विचार / ब्लग

सहयोग गर्दा मिलेको मानसिक तनाव

4187 पटक पढिएको

- रामचन्द्र भट्ट

16th Aug 2018, Thursday | २०७५ श्रावण ३१, बिहीवार ०६:१९
मेरो साथी सूर्य थापाले तीन महिना अघि टेलिभिजन प्रोग्राम ‘यू स्टार्ट अगेन’ सुरु गरे । धेरैले त्यतिखेरै सोधे–‘कस्तो नाम हो यो यू स्टार्ट अगेन ?’ 
 
उनले त्यतिखेर जवाफ दिएका थिए–‘अमेरिका आएर लामो समय टेलिभिजन पत्रकारिताबाट म हराएँ । अहिले फेरि सुरु गर्दैछु । म जस्तै हरेकले यहाँ जीवन नयाँ रुपमा सुरु गर्नुपर्छ । त्यसैले कार्यक्रमको नामनै यू स्टार्ट अगेन राखेको हुँ ।’ 
 
जवाफ जसरी दिएपनि सत्य एउटै हो अमेरिकामा । तेस्रो विश्वका मुलुकहरुबाट आउने जो कोहीले यहाँ आफ्नो जीवनलाई फेरि सुरु गर्नुपर्छ । आफ्नो जन्मभूमिमा ‘स्याचुरेसन’ मा पुगेको जीवनलाई छाडेर यहाँ आएपछि जीवनलाई नयाँ रुपमा थालनी गर्नैपर्छ । अर्थात शून्यबाट फेरि सुरु गर्नुपर्छ यहाँको जीवन । 
 
शून्यबाट जीवन सुरु गर्दाको अवस्थामा भाषा, संस्कृति, हिँड्ने तरिका, किनमेलमात्र होइन मानिससँग गर्ने व्यबहारमा समेत ध्यान दिनैपर्छ । यहाँको चलन, बोली व्यबहारमा ध्यान दिन सकिएन भने नेपालमा सही ठानिएको व्यबहारले यहाँ कानुनी कारवाहीको भागिदार बनाउन बेर लाग्दैन । हरेक क्षेत्रमा नयाँ रुपबाट सोच विचार पुर्याउनु पर्नाले गर्दा हरेकले यहाँ जीवनलाई ‘स्टार्ट अगेन’ कै रुपमा लिन जरुरी छ । 
 
जीवनमा मैले यस्तो अनुभव हाँसिल गरेको छु, जसलाई नत कुनै ट्युसन फि तिरेर पाइन्छ । नत कुनै विश्वविद्यालयमै पढेर सिकिन्छ । यी अनुभवलाई बाँड्दा अरुलाई पनि जीवनमा यस्ता समस्या परिहाल्दा समाधान गर्न सहज हुनेछ भन्ने लागेको छ । 
 
हाम्रो पूर्बिय संस्कारले दुःख पर्दा, कोही दुःखीहरु देख्दा आफै तत्पर भएर सहयोग गर्छौ । दुःखीहरुले सहयोगका लागि याचना नगरेपनि आपत परेको देख्दा सहयोग गर्नुपर्छ भनेर हामीले सिकेका छौँ जानेका छौँ । हाम्रा धर्मग्रन्थ, समाज, गुरू, माता–पिताबाट हामीले सिकेको यो पनि हो । 
 
तर अमेरिकामा कसैले नमागेसम्म कुनै सहयोग गर्नु त्यति ठीक मानिने रहेनछ । सहयोग मागेको खण्डमा भने सहयोग गर्ने हातहरु धेरै हुन्छन् । नमागेको सहयोग गर्न तत्परता देखाउँदा समस्यामा फँसिने, कतिपय अवस्थामा मागेको अवस्थामा सहयोग गर्दा पनि लफडा आइलाग्ने गरेका दृष्टान्तहरु धेरै छन् । 
 
