मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अस्वभाविक कर वृद्धिको विरोधमा नगरपालिकामा धर्ना

अस्वभाविक कर वृद्धिको विरोधमा नगरपालिकामा धर्ना


चितवन । रतननगर नगरपालिकाले अस्वभाविक कर वृद्धि गरेको विरोधमा रत्ननगरमा क्रियाशील सात राजनीतिक दलले संयुक्त धर्ना दिएका छन् । 
 
उनीहरुले रत्ननगर नगरपालिकाको कर शाखाअगाडि आधा घण्टा धर्ना दिएका हुन् । रत्ननगरका नेकपाबाहेकका पार्टीहरु कर वृद्धिको विरोधमा चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । 
 
कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरेले नगरपालिकाले अवैज्ञानिक ढंगबाट बढाएको करको विरुद्धमा सांकेतिकरुपमा विरोधस्वरुप धर्ना कार्यक्रम गरिएको बताए । 
 
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नगरअध्यक्ष मेघराज ढकाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टीका पिताम्वर आचार्य, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का गोविन्द अधिकारी, नेकपा मालेका नगर सचिव रामहरि लम्साल र देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठासहित नेता, कार्यकर्ता धर्नामा सहभागी थिए । धर्ना कार्यक्रममा वडा नं १ देखि १६ नम्बरसम्मका नगरवासी सहभागी भएका थिए । 
 
सामूहिक धर्ना दिँदै उनीहरुले नगरपालिकाले लगाएको अस्वभाविक र अवैज्ञानिक कर घटाउनुपर्ने, जनमतको कदर गरिनुपर्नेलगायतका नारावाजी गरेका थिए । 
 
देशभक्त जनगणतान्त्रिक मोर्चाका मोदनाथ मरहठ्ठाले शुक्रबार दिउँसो १ बजे आन्दोलनका कार्यक्रमअनुसार जनदबाब सिर्जना गर्न नगरपालिका कार्यालयको गेटअगाडि कोणसभा गर्ने जानकारी दिए । 
 
यसअघि बुधबार सात दलले वडावडामा पुगेर वृद्धि भएको कर नतिर्न वडावासीसँग आग्रह गरेका थिए । शुक्रबारसम्म पनि आफूहरुको माग सम्बोधन नभए आइतबारदेखि सशक्त आन्दोलनमा उत्रिने चेतावनी उनीहरुको छ । 
 
गत साउन १४ गते दलहरुले कर वृद्धिको विरोधमा नगरपालिकालाई संयुक्त ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै उपमेयर विमला दुवाडीले नगरपालिका सबैको साझा रहेकाले सबैको रायसुझाव र अन्य नगरपालिकाको कर अध्ययन गरी पुनर्विचार गर्न सकिने जनाएकी थिइन् । दलहरुले कर फिर्ता गर्न सातदिने अल्टिमेटम दिएका थिए । नगरपालिकाले अल्टिमेटम बेवास्ता गरेपछि दलहरु थप संघर्षमा उत्रिएका हुन् ।  
 
दलहरुले करका प्रशासनिक प्रक्रियालाई सरल नबनाई साथै उठ्नुपर्ने सम्पत्ति कर, व्यावसायिक कर, घरबहाल कर, मालपोत शुल्क आदिमा अस्वभाविक वृद्धि गरिएको आरोप लगाएका छन् । 
 
नगरपालिकाको विकास बजेटबाट बिलासिता झल्कने सवारी साधन खरिद गरी प्रयोग गरेको, प्रयोगका लागि उपयुक्त साधन प्रयोगविहीन बनाइ थन्क्याएर राखेको, शिक्षा नियमावलीको उल्लंघन गर्दै सामुदायिक विद्यालयको व्यवस्थापन समितिमाथि आक्रमण गरेको, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीतिलाई सशक्तरुपमा कार्यान्वयन गर्न नसकेकोजस्ता आरोपसहित दलहरु नगरपालिकाप्रति आक्रोशित भएका हुन् ।