विचार / ब्लग

नेपाली संस्थाको अारम्भ, एएनए र नेपाली नेसनल कन्भेन्सन

402 पटक पढिएको

- विजयराज भट्टराई

21st Aug 2018, Tuesday | २०७५ भाद्र ५, मंगलवार १०:२०

समय कति परिवर्तनशील छ ? अमेरिकामा नै नेपालीहरुको आउनेक्रम मात्र हैन संस्थागत विकासक्रम हेर्ने, सुन्ने हो भने दन्त्यकथा जस्तो लाग्छ। तर आज हामी त्यही यथार्थतामा छौ। 

 
अमेरिकाको मध्य पश्चिमी राज्यहरुका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले सन् १९८१ मा Association of Nepalese in Midwest America (ANMA) को गठन भयो। यस संस्थाले त्यस क्षेत्रका नेपालीहरुलाई धेरै कुरामा ठूलो सहयोग गर्यो।  
 
त्यसपछि अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरु समेटेर राष्ट्रिय संस्था निर्माण हुनुपर्ने बहस चल्यो। अनि अमेरिका र क्यानाडा दुवै मुलुकका नेपालीहरुलाई प्रतिनिधित्व गर्ने संस्था निर्माण भयो सन् १९८३ मा। यस संस्थाको नाम Association of Nepalis in the Americas (ANA) राखियो। 
 
ANA ले अमेरिकी राष्ट्रिय स्वतन्त्रता दिवसको दिनलाई ANA महोत्सवको रुपमा स्थापना गर्यो । सिङ्गो उत्तरी अमेरिकामा रहेका नेपालीहरुको परिवार सहित विदा मनाउने रमाइलो गर्ने (Vacation Festival) दिनकाका रुपमा एएनए सम्मेलन बिकास भयो। यसले अमेरिकाभरि रहेका नेपालीहरुलाई एउटा सिङ्गो प्लेटफर्मको रुपमा बिकास गर्यो। 
 
समय क्रम अघि बढ्दै जादा दक्षिण पूर्वी अमेरिकाका राज्यमा रहेका नेपालीहरुले अर्को क्षेत्रीय संस्थाको आवश्यकताको महसुस गरे । फलस्वरूप सन् १९९१ मा Nepalese Association in Southeast America (NASeA) गठन भयो। यस संस्थाले त्यस क्षेत्रकानेपालीहरुलाई धेरै कुरामा सहयोग गर्यो।   
 
अनि, यिनै संस्थाका बार्षिक सम्मेलनमा आयोजना गरिने धेरै फोरमहरु पछि आफैमा नयाँ संस्थाका रुपमा विकास भए। अहिले झण्डै ५००-६०० को हाराहारीमा संस्थाहरु अमेरिकामा सामाजिक गतिविधिमा सक्रिय छन्।  संस्थाको बृद्धिसँगै सामाजिक बैमनैश्यता पनि बढेको सहज महसुस गर्न सकिन्छ। 
 
तसर्थ, अमेरिकी संस्थागत शुरुवातका यी मूर्धन्य संस्थाहरु एक भइ यस पटक बाट राष्ट्रिय सम्मेलनको शुरुवात भएको छ। आउनुहोस, हामी सवै मिली यस महाउत्सवलाई सफल बनाउ र क्रमश जोडिने क्रमको शुरुवात गरौ। 
 
एएनएको स्थापना र इतिहास 
 
एएनए स्थापना भएको सन् १९८३ मा हो। त्यतिखेर ५/७ जना डाक्टर, इन्जिनियर जस्ता प्रोफेसनलहरुको सकृयतामा यसको स्थापना भएको हो। त्यसबेला अहिलेजस्तो धेरै नेपालीहरु थिएनन्। अमेरिकाभरि मुस्किलले ५/६ सय नेपालीहरु थिए। त्यस्तो अवस्थामा नेपाली डाक्टर, प्रोफेसर, इन्जिनियर, पाइलटहरुले नेपाली सामाजीक संस्थाको आवश्यकता महसुस गरेर, आफ्ना बालबालिकाहरुलाई नेपाली संस्कार, भाषा पनि सिकाउनु जरुरी ठानेर यसको स्थापना गरिएको हो। 
 
स्थापना गर्नुअघि धेरै चरणमा बैठकहरु पनि भए। ग्यारेज, घर र पार्टीबाट सुरु गरिएको यो संस्थाको सम्मेलन स्कूल, क्याम्पसहरुमा हुन थाल्यो। विस्तारै स्कूल, कलेज र विश्वविद्यालयका हलहरुले पनि थाम्न नसकेर एएनए कार्यक्रम गर्न होटलतिर लाग्यो। कलेजहरुमा कार्यक्रम हुँदा सुरुमा बालबालिका, महिलाका बारेमा छलफल हुन्थ्यो। होटलहरुमा कार्यक्रम हुन थालेपछि फोरमहरु बढ्न थाल्यो । बोस्टन सम्मेलनदेखि दायरा फराकिलो हुनथाल्यो। त्यहाँ नेपाल फोरम चलाइयो ।
 
विस्तारै सम्मेलनको क्रममा नेपालबाट पनि मानिसहरु आउने, यहाँपनि नेपालहरुको संख्या बढ्न थाल्यो। एउटा सम्मेलनमा त ६ हजार नेपालीहरु सहभागी भएका थिए। एएनए ठूलो हुँदै गयो। बीचमा केही समस्या पनि आए। आफुले चाहेको अध्यक्ष निर्वाचित हुन सकेनन् भनेर निवर्तमान अध्यक्षले गैरसदस्यलाई संस्था जिम्मा दिँदा संस्थाले आफ्नो धरातल धेरैनै गुमायो। 
 
त्यस पछि गैर सदस्यले नै चारवर्ष सम्म ए एन ए चलाए र यो अवधिमा संस्था प्रति सर्वसाधारणको आस्था गुम्यो। त्यसपछि अदालतमा मुद्दा पर्यो।  अदालतको निर्णय आउन लामो समय लागे पनि अन्तत अदालतले दिएको आदेशमा निर्वाचन गराएर सन् २०१५ बाट रोजर अधिकारीको नेतृत्वमा कार्यसमिति बन्यो। 
 
त्यस कमिटिले भत्किएको एएनएको आस्था सम्हाल्न र पुरानै अवस्थामा फर्काउन विधानमा संशोधनदेखि लिएर बोर्ड अफ ट्रस्टीको अवधारणा ल्यायो। पहिले सदस्यको आधारमा संस्था चलाउने अवधारणा थियो भने अहिले सामुहिक सहभागिताका आधारमा अघि बढाउने निष्कर्शमा पुगेर अघि बढेको एएनए मा धेरै नेपाली संघ संस्थाका साथीहरु कार्यकारिणी समितिमा हुनुहन्छ।
 
एएनए भनेको नेपालीको ब्राण्डनेम हो। यसलाई उपयोग गर्न सकियो भने सबै नेपालीको हितमा यसलाई लगाउन सकिन्छ भन्ने धेरै नेपालीको चाहना छ र सोही अनुसार कार्यरत छ कार्यकारिणी समिति।
 
एएनए को आवश्यकता र महत्व 
 
जुनबेला नेपालीहरु श्रोत, साधन, जानकारी र समन्वय सवै कुराको अभावमा छट्पटिएका थिए त्यसबेलाको साथी हो एएनए। फुटकर कार्यक्रम बाहेक, जुलाई ४ को सप्ताहान्त मा गरिने बार्षिक मूल कार्यक्रममा भागलिन  ६ महीना पहिले देखि टिकट बुक गरेर बस्ने गरेको पूर्वज अगुवाहरु बताउनु हुन्छ। 
 
त्यतिखेरदेखि अहिलेसम्म यसको मूख्य उद्देश्य भनेकै चारवटा छन। तर बदलिदो समय अनुसार यसको कार्यान्वयनमा भने परिमार्जन हुदै आएको छ। 
 
पहिलो - पूर्णत कला, साहित्य र सांस्कृति को जगेर्ना गर्नु हो। अमेरिका मा रहेका नेपाली बालबच्चालाई हाम्रो कला, साहित्य र संस्कृतिको पुस्तान्तरण गर्नु। आफ्नो सांस्कृतिक पक्षका बारेमा हाम्रा नयाँ पुस्तालाई जानकारी गराउनु। यसका निमित्त स्थानीय संघ संस्था संग समन्वय गरि साहित्यिक, साँस्कृतिक कार्यक्रम संचालन गदै आइरहेको छ। 
 