साढे तीन वर्ष पहिलेको घटना हो । म ओक्लाहोमा सिटीमा बस्थेँ त्यतिखेर । फेब्रुअरी महिना थियो । अघिल्लो दिनरात पुरै भारी हिमपात भएको थियो । हिउँले वरिपरि सबै छोपेको थियो । 
 
म ग्याँस स्टेशनमा काम गर्थे । हिउँले गर्दा ग्राहकहरु आउने क्रम पातलो थियो । बाहिर असाध्यै चिसो र शीतलहर चलिरहेको थियो । म बेलाबखतमा स्टोर बाहिर निस्कँन्थे । हिउँले पुरै ढाकिएको वातावरण रमाइलै थियो । त्यतिनैखेर एउटा दृश्यले मेरो ध्यान तान्यो । 
 
बाहिर ४/५ इन्च हिउँ छ । पातलो एकसरो कपडा, अनि खुट्टामा चप्पलमात्र लगाएकी एक महिला स्टोरको पछाडीपट्टि हिँडिरहेकी थिइन् । पछाडी पिठ्युमा उनले सानो व्याकप्याक (झोला) बोकेकी थिइन् । पुरै खुट्टा छोपिने हिउँ थियो, उनी त्यही हिउँलाई खुद्दै चप्पल र मोजाको भरमा केही हराएर खोजी रहेजस्तै गरि हिँडिरहेकी थिइन् । 
 
यसो नियालेर हेरेँ । कता कता नेपाली अनुहार झल्कियो । तर सोधिहाल्न सकिन । मेरो भित्री मनले ठान्यो–‘कति दुःखी होलिन् यी महिला ।’ मनमा किन किन दयाको भाव पलाएर आयो । 
म बाहिरको सिरेटो सहन नसकेर स्टोर भित्र पसेँ । कफी पिउन थालेँ । 
झण्डै १० मिनेटपछि तिनै महिला स्टोरभित्र पसिन् । पिठ्युमा बोकिरहेको झोलालाई ढोका नजिकै बिसाउँदै सोधिन्–‘म रेष्टरुम प्रयोग गर्न सक्छु ?’ मैले स्विकृती दिएँ । 
 
झण्डै १५ मिनेटपछि उनी रेष्टरुमबाट बाहिर आइन् । स्टोरभित्रै केही किन्न खोजेजस्तो गर्दै टहलिन थालिन् । चिसोले गर्दा उनको अनुसार पुरै निलो थियो । ओठहरु फुटेका थिए । असाध्यै दयालाग्दो अनुहार देखिन्थ्यो । 
 
‘म केही बेर यहाँ बस्न सक्छु ? बाहिर असाध्यै चिसो छ,’ ती महिलाले अनुरोध गरिन् । ग्राहकहरुका निम्ति बसेर खाजा खानको लागि केही कुर्सीहरु र टेबुल थियो । उनी त्यही बसिन् । म आफ्नो काममा लागेँ । 
 
उनी भोकाएकी जस्तो देखिन्थिन् । तर किन्न नसकेको जस्तो भाव उनको थियो । किनकी पहिले सामान हेरेर उनले छाडेकी थिइन् । मैले उनलाई सोधेँ–‘केही खान खोजेको हो ?’
‘मसँग नगद, क्रेडिट कार्ड पनि छैन । भयो पर्दैन,’ उनले भनिन् । 
 
‘ठीकै छ । भोक लागेको भए म दिन्छु,’ मैले यति भन्दै केही हटफुड निकालेर दिएँ । 
उनले मैले दिएको खानेकुरा समातिन् । 
 
मलाई उनी प्रति असाध्यै दया लाग्यो । उनको अनुहारमा नेपालीपन थियो । उनको अवस्था हेर्दा दुःख पाएर घरबाट निस्किएकी जस्तो लाग्थ्यो । उनलाई खानेकुरा सहयोग गर्न पाएकोमा मलाई मनमा सन्तोष लागेको थियो । 
 
