मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कर वृद्धिको विरोधमा सात दलको कोणसभा

कर वृद्धिको विरोधमा सात दलको कोणसभा


चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले कर वृद्धि गरेको विरोधस्वरुप सात राजनीतिक दलले नगरपालिकाको गेटअगाडि कोणसभा गरेका छन् ।
 
विरोध कार्यक्रममा उनीहरुले कर घटाउनुपर्ने, जनमतको कदर गर्नुपर्नेलगायतका नाराबाजी गरेका थिए । कोणसभापछि ¥याली सौराहाचोक हुँदै पुनः नगरपालिकामै विसर्जन भएको थियो ।
 
कांग्रेस नगरसभापति रुपनराज घिमिरेले नगरपालिकाले अवैज्ञानिक ढंगबाट बढाएको करको विरुद्धमा धर्ना दिएको बताउँदै जनभावनाअनुसार अघि बढ्न आग्रह गरे । उनले जितको दम्भ देखाएर शासन गर्न खोजेको आरोपसमेत लगाए ।
 
नेकपा मालेका नगर सचिव रामहरि लम्सालले अहिले जनताले गोरु बेचेर कर बुझाएको र अब खेतै बेचेर कर बुझाउनु्पर्ने अवस्था आउने भन्दै त्यसअघि नै यसको निकास निकाल्न आग्रह गरे ।
 
सात दलले आफूहरुको माग सम्बोधन नभए आइतबारदेखि सशक्त आन्दोलन गर्ने जनाएको छ ।
 
रत्ननगर नगरपालिकाले भने कर वृद्धि अस्वभाविक नभएको बताएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले कर वृद्धि आफू एक्लैको निर्णय नभई छलफलबाट आएको बताए । उनले जग्गाको मूल्यांकनअनुसार कर बढेको दाबी गर्दै वृद्धि भएको कर अस्वभाविक नभएको बताए ।
 
नेकपाबाहेकका दलले भने करको प्रशासनिक प्रक्रियालाई सरल नबनाई उठ्नुपर्ने सम्पत्ति कर, व्यावसायिक कर, घरबहाल कर, मालपोत शुल्क आदिमा अस्वभाविक वृद्धि गरिएको, नगरपालिकाको विकास बजेटबाट विलासिता झल्कने सवारी साधन खरिद गरी प्रयोग गरेकोजस्ता आरोप लगाउँदै चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।