मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा सामुदायिक केन्द्रको प्रतिस्पर्धा

अमेरिकामा सामुदायिक केन्द्रको प्रतिस्पर्धा


ड्यालस (टेक्सस) – यतिखेर सानफ्रान्सिस्कोमा नेपाली समुदायले धार्मिक महोत्सव सञ्चालन गरिरहेका छन् । महापुराण सहितको महोत्सव आयोजकमध्यका एक स्थानीय सामाजीक अभियन्ता हरिहर दाहालले आफ्नो फेसबुक स्टाटसमा लेखे–‘सात दिने महापुराणमा सपरिवार पाल्नुस् है । धेरै सक्नेले धेरै दान गरौं, थोरै सक्नेले थोरै । तर सबैले दान गरौँ ।’
 
नेपालमा महापुराण लगाउँदा लेखिन्थ्यो–‘आउनुस्, सहभागी हुनुहोस्, पुण्य कमाउनुस् ।’ तर प्रवासको पुराणमा पुण्यको कुरा भन्दा पनि आर्थिक सहयोगको कुराले ठूलो अर्थ राखेको छ । त्यसैले महापुराणमा सहभागी श्रोताहरुमध्यबाट ‘धेरै सहयोग झार्नसक्ने’ वाचकलाई आयोजकले ल्याउँछन् ।
 
किनकी जहाँजहाँ महापुराण लगाइएको छ त्यहाँ नेपाली सामुदायिक संस्था बनाउने ठूलो लक्ष्य स्थानीय आयोजकले लिएका छन् । जुन लक्ष्य पुरा गर्न पुराण सुन्न उपस्थितहरुको सहभागिताले भन्दा पनि उनीहरुबाट प्राप्त हुने सहयोगले ठूलो महत्व बोकेको हुन्छ ।
 
अमेरिकामा रहेका नेपाली नेपाली समुदायहरु आफ्नो ठाउँमा पहिचान बढाउने उद्वेश्यले सामुदायिक भवन बनाउन तल्लिन छन् । अमेरिकाको पूर्बी भेगमा पर्ने बोस्टन, न्यूयोर्कदेखि लिएर पश्चिमी भेगको सानफ्रान्सिस्कोमा सामुदायिक भवन बनाउन नेपाली समुदाय जुर्मुराइरहेका छन् ।
 
सानफ्रान्सिस्कोमा सामुदायिक भवन बनाउनका लागि सोमबारदेखि महापुराण चलिरहेको छ । पाँचदेखि सातलाख डलर संकलन गर्ने उद्वेश्यले आयोजित महोत्सव सहितको महापुराणको शनिबार छैठौं दिन हो ।
 
भोली आइतबारसम्म चल्ने महापुराणबाट संकलित रकमले बे–एरियामा सुविधासम्पन्न सामुदायिक भवन बनाउने योजना रहेको आयोजक समितिका सदस्य एवं एनआरएनका आइसिसी मेम्बर डिल्ली भट्टराईले जानकारी दिए । शुक्रबारसम्म चारलाख डलरभन्दा बढी संकलन भैसकेको स्थानीय हिमालय खबर सहयोगी जोशीबाबुले जनाएका छन् ।
 
अमेरिकामा शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएकाले बाँकी दुई दिनमा अझै बढी उठ्नसक्ने अनुमान आयोजकहरुको छ । पण्डित दीनबन्धु पोखरेल तथा बुद्ध धर्मका गुरुबाट महोत्सवमा प्रवचन भैरहेको छ ।
 
दुई साता अघि मेरिल्याण्डमा महापुराण लगाइएको थियो । एक वर्ष अघि सामुदायिक भवनकै लागि भनेर संसारकै आर्थिक राजधानीका नामले चिनिने न्यूयोर्क, त्यसपछि बोस्टन, कोलोराडो लगायतका शहरहरुमा नेपालीहरुले महापुराण लगाएका थिए ।
 
नेपालमा महापुराण लगाउनको उद्वेश्यल धर्म प्रति समर्पित भएको हो भन्ने देखिन्छ । तर अमेरिकामा महापुराण लगाउनु चाँही धर्म, मोक्ष प्राप्ती भन्दा पनि नेपालीहरुलाई एकजुट बनाउनका लागि सामुदायिक भवन, मन्दिर बनाउनुमै केन्द्रित देखिन्छ ।
 
नेपालबाट अमेरिका आएका पहिलो पुस्तालाई जमघट हुने, आफ्ना बालबालिकाहरुले पनि आफूले जस्तै धर्म संस्कारलाई अँगालिदिउन् भन्ने अपेक्षा हुन्छ । त्यसैलाई पुरा गर्न मन्दिर, सामुदायिक भवनको अवधारणा ल्याएका हुन् ।
 
