मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इन्काउण्टर घटनाबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

इन्काउण्टर घटनाबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । 
 
प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउण्टरबारे सरकारले छानबिन गर्ने बताएका हुन् ।
 
बालक अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाईलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानविनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिबद्धता जनाएका हुन् ।
 
समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था श्रृजना हुनुको कारणबारे सोधपुछ गर्न प्रहरी महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरेका छन् । प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ ।
 
राष्ट्रिय सभामा यो विषयले प्रवेश पाइसकेको छ । संसदीय समितिले पनि यो विषयमा छलफल अघि बढाइसकेको छ । अपहरणकारीलाई डेराबाटै लगेर पाइलटबाबाको आश्रम जाने जंगलमा मुठभेड भनेर महानगरीय अपराध महाशाखाको टोलीले अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बयान दएका छन् । तामाङद्वय बस्ने कोठाका वरिपरी रहेका प्रत्यक्षदर्शी तथा परिवारले उत्तः घटनाको सत्यतथ्य छानबिन गरिनुपर्ने बताएका छन् ।