने विष्णु सिटौला अहिले सपरिवार ड्यालससँगैको फोर्टवर्थमा सर्नुभएको रहेछ । पारिवारिक व्यवसायसँगसँगै आइटीको अध्ययन पनि सँगसँगै अगाडि लैजाने उहाँको सोच रहेछ । टेक्सास सर्नुको मुख्यकारणको पछाडि कोलोराडोको मूल्यवृद्धि औंल्याउनुभयो । त्यसो त न्यूयोर्कबाट टेक्सासमा बसाइँ सर्नुभएका नारायाण सापकोटा फेरि कोलोराडो सरेको कुरा त्यही पुगेपछि जानकारी भयो ।
 
अमेरिकी तथ्यांक ब्यूरोका अनुसार तीब्र गतिमा विकसित भइरहेका सहरमध्ये टेक्ससको जर्जटाउन पहिलो नम्बरमा पर्दछ । अमेरिकाका प्राय सबै राज्य उस्तै हुन्, सञ्जय घिमिरे भन्नुहुन्छ,–‘कुन ठाउँमा बस्ने भन्ने कुरा आआफ्ना प्राथमिकताले निर्धारण गर्ने कुरा हुन् ।‘
 
रोजगारीका अवसर, सुरक्षित र किफायती बसोबास, शिक्षा स्वास्थको सुलभता र मौसम यस्ता कुराहरु हुन् जसलाई बसाईंसराइ गर्ने हर कोहीले तौलेको हुन्छ । सूचना प्रविधी (आइटी),स्वास्थ, ठूल्ठूला उद्योग र व्यवसायमा नेपाली जमेका रहेछन् । भाइ सुदीप थापा पनि त्यहाँको आइटी इण्डस्ट्रिमा रमाउँदैछन् ।