मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भदौ १ देखि मुलुकी अपराध संहिता ऐनमा कडा कानुन लागू हुँदै

भदौ १ देखि मुलुकी अपराध संहिता ऐनमा कडा कानुन लागू हुँदै


काठमाडौँ । आगामी भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुने भएका छन् । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजायको व्यवस्था गरिएको हो ।  
 
नेपालमा कुनै विदेशी नागरिक धर्म परिवर्तन गराउने कार्यमा संलग्न भए पाँच वर्ष जेल सजाय गर्ने र त्यसको सात दिनभित्र देश निकाला गरिने मुलुकी उेन लागू भएको छ । 
 
पछिल्लो समय विदेशीहरूले विभिन्न वहानामा धर्म परिवर्तन गराइरहेका गुनासाहरू आइरहेका छन् । मुलुकी अपराध संहिताले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरेको छ।
 
संहिताको दफा १५८ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै जात जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।’
 
त्यसअतिरिक्त धर्म परिवर्तन गराउने नेपालीको हकमा ५ वर्ष कैद र पचास हजार रूपैयाँ जरिवाना गरिने उल्लेख छ । त्यसमा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति, सम्प्रदाय, वा वर्गको धार्मिक भावनामा आघात पुर्‍याउन नहुने र त्यसरी आघात पुर्‍याउने व्यक्तिलाई एक वर्षसम्म कैद र बीस हजार रूपैयाँ जरिवाना हुने व्यवस्था छ ।
 
यसैगरी, सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्‍याउनेलाई अब तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँ जरिवाना तथा दुवै सजाय हुनेछ ।
 
यस्तै, कसैले पनि सर्वसाधारणले खाने, पिउने वा सेवन गर्न नहुने कुनै हानिकारक पदार्थ वा खान पिउन वा सेवन गर्न हुने कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन गर्न र बिक्री वितरण गर्न ऐनले पूर्ण रूपमा निषेध गरेको छ ।
 
यस विपरीत काम गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । यसैगरी पिउने पानी वातावण दूषित गर्नेलाई समेत ५ महिना कैद र पाँच हजार जरिवाना गर्ने व्यवस्था छ ।
 
यस्तै, राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई अब तीन वर्ष कैद सजाय हुने प्रावधान राखिएको छ । यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
 
यस्तै, नयाँ मुलुकी अपराध संहिता ऐनले यसरी दाइजो दिने वा लिनेलाई पाँच वर्ष कैद सजायको व्यवस्था गरेको छ । दाइजो लिने वा दिने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैंयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
 
ऐनको दफा १७४ को उपदफा १ मा आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल–अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन नहुने उल्लेख छ ।
 
यसैगरी, बहुविवाह गर्ने पुरुष वा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गरेमा यसलाई अपराध ठहर्‍याएको छ । यस्तो कार्य गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना तोकेको छ ।