त्यही अवधारणालाई पुरा गर्न जहाँजहाँ केही हजारको हाराहारीमा नेपालीहरु छन् त्यहाँ मन्दिर र सामुदायिक संस्थाहरुको निर्माण गर्न उनीहरु जुर्मुराएका छन् ।
 
ड्यालस, लसएन्जलस, बाल्टिमोर लगायतका स्थानहरुमा नेपालीहरुले सामुदायिक भवन खडा गरिसकेका छन् । जसले नेपालीहरुलाई जमघट गराएर प्रवासको जीवनलाई सहज बनाउन सहयोग गरेको छ ।
 
ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिर, जसलाई नेपाली मन्दिरका नामले समेत चिनिन्छ । नेपाली मन्दिरले स्थानीय समुदायलाई मर्दा र पर्दा एक बनाउन निकै सकारात्मक भूमिका निर्वाह गरेको छ । यस्तै भूमिका लसएन्जलसको मन्दिरले पनि खेलेको छ ।
 
बाल्टिमोरमा रहेको नेपाली संस्था बानाले पनि हालै तीनलाख डलरमा भवन किनेको छ । जसले गर्दा स्थानीय रुपमा नेपाली समुदायका कार्यक्रमहरु गर्न सहज भएको छ ।
 
बोस्टनमा झण्डै १६ लाख संकलनः
 
अमेरिकाको पूर्बी भेगमा पर्ने राज्य मासाचुसेटको बोस्टनमा गत वर्ष सामुदायिक भवन निर्माणकै लागि सहयोग जुटाउन महापुराण आयोजना भएको थियो ।
 
महापुराणका क्रममा ८ सय ६० व्यक्ति तथा संस्थाले १५ लाख ७४ हजार डलर सहयोगको प्रतिवद्धता जनाएका थिए । जसमध्य ४ लाख ७१ हजार उठिसकेको छ । ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष विष्णुमणि आचार्यका अनुसार सामुदायिक भवनका लागि बिल्डिङहरु हेर्ने काम अहिले द्रुतगतिमा अघि बढेको छ ।
 
‘हामीले बोस्टनजस्तो शहरमा नयाँ भवन बनाउने भन्दा पनि बिक्रीमा रहेकामध्यबाट उपयुक्त भवन खोजि गरिरहेका छौँ,’ आचार्यले हिमालय खबरसँग भने । अहिलेसम्म संस्थाले २/३ वटा भवनमा अक्सन हालेर पनि उपयुक्त नदेखेर फिर्ता भैसकेको छ ।
 
गत वर्ष महापुराणमा कबोल भए अनुसारको रकममध्य अधिकांश भवन किनेपछि प्राप्त हुनेमा आचार्य विश्वस्त छन् । अहिले संस्थासँग करिब ८ लाख डलर बैंक खातामा छ ।
 
बोस्टनमा सामुदायिक भवन बनाउनका लागि महापुराणका क्रममा १० डलरदेखि ५१ हजार डलरसम्म नेपालीले दान गरेका थिए ।
 
कोलोराडोमा पनि तयारी सुरुः
 
उता मध्य अमेरिकी राज्य कोलोराडोमा पनि सामुदायिक भवन बनाउनका लागि गत अप्रिल २८ देखि मे ५ सम्म महापुराण लगाइएको थियो ।
 
त्यस क्रममा दाताहरुले ५ लाख ८१ हजार डलर सहयोगको प्रतिवद्धता जनाएका छन् । महापुराणको सिलसिलामा ४४ हजार १४ डलर खर्च भएको थियो ।
 
यही साता टाउनहल बैठक राखेर आम्दानी, खर्च र जग्गा खोजी कार्य अघि बढाउने तयारीमा समिति रहेको छ । झण्डै दुई मिलियन (२० लाख) डलरसम्म खर्च गर्ने तयारी साथ सामुदायिक भवनको अवधारणा तयार पारिएको छ ।
 
कोलोराडोमा नेपाली ९ हजार तथा भुटानी समुदायका ५ हजार गरि करिब १४ हजार नेपालीभाषीहरु छन् । सबैलाई पायक पर्ने ठाउँ खोजी गरेर जग्गा किन्ने काम अब सुरु हुने नेपालीघरका अध्यक्ष लछुमन रानाले जानकारी दिए ।
 
न्यूयोर्कमा नक्सा पुग्यो सिटी अफिसमाः
 
संसारकै आर्थिक राजधानीका रुपमा परिचित न्यूयोर्क शहरमा ठूलो संख्यामा नेपालीहरु बस्छन् । नेपाली सामुदायिक भवनको आवश्यकता महसुस गरेर रिजउड नेपाली समाजको पहलमा गत वर्ष अगस्ट २३ देखि २९ सम्म महापुराण लगाइएको थियो ।
 