दोश्रो - पूर्णत शिक्षा र सूचना संबन्धि कार्यक्रम हो। यसका निमित्त एएनए ले बेला-बेलामा बिभिन्न फोरमको मार्फतबाट नेपाललाई सहयोग गर्न सकिने अथवा अमेरिकामा रहेका नेपालीहरुलाई उपयोगी हुने दुवै खालका फोरम गर्दै आइरहेको छ। हरेक बर्ष गरिने नेपाल फोरम तथा हालै क्यानाडा मा भएको नेपालको उच्च शिक्षामा डायस्पोराका नेपालीहरुको भूमिका भन्ने अन्तराष्ट्रिय सम्मेलन जस्ता कार्यक्रमको आयोजना गरिदै आएको छ। 
 
तेश्रो - खेलकुद तथा मनोरंजन का माध्यम बाट उत्तरी अमेरिका भरी रहेका नेपालीहरु बीच भातृत्वको बिकास गर्नु र सके सम्म धेरै नेपालीहरु एउटै छानामुनि भेला भइ आत्मीयता को बिकास गर्नु। अमेरिका भरिका नेपाली खेलाडीहरुलाई समेटेर बिभिन्न खेलकुदको आयोजना गर्दै आएको छ।  
 
चौथो- नेपालमा परेका हरेक दैवी तथा अन्य सहयोग गर्न सकिने क्षेत्रमा सहयोग जुटाउनु र सहयोग गर्नु। भूकम्प जादा, बाढी आउदा र नेपालको दुर्गम जिल्ला बझाङ्गमा बझाङ्ग फाउण्डेसन मार्फत एएनएले सहयोग गरेको छ ।
 
तर, यहाँ एउटा कुरा के स्पष्ट हुन जरुरी छ भने एएनए पुरै अमेरिका ‘सेन्ट्रीक’ संस्था हो। यसले अमेरिकामा रहेका नेपालीहरुलाई समेटेर, उहाँहरुलाई कसरी स्थापित गराउने भन्नेमै बढ्ता फोकस गर्छ। एएनए विधान अनुसार नेपालमा हामी सामाजीक कामहरु गछौं, सहयोग गर्छौ। तर हामी सिधै गदैनौं। बिभिन्न पार्टनर संस्थाहरु मार्फत नेपालमा सामाजीक कामहरु हुने गरेको छ ।
 
अमेरिकामा नेपालीहरुको बसोबासको इतिहास हेर्दा, बुझ्दा नेपालीहरुको उपस्थिती २० वर्ष अघि सम्म ‘इस्ट कोष्ट’ मा ज्यादा थियो। किनकी अधिकांशको पहिलो ‘ल्याण्ड’ नै अमेरिकाको पूर्बतर्फ हुन्थ्यो। त्यतिखेर ‘एअर इण्डिया’ बाट बढी नेपालीहरु आउँथे। सुरुमा डाक्टर, इन्जिनियर, प्रोफेसरहरु आए। 
 
सुरूसुरूमा त भिसा को के कुरा नेपालकै परराष्ट्र मन्त्रालयबाट पासपोर्ट बनाउनै गार्हो थियो भन्ने कुरा धेरै अग्रजहरुले सुनाएको आफ्नो भनाई किम्बदन्ती जस्तो लाग्छ। झन्डै ४० बर्ष अघि आएका एएनका पूर्व अध्यक्ष रोजर अधिकारीले सुनाउनु भएको एउटा रोचक प्रसंग उल्लेख गर्न चाहन्छु - 'त्यतिखेर एकजना नेपालीलाई अमेरिकन एम्बेसीले भिसा दियो तर परराष्ट्र मन्त्रालयले पासपोर्टनै दिएन। अनि एम्बेसीले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर ‘यो मान्छेलाई तुरुन्त पासपोर्ट बनाइदिनु सम्म भन्नुपरेको थियो। पासपोर्ट सहज रुपमा नपाउने हुनाले नेपालीहरु आउने क्रम असाध्यै थोरै थियो।
 