उनले मसँग नजिकै एकरातको लागि सेल्टर भए नभएको सोधिन् । मलाई पनि सेल्टरको बारेमा त्यति जानकारी थिएन । नजिकै चर्च थियो। बेलाबखतमा चर्चका गार्ड, पास्टरहरु, त्यहाँ बस्ने मानिसहरु आएर किनमेल गर्थे । 
 
स्टोरमा एकजना नियमित ग्राहक बृद्धा महिला पसिन् । जो बृद्धा थिइन् । सहयोगी स्वभावकी पनि थिइन उनी । मैले ती ग्राहकलाई सेल्टरको बारेमा जिज्ञासा राखेँ । ती महिला ग्राहकले चर्चमा सेल्टर भएको जानकारी दिँदै मलाई सोधिन्–‘कसका लागि सेल्टर चाहिएको हो ?’
मैले कुर्सीमा बसिरहेकी महिलालाई देखाउँदै भनेँ–‘उनलाई हो ।’
 
उनीहरुबीच कुराकानी भयो । स्टोरकी नियमित ग्राहक महिलाले एक रातका लागि आपूmले घरमा लगेर राख्न सकिने बताइन् । त्यसैबेला उनीहरु दुईबीच खासखुुस कुराकानी भयो । कुराकानी सकिने बित्तिकै ती बृद्धाले आत्तिएजस्तो व्यबहार देखाइन् । उनले भने–‘ओहो, माफ पाउँ । मेरो घरमा बच्चाहरु पनि छन् । शौचायल एउटैमात्र छ । म तिमीलाई घरमा बास दिन सक्दिन । मलाई माफ गरिदेउ ।’
 
अघिसम्म आफ्नो घरमा बास दिन तयार भएकी ती बृद्धा अत्तालिएको देखेर म आफैँ अचम्ममा परेँ । मैले के भयो सोध्न पनि सकिन । ती बृद्धा ग्राहक किन्न आएको सामान लिएर छिटोछिटो स्टोरबाट बाहिरिइन् । 
 
उनी निस्किएपछि ती महिलालाई मैले उनको घर, परिवारका बारेमा जिज्ञासा राखेँ । उनले आफू ओक्लाहोमाकै रहेको र परिवार नभएको कुरालाई सहज रुपमा बताइन् । त्यो भन्दा मैले केही सोध्नु उचित पनि ठानिन । म आफ्नै काममा लागेँ । उनी कुर्सीमा आराम गरिरहेकी थिइन् । त्यतिनै खेर मेरो मोबाइलमा स्टोरमालिकको फोन आयो । म फोनमा कुराकानी गर्नतिर केन्द्रित भएँ । 
 
फोनमा कुराकानी गर्दैगर्दा ती महिलाले मलाई इसारा गरेर केही लेख्नका लागि कागज मागिन् । मैले कागजको एउटा टुक्रा दिएँ र फोनमै कुराकानी गर्दै काममै लागेँ । 
केहीबेर पछि ती महिलाले केही लेखेर त्यही कागजको टुक्रा मेरो हातमा दिइन् । म फोनमै कुराकानी गर्दै थिएँ । उनले लेखेको दुई लाइनको वाक्यमात्र थियो । जुन पढ्दापढ्दै मेरो दिमाग फन्फनी घुम्न लाग्यो । मलाई भाउन्न छुट्यो । जमिन भासिएझैँ भयो । 
 
त्यो कागजमा लेखिएको थियो–‘म एचआइभी पोजेटिभ पीडित हुँ । तिमी पक्राउ पर्न सक्छौँ ।’
त्यो पढिसकेपछि अघि किन ती बृद्धा तर्सिएकी रहिछन् भन्ने पनि ज्ञान भयो । ती महिला किन बिरामी जस्ती, कमजोर देखिएकी रहिछन् भन्ने पनि अनुमान भयो । मलाई थाहा छैन उनी वास्तविक रुपमा एचआइभी पोजेटिभ हुन् या होइनन् । तर उनले आफू एचआइभी पोजेटिभ अर्थात पीडित भएको कुरा कागजको टुक्रामा लेखेकी थिइन् । 
 
मैले मनमनै सोधेँ–‘मैले यी महिलालाई कुनै दुव्र्यबहार गरेको थिएँ त ?’ मेरो मनले त्यो ठान्दै ठानेन । बरु बाहिर त्यस्तो चिसो बतास चलिरहेको समयमा भित्र न्यायोमा बस्न दिएको थिएँ । दया गरेर खानेकुरा सित्तैमा दिएको छु । उनलाई रातिको सेल्टरका लागि सहयोगको प्रयास गरिरहेको छु । तर उनले मलाई उल्टै आफू एचआइभी पीडित भएको उल्लेख गर्दै पक्राउ पर्नसक्ने धम्की पो दिइन् । 
 
ती महिलाप्रति घृणा जागेर आयो । मेरो मनले ठान्यो–पुलिसलाई बोलाएर जिम्मा लगाएर पठाइदिउँ कि क्या हो । एक घण्टादेखि स्टोरभित्र बसेर उल्टै मलाई धम्की दिनेलाई मैले अरु के गर्नु ? 
 
तर मलाई त्यो लफडातिर लाग्नुभन्दा ती महिलालाई स्टोर बाहिर पठाउनुनै श्रेयष्कर लाग्यो । मैले अलि कडा रुपमा प्रस्तुत हुँदै भने–‘तिमी अब बाहिर निस्किहाल । नभए बरु म आफैँ पुलिस बोलाएर जिम्मा लगाउँछु ।’ मैले त्यति भन्ने बित्तिकै उनी ‘सरी’ भन्दै झोला बोकेर उनी बाहिर निस्किइन् । फेरि हिउँ खुँद्दै ती ती महिला सडकसम्म पुगेको देखेँ । त्यसपछि उनी कता लागिन् चासो दिइन मैले ।
 
त्यो घटनाले मलाई जिन्दगीमा ठूलो पाठ सिकायो । कसैलाई सितिमिति दया गर्दा उल्टै फँसिन्छ । मानिसलाई सहयोग गर्दा धेरै विचार पुर्याउनुपर्छ भन्ने पाठ मलाई त्यो घटनाले सिकायो । 
 
स्टोरमा आएका ग्राहकलाई मैले दया गरेर भित्र न्यायोमा राखेँ। खानेकुरा दिएँ । तर तिनले मलाई सिधै भन्न नसकेर किन कागजको टुक्रा मागेर लेखेर धम्की दिइन् त्यो मैले बुझ्नै सकिन । त्यो घटनापछि मैले सहयोग गर्नुपरेको अवस्थामा निकै सोचेर गर्दै आएको छु । सहयोग माग्नेलाई पनि कतिपय अवस्थामा ‘सरी’ भन्दै हिँडेको छु । 
 
त्यो घटनाको झण्डै दुई महिनापछि एक साँझ म कामबाट ड्राइभिङ गरेर घर जाँदैथिएँ । ती महिला सडक छेउमा उस्तै हालतमा हिँडिरहेकी थिइन् । ती महिलालाई देख्नासाथ अति घृणा लाग्यो । किनभने सहयोगको बदलामा धम्की दिने त्यति निकृष्ठ मानिस मैले संसारमा भेटेको पनि थिइन र भेट्नु पनि नपरोस् । 
 
अमेरिकामा बोल्दा पनि निकै ख्याल गर्नुपर्ने हुन्छ । नेपालको जस्तै तरिका अपनाउँदा दुःख पाएको अनुभव केही दिन अघि मेरा एक साथी सुनाउँथिए । 
 
केही वर्ष अघि उनी ह्युस्टनको ग्याँस स्टेशनमा उनी काम गर्दा रहेछन् । एकजना बृद्धा महिला नियमित रुपमा चुरोट लगायत सामान किन्न त्यहाँ आउने रहिछन् । ‘म बुढीलाई कति कुराउँछौ तिमी । तिमीको स्टोरमा आउँदा धेरै बेर लाइन बस्नुपर्छ म बुढीलाई पनि,’ ती महिलाले बेलाबखतमा यसो बन्दै जिस्कने गर्थिन । 
 
एक दिन ग्राहकको चाप कम भएको बेलामा ती बृद्धा आइछिन् । साथीले जिस्किएर भनेछन्–‘अलि बुढी पो देखियौ तिमी ।’ यति भनेको कुरालाई लिएर ती महिला असाध्यै रिसाइछन् । पहिले पहिले आफैँले आपूmलाई बुढी भनेर जिस्किने गरेकी उनी त्यसदिन मेरो साथीले बुढी भनेको विषयलाई लिएर कडा रुपमा प्रस्तुत भइछन् । मेरा साथीले माफी मागेपछिमात्र त्यो विषयले चर्को रुप लिन पाएनछ । 
 
नेपालमा जस्तो गरि दया, माया र भावनात्मक रुपमा चलेर अमेरिकामा निकै गाह्रो पर्छ । सबैलाई आफू कसरी जिउने भनेर स्वतन्त्रता छ । तर अर्काको निजी जीवनमा कसैले दख्खल पुर्याउन पाउँदैन । कसैले कुनै काम वा सहयोगका लागि आग्रह गर्यो भने पनि ‘सरी’ भन्दै अस्विकार गर्न हिच्किचाउनु पर्दैन । राम्रो पक्ष के हो भने कसैले गरेको आग्रहलाई अस्विकार गरेमा पनि आग्रह गर्नेले ‘धन्यवाद’ दिन कञ्जुस्याई गर्दैनन् । 
 
बाटोमा अलपत्र परेको भन्ने ठानेर कसैलाई लिफ्ट दिइयो भने अर्को ठूलो समस्यामा फँसिइन्छ अमेरिकामा । घटना उल्लेख नगरौं–एकजना केटीले लिफ्टका लागि गरेको आग्रह टार्न नसकेका एक नेपाली कानुनको फन्दामा परेका छन् । ती केटीले आफूलाई दुर्व्यहार भएको भन्दै प्रहरीलाई फोन गरेपछि नेपाली कानुनी कारवाहीको भागीदार भएका थिए । 
 
अमेरिकामा हरेक सेकेण्ड, हरेक घण्टा, हरेक दिनले नयाँ कुरा सिकाएकै हुन्छ । किनकी हामीले यहाँ जीवनलाई फेरि नयाँ परिवेश, नयाँ कानुन, नयाँ सिस्टम, नयाँ संस्कारसँग भिजाउनैपर्छ । नेपालमा सहज लाग्ने कतिपय गतिविधि यहाँ कानुनी रुपमा दण्डनीय हुन्छ । नेपालमा बीमा नगरि सवारी साधन चलाउन सकिन्छ, तर अमेरिकामा त्यसो गर्ने हो भने ठूलो दण्डको भागिदार हुनैपर्छ । 
 
यहाँ कोही महिलालाई ‘यु आर लुकिङ सो सेक्सी’ भनियो भने ‘धन्यवाद’ दिनेछन् । तर नेपालमा त्यही वाक्य प्रयोग गरियो भने नतिजा राम्रो अवश्य निस्कनेछैन । 
यस्तै छ अमेरिका । हरेक दिन नयाँनयाँ कुराहरु सिकिन्छ । नयाँ व्यबहार जानिन्छ । सबैभन्दा जान्नैपर्ने विषय चाहि रहेछ–जानकारी नभएको कुरामा थाहा छैन भनेर बोल्नुनै ठीक हुन्छ । त्यसैले त यहाँ धेरै अमेरिकी समुदायले ठ्याक्कै जानकारी नभएको कुरामा ‘अँ यसो होला, यसो गर्नु ठीक हुन्छ होला’ भनेर कसैले पनि भन्दैनन् । बरु भन्छन्–‘आइएम सरी ।’