मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा कर वृद्धिको विरोधमा रिले अनशन जारी

चितवनमा कर वृद्धिको विरोधमा रिले अनशन जारी


चितवन । चितवनको रत्ननगर नगरपालिकाले गरेको कर वृद्धिको विरोधमा सञ्चालित रिले सोमबार पनि अनशन जारी छ । 
 
सात राजनीतिक दलहरुले नगरपालिका परिसरमा आइतबारदेखि रिले अनशन सुरू गरेका हुन् । तीन पटकसम्म चरणबद्ध आन्दोलन गर्दा पनि नगरपालिकाले कर समायोजन गर्न चासो नदेखाएपछि दलहरु अनशन बस्न बाध्य भएका हुन् । 
 
नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पिताम्वर आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का गोविन्द अधिकारी, नेकपा मालेका नगर सचिव रामहरि लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठा, काँग्रेस चितवनकी प्रवक्ता निता ढकालसहितका नेता तथा कार्यकर्ता अनशन बसेका छन् । 
 
दलहरुले रिले अनशनसँगसगै हस्ताक्षर अभियानसमेत चलाएका छन् । अनशन बसेका दलहरुले दिउँसोदेखि कर शाखासमेत बन्द गराएका थिए । नगरपालिकाले गरेको कर वृद्धिलगायतका ११ बुँदामा असहमति जनाउँदै सात राजनीतिक दलले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका हुन् । 
 
कर शाखामा धर्ना, कोणसभालगायतका कार्यक्रम गर्दा पनि नगरपालिकाले बढेको कर फिर्ता नलिएका कारण थप दबाबस्वरुप रिले अनशन सुरू गरिएको कांग्रेस नगर सभापति रुपनराज घिमिरेले बताए । 
 
कृषि उत्पादनबाट भएको आम्दानीले कर तिर्न नपुग्ने गरी एकीकृत सम्पत्ति कर वृद्धि गरिएको भन्दै उनले यसलाई अबिलम्ब फिर्ता हुनुपर्ने बताए । ‘कर बढाउनु हुँदैन  भन्ने पक्षमा हामी छैनौँ’, उनले भने, ‘किसानहरु मर्कामा नपर्ने गरी वैज्ञानिक तरिकाले वृद्धि गर्नुप¥यो भन्ने हाम्रो माग हो ।’ 
 
‘नगरपालिकाले एकीकृत सम्पत्ति कर एक हजार प्रतिशतले बढाएको छ’, मालेका नगर सचिव रामहरि लम्सालले भने, ‘यो तत्काल फिर्ता हुनुपर्छ ।’ 
 
दलहरुले कर वृद्धिसहित व्यावसायिक कर, घरबहाल कर, मालपोत शुल्क वृद्धि, नगरपालिकाको विकास बजेटबाट विलासिता झल्कने सवारी साधन
 
खरिद, शिक्षा नियमावलीको उल्लंघन गर्दै सामुदायिक विद्यालयको व्यवस्थापन समितिमाथि आक्रमण गरेको, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीतिलाई सशक्त रुपमा कार्यान्वयन गर्न नसकेकोलगायतका विषयमा असहमति जनाएका छन् । 
 
दलहरु एकीकृत सम्पत्ति कर, घरबहाल कर र सरसफाइ शुल्कमा गरिएको वृद्धि फिर्ता लिनुपर्ने माग गर्दैै चरणबद्ध आन्दोलनमा छन् । 
 
मेयर नारायण वनले मालपोतले गरेको जग्गा मूल्यांकनको आधारमा करको दायरा निर्धारण गर्दा खेतीयोग्य जमिनको कर भने केही बढेको बताए । आवास र सहरी क्षेत्रको सवालमा कर स्वाभाविक रहेको भन्दै उनले खेतीयोग्य जमिनको विषयमा भने पुनर्विचार गर्न सकिने बताएका छन् । 
 
होटल संघ सौराहाको ऐक्यबद्धता 
 
यसैबीच, रत्ननगर नगरपालिकाले हालै वृद्धि गरेको व्यवसाय कर, भाडा कर एवम् एकीकृत सम्पत्ति करलगायतमा लगाइएको कर वृद्धि समयसापेक्ष नदेखिएको भन्दै क्षेत्रीय होटल संघ सौराहाले जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।   
 
अध्यक्ष सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा वृद्धि कर फिर्ता नभएमा व्यावसायिक संगठन पनि संघर्षको कार्यक्रम तय गरेर अघि बढ्नुपर्ने बाध्य हुने बताइएको छ ।