सन् १९८५/८६ देखि जब पासपार्टमा उदार नीति नेपाल सरकारले लियो त्यसपछि नेपालीको संख्या बढ्दै गयो। पछि अमेरिकी सरकारले लिएको ‘डाइभर्सिटी भिसा’ (डिभी), त्यसपछि असाइलमले नेपालीको संख्या ह्वात्तै बढायो। अहिले वर्षेनी, हरेक सेमेष्टरमा हजारौं नेपालीहरु आइरहेका छन् । सुरुसुरुमा नेपालीहरु कसरी स्थापित हुने? कसरी बालबच्चालाई राम्रो शिक्षादीक्षा दिने भन्नेमा नेपाली केन्द्रित थिए । तर अहिले नेपालीको संख्या बढ्दै गएर ‘मिनी नेपाल’ को अवस्था देखिएको छ ।
 
नेपालका राजनीतिक दलका भातृसंस्थादेखि लिएर हरेक जात, सम्प्रदायका अलग्गै संस्थाहरु खुल्ने क्रम बढेको छ। नेपालमा जस्तो रुपमा आर्थिक भिन्नता पाउनुहुन्छ नि अमेरिकाका नेपालीहरुबीच पनि त्यतिनै देख्न सकिन्छ। यसको मतलब नेपालमा जस्तो हिसाबको राजनीतिक, जातीय मतभेद छ यहाँपनि त्यस्तै देखिन थालेको छ। 
 
यसै प्रसंगमा एएनए का प्रथम अध्यक्ष डा हरि शर्मा आफ्नो अनुभव सुनाउनुहुन्छ - हामी आउँदाको स्थिती र अहिलेको अवस्थामा निकै भिन्नता छ। त्यतिखेर जात पनि सोधिँदैनथ्यो। जिल्ला पनि सोधिन्नथ्यो,  ‘नेपाली’ हुँ भनेपछि पुग्थ्यो। अहिले सबैको आ–आफ्नो सोसाइटी छन्। त्यतिखेर वासिङटनस्थित नेपाली दूतावासले कार्यक्रम गर्दा ‘सबै नेपालीलाई निमन्त्रणा छ’ भनिन्थ्यो। अहिले त्यो साध्य छैन। एक सय २५ नेपाली त थिए त्यतिखेर डिसी, बाल्टिमोर, न्यूयोर्कमा । 
 
नेपालीको संख्या बढेको छ । त्यस अनुसार शीपलाई ट्रान्सफर गर्न सकेका छैनन्। नेपालका आफ्नो क्षेत्रमा स्थापित भएका नेपालीहरुलाई यहाँ स्थापित गराउनु नेपाली समुदायको महत्वपूर्ण जिम्मेवारी हो । नेपाली संघसंस्थाको ध्यान आजभोली ‘कल्चरल प्रोग्राम’ मा बढ्ता केन्द्रित छ। कल्चरल प्रोग्राम नराम्रो त होइन। तर यसले मात्र पुगेन। हामीले यो भन्दा बढ्ता गर्न जरुरी छ। हाम्रो दायित्व भनेको नेपालबाट यता बसाइ सरेकालाइ स्थापित गराउनु पनि हो।
 
आफ्नो दाइत्वबोध गरि अमेरिकामा शुरुमा स्थापित आन्मा, एएनए र नासा यी तीन संस्थाहरु मिलेर अन्य झन्डै २० स्थानीय संघ संस्थाहरु संगको सहकार्यमा 'नेपाली नेसनल कन्भेन्सन' को आयोजना शिकागोमा गर्न लागेको छ। कार्यक्रम मा झन्डै २५ फोरम लगायत खेलकुद र मनोरंजन का गरि ३ दिन सम्म भब्य सम्मेलनको आयोजना हुदैछ। आउनुहोस, आयोजहरुको होष्टेमा हैसे गरौ।  'यूनिटी फोर नेप्लीज कम्युनिटी' भन्ने नारालाई सफल पारौ। 
 
(लेखक भट्टराइ, एएनएका महासचिव हुन्)