त्यस महापुराणको क्रममा १५ लाख ५० डलरको प्रतिवद्धता दाताहरुबाट भएको थियो । रिजउड सोसाइटीका उपाध्यक्ष राजेश भट्टका अनुसार अहिले अहिले सामुदायिक भवनको नक्सा डिजाइन गरेर न्यूयोर्क सिटी अफिसमा पुगेको छ ।
 
न्यूयोर्कको क्विन्स काउन्टीमा बन्न लागेको भवनको पहिलो बेसमेन्टमा किचन, वाथरुम र स्टोरेज रहनेछ । त्यस्तै पहिलो तल्लामा हल हुनेछ । दोस्रो तल्लामा नेपाली सांस्कृतिक केन्द्र रहनेछ । तेस्रो तल्लामा मन्दिर बनाउने गरि नक्सा डिजाइन गरेर सिटीमा पेश गरिएको भट्टले जानकारी दिएका छन् ।
 
महापुराणमा प्रतिवद्धता जनाइएको भएको मध्य तीनलाख डलर संकलन भैसकेको छ । सबैभन्दा बढी नेपाली जनसम्पर्क समिति अमेरिकाले एकलाख २५ हजार ५ सय ५५ डलरको प्रतिवद्धता जनाएको थियो । त्यस्तै प्रवासी मञ्च अमेरिकाले एकलाख ११ हजार सहयोगको प्रतिवद्धता जनाएको थियो ।
 
प्रवासी मञ्चले मासिक चारहजार डलरका दरले तिरिरहेको छ । जनसम्पर्क समितिले पनि रकम तिरिरहेको भट्टले जानकारी दिए ।
 
अहिले न्यूयोर्कमा सामुदायिक भवन बनाउनका लागि प्रतिवद्धता जनाउनेहरुसँग हप्तामा तीन दिन बैठक हुँदै आएको छ ।
 
अन्य सिटीमा सामुदायिक भवनः
 
हलिउड सहर लसएन्जलसमा रहेका नेपाली समुदायले केही वर्ष पहिलेनै सामुदायिक भवन सहितको पशुपतिनाथ तथा बुद्ध मन्दिर तयार पारिसकेका छन् । मध्यमस्तरको सभा, कार्यक्रम गर्न समेत मिल्ने हल समेत भवनमा रहेको छ ।
 
सामुदायिक भवन बनाउनका लागि टेक्ससको अस्टिनमा बसेका नेपालीहरु पनि जुर्मुराएका छन् । ग्रेटर अस्टिन सामुदायिक भवन बनाउने लक्ष्ष्का साथ गत साता नेपालीहरुले सहयोग संकलन तीब्र बनाएका छन् ।
 
उता टेक्ससकै सामुद्रिक सहर ह्युस्टनमा पनि सामुदायिक भवन बनाउन स्थानीय समुदायले केही महिना अघिनै भवन सहितको जग्गा किनिसकेका छन् । ८ दशमलव २ एकड जग्गा, त्यसमा रहेको पशुपतिनाथ मन्दिर सहितको भवनलाई स्थानीय नेपाली समुदायले लिएका छन् ।
 
६२ रोपनी जग्गा सहितको भवनलाई तीनलाख ५० हजारमा जग्गा सहितको किनिएको हो । त्यहाँ फुटबल ग्राउण्ड समेत बनाउने योजनामा समुदाय लागेका छन् । मन्दिरका लागि नेपालबाट मूर्ति तयार पारेर ल्याइसकिएको छ ।
 
उता ड्यालसमा अहिले रहेको मन्दिरको ठाउँ व्यबस्थित र फराकिलो भएपनि भविष्यलाई दृष्टिगत गरेर युलेसमा अहिलेभन्दा ठूलो र भव्य मन्दिर, सामुदायिक भवन बनाउनका लागि छलफल चलिरहेको छ । झण्डै साढे ६ एकड जग्गा रहेको उक्त ठाउँमा मन्दिर बनाउनका लागि यही अगष्ट २६ तारिक स्टेरिङ कमिटीको बैठक राखिएको नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्यालले जानकारी दिए ।
 
अहिले रहेको मन्दिर सहितको सामुदायिक भवन संस्थाको आफ्नै भएपनि पार्किङको अभाव र अझै ठूलो बनाउनका लागि नयाँ ठाउँमा जग्गा किनिएको हो । नयाँ मन्दिर हुने ठाउँमा कम्तिमा साढे तीनसय गाडी पार्किङ गर्न मिल्ने ठाउँ छ । अहिले मन्दिर रहेको ठाउँमा ६० देखि ७० वटा गाडी मात्र पार्किङ गर्न मिल्छ ।  
 
–कोलोराडोबाट नातिबाबु भट्ट तथा सानफ्रान्सिस्कोबाट जोशीबाबुको सहयोगमा