विचार / ब्लग

कोर्सिकानाको एक साँझ

443 पटक पढिएको

यात्रा-लेख

– लिला श्रेष्ठ | 20th Aug 2018, Monday | २०७५ भाद्र ४, सोमबार १४:५२
टेक्ससको ड्यालस डाउनटाउनबाट एक घण्टा दक्षिणतर्फ ड्राईभ गरेपछि कोर्सिकाना आईपुग्छ । शहरिया हावाबाट अलिकति उन्मुक्ति मिले झैं लाग्यो यहाँ पुग्दा । पातलो बस्ती, चरेर घर फर्कंदै गरेका गाईवस्तुहरू, बालीनाली झुलेका टारहरू । गह्रा र कान्लाले नेपालै पुगेजस्तो भयो ।
 
त्यतिमात्र कहाँ हो र ? कपासले फुलेका बारीहरू, आँगनमा कृषि औजारहरू । हलो थिएन, थियो ट्रयाक्टर । बयलगाडा थिएन, थियो ट्रक । लाग्छ, स-साना कृषक घरहरू सूर्यास्तमा बाला झुलेको खेत हेरेर गर्वित छन् । कृषक बियरले घाँटी भिजाउँछ । बर्गर चपाउँछ । होम थिएटरमा एचडी च्यानल हेर्दै फोल्डिंग सोफामा खुट्टा पसार्छ । जुनेली छाँयामा शान्त रात सुत्छन् कोर्सिकानाका किसानहरू ।
 
गेटेड आवासभित्रको मनोज एवं विनीता कटुवालको घरमा जमघट थियो । मनोज भाईको निम्तोलाई स्विकार्दै म र चन्दा पार्टीमा उपस्थित थियौं । मनोज भाई कोर्सिकानाको एक सफल व्यापारी-व्यवसायी हुन् । अमेरिकन स्ट्यान्डर्डको राम्रो घर छ । फराकिलो ब्याक्यार्ड, स्वीमिङ्ग पूल सहितको गज्जबको ईन्टेरियर डिजाइन छ घरको ।
 
बिजिनेस-फ्रेण्डली कोर्सिकानामा मात्रै पाँच नेपाली परिवार रहेछन् । प्राय: नेपालीहरूको पार्टनरसिपमा बिजिनेस रहेछ यहाँ । संयोगले मेरा पुराना चिनजानहरूसँग पनि भेट भयो-बैकुण्ठ थापा, र सरोज तुम्बाहाम्फे। प्राय: भेटघाट भई रहने अन्य साथीहरू सुनिल साह, दिनेश विष्ट, लोक काफ्ले, भेषराज घिमिरे, लक्ष्मण थापा र गंगा थापा र उहाँका परिवारहरू पनि हुनुहुन्थ्यो पार्टीमा। नयाँ चिनजान पनि थपियो । अशोक शाह, ठट्यौली र हाक्की स्वभावको हुनुहुँदो रहेछ । उहाँको सालासँग राम्रै ठट्टा हुँदो रहेछ । 
 
मसँग परिचय गराउँदै मनोज भाईले भने- उहाँ मेरो भिनाजु, दिदीले मन पराउनु भयो र बिहे भयो “अन्फर्चुनेट्ली” ! यो फ्रेजले मनग्ये हँसायो । रमाईलो भयो । 
 
अशोक शाह-जीले केही महिना अघि मात्र नेपालको रारा लेक भ्रमण गर्नु भएको रहेछ। मैले धेरै प्रश्नहरू सोधें राराका बारेमा । मलाई पनि रारा जाने ईच्छा छ । झट्ट चेतनाथ कणेल दाईलाई सम्झें- उहाँ पनि त रारा जाने कुरा थियो नि ! अर्का एक चिनजान, रूपेन अधिकारी । उहाँ को पनि साहित्य प्रति रूचि रहेछ । आगामी साहित्यिक कार्यक्रममा भेट्ने कुरा गर्दै फोन नम्वर साट्यौं ।
 
पार्टी गफ चलिरहयो । देश, प्रवास, काम, थकान, समाज, परिवार आदि विषयहरू ह्यम्सटर-ह्विलमा घुमिरहे । ब्याक्यार्ड पार्टी भएकोले हामी खुल्ला आकासमुनि थियौं । अगष्टको साँझ पसिना पुच्छदै आकास हेरिरहेथ्यौं । तारामण्डलसँगै सफा अाकास र चन्द्रमाको चहकिलो उज्यालो थियो । डाउनटाउनबाट देखिने भन्दा बिल्कुल फरक तारा जून ! आक्लझुक्कल सुनिने रेल/ट्रेन वाहेक अन्य आवाजहरू प्राय: शुन्य थिए ।
 
लगभग २४ हजार जनसंख्या रहेको कोर्सिकाना कन्ट्रिसाइड र सिटिको फ्यूजन जस्तो लाग्छ । जीवन सरल देखिन्छ । सुकुम्बासी हुनुपर्ने कारण नै छैन । बेरोजगारी सुनिएन । सस्तो बसाई र कम खर्चमा जीवन गुजारा हुनेहुनाले सानो व्यापार व्यवसायबाट पनि मनग्गे बचत हुन सक्छ । त्यसैले पनि साना-मझौला नेपाली व्यवसायीहरूको लागि ‘स्टार्टिंग प्वाईन्ट’ बनेको छ- कोर्सिकाना ।
 
जीवन जसरी पनि चल्छ । अकुत सम्पत्ति हुनैपर्छ भन्ने छैन । तर, अभावको जिन्दगी बाँच्न सकिन्न । सरल र सहज जीवनको लागि पेशा चाहिन्छ । व्यापार होस् वा जागीर । यी दुवै चिज गर्नको लागि आधारभूत संरचना चाहिने रहेछ-सडक, बिजुली, पानी, सुरक्षा, स्कुल, चर्च/मन्दिर आदि । 
 
कोर्सिकाना जस्तै अमेरिकाका प्रत्येक शहरहरूमा आधारभूत संरचनाहरू छन । त्यसैले, आफूले चाहेको कुनै पनि शहर, सिटी, अर्बन अथवा कन्ट्रिसाईडमा उस्तै-उस्तै प्रकारको जीवनशैली बाँच्न सकिन्छ । जनसंख्या र क्षेत्रफलले कुनै फरक पार्दो रहेनछ ।