मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा दुई महिनामा ११ बलात्कारका घटना

चितवनमा दुई महिनामा ११ बलात्कारका घटना


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा असार र साउन महिनामा गरी बलात्कारसम्बन्धी ११ वटा जाहेरी चितवन प्रहरीमा परेको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असार महिनामा मात्रै ७ वटा घटना बलात्कार सम्बन्धमा दर्ता भएको छ । त्यस्तै साउन महिनामा ४ वटा घटना बलात्कारका दर्ता भएका छन् । कुल ११ घटनामध्ये बालिका पीडित रहेको घटना संख्या ६ वटा रहेको छ  ।
 
प्यूठान घर भई भरतपुर रहँदै आएकी बालिका सामूहिक बलात्कारको शिकार भएकी छन् । साउन ३० गते राति १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको छ । प्रहरीमा भदौ १ गतेमात्र उक्त जाहेरी पीडित बालिकाले दिएकी थिइन् । 
 
१९ वर्षदेखि २९ वर्षसम्मका पाँच युवाले रातको समयमा सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । भरतपुरमा रहेको एक पानी उद्योगमा काम गर्ने ५ युवाले मादकपदार्थ सेवन गरी बालिकालाई बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शिव शर्मा आचार्यले बताए । 
 
बालिकाको प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र थप पुष्टि हुने उनले बताए । 
 
घटनापश्चात् फरार ती आरोपित व्यक्तिलाई प्रहरीले भोलिपल्ट अर्थात् साउन ३१ गतेमात्र गिरफ्तार गरेको थियो । घटनाबारे अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको उनले बताए । बालिकाको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ । तर, रिर्पोट भने आइनसकेको प्रहरीले जनाएको छ ।  
 
त्यस्तै, १५ वर्षीया एक बालिका माडीमा सामूहिक बलात्कारको शिकार बनेकी छन् । २३ र २४ वर्षका दुई युवाले ती बालिकालाई बलात्कार गरेको भन्दै आरोपितहरुलाई प्रहरीले भदौ १ गते नै गिरफ्तार गरेको हो । 
 
आफन्तकोमा गएर राति ९ बजेको समयमा दुई बालिका घरतर्फ फर्कने क्रममा एक बालिका बलात्कार भएको भन्दै प्रहरीमा पीडितले जाहेरी दिएको डिएसपी शिव शर्मा आचार्यले जानकारी दिए ।
 
अर्की बालिका भने नजिकै साथीको घर छ भनी हिँडेकाले घटनामा पीडित हुनबाट जोगिएको हुनसक्ने प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ ।