मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

यस्तो इच्छा राख्दैछन् ‘मिस नेपाल युएस’ प्रतियोगीहरू

यस्तो इच्छा राख्दैछन् ‘मिस नेपाल युएस’ प्रतियोगीहरू


ड्यालस (टेक्सस) – ‘मिस नेपाल युएस’ मा अधिकांश सहभागीहरुले मातृभूमि नेपालमा जनस्वास्थको चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न इच्छुक देखिएका छन् ।
 
नेपालमा जनस्वास्थको क्षेत्रमा संरचना असाध्यै कमजोर रहेको र प्रयाप्त शिक्षा पनि नभएकोले त्यसतर्फ काम गर्न उनीहरुले इच्छा देखाएका हुन् । आउँदो आइतबार ड्यालसको प्लानो सिटीमा हुन लागेको छैठौँ मिस नेपाल युएसका सहभागीहरुको परिचयात्मक कार्यक्रममा उनीहरुले अमेरिकामा प्राप्त शिक्षा र सिकेको शीपलाई मातृभूमिमा लागु गर्न व्यग्र चाहना रहेको बताएका हुन् ।
 
एक हप्ते बन्द प्रशिक्षण सुरु हुनुभन्दा अघिल्लो साँझ आइतबार अर्भिङको टेम्पटेसन रेस्टुरामा आयोजित परिचयात्मक कार्यक्रममा मिस नेपाल युएसका सहभागीहरुले उपाधि जिते पनि नजितेपनि एक आपसमा संबन्ध स्थापित हुनु ठूलो उपलव्धीका रुपमा लिएको धारणा व्यक्त गरेका थिए ।
 
‘युवा सशक्तिकरण, नेपाल प्रवर्द्धन’ नाराका साथ यस पटक मिस नेपाल युएसको फाइनल आउँदो आइतबार प्लानोमा हुन गइरहेको छ । प्रतियोगितामा अमेरिकाका पूर्बीदेखि पश्चिमी राज्यसम्मका नेपालीमुलका १८ जनाको सहभागिता छ । उनीहरुलाई सोमबारदेखि एक हप्ते बन्द प्रशिक्षण शिविरमा राखिएको छ ।
 
‘नेपालमा महिला स्वास्थको अवस्था अति नाजुक रहेको मैले पाएको छु, मेरो योजना त्यतातिर लागेर मातृभूमिका लागि केही गर्ने सोच बनाएकी छु,’ सहभागी पोसा घर्ती थापाले भनिन् । चार वर्षको उमेर अमेरिका आएकी पोसा हाल उत्तर–पश्चिमी टेक्ससको लबक सिटीमा बस्छिन् । अमेरिकामै स्वास्थ शिक्षा अध्ययन गरेकी उनी स्वास्थकर्मीका रुपमा कार्यरत पनि छिन् । 
 
पोसाले नेपालमा स्तर क्यान्सरको विषयमा जनचेतना असाध्यै कमजोर रहेकोले त्यतातिर केही गर्ने सोच बनाएको समेत बताइन् । 
 
नेब्रास्का राज्यबाट सहभागी भएकी दिलासा न्यौपानेले पनि नेपालमा मानसिक स्वास्थ समस्या विकराल रहेको उल्लेख गरिन् । मानसिक स्वास्थको विषयमा कार्यक्रम चलाउनुपर्ने आपूmले महसुस गरेको उनको बताइन् । उनी पनि स्वास्थकर्मीका रुपमा हाल न्यूयोर्कमा कार्यरत छिन् ।
 
न्यौपानेकै जस्तो धारणा टेक्ससको डेन्टनबाट सहभागी भएकी ल्हाक्पा शेर्पाको थियो । उनले नेपालमा मानसिक स्वास्थको क्षेत्रमा चेतना जगाउँदै कार्यक्रमहरु सञ्चालन गर्न जरुरी देखिएको बताइन् । ‘नेपालमा मेन्टल हेल्थ असाध्यै वास्ता नगरिएको क्षेत्रका रुपमा चिनिएको छ,’ शेर्पाले आफ्नो योजना तथा कार्यक्रम सुनाउँदै भनिन् । 
 
अधिकांश सहभागीहरु विद्यार्थी र मेडिकल फिल्डमा संलग्न छन् । 
 
ओक्लाहोमा राज्यको लटनमा रहेर अध्ययन गरिरहेकी सुजना रुपाखेतीले नेपालमा गएर क्यान्सरको अध्ययन, अनुसन्धान गर्ने आफ्नो इच्छा रहेको बताइन् । उनले नेटवर्किङ गर्न र रोजगारीमुलक प्रोजेक्ट गर्न पनि चाहना रहेको समेत उल्लेख गरिन् ।
 
सहभागी सपना गौतमले भने अलि फरक योजना सुनाइन् । उनले अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा अमेरिका आउनेहरुको सहयोगका लागि मोबाइल एप्स बनाउने योजना रहेको बताइन् । ‘अमेरिका आइसकेपछि कहाँबाट कसरी सुरु गर्ने भन्नेमा धेरैलाई अन्यौल, चिन्ता छ, त्यसलाई समाधान गर्नेगरि मैले केही गर्ने सोच बनाएकी छु,’ उनले भनिन् ।
 
परिचयात्मक कार्यक्रममा प्रतियोगीहरुले मिस नेपाल युएसले अाफू भित्र रहेको ट्यालेन्टशीप र क्षमतालाई बाहिर ल्याउने, नेटवर्क बढाउने भएकोले सहभागी भएको विचार व्यक्त गरेका थिए । 
 
कार्यक्रमको सुरुमा मिस नेपाल युएसकी पिजेन्ट को–अर्डिनेटर अदिती खरेलले प्रतियोगिताका बिभिन्न पक्षका बारेमा जानकारी गराएकी थिइन् । उनले तालिमको बन्दशत्र भित्र पालना गर्नुपर्ने विषयहरु, प्रतियोगितामा बारेमा समेत उल्लेख गरिन् । मिस नेपाल युएसको छैठौं श्रृङ्खला अन्तरगत १८ जना फाइनल राउण्डमा सहभागी रहेका छन् । 
 
परिचयात्मक कार्यक्रममा एनआरएन अमेरिका टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, चलचित्र निर्देशक शैलेश आचार्य, समाजसेवी धनञ्जय ढकाल, नेपाली समाज टेक्ससका पूर्ब महासचिव कमल सत्याल लगायतले प्रतियोगिताबाट नेपाली समुदायले राखेको अपेक्षाका बारेमा मन्तव्य व्यक्त गरेका थिए । 
 
अमेरिकामा मिस नेपाल युएसको सुरुवात सात वर्ष अघि सन् २०११ मा भएको हो । पहिलो पटक न्यूयोर्कमा आयोजना भएको थियो । २०११ देखि २०१५ सम्म हरेक वर्ष मिस नेपाल युएस आयोजना हुँदै आएकोमा यसपटक भने तीन वर्षपछि हुन लागेको हो ।
 
अमेरिकामा बस्दै आएका १९ देखि १९ वर्षका युवतीहरु मिस नेपाल युएसमा सहभागी हुनसक्नेगरि गत मे महिनामा आवेदन आव्हान गरिएको थियो । सहभागी अविवाहित हुनुपर्ने प्रावधान रहेको छ । सहभागिताका लागि गत जुलाई ४ सम्म आवेदन दिनसक्ने प्रावधान राखिएको थियो । 
 
मिस नेपाल युएसको फाइनल आउँदो आइतबार साँझ ५ बजेदेखि प्लानोस्थित दी ग्राण्ड क्लबमा हुने आयोजकले जनाएका छन् । 
 
तस्वीर साैजन्यः राजिव श्रेष्ठ